०४८ सालको कुनै महिना, गर्मी शुरू भैसकेको तर बर्खा शुरू नभएकाले जेठ–असार हो कि भन्ने अन्दाज गर्नसक्छु ।

प्रजातन्त्र पछिको पहिलो निर्वाचनका कारण हाम्रो गाउँ दुई भागमा विभक्त भएको थियो । एक थरी मानिस ‘कम्निस्ट’ भएका थिए, जो कांग्रेसका घरमा पस्न पनि रुचाउँदैन थिए । अनि एक थरी ‘काँग्रेस’ थिए, जो कम्युनिस्टलाई देखिसहन्न थिए ।

‘ठूलाले गर्दछ जे…’ भने झैं यो रोग हामी केटाकेटीलाई पनि सरेको थियो । भलिबल र लाइब्रेरीको काम छाडेर हामी पनि त्यही झगडाको खेल खेल्न थालेका थियौं ।

खास कारण स्वघोषित मेरी प्रेमीका थिई । जसले घरीघरी मलाई ‘तिमी कम्निस्ट कि काँग्रेस ?’ भनेर मेरो परीक्षा लिइरहेकी हुन्थी । मलाई थाहा थिएन, ऊ काँग्रेस थिई कि कम्युनिस्ट थिई । ऊ काँग्रेस हो जस्तो लागेका बेला म आफू काग्रेस हुँ भनिदिन्थें । ऊ रिसाएको थाहा पाउने बित्तिकै भन्थें, ‘होइन होइन, कसम म पनि तिमीजस्तै कम्निस्ट हुँ ।’

त्यसपछि ऊ झन मज्जाले रिसाउँथी ।

एक दिन शायद, यस्तै कुरामा मैले कम्युनिस्ट भन्नुपर्नेमा काँग्रेस भनें कि ? अथवा काँग्रेस भन्नुपर्नेमा कम्युनिस्ट भनें, त्यति यकिन छैन । ऊ ठुस्किएर हिंडिदिई । बोलचाल नै बन्द भयो । ऊ रिसाएपछि मेरो त्यो गाउँ, गाउँ जस्तै लागेन र डरलाग्दो जंगलमा परिणत भइदियो ।

उठ्दा–बस्दा, हिंड्दा–खाँदा कसैगरी पनि ‘त्यो झुसी गाउँमा बस्ने इच्छा भएन । तर, कक्षा ९ को विद्यार्थी, एसएलसीको फर्म भर्ने बेला । यति सामान्य कुराले यति मन पोल्यो, आमासँग फर्म भर्न पैसा लिएँ र गाउँ छाडें ।

अँ, हिंड्ने बेलामा मैले उसको नाममा ‘दर्दनाक र धम्कीपूर्ण पत्र’ भाइको हातमा राखिदिएँ । मेरी स्वघोषित प्रेमिकाले पार्टीको वा कुनै पनि नाममा झगडा गर्नेछैन भन्दै कसम खाएर फकाइछ भने मात्रै गाउँ फर्कन्छु भन्ने थियो ।

तर, काँकरभिट्टाको गाडी चढुञ्जेलसम्म पनि मलाई फर्काउन कोही आएन ।

पछि थाहा भयो, सधैं जस्तो यसपटक पनि मैले लेखेको पत्र पढेर अच्युतले मज्जा लिएछ र पढेपछि नजिकैको नालामा गंगा स्नान गराएछ ।

गाउँ छाड्दा मसँग अरू दुई साथी पनि थिए, आफ्नै उमेरका एकजना मामा र लगौंटिया साथी लभकुमार भुजेल । हामी लाहुरे बन्न चाहन्थ्यौं । दार्जीलिङमा नेपाली केटालाई आर्मीमा भर्ती लिन्छ भन्ने सुनेका थियौं ।

उनीहरूका अगाडि दार्जीलिङका विषयमा जान्नेसुन्ने मै थिएँ । किनभने प्रकाश कोविदका उपन्यासमा दार्जीलिङका चोक–चोकका वर्णन हुन्थे । ती पुस्तक पटक–पटक पढेका कारण सिलिगुडीदेखि खरसाङसम्मका चोक, सिनेमा घर, छुक्छुके रेल र चियाबगान सबै कण्ठस्थ थिए । कतिसम्म भने ती उपन्यासका पात्रहरू पनि सपनीमा आइरहन्थे ।

दार्जीलिङ पुगेपछि मलाई जस्तै उनीहरूलाई पनि थाहा भयो, पुस्तकमा वर्णन गरेजस्तो दार्जीलिङ रहेनछ । बिराटनगरबाट दार्जीलिङ पुग्न जति सजिलो थियो, त्यहाँ खान, बस्न र भर्ती हुन उत्तिकै गाह्रो ।

पैसा सकिन थालेकाले त्यहाँ पुगेको भोलिपल्टै देखि १५–१६ वर्षको किशोर बिरानो देशमा जसरी आत्तिन थाल्छ, हामी फरक भएनौं ।

त्यो सानो शहरमा नेपालदेखि आएका केटाहरू अल्मलिएको कुरा वरपर जानकारी नहुने कुरै थिएन । केही मान्छेहरूले हाम्रो बारेमा सोधपुछ शुरू गरेका थिए । तीमध्ये एउटा मान्छेले सुटुक्क लभकुमारलाई फकाएछ । केही दिनमै सानो होटेलमा हामीलाई राखेर ऊ लापत्ता भयो ।

दार्जीलिङको सानो बजारमा दुई दिनसम्म खोज्दा पनि उसलाई फेला पार्न सकेनौं । हामीभन्दा बलियो लभकुमार नै हराएपछि हाम्रो भर्ती हुने कलिलो रहर धर्मरायो । तैपनि आशा मामासँग थियो । उनी मभन्दा केही बलिया नै थिए । १५ दिन नपुग्दै उनी पनि घरतिर फर्कन्छु भनेर गनगन गर्न थाले । चियाकमान र चौरास्ताको चक्कर लगाएर केही गर्न सकिंदैन भनेर सम्झाउन थालें । मैले घर फर्किन मरिगए पनि मानिनँ । अन्ततः त्यो पहाडी शहरमा, नेपालीभाषी भए पनि विदेशमा, मलाई एक्लै छाडेर मामा पनि घर फर्किए ।

स्वघोषित प्रेमिकालाई त्यत्रो धम्कीपूर्ण पत्र लेखेर हिंडेको मान्छे, लाहुरे नबनी कसरी फर्कने ? लाहुरे बन्न नसके पनि दुई–चार पैसा नकमाईकन, केही नबनीकन कुन मुखले फर्कने ? ‘मरिगए पनि फर्कन्न ।’ मेरो मनले यस्तै सोच्यो ।

काँग्रेस जन्माउने बिपी र कम्युनिस्ट जन्माउने पुष्पलालले सुदूर भविष्यमा हाम्रो कारण यसरी गाउँ विभाजित हुन्छ र यही निहुँमा एउटा कलिलो प्रेमी विदेशिनुपर्छ भन्ने कल्पना पनि गरेका थिएनन् होला । उनीहरूले कल्पना नगरेर के हुन्थ्यो, १६ वर्षे जोवनमा दार्जीलिङेका सडकहरूमा भोकभोकै भौंतारिने म अझै जीवित छु ।

0 0 0 0 0 0

‘यो दार्जीलिङ भरीमा कोही चिनेको छ ?’

‘छैन ।’

‘त्यसोभए कसोरी दिने त । बस्ने जग्गा पनि छैन ।’

‘यही दोकानमा सुत्छु नि त ।’

‘चोर्यौ भने ?’

‘चोर्दिनँ । चोरजस्तो देखिन्छु र ?’

‘एउटा बंगालीलाई राखेको थिएँ । चोर थिएछ । थाहै भएन । नचिनेकोलाई राख्दिनँ । जमानी बस्ने मान्छे खोज ।’

अहिले सम्झन्छु, भानुभक्तको शालिकको पछाडितिर एउटा प्रिन्टिङ प्रेस थियो । त्यो प्रेसलाई आवश्यक पर्ने सामग्रीहरू त्यो पसलमा बिक्री हुन्थ्यो । पसल र प्रिन्टिङ प्रेस शायद फरक मान्छेको थियो । किनभने प्रेसको मान्छेले त्यहाँका सामग्री पैसा तिरेर किनेको देखिरहेको थिएँ । केही दिन त्यहीँ वरपर घुमिरहँदा मलाई त्यो मान्छे असलजस्तो लागेको थियो र काम माग्न पुगेको थिएँ ।

गल्लीबाट निस्किएर पुनः भानुभक्तको पूर्ण कदको शालिकनेरको फल्याकमा बसिरहेको थिएँ । अचानक मलाई दार्जीलिङमा एकजना मान्छे चिनेको याद आयो । म हुर्रिएर पसले नजिक पुगें ।

ऊ प्याकेटबाट प्रेसका अक्षरहरू निकाल्दै स–साना काठका फल्याकमा मिलाएर राखिरहेको थियो । सीसाका ती अक्षर उल्टा थिए । केही दिनअघि नै ती अक्षर प्रेसमा छापिदाँ सुल्टिएर निस्कन्छन् भन्ने सुनेको थिएँ । यो कौतुहल मेटाउन प्रेसमा गएर निकैबेर उल्टा सीसाका अक्षर कसरी सुल्टा हुन्छन् भनेर हेर्दा प्रेसवालाको गाली पनि खाएको थिएँ ।

‘मैले एकजना मान्छे चिनेको छु, दार्जीलिङको ।’ म आत्तिरहेको थिएँ ।

‘को हो ? कुन जग्गामा बस्छ ?’

‘प्रकाश कोविद । तर, कहाँ बस्नुहुन्छ थाहा छैन । किताब लेख्नुहुन्छ ।’

‘चित्र बनाउने हो ? राई मास्टर हो ?’ उसले नाम सुनेपछि एकछिन सोचेजस्तो गर्‍यो ।

‘राई हैन होला । किताबमा प्रकाश कोविद लेखेको छ ।’

‘नाम जे लेखे पनि चिनेको भए हुन्छ । यहाँ कुन जग्गामा बस्नुहुन्छ ?’

‘थाहा छैन ।’

‘अनि कसरी चिनेको ?’

‘त्यही किताब पढेर ।’

ऊ मज्जाले हाँस्यो ।

जुन रफ्तारमा अनुहारमा आशाको ज्योति बलेको थियो, उसको खिसीटिउरी हाँसोले हुरी आए झैं त्यही रफ्तारमा त्यो निभ्यो । मैले पो मेरो प्यारो लेखकलाई पुस्तकमा पढेर चिनेको थिएँ । उनले मलाई कसरी चिन्नु ? उनी कहाँ बस्छन्, कसरी थाहा पाउनु ?

कोविदका पुस्तक पढ्ने बानी गराइदिने बाबुराज दाइले मात्र होइन, नेपाली पढाउने शास्त्री सरले पनि लेखकले छद्म नाममा पुस्तक लेख्ने गरेको बताउने गर्दथे । अझ मुखिया सरले त प्रकाश कोविदको पुस्तक पढ्छु भन्दा गाली नै गरेका थिए । यस्तो अवस्थामा यो बिरानो शहरमा मैले त्यो मान्छे कहाँ भेट्ने ?

‘म न्याउरो अनुहार बनाएर फेरि भानुभक्तको शालिककै छेउमा फर्किएँ । एक्लो भएताका तीन दिन त्यहीँ वरपरका केटाहरूसँग घुस्रिएर सुतिरहेको थिएँ ।

नेपाल र भारतका विभिन्न ठाउँबाट आएका भर्खरका केही केटाहरू दिनभरी काम गरेर त्यहीं सुत्न आइपुग्थे । नयाँ मान्छेलाई बिना सोधखोज सुत्न दिने उनीहरूको अलिखित संविधान थियो क्यारे । तर, उनीहरूको फोहोरी र गन्हाउने शरीर मलाई पचिरहेको थिएन । यो चौथो रात पनि त्यहीं बित्ने भयले म आक्रान्त थिएँ ।

दिनभरी खाली–खाली लाग्ने चौरास्ता चोक साँझ परेपछि गुल्जार हुन्छ । त्यहाँ नेपाली टोपी लगाएका मानिसहरूको यो विदेशी भूमिमा नेपाली भाषामै चर्को बहस शुरू हुन्छ । नौ कक्षासम्म पढेकाले उनीहरूका कुरा सबै नबुझे पनि उनीहरू स्वतन्त्रताका कुरा गरिरहेका छन् भन्ने लख काट्न थालिसकेको थिएँ । तर, छेउछाउ बसेर एउटा अपरिचित केटोले कुरा सुनेको उनीहरूलाई शायद मन पर्दैनथ्यो । मलाई छेउमा नआए हुन्थ्यो भन्ने भाव झल्किरहेको पाउँथें ।

त्यो दिन पनि साँझ नपर्दै मान्छे जम्मा भैरहेका थिए । म तटस्थ भावमा उनीहरूको गतिविधि नियाल्न थालेको थिएँ ।

‘ओ भाइ, लौ यता आऊ ।’ एउटा तिखो बोली मेरो कानमा पर्‍यो । बोलिरहेका मान्छेहरूले पनि फर्किएर आवाजतिर हेरेपछि मैले पनि हेरें ।

त्यो मान्छे, त्यही पसले थियो, जसले मलाई चिनेको मान्छे ल्याए जागीर दिनसक्ने सम्भावना थियो । ऊ अघि लागेर पसलभित्र पस्यो । म उसको पछिपछि पुगें ।

पसलभित्र एकजना चिम्सो आँखा भएको तर, चम्किलो मान्छे एउटा कुर्सीमा आराम साथ पत्रिकाको अन्तिम पातो पढ्दै थिए । छेउमा भरिएको चिया ग्लासबाट बाफ आइरहेको थियो । मैले पत्रिकाको नाम पढें, ‘सुनचरी’ । नेपाली भाषामा भारतमा पत्रिका निस्कन्छ भन्ने मलाई त्यो बेलासम्म थाहा थिएन, अचम्म लाग्यो ।

‘उहाँलाई चिन्छौ ?’ पसलेले मलाई सोध्यो ।

म चूप लागें । यो अनविज्ञ शहरमा कसैलाई चिन्नसक्ने कुरै थिएन ।

‘डा. साब, नेपालबाट आएको भनेको यही केटा हो ।’ पसलेले श्रद्धापूर्वक झुकेर त्यो मान्छेसँग भन्यो, ‘काम माग्दैछ । कोही मान्छे चिनेको छैन तर लेखक चिन्छु भन्छ ।’

‘नेपाल कुन ठाउँ बाबु ? कुन लेखक चिन्छौ ?’

‘विराटनगर हजुर । मैले चिनेको यहाँ कोही पनि छैन ।’

‘अनि किताब लेख्ने मान्छे चिन्छु भनेको होइन । उहाँ त हो नि किताब लेख्ने ।’ पसलेले त्यो व्यक्तिलाई प्रभावित बनाउने प्रयास गरेजस्तो लाग्यो ।

म छक्क परें । किताब लेख्ने मान्छे यस्तो प्रकृतिको हुन्छ भन्ने मेरो कल्पनामा पनि थिएन । शायद, म लेखकलाई मान्छेका रूपमा सोच्दिन थिएँ ।

‘को चिन्छौ लेखक ?’ लेखक भनिएका ती सुकिला मान्छेले सोधे ।

‘प्रकाश कोविद ।’ मैले सकेसम्म आदरपूर्वक आफूलाई मनपर्ने लेखकको नाम भनें ।

‘प्रकाश कोविद भनेको त्यही चित्र बनाउने होइन ? त्यो माथि स्कूलमा पढाउने ?’ पसले जिज्ञासु बनेर फेरि ती सुकिला मानिससँग झुक्यो ।

‘हो हो । त्यही राई साँहिला नै हो । उसले त धेरै लेख्यो नि हो । साह्रै पोपुलर पो थियो । विचरा ।’

‘अघि नै यो भाइले भन्दा उही हो भन्ने शंका त लाग्दै थियो’, यति भन्दै पसले मतिर फर्किएर भन्यो, ‘लौ प्रकाश कोविदले तिमीलाई जागीरमा राख भोन्नुभयो भने एउटा जग्गा तिमीलाई जसरी पनि मिलाउँछु । कि कसो डाक्टरसा’ब ?’

मेरो अनुहार उज्यालो हुँदै थियो । तर, सुकिला भरिला लेखकले तुरुन्तै भने, ‘हैन हैन, उनी त गए नि हौ । तीन महिना पो भैसक्यो । पित्त बिग्रिएको रैछ । बाँचेनन् त ।’

अचानक मेरा खुट्टा लुला भए । मन परेको लेखक मरेको खबर सुनेर हो कि, पाउन आँटेको जागीर खुस्कियो भनेर । म लगलग काँपेर उभिरहेँ ।

०० ०० ०० ००

१२ वर्षमा खोला फर्कन्छ भन्ने नेपाली आह्वान छ । तर, मैले १० वर्षपछि दार्जीलिङ फर्कने अवसर पाएँ । अब म प्रेमिकाको रीसले होइन, पत्रकारको हैसियतले तलवी घुमन्तेका रूपमा त्यहाँ पुगेको थिएँ । मसँग वर्षभरी काम गरेपछि पाइने २४ दिनको बिदा थियो ।

दशैं र तिहारको बीचमा हुने शुभ्र मौसममा दार्जीलिङ पुग्ने सूचना पाएपछि सम्पादकले त्यहाँका केही विशिष्ट व्यक्तिको अन्तरवार्ता पनि ल्याउन निर्देशन दिएका थिए ।

प्रकाश कोविद बाँचिरहेका भए शायद सम्पादकले नभने पनि उनको अन्तरवार्ता लिन्थें हुँला । मलाई पहिलोपटक कोही व्यक्तिसँग पत्रकारको रूपमा भेट्न नपाएकोमा चुकचुकी लागिरह्यो । यस्तो व्यक्ति, जसले म पत्रकार हुनुअघि नै संसार त्यागिसकेका थिए ।

पहिलोपल्ट दार्जीलिङ पुग्दा प्रकाश कोविद बाँचेका भए म कुनै न कुनै किसिमले उनलाई भेट्थें हुँला र उनको उपन्यासको प्रशंसा गर्दै जागीर माग्थें हुँला । उनकै जमानीमा जागीर पनि पाउँथे हुँला र, अझै पनि दार्जीलिङको त्यो प्रेस छेउको पसलमा प्रेमिका सम्झँदै काम गरिरहेको हुन्थें हुँला । प्रकाश कोविदको मृत्युले त्यस्तो केही भएन र त्यो मूल कथा त्यहीँ सकिएजस्तो भयो ।

तर, जीवन त्यति सजिलो कहाँ छ र ? मान्छेले एउटा मूल कथा लेख्दै जाँदा भेटिने सहायक पात्रहरू कुनबेला शक्तिशाली भएर उदाउँछन् र जीवनमा नयाँ मोड ल्याइदिन्छन्, कसरी भन्न सकिन्छ र ? त्योवेला केटौले लहडमा लेखिएको दार्जीलिङको अपूरो कथाको च्याप्टर ८ वर्षपछि काठमाडौंमा अलिकति र १० वर्षपछि दार्जीलिङमा पूरै खुल्छ भन्ने कुरा शायद ईश्वरलाई मात्र (ईश्वर छन् भने) थाहा थियो ।

0 0 0 0 0 0

प्रज्ञा प्रतिष्ठानमा एउटा साहित्यिक कार्यक्रम भएकाले पत्रकार र नेपाली साहित्यका विद्यार्थीको हैसियतले पुगेको थिएँ । कार्यक्रम के थियो, त्यो अहिले मरिगए पनि सम्झन सकिनँ । तर, प्रमुख अतिथिका रूपमा माला र ब्याच लगाएर जो बसेका थिए, मैले उनीबाट मरिगए पनि आँखा हटाउन सकिनँ । अझ उद्घोषकले बारम्बार उनको महिमागान गाइरहँदा मलाई रुँलारुँला जस्तो भइरहन्थ्यो । उद्घोषक बेलाबेला भन्थे, ‘तेस्रो आयामका प्रणेता…लीला लेखनका अध्येता…समालोचना र निबन्धका आइस्टाइन…इन्द्रबहादुर राई… उनका कृतिका विषयमा, उनको आन्दोलनका विषयमा जति बोले पनि कम हुन्छ …आजको युगमा यो उचाइको लेखक नेपाली भाषामा पाउनु गौरव मात्रै होइन, महा गौरवको कुरा हो..।’

अन्तिम सीटमा, दर्शकदीर्घाबाट म सकेसम्म अनुहार लुकाउने प्रयास गर्छु र डराउँछु, कतै मलाई उनले चिनिहाले भने ? ८ वर्षपछि पनि उनी जस्ताका तस्तै थिए र उही शैलीमा मञ्चमा आसीन थिए । छक्क पर्छु, दार्जीलिङको चौरास्ता चोकबाट भित्र, भानुभक्त शालिक हुँदै छिर्ने गल्लीको भित्रतर्फ प्रेसको सामग्री बेच्ने दोकानको कुर्सीमा बसेर सुनचरी पत्रिकाको अन्तिम पाना पढ्दै गरेको सुकिलो चिम्सा अनुहार भएको व्यक्ति अरू कोही नभएर यिनै इन्द्रबहादुर राई पो रहेछन् ।

मैले प्रकाश कोविदको प्रशंसा गर्दा उनी तीन महिनाअघि नै बितेको खबर सुनाउँदै गर्दा राई दुःखी भएका थिए । त्यति मात्र होइन, आफू उँचो र प्रतिष्ठित व्यक्ति भए पनि आफूलाई नचिनाई प्रकाश लोकप्रिय लेखक भएको स्वीकार्ने उनी नै थिए ।

संसारका प्रसिद्ध कृति पचाएर, ज्ञान निचोरेर लेखेका उपन्यास र कथा नपढेर किन प्रकाश कोविदलाई पढ्यौ भन्ने भाव नल्याउने पनि उनै थिए ।

सबैभन्दा ठूलो कुरा, पढिरहेको मान्छे, किन परदेश आयौ ? नेपाल फर्किएर राम्रोसँग पढ, बरु काठमाडौं जाऊ । त्यहाँ मैले चिनेका मानिस छन्, चिठ्ठी लेखिदिउँला भनेर आश्वासन दिने पनि उनै थिए ।

0 0 0 0 0 0

काठमाडौंमा उनलाई देखेको दुई वर्षपछि र दार्जीलिङबाट फर्किएको १० वर्षपछि म सिधै इन्द्रबहादुर राईको घर पुगें । होटलमा पनि नबसी लोचनगरस्थित कन्भेन्ट रोडमा बनेको पुरानो काठले बनेको कलात्मक घरमा बसिरहेका इन्द्रबहादुर राईलाई भेट्ने मेरो औडाहाको पछाडिको कथा मसँग यात्रारत भाइ सामिप्यराज तिमल्सेनालाई थाहा थिएन । सोधखोज गर्दै म उनको घरमा यसरी बसें, मानौं वर्षौं बिछोडिएको छोरो घर फर्किएको होस् ।

‘ए तिमी पो थिएछौ । मैले त बिर्सिपो सकें । बुढो भएँ नि त ।’

घरबाट भागेर पहिलो पटक दार्जीलिङ आएको र प्रकाश कोविदलाई खोज्दा उनलाई भेटेको कुरा सुनाउँदा उनी साँच्चै नै खुसी भए । मानिसको मनमा बस्न प्रेम हुनैपर्छ भन्ने छैन, प्रेमपूर्ण घटना पनि काफी हुँदोरहेछ भन्ने ती कुरा सम्झँदा महसूस गर्छु ।

तीन दिनसम्म उनको घरमा बसेर उनकी ममतामयी श्रीमती मायादेवी (थापा) को हातको खाना खाएर दार्जीलिङ घुमियो । त्यहाँका प्रसिद्ध व्यक्तिलाई पनि भेटियो । तर, जुन आतिथ्य इन्द्र सरको घरमा थियो, त्यो कहीं कतै पाइएन ।

सामीप्य अंग्रेजी साहित्यको विद्यार्थी भएका कारण इन्द्र सरसँग अझ बढी गफियो । मैले मायादेवीसँग बढी समय बिताएँ । फर्केर आउँदा मसँग उहाँहरू दुवैसँग खिचेका तस्वीर थिए । पत्रकारका रूपमा कुराकानी गरिएका अन्तरवार्ता थिए । सिलीगुडीमा रहेका नातिनातिनाका किस्साहरू थिए । डायरीमा टिपिएका तीमध्ये केही पत्रिकामा छापिए, धेरै हराए । आज उनका विषयमा स्मरण लेख्न बस्दा न तस्वीर भेटिए न पुराना डायरी ।

काठमाडौंमा डेरा सर्दै जाँदा धेरै कुरा हराएका छन्, ती मध्ये नेपाली भाषालाई विश्वभर फैलाउन अहोरात्र खटिने इन्द्रबहादुर राईसँग खिचिएका तस्वीर र टिपिएका डायरीहरू पनि परेछन् । तैपनि उनले जीवन सँगिनीका विषयमा गरेका कुराकानी, नेपाली साहित्य सँगको प्रेम र संसारभरी छरिएका नेपाली भाषीप्रतिको मोहका विषयमा यति लामा कुरा गरे, मेरो जीवन नै धन्य बन्नपुग्यो ।

त्योवेलाको बसाइँको एउटा मात्र प्रमाण अहिले मसँग सुरक्षित छ । टेबल मुन्तिर अपहेलनामा परेर काठको चेपमा अल्झिएको एउटा सानो कागजको टुक्रा कविता, जसलाई मैले जतनसाथ पर्समा राखेको थिएँ । जुन दार्जीलिङ तिरकै कुनै पत्रिकामा छापिएको हुनुपर्छ ।

‘…सुन्यौ ? तिमी काठमाडौंको भयौ रे

जन्मभूमिलाई भन्यौ रे,

म ता सधैं सधैंलाई यतै आएँ…

आज मध्य संघर्षमा

पंक्ति हाम्रो पातलिएको पाउँदा

एकछिन

खिन्न बनेको क्षण छ

हताश बनेको क्षण छ…’