फुच्चे भाइ, आज म झापा जान पाउँदिन, अर्को दिन जाउँला । तिमी जाऊ आज । ती  चियाका बगानहरू र ती सुपारीका अनि नरिवलका गाछीहरूलाई मेरो पनि सम्झना सुनाइदिनु । गाईहरू लैना होलान् । तिनलाई घाँस, खोले दिंदै गर्नू, म छिट्टै आउँछु ।

त्यो  दमकको टेलिफोन टावर अग्लो छ, गल्यो होला उभिंदा उभिंदा, एसो काँध सुमसुम्याइदिनू । सगुन होटलको पराठा पुर्‍याइदिनू । सिसौका बिरुवाहरू हुर्के होलान्, हाँगाहरू छिमलिदिनू ।

गौरादह, गौरिगञ्ज, झिलझिले अनि लगाएका सिमल तरुल, घर तरुलले मेटाएका भोकहरू  सम्झँदै जानू । कन्काईको तीरमा दुई सिक्का चढाइदिनू, टाउको निहुराइदिनू । आज नि’ कसैलाई जलाई रहेका होलान्, दैवलाई सम्झनू ।  म झापा छिट्टै आउँछु ।

सुरुङ्गा, लक्ष्मीपुर, दुर्गापुरमा हावा चिसो होला, लामो सास लिएर जानू । बिरिङ्गले यसपालि पनि खेतबारी बगायो होला । अलि रिसाहा छ, तिमीले भनेको मान्छ कि, फकाई फुल्याई जनधन बिगार नगरेस् है भनेर सम्झाइदिनू ।

बिर्तामोड अझै अस्तव्यस्त होला, हल्ला होला, किनमेल होला । कलकत्ता मिठाईमा मिष्ठान्न किन्दै जानू । पार्वतीलाई जुलबी नि’ खुबै मन पर्छ लिन नभुल्नू ।  धूलो होला शनिश्चरेको बाटो अनि अन्नपूर्ण चित्र मन्दिरमा फिल्म लागेको होला । मेरो लागि पनि एउटा टिकट काट्दै गर्नू । म झापा छिट्टै आउँछु ।

बुट्टाबारीका बगानलाई हेर्दै गर्नू, हामी  टोकला जानुपर्छ, नभए पनि बुधबारे माथिको चिया बगानमा  बसेर मकै र मोही खाउँला । बाहुन डाँगीमा  सुठुनी (सखरखण्ड) र काँक्राहरू फलेका होलान्, मेरो लागि नि साँच्नू है । म  छिट्टै आउँछु ।

चारआलीका भक्काहरू र चन्द्रगढीका चटपटेहरू, छोलाहरू साह्रै मीठो लाग्छ मलाई । गुद्रीबजार र हटियाहरूमा ढुङ्ग्री र प्याजी पाकेका होलान् मेरो  लागि चाख्दै गर्नू  । धुलाबारीको खरिद बाँकी छ । लुगा राम्रो पाइन्छ, आमालाई साडी र भाइलाई जिन्स किन्नु छ । हामी सँगै जानुपर्छ, मलाई पर्खंदै गर्नू । म झापा छिट्टै आउँछु ।

सनपाटका खेतहरू, केराका बगानहरू, तमल लपेट्ने पानका पातहरू, बैंसका हाँसोहरू, मारेका बातहरू, गएका गोठालाहरू, गाएका गीतहरू, चराएका गाईहरू, बाख्राहरू, बोलाइरहनू । म छिट्टै झापा आउँछु ।

उडेका भँगेराहरू, सिकेका साइकलहरू, फुटाएका डल्लाहरू अनि खोजेका धानका सिलाहरू । सबैलाई बोलाइदिनू । माघे संक्रान्तिका तिलका लड्डु र बनाएका चाकुहरू,मेरो भाग पनि राखिदिनू । फुलेका तोरी र फिलुङ्गेहरू, पाकेका कटहर र मेवाहरूलाई यो दाइको खबर सुनाउँदै गर है फुच्चे भाइ ! काँकडभिट्टाकी कान्छी चिया बनाउँदै होलिन्, बुधकरणको रंग हाल्न लाउनु ।  म झापा छिट्टै आउँछु ।

अनि मेरो  बुढो भद्रपुर, अझै मेची किनारमा भैंसी चराउँदै  डण्डा लिएर देशको सिमाना रुँगिरहेको होला । एक चिलिम खैनी मोलेर दिनू, चुना हालेर । मेची आफ्नै हो, दाजुभाइ पौडिनु पर्छ । हात समाएर जङ्घे पिलरसम्म दौडिनुपर्छ । म झापा छिट्टै आउँछु । म झापा छिट्टै आउँछु ।
टाँसेको पोस्टमा पाएका कमेन्टहरू हेर्दै थिएँ, पढ्दै थिएँ ।  फुच्चे केटो: फुच्चे भाइले ‘आज झापा नजाने, म त जाँदैछु’ भनेर लेखेको रहेछ । मन कस्तो कस्तो भयो । मनमा जे आयो, जसरी आयो, त्यही लेखें,त्यसरी नै  लेखें र टाँस्ने जमर्को गरेको छु । त्रुटिहरू र बहकावहरू पनि धेरै छन्, अन्यथा नलिइदिनु होला ।

– सोझो झापाली

नोट: यो सन् २००८ जनवरी को पहिलो-दोस्रो हप्ता साझा डटकमको सामूहिक ‘च्याट वक्स’ मा सोझो झापालीको नाममा भेटिएको थियो । यसलाई मैले धेरै साथी र अग्रजहरूलाई ‘शेयर’ गरें र लेखक ‘को हुनुहुन्छ’ भनेर सोध खोज गरें । केही चिनजानका साथीहरूलाई फोन गरेर यसको लेखक  ‘तपाईं नै त होइन ?’ भनेर पनि सोधें । तर सबैले राम्रो लेख भनेर मलाई नै प्रशंसा गर्नु मात्र भएन कतिपयले त मेरै नाममा ‘शेयर’ पनि गरिदिनु भयो ।

लेखमा आफ्नो भूमि र बाल्यकालको स्मरणको मार्मिक अभिव्यक्ति छ । तपाईं हामीमध्ये कसैले लेख्नु  भएको होला ? पत्ता लगाऊँ र “राम्रो लेख्नु भएछ स्याबास, यसरी नै लेखिरहनु होला मनका कुराहरू” भनौं । कुनै पनि लेख-रचना लेखकहरूले सन्तान बराबर माया लाग्ने बताउनुहुन्छ तर यो सन्तानलाई यतिका वर्षसम्म बेवारिस छोड्नु हुने लेखकलाई आफ्नो नासोको वारिस लिन अनुरोध गर्दछु ।

       – लेखनाथ भण्डारी