“कति रोएकी रमिला तिमी, तिमी यसरी रोएपछि मलाई कस्ले सम्हाल्छ ? तिमी नै मेरो ताकत, अनि बाँच्ने प्रेरणा हौ । तिमीले यसरी हिम्मत हार्याै भने म कसरी बाँच्न सक्छु । मलाई तिम्रो साथमा कैयौं वर्ष बिताउन मन छ ।”

पुष्पा शर्मा

आफ्नो धोतीको फेरले रमेशले नदेख्ने गरि आँसु पुच्छिन् । “कहाँ रोएकी छु र ? त्यसै के भन्नुहुन्छ भन्नुहुन्छ । मलाई पनि त हजुरसँग धेरै वर्ष बाँच्न मन छ नि । धेरै नबोल्नू फेरि गाह्रो होला । आराम गर्नुहोस् म एकक्षणमा आउँछु है ।”

पल्लो कोठामा गएर रमिला भक्कानिएर रुन थाल्छिन् ।

कसरी चित्त बुझाउनु, कहिल्यै केही नभएका रमेशलाई एकाएक त्यत्रो रोग लाग्ला भनेर कसैले पनि सोचेको थिएन । रोग त लाग्यो तर कहिल्यै सन्चो नहुने ।

दिनप्रतिदिन रमेश गल्दै गएका छन्, अब त उठ्न बस्न पनि नसक्ने भएका छन् । डाक्टरले दुई महिना अगाडि नै बिदा दिइसकेको छ । अब कुर्नु बाहेक केही विकल्प छैन ।

अब बाँच्ने आशा हराएपछि घरका छोरा बुहारी सबै मिलेर दश दानको काम पूरा गरिदिए ।

रमिला भने जिउँदो लास जस्तै भएकी छिन् न रुने न बोल्ने, उनको मन ढुङ्गाजस्तै कठोर देखिन्छ ।

 

आध्यात्मिक चेत भएका दयालु रमेशलाई भेट्न आउने मान्छेको लर्काे देखिन्छ । एक मनले खुसी देखिन्छन् रमेश अरू सम्पत्ति धेरै जोड्न नसके पनि आफन्तहरू कमाएको रहेछु भनेर ।

आफन्तहरू पालो गर्दै कोही दिनमा त कोही रातमा कुरिरहेका देखिन्छन् । बाबाको त्यस्तो अवस्था देखेर छोरा रमण र नीराको पनि उस्तै हाल छ । आमालाई कमजोर पार्नुहन्न भनेर दाजु बहिनी लुकी लुकी रुन्छन् ।

अब सबैले आश मारिसकेका छन् । रमेशको मृत्युुसँगको तडप र पीडा देखेर । कतिले त यस्तो पीडामा छट्पटाउनु भन्दा बरु चाँडै प्राण छुटिदिए हुन्थ्यो भन्न पनि थालेका छन् । एक महिनासम्मको पीडा सहेर आखिरमा रमेशको मृत्युु हुन्छ । तुलसीको मठमा रमेशको लासलाई सुताइएको छ । आफन्तहरू डाको छोडेर रुन थाल्छन् ।

रमिला भने जिउँदो लास जस्तै भएकी छिन् न रुने न बोल्ने, उनको मन ढुङ्गाजस्तै कठोर देखिन्छ ।उनलाई धेरै जनाले रुवाउन खोजे तर उनी रोइनन्, भित्रभित्रै पीडामा छट्पटिरहिन् ।

कहिले होसमा त कहिले बेहोस हुँदै तेह्र दिनको काम पनि सिद्धियो ।

सबै आफन्तहरू आ–आफ्ना घर जान्छन् । छोरी नीरा भने केही समय आमासँगै बस्छे । आमाका आँखाबाट आँसु बग्न नदिन रामायण, महाभारतजस्ता किताब पढ्न लगाउँथी । एक वर्षसम्म रमिला घरबाट बाहिर पाइला नटेकेरै दुःख बोकिन् । जेनतेन वर्ष दिनको काम पनि सकियो ।

रमेश र रमिलाले तीस वर्षसँगै बिताएका थिए । उनीहरू एक अर्कोलाई असाध्यै माया गर्थे । बिहे भएदेखि नै रमिलालाई कहिल्यै एक्लै छाडेनन् । आफू जहाँ सरुवा भएर जाँदा पनि सँगै लान्थे ।

पैत्रिक सम्पत्तिको नाममा उनको सुको छैन । जे जति कमाए, छोराछोरी पढाए सबै जागिरबाट गरे । आफूले जति मिहिनेत गर्नु परे पनि उनीहरूलाई कहिल्यै केही कुराको कमि हुन दिएनन् । रमिलालाई दुःख हुन्छ भनेर कपडा धुने, भाँडा माझ्ने मान्छे राखिदिएका थिए । उनीहरूको जोडीलाई देखेर कतिले त ईष्या गर्थे । बाँच्दासम्म बूढाबूढी कहिल्यै छुट्टिएर बसेनन् ।
समग्रमा सुखी थियो उनीहरूको परिवार ।

भनेजस्तै एउटा छोरा रमण र एउटी छोरी नीरालाई पाएका थिए ।

सबै बा–आमाको एउटै सोच हुन्छ कि मेरा छोराछोरीले राम्रोसँग पढून्, कुबाटोमा नलागुन्, देश र जनताको लागि केही गरुन् भन्ने ।
रमेश पनि आफ्नो छोरालाई डाक्टर बनाउन चाहन्थे । तर चाहेर के हुन्छ र ? समिरले राम्रोसँग आइ.एस.सी पास पनि गर्न सकेन ।

छोरी नीराको राम्रो केटा हेरेर बीए पढ्दापढ्दै बिहे गरिदिए ।

छोरीको चिन्ताबाट त मुक्त भए तर छोराको चिन्ताले सताउन थाल्यो । आफूले चिनेको साथीलाई भनेर छोरालाई जागिर लाइदिए , त्यसमा ऊ टिकेन ।

“बाबा म केही सीप सिकेर आफ्नै पसल खोल्छु ।” भन्छ । एउटा छोरा नाई पनि भन्न सकेनन् रमेशले “लौ जे हो गर ।”

 

रमणको दुःखै नगरी एकैपटकमा लाखौं कमाउने महत्वाकांक्षी चाहना छ । “बाबा म केही सीप सिकेर आफ्नै पसल खोल्छु ।” भन्छ । एउटा छोरा नाई पनि भन्न सकेनन् रमेशले “लौ जे हो गर ।” भनेका थिए ।

कम्प्युटरसम्बन्धि तालिम सिकेर पसल पनि खोल्यो , केही समय त्यसैमा बितायो । अब त छोरोले गर्छ भनेर ढुक्क भए रमेश अनि रमणको बिहे गरिदिने विचार गरे ।

केटाकेटीलाई देखाइयो, बिहे हुने निश्चित भयो । धुमधामसँग बुहारीलाई बुहारी मुनालाई भित्र्याए । बिहे भएको दुई वर्ष नपुग्दै नातिको मुख देख्न पनि पाए ।

अब आफ्ना सबै जिम्मेवारीबाट मुक्त भएका रमेश जागिरबाट पनि मुक्ति पाए । उता बुहारी पनि किन खाली बस्ने भनेर छोरा हुर्किए पछि नोकरी गर्न थाली ।

छोरा रमणलाई अब त्यो व्यवसाय बोझ लाग्न थाल्यो । फेरि बाबालाई “यो पसलमा धेरै दुःख भयो ,मैले मात्र गर्नुपर्छ ,किराना पसल भए त आमा तपाईं जो बस्दा पनि हुन्छ , कमाई पनि राम्रो हुन्छ ।” भन्न थाल्यो । ल त नि ठीक छ भन्दै छोरालाई अनुमति दिए । पसल राम्रोसँग चलिरहेको हुन्छ । रमणको उधारो दिने बानीले गर्दा बिस्तारै पसलको सामान खाली हुँदै गयो । उधारो उठ्न नसकेर व्यापार घाटामा गयो । त्यो पसल पनि बेच्यो ।

अब यो छोराले गरिखाने भएन भनेर रमेश निकै चिन्तित देखिन्थे । अब त उनको जागिर पनि छुटिसकेको थियो । आम्दानीको रुपमा घरभाडा र बुहारीको तलब मात्र थियो ।

एक दिन फेरि “बाबा अब गाडी किन्नुपर्याे त्यसबाट निकै कमाइ हुन्छ , म कन्डक्टरको काम गरिहाल्छु ।” भन्दै रमेशको अगाडि देखा पर्छ । छोराको बानीले उनी वाक्क भैसकेका थिए तर के गर्नु सन्तानका अगाडि बाबा आमा सधैँ कमजोर बन्नु पर्छ ।

“हेर रमण मैले जिन्दगीभर कमाएको यही एउटा घर र मेरो इज्जत हो । तैँले मलाई पटक पटक निराश बनाएको छस् । के ग्यारेन्टी छ तैंले यो काम राम्रोसँग गर्छस भन्ने ?”
“होइन, बाबा यसपालि म हजुरलाई निराश पार्ने छैन, अब अन्तिम पटक विश्वास गरेर हेर्नुस् ।”
“ठीक छ, अब यो अन्तम पटक हो । अब उप्रान्त मसँग केही पनि हुँदैन, रिटायर्ड हुँदाको केही पैँसा छ त्यसबाट चला । अब देखि सम्पूर्ण घरखर्च पनि त्यसैबाट चलाउनु पर्छ , शर्त मञ्जुर छ ?“

“हुन्छ ,यसपालि कुनै गुनासो गर्ने मौका दिने छैन ।”

 

अब रमणसँग न त कुनै पेशा छ न त कुनै व्यापार, न त साथ दिने बुबा नै छन् । के गर्ने, के नगर्ने ,कसरी गर्ने सोच्नै नसक्ने अवस्थामा थियो रमण ।

 

सबै पैसा लगेर रमणले गाडी किन्यो । गाडीबाट राम्रो कमाई भइरहेको थियो । त्यस्तैमा अचानक एकाएक रमेश बेहोस भएछन् । हतारहतार हस्पिटल उनलाई अस्पताल पुर्याइयो । भर्ना गरेर डाक्टरले एक एक सब टेष्ट गर्न लगाउँदा थाहा भयो कि उनलाई त कलेजोमा लास्ट स्टेजको क्यान्सर भइसकेको रहेछ ।

धेरै ठूला ठूला हस्पिटल पनि धाए , जडिबुटी खुवाए तै पनि उनलाई बीसको उन्नाइस भएन । करिब तीन महिनासम्मको अस्पतालको बसाइले पनि केही फाइदा नभएकोले डाक्टरले रमेशलाई घर फर्काइदिए । डाक्टरले आफू सक्दो गरेकै हुन् , रमिला पनि ऋण काढेरै भए पनि रमेशको उपचारमा खटिएकी थिइन् ।

रमिलालाई श्रीमानले छोडेर गएको पीडा एकतिर थियो भने अर्कोतर्फ औषधि उपचारमा लिएको ऋण कसरी तिर्ने भन्ने पीर थियो ।
एकदिन रमण आफ्नो गाडी लिएर पहाडको बाटो हिँडिरहेको थियो । विपरीत दिशाबाट आएको ट्रकले उसको गाडीमा आएर ठोक्काइदियो । धन्न गाडीमा यात्रु कोही पनि थिएनन्, ड्राइभर र रमण दुवैले गाडीबाट कुदेर आफ्नो ज्यान बचाए । गाडी तेह्रचौध फिट तल खस्यो । गाडीको आवरण हेर्न लायक भएको थिएन ।

केही समयपछि गाडीलाई निकालेर बनाउन सक्ने अवस्था थिएन । त्यसैले एक एक पार्ट भए पनि बेचेर बाबुको ऋण तिर्ने पैसाको जुगाड भयो ।

अब रमणसँग न त कुनै पेशा छ न त कुनै व्यापार, न त साथ दिने बुबा नै छन् । के गर्ने, के नगर्ने ,कसरी गर्ने सोच्नै नसक्ने अवस्थामा थियो रमण । दिनभर सुतेर उसले दिन ढाल्न थाल्यो ।

मुना रात दिन घोटिएकी छे । उता घरको काम पनि आफैँ गर, कमाएर पनि आफैँ ल्याऊ । सासू रमिला र लोग्ने रमण दिनभर घरमा हुँदा पनि मुनालाई सघाउने कोही हुँदैन । रमणले कुनै काम खाजेर गर्लान् सोचेर केही समय त ऊ चुप लागेर बसी । तर ऊ घरबाट टसमस गर्दैन ।

यसरी रमण लोग्ने मान्छे भएर भएर पनि केही काम गर्ने हुति नभए जस्तैगरि स्वास्नीको कमाई खाएर बसेको रमणलाई देखेर उसलाई खपिनसक्नु भएको थियो । बाबालाई गुमाइसकेको मान्छे , एउटा छोराको बाउ भैसकेको मान्छेले न त आफू बाउ बनेको जिम्मेवारी निभाउँछ न त असल छोरोको कर्तव्य निभाउन सकेको छ ।

मुना अफिसबाट थकित भएर आउँदा जुठाभाँडा कच्रक्कै हुन्थे । एकछिन नबिसाई खाना पकाउन कुद्नु पर्थ्यो । एकदिन होइन, दुई दिन होइन कति दिन सहनु उसले पनि । पहिला पहिला त रोएर आफ्नो भाग्यलाई धिक्कार्थी । पछि पछि त आवेशमा आउने, रिसाउने , झर्किने गर्न थाली । कहिले लोग्नेलाई नामर्द, हुतिहारा आफ्नी स्वास्नी ,छोराछोरी पाल्न नसक्ने भन्थी , कहिले कङ्गालहरू त कहिले भिखारीका सन्तानजस्ता शब्द उसका ओठमा प्रयोग हुन्थे ।

रमण उसका एक एक वचन कानमा तेल हालेझैँ गरि बस्थ्यो । सासू रमिलालाई बुहारीका वचन वाणले भित्र भित्र खाइरहेको थियो । रमेशको मुखबाट कहिल्यै नराम्रो शब्द नसुनेकी रमिलालाई अहिले बुहारीका वचन सुन्नु पर्याे । रमेशलाई सम्झिदै “मलाई किन एक्लै छोडेर जानुभयो ? के यस्तै शब्द सुन्नका लागि म बाँचेको हो ?” भन्दै रुन्थिन् ।

रमिलालाई आजभोलि बुहारीका वचन र व्यवहारले त्यति सन्चो हुँदैन । कहिले के हुन्छ, कहिले के हुन्छ । सकेको काम अलि अलि मुनालाई सघाउँथिन् । उसको घरमा आउने समय पनि पहिला जस्तो नियमित छैन । घरमा आउँदा अहिले उसलाई खाना तयार भएको हुनुपर्छ हैन भने घरमा रँडाको मच्चिन्छ ।

उता नीराले माइतको सबै कुरा थाहा पाएर आमालाई दुईचार दिन बस्न पठाइदिन भन्छे मुनासँग । औषधि उपचार पनि गरिदिने भनेर आमा रमिलालाई बोलाउँछे ।

आमालाई औषधि गर्न अस्पताल लैजान्छे नीराले । होलबडी चेक गर्दा पनि उनलाई केही रोग देखिँदैन । डाक्टरले “चिन्ताको कारणले बिसन्चो भएको हो ,उहाँलाई तनाव दिने कुनै काम नगर्नू होला ।” भनेर फर्काइदिन्छ ।

नीराले आमालाई मन पर्ने खानेकुरा ख्वाएर , मन्दिर दर्शन गराएर सकेसम्म खुसी राख्ने कोसिस नगरेको कहाँ हो र, तर अनुहारमा चमक नै देखिन्न थियो । एक दिन रमिलाले निराको मोबाइल ओल्टाइ पल्टाइ पारेर हेरिरहेको देखी । उसले आमाको मनको कुरा बुझेर भोलिपल्टै गएर एउटा मोबाइल किनेर ल्याई ।

मुना पनि उसको कुरा सुनेर भावुक बन्न पुगी र झोला भुइँमा राखी ।

 

मोबाइलमा फेसबुक खोलेर आमाले चिनेका आफन्त साथीभाइ सबैसँग जोडिदिई । फोन गर्न, भिडियो कल गर्न सबै कुरा सिकाई । एक महिनासम्मको बसाइमा रमिला निकै फेरिएकी थिइन् र जान्ने भएकी थिइन् । समय समयमा भिडियो कल गरेर सबैसँग कुराकानी गर्ने भैसकेकी थिइन् ।

उता घरमा मुना र रमणको ठूलो झगडा परेको थियो । कि केही काम गर्नु , होइन भने म एक्लैले भित्र बाहिर धान्न सक्दिनँ अब । यस्तै हो भने छोरालाई टिप्छु हिँड्छु एकतिर । बस्नुस तपाईंका आमा छोरा ।” यति भनेर मुना छोराको हात समातेर झोला लिएर हिँड्ने सुर कसी त्यसरी मुनाले नै घर छाडेर हिँड्न थालेपछि रमणले आँसुका धारा बगायो । “मुना मलाई छोडेर नजाऊ ,यो घर तिम्रो हो, तिमी नै नभए यो घरको अस्तित्व रहँदैन । मलाई अब अन्तिम पटक मौका देऊ, एक हप्ता भित्रमा म जे जस्तो भए पनि काम गर्छु । मैले तिमीलाई कुनै सुख दिन सकिन, एकचोटि धेरै कमाउने लालसाले म अन्धो भैसकेको थिएँ । आफ्नो घर,छोरा र तिमीप्रतिको कर्तव्य बिर्सन पुगेँ । बाबालाई गुमाएपछि मात्र मलाई महसुस भयो । मलाई माफ गरिदेऊ मुना ! अब देखि तिमीहरूलाई हर खुसी दिने प्रयास गर्नेछु ।” भन्दै झोला समातेर रमणले श्रीमतीको बाटो छेक्यो ।

मुना पनि उसको कुरा सुनेर भावुक बन्न पुगी र झोला भुइँमा राखी ।

रमण दिन रात जागिरको खोजीमा हुन्छ तर भनेजस्तो भेट्दैन । निराश भएर पल्टिरहेको बेलामा फोनको घन्टी बज्छ । उसको बाल्यकालको साथी प्रमोद सानैमा विदेश गएको थियो । अहिले पैसा टन्न कमाएर आफ्नै गाउँठाउँमा उद्योग गर्ने सोचले फर्केको रहेछ । “हेलो रमण के छ यार मलाई चिनिस् ? म तेरो उहीँ बाल्यकालको साथी प्रमोद बोलेको । म विदेशबाट आको दुईचार दिन भयो ।कहाँ के गर्दैछस् ?”

यति लामो समय पछि साथीले फोन गरेको त्यसमा पनि एकैपटक कति प्रश्नको ओइरो । एक क्षणसम्म त रमण खुसीले केही बोल्नै सक्दैन । त्यसपछि भोलिपल्ट भेट्ने भन्दै फोन राख्छन् ।

भोलि साथीलाई भेट्ने कुराले रमण खुसी छ भने आफूले अहिलेसम्म जिन्दगीमा केही गर्न नसकेकोमा दुखी पनि छ ।
साथी प्रमोदले आफ्नो सबै योजना बताउँदै “तँ सानैदेखि यहीँ बसेको सबै कुरा थाहा छ, सबैलाई चिनेको पनि छस् । त्यसैले मैले उद्योग खोल्ने काममा तेरो सहयोग चाहिन्छ । लगानी,पैसा मेरो तेरो चाहिँ मिहनेत के मलाई साथ दिन सक्छस् ?”
प्रमोदको प्रस्ताव रमणलाई “के खोज्छस् काने आँखा भनेजस्तै ”
भयो । दुवै साथी मिलेर काम सुरु गर्न थाले ।

रमिला पनि छोरीको घरबाट फर्किन् । त छोराले पनि काम गर्न थालेछ भनेर निकै खुसी भइन् । छोरा बुहारी अफिस, नाति स्कुल दिनभर घरमा रमिला एक्लै हुन्थिन् । अब उनी पहिलाको जस्तो दुःखी ,चिन्तित उनको मुहार थिएन । दिनभर आफन्तहरूसँग मोबाइलबाट मनको कुरा गर्ने ,हाँस्ने गर्थिन् । पहिला जस्तो अया ! दुख्यो पनि गर्न छोडेकी थिइन् । बुहारी अफिसबाट आउँदा खाना तयार हुन थालेको थियो । आजभोलि घरमा शान्ति छाएको छ ।

केही नभनेरै आमाको यस्तो परिवर्तित स्वभाव देखेर छोरा बुहारी अचम्मित थिए । के जादु गरेर पठाइछे र बहिनीले । उनीहरूले मन थाम्न नसकेर एक दिन खाना खाने बेलामा सोधिहाले, “आमा आजभोलि निकै खुसी देखिनुहुन्छ ,अनुहारमा अर्कै चमक देखिन्छ । हामीलाई पनि भन्नुन कारण ” छोराको कुरा सुनेर रमिला लजाएझैँ गरि कोठाबाट मोबाइल ल्याएर देखाउँछिन ।
“ए यो पो रहेछ आमाको खुसी को कारण ।” भन्दै सबैजना हाँस्छन् ।

आजभोलि रमिलाको दुःख पीडा सबै मोबाइलले हराइदिएको छ । बिहानै भजन सुन्दै आफ्नो नित्य कर्म गर्छिन्, दिनभर कुराकानी गरेर समय बिताउँछिन् अनि राति फेरि भजन सुन्दै निद्रादेवीको काखमा पुग्छिन् । यसरी रमिलाको लागि मोबाइल एउटा असल साथी अनि वरदान सावित भएको छ , जसले उनको एक्लोपनलाई पूर्ण पारेको छ ।