फेरिने कुरा फेरिइरहून्
सत्ता साता सातामा फेरियोस्
उम्केका माछाहरू मोटाइरहून्
बन्द फाइलहरू धमिराले निलिरहून्
यसमा मेरो चिन्ताले
चितासम्म डोर्याउन सक्ला
तर मैले चिताएको पूरा हुन सक्दैन
म चाहन्छु
मैले गर्न सक्ने मात्र बोलूँ
गरेपछि मात्र मुख खोलूँ
मैले गर्न सक्ने भनेको
पहाडको छातीमा फुलेको बुकी फूल
भीर, पाखा, कन्दरामा फुटेको मूल
सुक्न दिन्नँ
इतिहासका अक्षरहरुलाई लुक्न दिन्नँ
गाउँमा
चौतारीको ढुङ्गामा
रहेको हजुरबुवाको औंलाको स्पर्श मेटिनबाट जोगाउँछु
खेतबारी बिराउँदाका बखत
हजुरबुवाका खुट्टाका डोबहरूलाई
छातीमा सजाउँछु
गाउँको कुहेको खरको छानोमा
फूलेका सुगन्धित फूलबाट
शहरका लागि अत्तर बनाउँछु
गाउँको देखासिखी गर्नुपर्छ है भनी
शहरलाई सिकाउँछु
शहरको देखासिखी नगर्न गाउँसँग
बिन्ति बिसाउँछु
तर दिनभर चिया पसलमा बसेर
सिंहदरबार हाँक्ने कुरा
सरकारमा कस–कसलाई राख्ने कुरा
यो मेरो हैसियतमा पर्दैन
देश सुधार्न म सुध्रिनुपर्छ
अहिलेसम्म म अरूलाई देखाउनकै लागि
सुध्रिएझैँ गरेँ
अब म अरूले मलाई देखाऊन् भन्नका लागि सुध्रिन्छु
चुनावताका मेरो दिमाग र दिलको तालमेल मिलेन
सेकेण्डभरको लागि हात चिप्लियो
त्यो चिप्लिएका हात अहिले आफ्नै
पुर्परोलाई टेको लगाउँदैछ
अहिले कान र आँखाले गुनासो गर्न
दिल र दिमागसामु धाउँदैछ
म गाउँ छोडेको छैन
बर्खामासको झरी
मझेरी बनिसकेको छ आहाल
बाँकी छैन कुनै बटुकी गिलास अनि थाल
तैपनि ममा सन्तुष्टि छ
म सन्तुष्टिलाई धन ठान्छु
त्यसैले त म धनी छु
गाउँ छोड्नेको खेतबारी
कमाएर बसेको छु
आफ्नो सँगै अरूको थात थलो
समाएर बसेको छु
ती खेतबारीका मालिक शहरमा सुकुम्बासी छन्
एउटा छोरो अष्ट्रेलिया अर्को छोरो अमेरिकामा दास छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।