पश्चिमी अफ्रिकाको एउटा देश मौरिटानिया छेउको कुख्यात सहारा मरूभूमि कसलाई पो थाहा नहोला । त्यस मरभूमिको लगभग बीचमै रहेको एउटा शहर चिंगुएटीले १२ सय वर्षयता यात्रुहरूलाई संरक्षण दिइरहेको छ । अर्थात्, यो शहर आउजाउ गर्नेलाई बसोबासको व्यवस्था मिलाइरहेको छ ।

यो शहरको स्थापना करिब आठौँ शताब्दीमा भएको थियो । मुस्लिम धर्मावलम्बीहरूका लागि तीर्थस्थल मक्का जानका लागि तीर्थयात्रीहरूको एउटा ठूलो झुण्ड विभिन्न ठाउँबाट आएर यहीँ बास बस्ने गर्थ्यो ।

रातो पत्थरयुक्त यो शहर बिस्तारै पश्चिम अफ्रिकामा विज्ञान, धर्म र गणितको सबैभन्दा ठूलो केन्द्रमध्ये एक बन्न पुग्यो ।

यहाँ कानुन, चिकित्सा र खगोलशास्त्रका विद्वान अड्डा जमाएर बस्थे । तीर्थयात्री र अन्य विद्वान यहाँ आउजाउ गरिरहन्थे, ज्ञानका खातिर ।

पाण्डुलिपिहरूको संरक्षण
चिंगुएटीमा धार्मिक पुस्तक, वैज्ञानिक अध्ययन र ऐतिहासिक महत्त्वका पाण्डुलिपिहरू तयार हुने गर्थे । १३ औँ शताब्दीदेखि १७ औँ शताब्दीसम्म चिंगुएटीमा ३० वटा पुस्तकालय थिए । त्यहाँ पाण्डुलिपिहरूलाई सम्हालेर राखिन्थ्यो । अहिले भने तीमध्ये पाँच मात्र अस्तित्वमा छन् । पुस्तकालयका संरक्षकले मध्यकालीन कुरानका एक हजार भन्दा बढी पाण्डुलिपिहरूलाई सहाराको बालुवाबाट बचाएर राख्ने गरेका छन् ।

सैफ अल-इस्लाम यस्तै पुस्तकालयमध्येका एक संरक्षक हुन् । उनी भन्छन्, “हाम्रा पुर्खाहरूले धर्म, खगोलशास्त्र और ज्योतिषशास्त्र लगायतका विभिन्न विषयहरूका किताब र पाण्डुलिपिहरू लेखेका थिए ।”

यी पुस्तकालय राता पत्थरले बनेका छन् । तिनका भित्ता निकै दह्रा, चौडा र सशक्त देखिन्छन् । यसभित्र छिर्नका लागि काठका स-साना ढोकाहरू राखिएका छन् । यी पुस्तकालयभित्र छिर्ने हो भने हजारौँ पाण्डुलिपिहरू फेला पर्छन् । तिनलाई काठका बाकसहरूमा सम्हालेर राखिएको छ ।

सैफ अल-इस्लाम पाण्डुलिपिलाई छुनुअघि हातमा पञ्जा लगाउँछन् । त्यसपछि उनको प्रियमध्ये एक खगोलशास्त्रको पाण्डुलिपि झिक्छन् । उनी भन्छन्, “यो एक वैज्ञानिक किताब हो । हेर्नुस्, यसमा कर्कट र तुला नक्षत्रहरूका बारेमा लेखिएको छ । कोपरनिकस और ग्यालिलियो भन्दा निकै पहिले मुसलमानहरूलाई यो पृथ्वी गोलो छ र घुमिरहेको छ भन्ने थाहा थियो ।”

पुरूष अधिकार
सैफ अल-इस्लाम बालापनदेखि नै यी पुस्तकालयका संरक्षक बन्ने सपना देख्ने गर्थे । उनी अन्य संरक्षकहरू र घुमन्तेहरूलाई पनि सहयोग गर्थे । उनी भन्छन्, “मेरा भाग्य राम्रो थियो कि म पुरूष भएर जन्मिएँ । किनभने म महिला भएर जन्मिएको भए पुस्तकालय संरक्षक बन्न सक्दिन थिएँ । किनभने महिला संरक्षक हुने कुनै नियम अहिलेसम्म बनाइएको छैन ।”

“त्यसो त कयौँ महिलाहरू यस कार्यका लागि सक्षम छन् । उनीहरू यो कामलाई निकै सहज र राम्रो तरिकाले गर्न सक्छन् तर जब तिनको बिहे हुन्छ, उनीहरूको भाग्यको मालिक तिनका लोग्ने हुन पुग्छन् । यसरी यो पैतृक सम्पत्ति ती महिला नभई तिनका लोग्ने हुन पुगे र तीमध्ये म एक हुँ ।”

सहारा मरूभूमि पहिलेभन्दा निकै बढिरहेको छ । यो क्रमशः दक्षिणतर्फ सरिरहेको छ । चिंगुएटीका छतमा हिजोआज निकै बालुवा जम्मा हुन थालेको छ ।

सैफ अल-इस्लाम भन्छन्, “सन् १९३० देखि १९९५ सम्म यहाँका कयौँ परिवार ठूला शहरमा राम्रो अवसर पाउने लोभमा बसाइँ सरे । नजाऊन् पनि कसरी ? यहाँ तिनका ऊँटका लागि खुवाउने चारो र घाँस पनि उम्रन छाड्यो । अन्य कुनै किसिमको जागिर र अवसर पनि छैन ।”

“पलायन भएका कयौँ परिवारले आफ्नो भागको पाण्डुलिपि पनि सँगै लिएर गए । चिंगुएटीमा अब ३० मध्ये १२ वटा पुस्तकालय मात्र बचेका छन् । तीमध्ये पनि पाँच या छ वटा नै खुला हुन्छन् ।”

जलवायुमा आएको परिवर्तनका कारण यहाँ पानी पर्ने र बाढी आउने घट्ना निकै हुन थालेको छ । यस कारण पनि यहाँ पाण्डुलिपिहरू नष्ट हुन थालेका छन् । यस्तोमा यो इस्लामिक ज्ञानविज्ञानको अनमोल खजानाको भविष्य निकै चौपट देखिन्छ ।

सैफ अल-इस्लाम भन्छन्, “केही किताब त मेरो घरको एक तलामाथि राखिएको थियो । यति भयानक वर्षा भयो कि ती किताब बर्बादै भए । केही पाण्डुलिपिलाई बाख्राले खाइदिए । केही किताबलाई बालबालिकाले खेल्दाखेल्दै च्यातिदिए । यसरी अनमोल यी पाण्डुलिपिहरू एक एक गर्दै आँखै अघिल्तिर क्रमशः नष्ट हुँदा ज्यादै पीडा हुने गरेको छ ।”

चिंगुएटी शहरमा कुरानको पुस्तकालय

हुन त चिंगुएटीमा कुनै पुस्तकालयको मालिक हुनु सामाजिक प्रतिष्ठाको कुरा हो । तर प्रतिष्ठाले त आम्दानी दिने कुरा भएन ! फेरि पुस्तकालयलाई आम्दानीको स्रोत बनाउनु हुन्न भन्ने बलियो विश्वास र मतका कारण पनि पुस्तकालयका मालिकहरू दरिद्र जीवन बिताइरहेका छन् ।

इन्स्टिच्युट अफ रिसर्च एन्ड साइन्सका बेचिर अल मोहम्मद भन्छन्, “पाण्डुलिपिका अधिकांश मालिकहरूलाई ती किताब वा सम्पत्तिलाई के गर्ने भन्ने नै थाहा छैन । तिनका बाउ-हजुरबाउलाई भने यो कुरा महत्त्वको हो भन्ने थाहा थियो । तर नयाँ पुस्तालाई त्यसबारे थाहा नहुँदा यसको उचित संरक्षण हुन सकिरहेको छैन । यी पाण्डुलिपिको यही नै सबैभन्दा ठूलो समस्या हो ।”

पुस्तकालयका मालिकहरूलाई यति मात्र थाहा छ, उनीहरूसँग कुनै पैतृक खजाना छ । यो त थाहा छ तर खजानामा के के छ भन्ने चाहिँ थाहा छैन ।

“हामी तिनलाई यो कति महत्त्वको चिज हो भन्ने बुझाउने प्रयास गरिरहेका छौँ,” बेचिर भन्छन्, “यो खजानालाई राखिरहनु मात्र ठूलो कुरा होइन, यसलाई हावा-पानी, चिस्यानबाट पनि जोगाउनु र कीरा लाग्नबाट पनि जोगाउनु उत्तिकै महत्त्व हुन्छ ।”

चिंगुएटी शहरको त्यो जमानाको वैभवका दिन रहेनन् । यो शहरमा अब पहिलेजस्तो यात्रुहरू आउँदैनन् । जो आउँछन्, तिनीहरूले पनि यी पुस्तकका महिमा बिर्सिएका छन् । यतिबेला सैफ अल-इस्लाम केही बालबालिकालाई यी किताबको महत्त्व के हो र तिनलाई कसरी संरक्षण गर्ने अनि यसमा के लेखिएको छ भनेर समेत प्रशिक्षण दिइरहेका छन् ।

उनी भन्छन्, “मैले प्रशिक्षण दिइरहेकामध्ये दुई वा तीन जना मात्र क्षमतावान् छन् । तर पनि म पक्का यकिनका साथ तिनले यी पुस्तकालय चलाउलान् या रेखदेख गर्लान् भनी भन्न सक्दिनँ । नयाँ पिँढी यी पुराना पुस्तकलाई लिएर उति उत्साहित भएको भने म पाउँदिनँ ।”

संरक्षणका लागि सुको छैन
यस्तै एक पुस्तकालयका मालिकमध्ये एक बेचिर अल मोहम्मद भन्छन्, “हाम्रा केही छिमेकीसँग निकै ठूलाठूला पुस्तकालय छन् तर तिनलाई संरक्षण गर्नका लागि उनीहरूसँग पैसा छैन । यो नै अहिले ठूलो समस्या बन्न पुगेको छ ।”

“मलाई त्यस्ता दुई वटा पुस्तकालयका बारेमा जान्दछु, जसका मालिक साउदी अरबमा बस्छन् । हामी त्यसको संरक्षण गर्नुपर्ने छ । त्यसलाई राम्रो अवस्थामा संरक्षण गर्नुपर्नेछ । तिनलाई चिंगुएटीको बालुवामा यसै लावारिस छोड्न मिल्दैन । हामीले यसलाई संरक्षण गर्नु नै छ तर हामीले हार मानेर पनि त भएन !”

संरक्षणवादीहरूले पाण्डुलिपिहरूलाई जोगाउनका लागि तिनलाई चिंगुएटी भन्दा अन्त नै लैजाने प्रयास गरिएको थियो । तर स्थानीयहरूलाई यी पुस्तक अन्तकतै लगेको पनि मन पर्दैन ।

सैफ अल-इस्लाम भन्छन्, “अब केही चाहिँ यसलाई यो शहरभन्दा अन्तै लगेर संरक्षण हुन्छ भन्छन् तर आफ्नो घर, आफ्ना हातगोडा, आफ्ना आँखालाई अलग गरेर पनि तिनलाई संरक्षण गर्न सकिएला त ?”

“यदि हामीलाई कसैले स्वैच्छिक सहयोग गर्छ भने बेग्लै कुरा हो तर सहयोग पाउने कुरा पनि मरूभूमि पारिको घामजस्तो छ । किनभने मौरिटानिया सरकार न त युनेस्को न त अन्य कुनै संगठन नै यस किसिमको सहयोग गर्न सक्षम छ ।”

“त्यसो त उनीहरूलाई यो हाम्रो पैतृक सम्पत्ति संरक्षण गर्ने अधिकार पनि त छैन ! यो हाम्रो पुर्खाको सम्पत्ति हो ।”

बिबिसी ट्राभलबाट अनूदित