‘अमेरिकामा आमा’ – भारती गौतमद्वारा लिखित सशक्त आत्मकथा हो । अमेरिकामा नेपाली डायस्पोरा माझ पहिलो पुस्ताकी नेपाली आप्रवासी महिलाको निजी जीवन अनुभवको पारिवारिक, सामाजिक कथा हो । यसलाई आख्यान उपन्यास मात्र मान्न सकिंदैन । संस्मणात्मक उपन्यासको रूपमा पुस्तक सफल भइसकेको छ ।

सन् १९८० को दशकमा नेपालबाट संयुक्त राज्य अमेरिका सम्मको भारती गौतमको सपरिवार यात्रा, नयाँ समाज र संस्कृतिलाई बुझ्ने उनको प्रयास, शुरूका दिनमा उनले भोगेका अनौठा अनुभव, फरक संस्कृतिलाई बुझ्ने उनका दृष्टिकोणहरूको क्रमिक विकास र आमाको रूपमा परिवार प्रतिको समर्पणको मूल्यलाई भावनात्मक, कलात्मक र बौद्धिक धरातलमा समेटेर लेखिएको यो पुस्तकले अत्यन्त सुरम्य, गहन, सशक्त र मार्मिक कथा बोकेको छ ।

यस पुस्तकमा लेखिकाले विदेशी भूमिमा अनुभव गरेको सांस्कृतिक आघातको जीवन्त चित्र देख्न पाइन्छ । परिवारलाई एकताबद्ध र एकीकृत राख्न गरेको संघर्ष, पश्चिमी संस्कृतिमा उनको अनुकूलन र त्यस संस्कृतिभित्र उनले अँगालेका सकारात्मक पक्षहरूलाई भारतीले निक्कै प्रभाविलो ढङ्गले यो पुस्तकमा वर्णन गर्छिन् । यो वर्णनभित्र उनको धनकुटामा बितेको प्रारम्भिक जीवनकालदेखि लिएर उनको स्नातकोत्तर अध्ययनको सन्दर्भमा आइपरेको आत्मविश्वासले भरिपूर्ण शैक्षिक यात्राको सादृश्य चलचित्र भरपूर देख्न पाइन्छ ।

अमेरिका भासिनुअघि आफ्नो ग्रामीण धनकुटे पृष्ठभूमिदेखि लिएर काठमाडौँको आधुनिक तर अभावग्रस्त जीवनशैली बीच आफ्नो उच्चशिक्षा, विवाह, अनि मर्यादित रोजगारको अनुभवलाई पनि लेखिकाले यस पुस्तकमा बडो रोचक ढङ्गले साझा गरेकी छिन् । अमेरिका जानुअघि नै लेखिकाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरिसकेकी थिइन् । त्यसपछि उनी गोरखापत्रमा उपसम्पादकको सम्मानित पदमा रहेर काम गर्थिन् । उनका पति एक स्नातकोत्तर विद्यार्थीको रूपमा छात्रवृत्ति पाएर अमेरिकातिर भविष्य खोज्न भासिंदा भारतीले पनि छोराछोरी सहित पतिकी सहयात्री आश्रित पत्नीको रूपमा अमेरिकामा आफ्नो भाग्य रोजेकी हुन् ।

नेपाली अनुभवको कसीमा राखेर हेर्दा अमेरिकी जीवन, संस्कृति र सोच कस्तो देखिन्छ भन्ने देखाउने क्रममा यस पुस्तकको हरेक अध्याय र हरेक जसो पृष्ठमा विदेशी भूमिका एकएक साना-ठूला घटनाका अनुभवलाई त्यसको समानान्तर नेपाली घटना र अनुभवसँग लगेर दाँज्दै देखाइएको छ । शुरूका दिनमा उनलाई अमेरिकी उच्चारण बुझ्न चुनौतीपूर्ण छ । मसला बिना मकैको तेलमा पकाइएका बेस्वादका तरकारीहरूदेखि लिएर कालान्तरमा भर्मन्टको जोड हिउँ पर्ने कठोर जाडो इत्यादि कुराहरूबाट उनी अमेरिकालाई नेपाली पृष्ठभूमिको अनुभवभन्दा भिन्न पाउँछिन् । यी सबै अनुभवहरूलाई उनी जीवन्त शब्दहरूले सविस्तार वर्णन गर्छिन् । उनको लेखन शैली अनुपम छ र उनको स्पष्टोक्तिमा अपार आकर्षण छ । वास्तविक विषय, घटना र अनुभूतिहरूलाई प्रस्ट्याउनु पर्दा मुख्य विषयबाट टाढा, परोक्ष, काल्पनिक प्रसङ्गको उपमा दिने उनको आफ्नो मौलिक शैली छ । सामान्य देखिने घटनाको विषयवस्तुलाई उपमा, उच्च कल्पना र गहन चिन्तनमा समेटेर वर्णन गर्नसक्नु भारती गौतमको लेखनको विशेषता हो ।

उनका पति, शिव गौतम तथ्याङ्कशास्त्रका विद्वान हुन् । त्यही विषयमा विद्यावारिधि गर्ने सिलसिलामा अमेरिका पुगेर अध्ययन अध्यापनको ध्येयमा समर्पित शिव गौतमले त्यहाँका नामी विश्वविद्यालयहरूमा अनुसन्धान र शिक्षण गर्ने मौका पाए । त्यस क्रममा एक शहरबाट अर्को शहरमा वासस्थान सर्ने क्रममा, भारतीको कथा चाहिं परिवारको कल्याणको लागि त्याग र समर्पणको अभिलेख बनेर आएको छ ।

संयुक्त राज्य अमेरिकामा बसाइँ सर्नुअघि, भारती गौतमको जीवन सामाजिक मान्यताहरूको बलियो पालनाद्वारा चिह्नित थियो । सफा शौचालयजस्ता आधारभूत सुविधा नभएको भाडाको कोठामा श्रीमानसँग बस्दै उनले सीमित स्रोतसाधनका चुनौतीहरू अनुभव गरेकी थिइन् । पुस्तकमा उनले आफ्ना दिवंगत ससुरासँग काल्पनिक वार्तालाप समेत गरेकी छिन् । त्यो अनुपम वार्तालाप लेखिकाको आफूभन्दा अग्रजहरूप्रति सम्मान प्रदर्शन गर्ने एक औजार मात्र होइन, बरु लेखिकाको हृदय भित्रको त्यो संस्कारबोध हो, जसलाई उनले नितान्त मौलिक एवम् सुन्दर ढङ्गले व्यक्त गरेकी छिन् ।

अमेरिका पुगेपछि भारतीले उनको पूर्ववत् सामाजिक मान्यता र नयाँ विदेशी व्यवहारमा भिन्नताको सामना गरिन् । त्यस्ता उल्लेखनीय भिन्नताहरू मध्ये एक हो – सार्वजनिक रूपमा प्रदर्शन गरिएको अनौपचारिक शारीरिक स्नेह । स्त्री-पुरुषका लैंगिक भेदको वास्ता नगरी आत्मीयताको आधारमा अँगालो हालिएको घटना । यद्यपि यस्ता व्यवहारहरू त्यहाँ सद्भावना प्रदर्शनका सामान्य अभिव्यक्ति हुन्, र पनि त्यस्ता कुराले शुरूमा लेखिकालाई एकदमै असहज महसूस गराए । थप रूपमा, चर्चहरूको भ्रमण, क्रिसमस र हलोइन जस्ता चाडबाडको अवलोकन र तिनका धार्मिक, सांस्कृतिक अर्थहरूले लेखिकामा सांस्कृतिक फरकपनको भित्री तहसँग परिचित गराइदियो ।

भारतीका छोराछोरीहरूले पनि अमेरिकी जीवनमा आफूलाई र आमा भारतीलाई  समायोजन गराउन महत्त्वपूर्ण भूमिका खेलेको प्रसङ्ग यस पुस्तकमा पटकपटक पढ्न पाइन्छ । आफ्ना केटाकेटीको माध्यमबाट लेखिका विद्यालयको शैक्षिक प्रणाली र सम्बन्धित सामाजिक गतिशीलतासँग परिचित भइन् । एक गृहिणीको रूपमा विदेशी भूमिमा घरको चार पर्खालभित्र कैद जत्तिकै भएता पनि भारतीले अमेरिकी जीवनशैली, संस्कृति र मनोविज्ञानमा महत्त्वपूर्ण अन्तरदृष्टि विकास गरिन् । उनको अवलोकन थ्याङ्क्स गिभिङ र भ्यालेन्टाइन डे जस्ता चाडपर्वहरूमा विस्तारित थियो, जुन नेपालमा बानी परेका चाडपर्वहरू भन्दा स्पष्ट रूपमा भिन्न थिए । यसले गर्दा समाजलाई हेर्ने नयाँ दृष्टिकोण उनमा प्राप्त भयो ।

एउटा उल्लेखनीय सांस्कृतिक आघातको कुरा गरौँ – एक पटक स्कूलको कुनै एक बालकको टाउकोमा जुम्रा देखिएको रिपोर्ट गरियो । यो घटना विद्यार्थीका आमाबाबुलाई पत्र पठाउन र जनस्वास्थका मुद्दालाई गम्भीर चासोको रूपमा लिनको लागि काफी थियो । नेपालमा बाल्यकाल, किशोरावस्था र युवावस्था समेत बिताएकी भारतीको अनुभवमा जुम्रा भन्ने कुरा एक सामान्य र अपेक्षाकृत सानो असुविधा मात्रै थियो । तर अमेरिकामा यो घटनाले दुई संस्कृति बीचको स्वास्थ्य र सरसफाइको फरक धारणालाई टड्कारो रूपमा उजागर गरिदियो । पानै पिच्छे नेपाली जनजीवनलाई पृष्ठभूमिमा राखेर उनी अमेरिकी जीवशैली र संस्कृतिको उदेकका चित्रहरू उतार्छिन् ।

अठार वर्ष पनि नपुगेकी अमेरिकी केटीमा प्रेमीको चाहना हुनु र त्यसबारे आमाछोरी बीचको खुला कुराकानीबाट लेखिका छक्क पर्छिन् । अमेरिकी आमाको चिन्ता छोरीले प्रेमी खोजी भन्नेमा छैन, त्यसको उल्टो छोरीले एउटा केटो अहिलेसम्म भेट्टाउन नसकेको भन्नेमा पो छ । पसलहरूमा पाइने सरसामानहरूमा ‘मेड इन’ फलानो देश भन्ने विभिन्न देशका नामहरू देख्ता अमेरिकाका पसलहरू उनलाई संयुक्त राष्ट्र संघका कार्यालयहरू जस्तो लाग्छ । दैनिक जीवनमा रेफ्रिजरेटर र वाशिङ मेसिन जस्ता घरेलु उपकरणहरूको अपरिहार्य भूमिका, अनि ती उपकरणलाई चलाउन सिक्का छिराउनु पर्ने जस्ता कुराहरू लेखिकालाई कौतुकको विषय हुन्छ । अमेरिकी अंग्रेजीमा शब्दहरूको फरक अर्थले उनी भ्रमित हुन्छिन् । गोरखापत्र संस्थानमा उपसम्पादक भैसकेकी एक शिक्षित महिला अमेरिका पुगेपछि कतिपय अंग्रेजी शब्द प्रयोगबाट अलमलमा पर्छिन् । ‘म्याड’को अर्थ रिसाएको भन्ने उनी बुझ्दिनन्, ‘हनी’को अर्थ मह मात्र नभएर ‘प्यारो’ पनि हो भन्ने कुरा उनको अंग्रेजी ज्ञानभित्र नौलो कुरा हुन पुग्छ ।

ड्यालस, स्टिलवाटर, चार्ल्सटन र न्यासभिल लगायतका विभिन्न अमेरिकी शहरहरूमा भारतीको यात्राले उनलाई विविध अनुभवहरू प्रदान गरेको कुरा उनले आफ्नो पुस्तकमा यसरी लेखेकी छिन् जसको गहिराइमा डुब्नेले आफैं ती शहरहरूको बासिन्दा भएको अनुभव गर्नेछ । प्रत्येक शहरले आप्रवासीको परिप्रेक्ष्यबाट लेखिकालाई अमेरिकी जीवनमा अद्वितीय अन्तर्दृष्टि प्रदान गरेको देखिन्छ । यस्ता अनुभवहरूबाट उनी नयाँ मुलुक र नयाँ समाजको जटिलता र सूक्ष्मताहरूको बुझाइको मामलामा दिन प्रतिदिन अझै अझै समृद्ध बन्दै गइन् भन्ने कुरा उनको पुस्तक पढ्दा प्रष्ट अनुभव गर्न सकिन्छ ।

शिक्षित महिला भएपनि अमेरिकामा उनको भूमिका परिवारको हेरचाहमा मात्र सीमित छ । तर, उनले मनभित्र कताकता उच्च शिक्षा हासिल गर्ने सपना बोकेकी छिन् । उनी पिएचडी विद्यार्थीको आश्रित जीवनसाथीको रूपमा संयुक्त राज्य अमेरिका आइपुगिन्, जसले गर्दा अमेरिकी शिक्षाको लागि उनको आफ्नै आकांक्षा चाहिं दमित भएर रहिरह्यो ।

अन्ततः, टेनेसी राज्यको न्याशभिल शहरमा उनका पतिको राम्रो जागिर सहित स्थायी बसोबासको अवस्थामा उनले त्यो अवसरलाई सदुपयोग गर्छिन् र विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गर्न थाल्छिन् । त्यहाँ उनले आशाजनक भविष्यको झलक पाउँछिन् र केही पाठ्यक्रमहरू पूरा गर्छिन् । यद्यपि, यसै समयमा उनका पतिले हार्वर्ड विश्वविद्यालयमा पढाउने प्रतिष्ठित प्रस्ताव प्राप्त गर्छन् । यसले टेनेसीलाई पछाडि छोडेर उच्च शिक्षाको उनको सपनालाई चकनाचूर पार्दै म्यासाचुसेट्समा अर्को स्थानान्तरण आवश्यक हुन्छ ।

पुस्तकमा विशेष मार्मिक दृश्य पाइन्छ त्यसमा टेनेसीमा उनको अन्तिम रात देखाइएको छ । जहाँ लेखिका आफ्नो रित्तो घरमा छिमेकीको कुकुरको साथमा रात बिताउँछिन् । यो दृश्य वास्तवमा उनको कथाको भावनात्मक चरमोत्कर्षको रूपमा देखा परेको छ जसबाट उनको बलिदानको मार्मिक र भावनात्मक अर्थ पाठकले सहजै बुझ्न सक्छ ।

अन्ततः समग्र जीवनको अनुभवमा लेखकले आफ्नो शिक्षा र पेशालाई अगाडि बढाउने सपना पूरा नभएकोबाट नै शान्ति पाएको बताएकी छिन् । जब जब मानिसहरूले उनलाई किन उच्च शिक्षाको लागि कोशिश गरिनन् भनेर सोध्छन्, उनलाई सटिक शब्दमा र संक्षिप्त रूपमा व्याख्या गर्न गाह्रो हुन्छ । उनको पुस्तकमा, उनी यो निष्कर्षमा पुग्छिन् कि यी जीवनका अनुभवहरू औपचारिक शिक्षा भन्दा धेरै मूल्यवान् छन् । यो लेखिकाको एक अत्यन्त सशक्त जीवनगाथा हो । यो किताब पढिसकेपछि कुनै पनि पाठक भारती गौतमले आफ्नो जीवनलाई कसरी एक जिम्मेवार, सहृदयी, सहयोगी, संरक्षक, ममतामयी आमा बन्नमा समर्पित गरिन् र त्यस भूमिकाबाट नै उनले कसरी बुद्धत्व प्राप्त गरिन् भन्ने तथ्यको साक्षी हुन पुग्छ ।

भाषा शैली, रोचकता, कलात्मकता, बौद्धिकता सबै पक्षलाई ध्यानमा राख्दै समग्रमा हेर्दा ‘अमेरिकामा आमा’ एउटा अत्यन्त उच्च साहित्यिक महत्त्व बोकेको पुस्तक हो । विश्वमा छरिएर रहेको नेपाली डायस्पोराको इतिहासलाई केलाउनु पर्दा अमेरिकी समाजमा आप्रवास गर्ने पहिलो पुस्ताका नेपालीहरूको मनोसामाजिक समस्या, चुनौती, समायोजन, प्रगति र उन्नतिलाई प्रतिनिधित्व गर्ने एक ज्वलन्त आत्मगत गाथाको रूपमा यो कृति युगौंसम्म एक अमूल्य दस्तावेज बनेर जीवित रहनेछ ।