१. आमुख

नेपाली साहित्यमा इन्द्रबहादुर राई एउटा अति आदरणीय र श्रद्धाका व्यक्तित्व हुन्। उनी एक सफल स्रष्टा र द्रष्टा दुवै हुन्। उनी एक सफल उपन्यासकार, कथाकार, नाटककार, समालोचक र निबन्धकारका रूपमा चिन्हित छन्। हालसम्म उनका एउटा उपन्यास ‘आज रमिता छ’ (१९६४), तीनवटा कथासङ्ग्रह ‘विपना कतिपय’ (१९६१), ‘कथास्था’ (१९७२) र ‘कठपुतलीको मन’ (१९८९), समालोचनात्मक कृतिहरूमा ‘टिपेका टिप्पणी’ (१९६६), नेपाली उपन्यासका आधारहरू (१९७४), ‘सन्दर्भमा ईश्वरवल्लभका कविताहरू’ (१९७६), ‘साहित्यको अपहरण’ (१८७९), ‘दार्जिलिङमा नेपाली नाटकको अर्द्धशताब्दी’ (१९८४), ‘अर्थहरूका पछिल्तिर’ (१९९४), ‘पृष्ट पृष्ठ’ (१९९५), ‘लेखहरू र झ्याल’ (२०००), निबन्ध सङ्ग्रहहरू ‘पहाड र खोला’ (१९९३), ‘समयाङ्कन दैनन्दिनी’ (१९९७), नाटक ‘पहेंलो दिन’ (२००२) आदि पुस्तकाकार कृतिहरू देखा पर्छन्। उनका सिर्जना र समालोचनात्मक लेखहरू सबैलाई समेटेर सिक्किमको निर्माण प्रकाशनले पाँच खण्डमा ‘इन्द्र सम्पूर्ण’ प्रकाशित भएको छ। उक्त समग्र ग्रन्थावली प्रकाशनपछि उनले लेखेका अन्य लेखहरू ‘सम्पूरक’ (२०१४) र ‘रहल लेखहरू’ मा प्रकाशित भएका छन्।

२. राजनीति र केही नेपाली उपन्यासमा राजनैतिक स्पर्श 
भारतको राजनीतिको पिरो धुँवाले भारतका रैथाने गोर्खालीहरूलाई पिरोलेको इतिहास पाइन्छ। दार्जिलिङ, सिक्किम र असमका गोर्खालीहरू केही न केही राजनीतिको शिकार बनेका छन्। भारतमा गोर्खालीहरूले आफूलाई राजनैतिक रूपमा असुरक्षित अनुभव गरेर समय समयमा आफ्नो छुट्टै प्रशासनिक इकाईको माग गर्दै र आन्दोलन गर्दैआएको इतिहास छ। सन् १९०७ देखि नै दार्जिलिङका विभिन्न गैर-राजनैतिक र राजनैतिक सङ्गठनहरूले ब्रिटिस शासक र भारतीय शासकहरूसमक्ष आफ्नै छुट्टै प्रशासनिक इकाईको माग गरी ज्ञापनपत्र र आन्दोलन गरेका हुन्। पछिबाट भने गोर्खालीग, प्रान्त परिषद, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा र गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्यको आन्दोलन गरेका हुन्। दार्जिलिङबाट प्रकाशित केही उपन्यासहरूमा युगानुकूल राजनैतिक अवस्थाको चित्रण पाइन्छ। अर्को उल्लेखनीय राजनैतिक विषयकेन्द्रित उपन्यासमध्ये १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा आधारित बद्रीनारायण प्रधानको ‘भुमरी’ मा पनि प्रखर राजनैतिक चेतना पाइन्छ।

३. राजनीति र इन्द्रबहादुर राई

इन्द्रबहादुर राई

इन्द्रबहादुर राई पनि एकताका सक्रिय राजनीतिमा ओर्लिएका हुन्। उनी एक भाषा सङ्ग्रामी, राजनैतिक चिन्तक, गोर्खा अस्मिताको निम्ति सोच राख्ने राजनीतिज्ञ हुन्। उनी विशेषगरी भारतको राष्ट्रिय कंग्रेससित जोडिएका थिए। उनी एकपटक दार्जिलिङका नगरपाल रही नगरपालिकाका उपाध्याक्षसमेत बनेका थिए। उनले भनेका छन्- “सदस्यता नलिइकन दार्जिलङमा कंग्रेस (आइ) लाई केही सय सघाएको थिएँ। पछिबाट उनीहरूको कार्यशैली मन नपरेर छोडिदिएर अहिलेसम्म म कुनै दलमा सदस्य बनेको छैन।”

यद्यपि उनको राजनैतिक अडान भने भारतमा गोर्खाहरूको आफ्नो घर बनाउनु पर्ने आवश्यकतामाथि आधारित देखिन्छ। सन् १९७७-७८ सालतिर उनले राजनैतिक सिद्धान्त समभाव राख्ने साथीहरू मिली सन् १९८० मा ‘प्रान्त परिषद्’ नामक एउटा राजनैतिक दल गठन गरेका थिए। उनी त्यसका अध्यक्ष भएर राजनीति पनि गरेका हुन्। १९८० देखि १९८५ सम्म उक्ति ‘प्रान्त परिषद्’ दार्जिलिङ पहाडमा निकै सक्रिय थियो। त्यस दलको अगुवाईमा बंगालबाट छुट्टयाउनका निम्ति छुट्टै प्रान्तको निम्ति आन्दोलन गरिएको थियो। राईले चोकबजारबाट भाषण पनि गरेका छन्, दलको कार्यक्रममा सक्रिय रूपमा सहभागिता दिएका थिए। मूल रूपमा भने उनी नेपाली भाषा सङ्ग्रामी हुन्। भारतमा नेपाली भाषालाई सम्वैधानिक मान्यताको निम्ति गरिएको सङ्घर्षको मुख्य नाइके हुन्। उनकै अगुवाइमा सन् १९६१ मा ‘अखिल भारतीय नेपाली भाषा समिति’ गठन भएको थियो। त्यस समितिले धेरै नेपाली भाषाले संवैधानिक मान्यताका निम्ति लामो सङ्घर्ष र राजनैतिक कार्यक्रम सञ्चालन गरेको थियो। पछिबाट २००७ देखि बिमल गुरूङको नेतृत्वमा थालिएको गोर्खाल्याण्ड आन्दोलनको समयमा २००८ मा उनले दार्जिलिङको जीमखाना क्लबको ऐतिहासिक सङ्गोष्ठीमा उनले समर्थनमा गहकिलो भाषण गरेका थिए।

४. आज रमिता छ उपन्यासमा राजनैतिक चेतना 
इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ (१९६४) मा दार्जिलिङे राजनैतिक परिदृश्य स्पष्ट देखा पर्छ। यस उपन्यासभित्र बीसौं शताब्दीको चालिस र पचासको दशकभित्रका दार्जिलिङको प्रतिबिम्बित राजनैतिक परिदृश्य झल्काइएको छ। तत्कालीन राजनीतिको केन्द्र र लक्ष्य चियाकमानमा आधारित छ। चियाकमानमा ब्याप्त अन्याय, अत्याचार, अभाव, असुरक्षा, अल्प आय आर्जन जस्ता समस्या विद्यमान थियो। यस्ता समस्याबाट चिया श्रमिकहरूमा भित्रभित्रै असन्तुष्टि, आक्रोश र विद्रोहको आगो सल्केको थियो। सन् १८१६ मा नेपाल भारतबीच सुगौली सन्धी, महात्मा गान्धीको पक्राउ र कंग्रेस पार्टी अवैद्ध भएको घोषणा, दलबहादुर गिरीले दार्जिलिङ गान्धीको हल्ला चलाएको, चियाकमानमा विद्रोह गर्न खोजे हट्टाबाहिर प्रथा रहेको, घरमूली हट्टाबाहिर भए उसको परिवारका अन्य सदस्य पनि कमान छोड्नुपर्ने नियम, १६ अगस्ट १९४६ का दिन कलकत्तामा हिन्दू मुस्लिम दङ्गा परेको, भारतले मध्यरातमा ब्रिटिसको शासनबाट मुक्ति पाएको, हैदरावाद भारतको अङ्गको रूपमा समावेश भएको, नेपालमा राणा शासन विरूद्धको आन्दोलन र वि.सं. २००७ सालमा मुक्ति हासिल गरेको आदि जस्ता राजनैतिक घटना र प्रसङ्गको उल्लेख र संकेत पाइन्छन्।

यस उपन्यासमा राजनीतिका केही पक्ष यसरी परिलक्षित भएको पाइन्छ

क. भारतमा रहने गोर्खालीहरूले सामाजिक, आर्थिक राजनैतिक रूपमा आफूलाई असुरक्षित, असन्तुष्टि र अपहेलित ठान्छन् र त्यस्तो मानसिकता उपन्यासमा एकाध प्रसङ्गमा झल्किएको पाइन्छ।

ख. दार्जिलिङको राजनीतिको केन्द्रविन्दु, माध्यमविन्दु, लक्ष्यविन्दु र स्वार्थविन्दु चियाकमान हो। यहाँ नै राजनीतिको जड छ। यसैलाई केन्द्र गरेर यहाँका राजनैतिक दलहरू राजनीति गर्छन्, कमानलाई जति राजनैतिक उकेरा लायो उति राजनीतिको फसल फल्ने माध्यम बनाएको तथ्य प्रतिबिम्बित हुन्छ। यहाँका श्रमिकहरूमा मालिकवर्गको अन्याय, अत्याचार, अल्पवेतन, अदेखाजस्ता समस्याको प्रभावस्वरूप विद्रोह चेतनाको विकास।

ग. दार्जिलिङ शहर र कमानका युवावर्गमा बेरोजगारी समस्याका आएको राजनीतिप्रतिको आकर्षण र विकर्षण, यसतर्फ अभिरूचि र चासो, राजनैतिक दलप्रति आस्था र समर्पण पनि देखापरेको छ। यद्यपि उपन्यासमा दार्जिलिङका युवाहरूमा राजनैतिक सुझबुझ र सैद्धान्तिक आधारभन्दा आवेग, आवेश र आक्रोशको भाव अधिक देखिन्छ। विचार नपुर्‍याई आन्दोलनको नाममा लेबुङको सेनावाहिनीमाथि ढुङ्गामुडा गर्नु, ल्यान्डरोभरमा चडेको बङ्गालीको चश्मा फुटाइदिनु, दरोगा बजारको कैंयाँको पसलमा तोडफोड गर्नु आदि हुनु जस्ता कुरा देखा पर्छन्।

घ. दार्जिलिङमा भीड़को राजनीति प्रभावशाली रहेको तथ्य स्पष्ट छ। भीड़प्रति आकर्षित र समर्पित हुनु मान्छेभित्रको सामूहिक अचेतनको प्रभाव हुनसक्छ। नारा जुलुसमा अभिरूचि, सक्रियता र सहभागिता, भीडभित्र उट्पट्याङ क्रियाकलाप आदि देख्न पाइन्छ। जुलुसलाई रमाइलो कुरा मानेर गीत गाउँदै नाच्नु आदि देखिन्छ।

ङ. उपन्यासको विकास अवस्थादेखि नै राजनीतिको प्रवाह मन्द गतिमा चलेको पाइन्छ भने अन्तमा भने चरम अवस्था देखिन्छ। गोलीकाण्ड र १४४ धारा लागेर उपन्यासको समाप्ति गरिएको छ। गोलीकाण्डको पृष्ठभूमि र त्यसको परिणति नै उपन्यासको केन्द्रीय कथ्य हो।

च. तत्कालीन दार्जिलिङको राजनीतिको मूल विषय चियाकमानमा रासन-पानीको सुविधा, कमानको मेनेजर कुट्ने श्रमिकका विरूद्ध स्थानीय अदालमा मुद्दा र त्यसको सजायको तारिख, श्रमिक सङ्गठन आफ्नै भूमिका आदि उपन्यासमा देखा पर्दछन्।

छ. उपन्यासमा पनि राजनेता र राजनीतिप्रति आममानिसको नकारात्मक विचार राखिएको पाइन्छ।

ज. उपन्यासमा राजनीतिमा समाजका सज्जन, असल र परोपकारी व्यक्तिभन्दा समाजका धूर्त, चलाक, स्वार्थी, महत्त्वाकाङ्क्षी, अवसरवादी, अरूको भलोभन्दा आफ्नो भलाई गर्ने खालका मानिसहरू बढी सक्रिय हुन्छन् भन्ने तथ्य प्रस्तुत छ। भूदेव यस कुराको नमूना हो।

उपन्यासको मूल पात्र जनक, भूदेव राजनैतिककर्मी हुन् भने रवि, हरि, पार्थिव आदि राजनैतिक रूचि लिएको नवयुवक हुन्। चियाकमानहरूमा व्याप्त अत्याचारका विरूद्ध श्रमिकहरू संगठित हुन थालेका छन्। दार्जिलिङ शहरमा विभिन्न कमानहरूबाट श्रमिकहरू दिनदिनै जुलुस गर्दै हिँडेको देखाइएको छ। चिया श्रमिकवर्ग र मालिक वर्गबीच संघर्ष स्वरूप दार्जिलिङ शहरमा विकराल रूप लिएको थियो, जसको फलस्वरूप सन् १९५५ सालमा मार्गरेट्स होप गोलीकाण्डमा परी आठजना श्रमिकहरू मृत्यु भएको कुरा उपन्यासमा प्रतिबिम्बित भएको देखाइएको छ। चियाकमानमा मजदूरहरूलाई थोरै ज्याला दिएर मालिक वर्गको मुनाफाखोरी प्रथा कायम रहेको देखाइएको छ। यद्यपि मालिक वर्ग शोषणलाई लिएर राजनैतिक दल र नेताको प्रादुर्भाव भएको तथ्य पाइन्छ। त्यसलाई राजनैतिक मुद्दा बनाएर केही अवसरवादी व्यक्तिहरू नेता बनेर राजनैतिक फाइदा लिएको तथ्य प्रकाश पारिएको छ। नेताहरूले श्रमिकहरूलाई आन्दोलनको जुलुसमा हिँडाउनु, प्रशासनिक सुरक्षा शक्तिसँग मुठभेड गराउनु केही आन्दोलनकारी मर्नु, विद्रोहीहरूका क्रियाकलाप ठप्प पार्नु निषेधाज्ञा जारी हुनु र त्यही सरकारी निषेधाज्ञाको उल्लङ्घन गराएर श्रमिकहरूको ठूलो समावेश एवं सभा गराउन उपन्यासकारको राजनैतिक चेतना स्पष्ट देखिन्छ।

‘आज रमिता छ’ उपन्यासको विशृङ्खलित कथावस्तुभित्र राजनीतिका विविध पक्षहरू पनि बीचबीचमा देखा पर्छन्। दार्जिलिङको चियाकमानमा मालिक पक्षले उपद्रवी श्रमिक नेताका विरूद्ध मुद्दा दर्ता गर्छ र अन्य नेताहरू त्यसबारे बढी चासो लिन्छन्। एकपटक एमके बसेको जनसभामा भूदेवले मात्र भाषण गर्छ तर अरूबेला चर्चा गर्दा भने अरूसित एमके पनि सामेल रहेको हुन्छ। उक्त चर्चामा नोकरीको अभाव, जमिनको सरकारी सुविधा, नेपालबाट गएका मानिसहरू दार्जिलिङ र असममा दुःख पाएको आदि पाइन्छ। त्यस्ता समस्याको समाधान गर्नेबारे प्रस्ताव ग्रहण गर्ने जस्ता मुख्य विषयहरू हुन्छन्। भारत-चीनको पञ्चशील सन्धि र युद्ध नगर्ने सम्झौताले गोर्खालीहरूले युद्धमा बहादुरी देखाउन सक्दैन पाउँदैन र भारतमा मूल्यहीन होइन्छ भन्ने त्रास पनि तत्कालीन गोर्खालीहरूमा थियो भन्ने सङ्केत पनि पाइन्छ। यसकारण उक्त समयमा भारत-चीन युद्ध होस् र आफ्नो बहादुरी देखाउने अवसर पाइन्छ भन्ने राजनैतिक आशय थियो भन्ने तथ्य पाइन्छ।

उपन्यासमा शोषित श्रमिकवर्ग र शासकको बीच एक प्रकारको सङ्घर्ष अनि शासकको आड़मा रहेको पुलिसी द्वन्द्वलाई प्रस्तुत गरिएको छ।
चियाकमानमा विद्यमान अन्याय अत्याचार, मालिक वर्ग र श्रमिक वर्गबीच द्वन्द्व सिर्जना हुनु, श्रमिकहरू जुलसतिर जानु, पुलिस र प्रशासनका विरूद्ध श्रमिकरू सङ्घर्षमा उत्रिनु आदि कुरालाई लिएर समालोचक जस योञ्जन प्यासीले यस उपन्यासलाई ‘प्रगतिवादी’ उपन्यासको लेखनको शुरूवात भनेका छन्। यद्यपि यसलाई प्रगतिवादी उपन्यासभन्दा राजनैतिक चेतनामूलक उपन्यास मान्न सकिन्छ। ‘आज रमिता छ’ उपन्यासमा भूदेव यस्तै अवसरवादी नेताको रूपमा प्रस्तुत छ। उपन्यासमा दुई प्रकारका राजनैतिक कर्मी देखाइएको छ- सचेत राजनैतिक र असचेत राजनैतिक कर्मी। भूदेव, जनक, रवि, हरि, पार्थिव, प्रेमकृष्ण आदि सचेतकर्मी हुन् भने चियाकमानका मानिसहरू असचेत तर राजनीतिमा सङ्लग्न भएका छन्। उनीहरू नेताको स्वार्थको साधन भएका छन्। ती चियाकमानका श्रमिकहरू राजनीति नै नबुझी अरूका कुरामा लागी बहकिएर, लहैलहैमा लागेर कराउँदै, ठट्टा र जोसमा जुलुसमा सामेल हुन्छन्। पुलिसले जुलुसलाई निषेधाज्ञा लाएर चेतावनी दिँदा पनि त्यसलाई गम्भीरतासँग नलिई अघि भिड्ने हुँदा अनाहकमा आठजनाको मृत्यु हुन्छ। दार्जिलिङको चियाकमान र शहरमा अहिले पनि त्यही असचेत राजनीति खेल सम्पन्न भइरहेछन्। अहिले पनि राजनैतिक सिद्धान्त र कटिबद्धताभन्दा होहोरीमा लागेर धर्ना, जुलुस गर्ने चलन देखिन्छ।

५. केही राजनैतिक नेता चरित्र भएका मानिसहरूको राजनैतिक चरित्र चित्रण

क. भूदेव

उपन्यासको एउटा प्रभावशाली र मुख्य नेतापात्र भूदेव एकजना जण्डा खेलाडीका रूपमा देखा पर्छन्। तत्त्कालीन गोर्खाको जनप्रिय नेता डम्बरसिंह गुरूङसित भोट माग्न हिँडेका हुनाले ऊ अखिल भारतीय गोर्खालीगका सक्रिय सदस्य हो। उ स्वार्थी राजनेताको रूपमा झल्किन्छ। पार्टी अफिस जान्छ, खट्नलाई भन्दा देखा पर्नलाई, अरूले उपद्रो गर्दा ऊ जेल जान्छ तर छुटाउन मान्दैन। भूदेव जेलमा थुनिदा उसलाई बेलमा छुटाउन आउने जनकलाई आफूलाई अलिक दिन नछुटावोस् भन्ने राय व्यक्त गर्छ। जेलबाट छुटेपछि आफ्नै राजनीतिको नायक हुने मानसाय छ। उसप्रति आममानिसको विचार सकारात्मक छैन। उसलाई पिठ्युँपछाडि चोर र फटाहाको संज्ञा दिन्छन् अनि ‘एमेले हुन खोज्दैछ’ भनी हेय दृष्टि राख्छन्।

ख. जनक

‘आज रमिता छ’ उपन्यासको मुख्य चरित्र र नायक जनकमान योञ्जन एकजना महत्त्वाकाङ्क्षी पात्र हो। आफू तामाङको छोरो भएर पनि उसले नेवारकी छोरी सीतालाई बिहा गरेको छ (पहिलेको समयमा नेवार र तामाङको बिहालाई घोर अमान्य गरिन्थ्यो)। ऊ तत्कालीन दार्जिलिङको शिक्षित सचेत र सङ्घर्षशील व्यक्तिका रूपमा देखा पर्छ। ऊ एउटा सुन्दर घर, सुन्दर गाडीको कल्पना गर्छ। ऊ राजनीतिमा समेत सामेल हुन्छ यद्यपि ऊ आफ्नो चीर प्रतिद्वन्द्वी भूदेवसित हार्छ। ऊ दार्जिलिङ हाम्रो हो र अरूले राजनैतिक, सामाजिक आर्थिक र बौद्धिक रूपमा ढलीमली गर्न नपाऊन् भन्ने जातिवादी सचेतता राख्छ। ऊ एउटा स्थानीय राजनैतिक दलको सक्रिय कार्यकर्ता र दोस्रो पङ्क्तिको नेता हो। ऊ भूदेवसित मिलेर चियाकमानको हक अधिकारको निम्ति आन्दोलनको अग्रिम पङ्क्तिको नेता बनेको छ। भूदेव जेलमा पर्दा ऊ गएर छुटाउन कोसिस गर्छ तर भूदेव छुट्न मान्दैन। अन्तमा गोलीकाण्डपछि भूदेवको कर परेर १४४ धाराको उल्लङ्घन गर्दै जनसभा गर्छ। ऊ एक असफल राजनेताको रूपमा प्रस्तुत छ।

ग. एम के

एम के भन्ने एउटा पात्र घरि नोकरीको खोसुवामा पर्छ, घरि राजीनामा दिन्छ। ऊ आफ्ना कमजोरी छोप्न रक्सी खान्छ। ऊ गरिबीको कारण आफ्नो सुखी हुने र धेरै धनार्जन गर्ने इच्छा नपुग्दा मातेको बेला म कम्युनिस्ट हुन्छु भन्छ। ऊ पनि राजनीतिप्रति नजानिदो रूपमा आकर्षित छ र एउटा राजनैतिक दलको कार्यालयतिर जान्छ तर कुनै उल्लेखनीय स्थान पाउँदैन। “पार्टी अफिस एकछिन गइटोपलेको थिएँ”- भनेर उसभित्रको दमित पद लालसा र आकाङ्क्षा निहीत छ। ऊ पनि दार्जिलिङमा एउटा “ठूलो गुलमाल (विध्वंशक आन्दोलन) चलाउनुपर्छ” भन्छ। ऊ दार्जिलिङमा ठूलो गुलमाल होस् भन्ने भित्री इच्छा राखेर आफ्नो धनाभावको परिपूर्ति गर्न चाहन्छ।

६. वर्तमानकालीन दार्जिलिङको राजनीति र ‘आज रमिता छ’ उपन्यासमा प्रतिबिम्बित राजनीति
आज रमिता छ उपन्यासमा प्रतिविम्बित केही राजनैतिक परिस्थिति वर्तमानकालीन राजनीतिसित निकै मिल्दोजुल्दो देखिन्छ। यतिबेला पनि दार्जिलिङ शहर र कमान बस्तीका मान्छेमा एक प्रकारको असन्तुष्टि, आक्रोश, अस्पष्टता आदि प्रतिबिम्बित हुन्छ। विशेषगरी सन् १९५५ सालको प्रख्यात मार्गरेट होप चियाकमानमा चलेको गोलीकाण्डकालीन असचेत मानसिकता दार्जिलिङमा अद्यापि कायम देखिन्छ। अहिले पनि भीडको मनोविज्ञानका कारण जनता भीड़प्रति आकर्षित हुने, बहुसंख्याप्रति समर्पित हुने, आफ्नो एकल मौलिक र शाश्वत विचार भन्दा चर्चा, हल्लामा विश्वास राख्ने, नारा-जुलुसप्रति आशक्ति राख्ने, प्रदर्शनकारी संस्कृतिको विकास आदि तत्त्वहरू हाबी हुन्छन्। अहिले पनि नारा जुलुसमा जान अघि सर्ने, जुलुसमा राम-रौस गर्ने, नाच्ने-गाउने गरेको पाइन्छ। सुवास घिसिङको नेतृत्वको अघिल्लो आन्दोलन र विमल गुरूङको पछिल्लो आन्दोलनमा पनि यही भीड़को मनोविज्ञानले पनि काम गरेको पाइन्छ। जनता बुद्धि-विवेकले भन्दा जोस, हल्ला, आवेशको भरमा संलग्न भएको पाइन्छ।

सन् १९८६ सालमा दार्जिलिङ पहाडमा सुवास घिसिङको नेतृत्व बाइस महिने हिंसात्मक जनान्दोलन भयो। यसमा गोलीकाण्ड, लाठीचार्ज, नारा-जुलुस, धरना, बमकाण्ड, धडपकड़, हत्या, बलात्कार, अग्निकाण्ड, सरमुन्डन, जेल, यातना, आपसी कलह आदि जस्ता घटना भए। घरघरबाट जुलुसमा हिँडने, राति-राति आन्दोलनकारीहरू गाउँ र सडकको पेट्रोलिङ जस्ता कार्य गर्थे।

आजको समयमा राजनीति र राजनेताप्रति नकारात्मक विचार राख्ने गरिन्छ। आज रमिता छ उपन्यासमा पनि नेताप्रति आममानिसमा नकारात्मक धारणा भएको र श्रद्धा र सम्मानको भाव नभएको व्यक्त भएको छ। नेताहरूको नैतिकता नभएर दार्जिलिङको उन्नति नभएको धारणा व्यक्त गर्छन्। कमानमा मेनेजर कुटेर आएका र बोनस नपाएका श्रमिकहरू भूदेवलाई पर्खन्थे भनिएको छ। ‘कमानका मानिसहरू एउटै दलमा मात्र कुद्छन तर बजारेहरू दुःख हेरीहेरी पार्टी छान्दै दगुर्छन्’ भन्ने आशय राखिएको छ। उपन्यासमा चोकबजारको नगरपालिकाको बिल्डिङको भित्तामा पोस्टरको उल्लेख पाइन्छ जुन आज पनि यथावत् छ। त्यही पोस्टर पढे मात्र पनि दार्जिलिङको राजनीतिको दशा र दिशा पत्तो लाग्छ। आन्दोलनको समयमा त्यहाँको पोस्टर पढेर नै मानिसहरू आ-आफ्ना कामधन्धा दर्गदिशामा लाग्छन्। आज के हुँदैछ थाह पाउँछन्। राजनीति कस्तो हुँदैछ, आन्दोलनमा के भइरहेको छ, हडताल कहिलेदेखि शुरू हुने, कहाँ कसको हत्या भयो इत्यादिबारे चोकबजारको पोस्टरले ठूलो भूमिका खेलेको छ, जो उपन्यासमा पनि सङ्केत छ।

७. उपसंहार
आज रमिता छ उपन्यासलाई विभिन्न तह, अर्थ, व्याख्या सिद्धान्त र दर्शनका फाँटहरूमा विश्लेषण गर्नसकिन्छ भने राजनैतिक दृष्टिले अध्ययन गर्न सकिने धेरै ठाउँ छन्। यसलाई प्रखर राजनैतिक चेतनापरक उपन्यास मान्दा हुन्छ। यसको कथावस्तुको विकास, विस्तार समाप्ति सबै राजनीतिमा आधारित छ। यसको अध्ययन गरे मात्र पनि तत्कालीन दार्जिलिङको राजनैतिक अवस्थाको प्रतिबिम्बन भएको छ। पहिलेदेखि नै दार्जिलिङको राजनीतिको केन्द्रविन्दु चियाकमान रहिआएको छ। दार्जिलिङका जति पनि राजनैतिक दल थिए र सबैले चियाकमानका श्रमिकहरूलाई प्रयोग गरेका छन्। यहाँ विभिन्न दलका श्रमिक सङ्गठन सक्रिय रहेका छन्। पहिलेदेखि नै दार्जिलिङमा असचेत र अन्धाधुन्ध राजनीति गरिँदैआएको इतिहास पाइन्छ। आज रमिता छ उपन्यासमा दार्जिलिङको राजनीतिलाई नजिकैबाट अध्ययन गरिएको छ। सन् १९६४ सालमा प्रकाशित यस उपन्यासमा प्रतिबिम्बित राजनैतिक परिदृश्य अहिलेसम्म नै कायम रहेको छ। जनक र भूदेवहरू राजनेता भए पनि गिर्दो नैतिकताका नमूना बनेका छन्। उहिलेदेखि नै दार्जिलिङको राजनीति सैद्धान्तिक अडान भन्दा समसामयिक समस्याको अस्थायी समाधानमा केन्द्रित देखिन्छ। वर्षैपिच्छेको सङ्घर्ष बिस्तारै पतनोन्मुख रहेको तथ्य प्रस्तुत छ। अतः दार्जिलिङ पहाडको राजनीति उहिलेदेखि अहिलेसम्म नै प्रायः उस्तै नै पाइन्छ भन्ने ठहर गरिन्छ।

प्रमुख सन्दर्भग्रन्थ

१. दाहाल, मोहन पी, दार्जिलिङका उपन्यास परम्परा र प्रवृत्ति, दार्जिलिङ, साझा पुस्तक प्रकाशन,
२. बासुदेव पुलामी र ज्ञानेन्द्र यक्सो (सम्पा.), इन्द्रायण, सिलगडी, नेपाली साहित्य संस्थान, २०१८।