मलाई त्यो दिन राम्रोसँग याद छ । २०२४ जनवारी २३ मङ्गलवार ! म बिहानै स्नान गरेर ईश्वरलाई सम्झिंदै अकादेमी अनुवाद कार्यशालामा जान तयारी गर्दै थिएँ । अघिल्लो दिन चन्द्रमणि उपाध्यायले ‘भोलि त बिहानै निस्कनु पर्छ भाइ !’ भन्दै हुनुहुन्थ्यो ।
ऊनी साहित्य अकादेमी नयाँ दिल्ली नेपाली परामर्श समितिका सल्लाहकार सदस्य र यो कार्यक्रमका संयोजक हुनाले हामीलाई यसरी सम्झाउँदै लाने हुनुभयो । हामी जम्मा सात जनालाई यो (असमियाबाट नेपालीमा ) अनुवादको कार्य सुम्पिएको थियो । अनि सोही कार्यक्रममा जाने हतारमा म प्रस्तुत हुँदै गर्दा घरबाट अन्तरे (पूर्ण सुब्बा) भाइको फोन आयो, “सालदाइ ! झट्टै घर आऊ आमा सिकिस्त छिन् ।”
म अकमक्क परें । मन चिसो भयो, के भनौं अब । आमालाई अस्पताल झट्ट लिएर आऊ, म यँहीदेखि जान्छु भनें भाइलाई । फेरि भाइ बोल्यो, “हैन तिमी घर आउनै पर्छ ।”
म अनुवाद कार्यशाला छोडेर घर पुगें । आमा बिचेत हुनुहुँदो रहेछ । ‘म आएँ त आमा !’ भन्दै बोलाएँ । ऊनलाई दुई-तीन जनाले समातिराखेका थिए । मलाई पुलुक्क हेरेर आलमिरामा देखाएर लिएर खा भने झैं इशारा गर्नुभयो । त्यहाँ के छ हेर त भन्दै मैले काइँली कि अन्तरी बुहारीलाई अह्राएँ ।
घरमा केही दिन अघि पञ्चेउली पूजा गर्दा खसी काटेको थियो । त्यो खसीको भुटुवा रहेछ । मातृस्नेह कस्तो हुँदो रहेछ, सोची नसक्नु । कति दिन भयो पूजा सकिएको । बटुकीको त्यो झिकेर मैले र ठुलदाइले एक-दुई टुक्रा खायौँ । किनभने हामी पूजामा घर जान सकेनौं । अनि आमाले आएर खान्छन् वा सुविधा परे पठाइदिने सोचेर साचेकी रहिछन् ।
त्यसपछि पूर्ण भाइले आमालाई उठाएर दाइसँग ट्याक्सीमा चढ्यो । ट्याक्सि सिधै मिशन अस्पताल तेजपुरमा रोकियो । हामी सबै मिलेर तत्कालमा भर्ना गराएर उपचार आरम्भ भयो । ९ घण्टा त्यहाँ राखेर उपचारको क्रममा पनि आमामा केही बदलाऊ भएन । चिकित्सकले घर लाने सल्लाह दियो । हामी मानेनौं । बिस्तारै भए पनि उपचार चलिरहोस् भनेर सिटमा राख्यौं । यति सम्ममा आफन्तले अस्पतालमा निकै भीड जमाए । परन्तु आमाको स्वस्थको केही उन्नति भएको लक्षण देखिएन ।
सबैजना चिन्तित बन्यौं, अब के गर्ने ? चिकित्सकले हामीलाई हेरिरहेका थिए के गर्छौ भनेर । घर जाने बारबार आमाको पुकारा हामी सबैले सुन्यौँ ।
सबै दिदीदाज्यूको सल्लाह अनुसार ९ दिनपछि घर लिएर आयौं । घरका काइँला र पूर्णे भाइका दुई छोरा आयन र अभि छन् । आमाका प्यारा नातिहरू । घर पुगेर ऊनीहरूलाई समातेर भक्कानिनु भयो । बोली छैन । चेत मात्रै । कति अचम्म छ । अस्पतालबाट घरमा आउनु भन्दा अघि कान्छी बैनी ज्वाइँ आएर सक्दो मद्दत गरेर घर फर्किएका थिए । म पनि घरमा आउन सकिन । दिघली घरमा बसे । मन पोलिरहेको छ । चिन्ताले कौशिलालाई आमा घर पठाइदिएँ । सबै दाजुभाउजू भेला भैसकेका थिए । म पनि आमालाई हेर्नू घर पुगें । बोलाएँ आँखामा अँध्यारो छाइसकेछ । बोल्नु भएन । सबैजना ठूलो घरमा बस्यौँ ।
सबैमा उत्कण्ठा, आवेग र चिन्तित परिवेश ! आमालाई कसरी बचाउने हो ? घरेलु उपचार लगातार हुँदैछ । घर गाउँका छिमेकले सर-सल्लाह दिन्छन्, सघाउँछन् । तर त्यो रात ऊनको हामीबाट छुट्टिने अन्तिम रात रहेछ । ठुलदाइलाई भनिछन्, “म बाबासँगै बस्छु ।”
त्यसपछि बोली बन्द । हाम्रा बाबुलाई आफ्नै माटामा अलिक पर्तिर आजभन्दा १६ वर्ष अघि राखेका थियौं । आमाले पनि त्यहीं राख्नु भन्नुभाको होला भन्ने हामीले लख काटौँ । २०२४ सनको ८ फरबरी बिहीबारको दिन बिहानी पख आमाले हामी सबैलाई छोडेर परमधाम प्रस्थान गर्नुभयो । हामी रोयौँ, करायौँ ऊनले सुन्नु भएन । आमा बिमार हुने एकदिन अघि अब साइँलाकोमा जान्छु भन्दै ब्यागमा कपडा भोराउँदै गरेको भाइले मलाई सुनायो । अनि अस्पतालमा बिमार जाँच गरेर मृत्युञ्जय मन्दिर लाने रे । त्यसपछि कान्छी, साइँला र बुहारीसँग जनकपुर जाने भन्दै दिदीलाई सुनाएर रातभर गफिएको कुरा दिदीले सुनाइन् । म भक्कानिएँ । त्यो घिडघिडो चिरदिन मेरो कानमा ठोक्किरहन्छ, मेरो हृदयमा बजिरहन्छ- अब कहिले आमा आएर म अस्पताल लानू । जनकपुर लानु अनि मृत्युञ्जय मन्दिर पुर्याउनु ।
ऊनलाई सम्झिएर केही हरफ कोरेर सञ्जालमा छोडिदिएँ ।
आमा !
भैगो नि त तिमीले
यसरी छोडेर गएको –
आमा ! रहर त थिएन होला ?
हामीले मान्नै परेको छ ।
तर, किन तिमीलाई हेर्ने मन कहिले अघाएन
भेट्ने तिर्सना कहिले मेटिएन
अब तिमीलाई हेर्नू भने आमा
फेरि कहिले भेटिएला ?
तिमी त गयौ तर कहाँ गयौ
त्यो पनि च भन्न सकिएन ।
हामी रोयौँ, हामी करायौँ
तै पनि त रोकेनौ ।
भगवानले पनि मेरै आमालाई
किन लानु पर्ने ?
कहाँ भेटूँ तिमीलाई आमा
स्वर्ग हो कि घरमा
बोलूँ भन्छु मन रुन्छ
हासूँ के को भरमा ।
तिमीलाई नजाऊ न त
भनेकै थिएँ नि आमा
तिमी मानिनौ किन ?
यसरी छोड्ने त
तिमीलाई पनि मन थिएन होला ?
तर पक्कै तिमीलाई दैव लागेछन्
भनेर म चित्त बुझाउँदै छु ।
आमा हामीलाई यसरी च्वाट्टै छोडेर गए पनि
जहाँ छौ तिमी शान्तिमा बाँच्नु
तिमी सु:खमा बाँच्नु परोस्
दु:ख पर्यो भने यो छोरालाई सम्झिनु, म तयार रहनेछु
भगवानलाई प्रार्थना गर्नु
युमालाई बल मागिदिनु तिम्रो मैनाम लुकाइ राखेको छु
फेदाङमाले खोच्छ भनेर
हामीलाई छोडेर जाँदा
पक्कै तिम्रो चित्त दुख्यो होला
भन्न सकिनौ
दैवको यस्तो क्रूर कर्तुत देखेर
म स्तब्ध थिएँ
परन्तु तिमी टाढा पुगे पनि आमा
कत्ति आशा लाग्छ यो छोरालाई
कत्ति भरोसा लाग्छ नि आमा
सक्यौ भने उतैबाट हामीलाई
आशीर्वाद दि रहनु ल ।
अब म के दिऊँ तिमीलाई
यो अन्तिम घडीमा एक अञ्जुली
अश्रुसहित तिम्रो अनन्त यात्रामा श्रद्वासुमन चढाउँदै छ आमा ।
यसरी मातृ शोकमा बसेर विधि अनुसार नून-तेल छोएर सबै आ-आफ्नो घरतिर प्रस्थान गरियो । ठूलो क्रिया सकिएको थिएन । आफू मातृवियोगको वेदना मनभरि लिएर बसेको अवस्था । मनमा शोक र सुर्ता संसारकी सबैभन्दा प्रिय मान्छे मेरी आमालाई हराएर बौलाए जस्तो मनस्थितिमा धरफराउँदै थिएँ । यसरी २९ मार्चमा आमाको सुधाई गर्ने टुङ्गो गरेर खबर हुँदै थियो । यसरी १० मार्च कट्यो ।
११मार्च २०२४ को दिन बेलुकी प्राय: ५ बजे फोनको घण्टी बज्यो । म बाहिर के गर्दै थिएँ । फोन बजेको आवाज पनि सुनियो । कौशिलाको नमस्कार पनि सुनिरहेकै हो बाहिरबाट । ऊनी बाहिर आइन् र छक्क पर्दै भनिन् फोनमार्फत जे सुनेकी थिइन् – ‘बधाई छ तपाईंले साहित्य अकादेमी – २०२३ को अनुवाद पुरस्कार पाउनु भएकोमा’ । मैले फेरि फोन लगाएँ । “बधाई छ छत्रमान जी ! अकादेमी पुरस्कार के लिए,” भन्यो । धन्यवाद फर्काएपछि पिछे डिटेल में बात होगा भन्दै फोन काटिदियो ।
म के गरूँ कसलाई भनूँ भन्ने स्थितिमा थिएँ । कौशिलाले घरमा फोन लगाइन् । यत्ति खुशीको खबर आमालाई दिन सकिनँ । तर हृदयबाटै आमालाई सम्झेँ र धन्यवाद दिएँ ।
एक छिनपछि मुख्यमन्त्रीको कार्यालयबाट फोन आयो । त्यसपछि फोनको निरन्तरता रोकिएन । मलाई राति १० : ३० बजे स्कुलको हेडबाट फोन आयो भोलि १२ मार्चको दिन प्रथम सम्बर्द्धना विद्यालयमा हुन्छ त्यसपछि अरू ठाउँ जानु है भने ।
भोलिपल्ट समयमा विद्यालय पुगें । मैले सोचेभन्दा निकै राम्रो आयोजना रहेछ । मिठाई बोकेर गएको थिएँ । स्कूलमा धुमधाम सम्बर्द्धना भयो गम्चा ओढाएर भगवान बुद्धको मूर्ति कलम अनि अरू चिजबिज भेट स्वरूप । म बोल्न सकिनँ । आँसुले साथ छोडेन । आमा भएको भा म भन्दा धेरै ऊनको खुशी हेर्न पाइन्थ्यो । मलाई राष्ट्रिय सम्मान जुर्यो परन्तु आमाको त्यो स्वर्गीय खुसबाट वञ्चित भए यस्तै लागिरह्यो ।
निरन्तर सम्मान कार्यक्रम चलिरह्यो । कतिले यसरी तारीफ पनि गरे – तपाईंलाई विभिन्न संस्था-सङ्गठनले सम्मान गरेको देख्दा अहिले नै कलम समातेर घोप्टिहालौं जस्तो लाग्छ । मैले के भन्ने, सबैलाई धन्यवाद दिएँ ।
त्यसपछि खबर आयो- ११ जुलाई देखि १४ जुलाईसम्म बेङ्गलोरमा पुरस्कार वितरण समारोह हुन जाँदै छ । सबै कुरादेखि भाषणसम्म पठाउने आग्रह आयो । आफूले उसै गरियो र प्रथमपल्ट उडाजहाजको टिकट काटियो । मनमा उत्कण्ठा- के हुने हो, कसरी पुगिने हो । दक्षिण भारतको कहिले नपुगेको राज्य कर्णाटकको राजधानी शहर । मनमा धेरै प्रश्न बोकेर जाने दिन आउनै आँट्यो । पुग्ने दिन नजिकिंदै छ । बेङ्गलोरमा आफ्ना मान्छे को छन् बोलाउनु सकिन्छ कार्यक्रममा भन्ने सूचना पनि दिएको छ ।
त्यसअघि ३० जुनमा दुलियाजान कला-साहित्य मञ्चले मुख पत्र अभिव्यक्ति प्रकाशन गर्न थालेको पचासौँ वर्षगाठ मनाउने भएका रहेछन् । नरसिंह छेत्री मञ्चका सचिवको दायित्वमा रहनु हुँदो रहेछ । धेरै त्यागी र लगनशील व्यक्ति । त्यहाँ साहित्य सम्मान थाप्नु पुगें । असम नेपाली साहित्य सभाका सभापति श्रीदुर्गा खतिवडा, साहित्य अकादेमी नेपाली परामर्श समितिका सदस्य श्री चन्द्रमणि उपाध्याय, श्री रुद्र पौड्याल सिक्किम, डा. सुकराज दियाली र मलाई साहित्य सम्मानले सम्मानित गरियो ।
मलाई भने बेङ्गलोको कुराले चिन्तित पारेको थियो । त्यहाँ कोही आफन्त तथा चिनजान भएका भए हुन्थ्यो भन्ने लागिरह्यो मनमा । लगत्तै खबर गरे किरण सुब्बा, काजल र काले भाइलाई । ऊनीहरू मेरै प्रतीक्षामा छन् भन्ने बुझियो ।
अनेक मनमा उठेका जिज्ञासाको समाधान र समाप्ति दिन ११ जुलाई बिहान ६:३० को रेलमा राङ्गापाडाबाट गुवाहाटी पुगियो । त्यहाँ पुगेर लोकप्रिय गोपीनाथ बरदलै अन्तर्राष्ट्रिय विमानस्थलबाट २:२५ को ‘विस्तारा’ विमानमा बेङ्गलोर केम्बेगोडा अन्तर्राष्ट्रिय हवाई अड्डामा उत्रिने । त्यहाँदेखि हामी होटल बेङ्गालोर गेट पुग्नुपर्ने । १२.०० बजेतिर लोकप्रिय गोपीनाथ बरदलै अन्तर्राष्ट्रिय हवाई अड्डामा पुगेर चेक गर्ने गेट कतापट्टि हो भनेर सोध्दै पसियो ।
विधि अनुसार जाँच सकेर ६ नं० गेटतिर जाने भनेपछि बिस्तारै अघि बढियो अनि वेग थन्काएर बोर्डिङ पास लिएर ६ नं० गेट खोज्दै जाँदा ६-९ देखाउँदै छ । एक क्षणमा बुझ्दा सिलचर जाने भन्छ त हो । फेरि सोधपुछ गरियो । माथिपट्टि जाने बाटो देखाइदिए । श्रीमती कौशिला र म हस्याङफस्याङ गर्दै माथिपट्टि लागियो । बल्ल अब भने पार पाइन्छ होला भयो । परन्तु हाम्रो विमान उड्नु पर्ने समय थियो २.३५ बजेको तर २.५५ बजे मात्रै बोर्डिङ शुरू भयो । विमानले ३ बजे उडान भर्यो ।
अवश्य पनि हामी समयभन्दा ढिलो पुगिने भयौँ भन्ने लाग्यो । अचम्म ठ्याक्क ५.५२ मा विमान केम्पेगोडा अं० विमान स्थलमा लेन्डिङ गर्यो । त्यहाँ पनि नयाँ ठाउँ नयाँ कुरा । अरू यात्रीले जसो गर्छन् हामीले पनि त्यसै गर्यौं । त्यहाँदेखि ट्याक्सी लिएर बोडोमित्र अम्बिकागिरी हाज´वारी म, कौशिला र उसको भानिज मिजिङ मुसाहारीसँग होटल बेङ्गालोर गेटमा ७:३० बजे पुगेर मात्रै ढुक्क लाग्यो । हाम्रो निम्ति २०८ नं० कमरा बन्दोबस्त गरिएको रहेछ । पसेर हातगोडा र मुख पखालेर खाना खाने सूचना आयो । त्यतापटि लागियो । थाकेको जीउ भोजनपछि निन्द्रादेवीलाई सुम्पेर जुलाई १२ मितिको बिहानीलाई स्वागत गरियो ।
१२ तारिखको कार्यक्रम अपराह्न ५.३० बजेबाट शुरू हुनेछ । हामीलाई जहाँ गए पनि घुमफिर गरेर २:०० बजे अघि होटलमा हाजिर हुने निर्देश छ । ३:००बजे हामी सभा स्थलमा पुग्ने गाडीको बन्दोबस्त रहेछ । खाजा खाएर किरणलाई फोन जोडें । आउँदैछु दाजु भन्ने सूचना आयो । हामी तमतयार भएर सडकमा छौँ । नभन्दै काजल सुब्बा र किरणले लालवाग वोटानिकल गार्डेन घुमाउने योजना बनाएर हामीलाई ट्याक्सीमा उठाए । हामी त्यहाँ पुगेर टिकट लिएर गार्डन भित्र पस्न थालियो । जति पस्यो उति राम्रो, रमाइलो पनि उस्तै । विशाल प्राकृतिक रम्यभूमि । प्रकृतिलाई यसरी सजाएर सीप लगाएर राखेका रहेछन् कि प्रकृतिले आफ्नो सुन्दर रूप खुलेर देखाउँदै हाँसेकी छन् ? मनमा लाग्यो प्रकृतिलाई जति सजायो उत्ति नै आफ्नो आकर्षक सौन्दर्य व्यक्त गर्दी रहिछन् । प्रकृतिमा नै ईश्वर बसेको हुनुपर्छ भन्न भनाइ याद आयो ।
“सबै घुम्नु र उपभोग गर्नु त समय भएन । चार भागको एक भाग मात्रै घुमियो” भाइहरू भन्दै थिए । त्यहीँ मिलन र किरणले कफी स्टलमा पसाए । निकै थोक खाइयो । दाम कसले दियो सोधिएन । सङ्केत बुझेपछि फेरि कुरा गरिएन । त्यहाँ दोकानमा एकजना नेपाली अनुहार देखें । प्याच्च सोधें, “नेपाली जस्ता छन् त ।”
“अँ ! हो,” भने । नाम श्याम देवा रहेछ ।
“देवा ?”
“देवा भनेको ठकुरी हो, नेपालबाट आएको,” जनाए ।
“शेरबहादुर देवाका खल्लक !” भनें मैले ।
त्यसपछि विज्ञान संग्रहालयतिर लागियो । पस्दै जाँदा जति जति गयो नयाँ कुरा, नयाँ सामान, नयाँ विचार । यसरी घुम्दै गर्दा समयले होटलमा फर्किनुपर्ने संकेत गरिरहेको थियो । हामीले पनि समयलाई कदर गर्दै यथासमयमा फर्किएर खानपान गरी कार्यक्रममा जान तयार भयौं ।
सबैजना एउटै वाहनमा सवारी सम्भव नहुने भनेर कोही सानामा कोही ठूला वाहनमा जाने चाँजो मिलाएको रहेछन् । हामी २०-२५ जना ठूलो सवारी साधनमा कार्यक्रमतिर प्रस्थान गर्यौं । जानुपर्ने भारत विद्या भवन, खिञ्चन अडिटोरियममा । कार्यक्रममा जम्मै सम्मानित भारत भरिका २४ जना साहित्यकारको तस्वीर ठूलो हर्डिङमा लगाएर हामीलाई स्वागत गरे । सबै जनाले खुशी हुँदै फोटो उठाए । आफू के कम्ती दुई-चार वटा फोटो खिचिक्क खिचिक्क पार्न लगाइयो । सभाकक्षमा एक नजर पुर्याएँ । मञ्चमा लहरै २४ वटा कुर्सी क्रमैसँग भाषा नामले परिचय दिएर सजाएका रहेछन् असमिया, बङ्गाली गर्दै उर्दूमा गएर समाप्त भएको छ । २४ जनालाई मञ्चमा बस्ने आग्रह गरियो । हामी गयौं आ-आफ्नो कुर्सीमा । समारोहमा सम्मानित हुने अनुवादकहरूको सूची यसरी छ:
असमिया- लक्ष्यज्योति गगै ।
बङ्गाली- मृन्मय प्रमानिक ।
बडो- अंबिकागिरी हाज´वारी ।
डोगरी- शुषमा रानी ।
अङ्ग्रेजी- नरेन्द्र देव सेन
गुजराति- मिनाल जयन्तीलाल दावे
हिन्दी- रीतारानी पालिवाल ।
कान्नाड- के के गगांधरण
कश्मिरी- गुलजार आहमद राथार
कोनकनी- शुनेत्रा गजनन्जग
मैथिली- मेनका मल्लिक
मालायालाम- पी.के. राधामणि
मणिपुरी- लाइश्राम सोमोरेन्द्र
मारठी- अभय सदभर्ते
नेपाली- छत्रमान सुब्बा
उडिया- बाङ्गाली नन्द ।
पंजाबी- जगदीश राय कुलरियान
राजस्थानी- भंवर लाल भ्रमर
संस्कृत- नगरत्न हेगडे
संताली- वीर प्रताप मुर्मू
सिंधी- भगवान बाबाणी
तामिल- कन्नैयन दक्षिणामूर्ती
तेलेगु- सुरेन्द्र नागाराजू `एलनाग´
उर्दू- डाँ. मोहम्मद अहसन (अहसन अय्यूरी)
परन्तु यहाँ उल्लेख गर्नु नै पर्ने कुरा के थियो भने मैथिली भाषामा अनुवाद पुरस्कार पाउने अनुवादिका भने हाम्रै नेपाली छोरी मेनका मल्लिक रहिछन् । ऊनको जन्म नेपालमा भएको विवाह भारत (बिहारमा) प्रदीप बिहारीसँग । बिहारी पनि अघि नै मैथिली मौलिक कृतिमा अकादेमी पुरस्कारले सम्मानित भै सकेका रहेछन् । अनि मेनकाले मत्स्येन्द्र प्रधानको नीलकण्ठ नामक उपन्यास मैथिलीमा अनुवाद गरेर यसरी पुरस्कृत हुँदै रहिछन् । ऊनका स्वामी प्रदीप बिहारीले मसँग अघि नै फेसबुकमा मित्रता बनाइसकेका र समारोहमा भेट हुँदा चिना परिचय गरियो । मलाई बडा मिलनसार व्यक्ति लाग्यो ऊनी । असम तिर कुनै परिचय सोध्दा एकजना छन्- छत्रमान सुब्बा भनेर हँसेउली गरियो । त्यसपछि चिया-चमेना अनि भित्र कार्यक्रममा बसियो ।
त्यहाँ हामी सबैलाई परिचय पत्र र ब्याज लगाएर तयार पार्ने काम अघि नै भैसकेको थियो । अनि हामीलाई डायसमा बसाएर एकादि क्रमले फूलगुच्छा, चादर र स्मृति चिन्ह अनि एउटा एउटा प्याकेट सहित अकादेमीका सभापति र उपसभापतिले सम्मानित गरिएको गरिमामय सभालाई शुरूवातमा अकादेमीका सचिवले सम्बोधन गरेका थिए । मुख्य अतिथि चन्द्रशेखर काम्बारले पनि सभालाई सम्बोधन गरे । साथै सभापतिले सभामा आफ्नो मन्तव्य राखे र उप-सभापतिले अनुवाद साहित्यको महत्वलाई प्रकाश पार्दै धन्यवाद ज्ञापन पछि पहिलो दिनको सभा समाप्त गरिन्छ । यस सत्रमा हामी कसैले बोल्ने मौका जुरेन । ८:३० बजे होटलमा फर्केर खानपिन अनि फेरि घुप्लुप्प । किनभने भोलि बिहान ९.०० बजे तयार भएर दोस्रो सत्र अकादेमीको रिजनेल भवनमा हामी सबै सम्मानित साहित्यकारले बोल्नु पर्ने रहेछ ।
१३ जुलाई २०२४ को दिन । नेपालीमा भानु जयन्तीको दिन परेको । भानुलाई सम्झिएर मनमनै श्रद्धाञ्जली अर्पण गरें । त्यो दिनको सभा सञ्चालन कुमुद शर्मा (उप-सभापति साहित्य अकादेमी)ले गरेकी थिइन् भने यहाँ सबै सम्मानित व्यक्तित्वको आ-आफ्नो विचार राख्ने अवसर प्रदान गरिएको थियो । यसरी हर व्यक्तिको अभिभाषण पनि अकादेमीले पहिलै छपाएर त्यहाँ उपस्थित सबै जनालाई हातलागि गरिदिएको थियो । अघिल्लो दिन हामी सबैको परिचय र अनुवाद ग्रन्गको छोटो विवरण अनि आफ्नो साहित्यिक गतिविधिको उल्लेख गर्दै केही तस्वीर सँगको पुस्तक छपाएर सबैको हातलागि गरिदिएका थिए । आज भाषणको पनि छपाएछन् मनमनमा भने । अनि आफ्नो पालो आएपछि हिन्दीमा लेखेको अभिभाषण सुनाएँ ।
सबैलाई ५ देखि १० मिनेटको समय तोकिएको थियो । किनभने १:०० बजे यस सत्रलाई समाप्त गरेर २:०० बजेदेखि अभिव्यक्ति कार्यक्रममा कविता पाठको कार्यसूची रहेको थियो ।
मैल पनि आफ्नो भाषण छाटें यसरी-
“परम आदरणीय आजको यस गरिमामय सम्मान समारोहका अध्यक्ष महोदय तथा साहित्य अकादेमी नयाँ दिल्लीका अध्यक्ष महोदय, अकादेमीका सचिव महोदय, अकादेमीका आदरणीय पदाधिकारीगण र यस समारोहमा उपस्थित अतिथि तथा विद्वान समाज,म आफूहरू सबैलाई हृदयबाट नमन गर्दछु ।
हर भाषाको सम्मान गर्नु तथा उसको प्रगतिको लागि निरन्तर कार्य गर्नु भारतीय परम्परा हो । हामी सबैको हृदयमा विविधताभित्र एकताको भाव विराजमान छ । यहीँ कारण भारतीय विभिन्न भाषाको सधैं सम्मान गर्नु हाम्रो विरासत बनेको छ । अनि आज मलाई एक साहित्यिक अनुवादकको रूपमा राष्ट्रिय स्तरको यो सम्मान समारोहमा सम्मिलित हुने सौभाग्य जुरेको छ ।
अनुवादको क्षेत्रमा चयन समितिद्वारा डा. लक्ष्मीनन्दन बराको मूल असमिया उपन्यास ‘कायाकल्प’लाई नेपाली अनुवाद गर्नाले आज मलाई जो सम्मान प्राप्त भएको छ त्यो मेरो निम्ति आजीवन अनुप्रेरणाको स्रोत बन्ने छ । म यसै मौकामा चयन समिति तथा साहित्य अकादेमीलाई धन्यवाद दिन्छु ।
‘कायाकल्प’ उपन्यास सन् २००८ मा सरस्वती सम्मानले सम्मानित भै सकेको हो । यस उपन्यासमा हाम्रा ऋषिमुनिहरूद्वारा प्रयोग गरिएको जीवनदायिनी ओखतीको उल्लेख पाइन्छ । साथै यस कुराको पनि उल्लेख पाइन्छ कि प्राकृतिक नियम सृष्टिको आदि कालदेखि चल्दै आएको छ र यही चिर सत्य हो । यसलाई भत्काउने, तोडफोड गर्ने प्रयास गरे यसको परिणाम लोकहित विपरीत हुन सक्छ भन्ने सन्देशका साथ उपन्यास अन्त्य गरिएको छ ।
मलाई लाग्छ अनुवाद उत्तरआधुनिक कालको एउटा अनिवार्य अङ्ग बनिसकेको छ । समन्वय साहित्यको साथै सम्बन्ध साहित्यको रूपमा पनि यसलाई चिन्न सकिन्छ । यिनै सम्बन्धले हामीलाई आज भारतीयको रूपमा ऐक्यबद्ध हुने अवसर मिलेको छ । यही नै अनुवादको सबैभन्दा ठूलो ताकत हो । यिनै शब्दले म सबैलाई नमन गर्दै आफ्नो भनाइलाई यही विराम दिन्छु ।”
हामी यस प्रकारले सम्मानित भएर यति ठूलो मञ्चमा बोल्दै अभिभूत हुँदै गरियो । यस्तो सौभाग्य जुरेकोमा भारत मातालाई र यहाँको विरासतलाई धन्यवाद दिएँ । अनि साँझपख बजारतिर घुम्न निस्कियौँ । पोथिमलमा पसियो । केवल साडी अनि साडी । एक तला दुई तला तीन तलासम्म पुगियो । जस्तो दाम उस्तै काम । त्यहाँदेखि माथि जाने आटँ आएन । छ तलासम्म गएनौँ । केही किनेर फर्केर आयौँ । फर्केर कमरामा सुतियो । १४ जुलाई ०२४ रविवारको दिन बिहान ९:३० को आकाश नामक जहाजमा उडेर गुवाहाटीलाई भेट्न पुगियो । ईश्वरलाई धन्यवाद दिंदै फेरि यस्तो मौका कहिले पाइएला भन्ने सोच्दै १०:३०तिर राति घरमा प्रवेश गरियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।