फर्किछु भन्नेहरू
फर्किएनन् कहिल्यै
जिन्दगीको दोबाटोहरूमा
पर्खि बस्नेहरूका लागि

वाचा र बन्धन तोडेर जानेहरूको
सम्झानाहरू पनि सम्झाना मात्रै बनेर
पर्खेर बसेका होलान् पर्खिनेहरू

बिर्सी जानेहरूले
प्रेम गर्छन् कि गर्दैनन् ?
बिर्सी जानेहरूले
सम्झिन्छन् कि सम्झिदैनन् ?
थुप्रै गुनासोहरूको चाङ मात्रै बोकेर हिड्नेहरूले
जिन्दगीसँग
सम्झिन्छन् कि सम्झिदैनन्
भूतपूर्व प्रेमी-प्रेमिकाहरूलाई

यो ब्रह्माण्डमा बाँच्नेहरूले
के के सोचे होलान् ?
ती बिर्सी जानेहरूका लागि !

छुट्टीजानेहरू
जतिबेला
सम्बन्धको बाँधहरूले
काँचुली नफेर्दै
साइनोका आधारशिलाहरू
कतिबेला भत्किएर गए होलान्
ती भदौरे भेलसँगै

हराउन रहरको पखेटा फिँजाएर
यो ब्रह्माण्डमा कति उडिरहनु
स्वतन्त्रताको खातिर
बाँधी राखन कहिलेकाहीँ त तिम्रो प्रेमको डोरीले

शरीरको भोकाहरूले त खै कतिबेला सिध्याइदिन्छन् अस्मिताको सुगन्धहरू

मनको गहिराई नापेर बस्नेहरूले
कति माइल नापे होलान् प्रेमको बाटोहरू

पर्खी बस्नेहरूले
भरोसाहरू तोड्दैनन्
जसरी
हिम्मतको पहाड बोकेर
प्रेमको ज्वाराभाटसँग उक्लिरहनु दु:खको अप्ठ्यारो बाटोहरू
र तर्नु उसैगरि आत्मसन्तुष्टिका खुड्किलाहरू
भावनाका भँगालोहरूसँग
गाह्रो हुँदोरहेछ यथार्थमा पौडिनु

रहरको बाटोहरू पछ्याउदा-पछ्याउँदै
स्वयं हुन नसकेर के के भए होलान्
हिँडिजाने ती घाम र जूनहरू

स्वाभिमानको लडाइँ लड्दै-लड्दै
वाचा कसम खानेहरूको आफ्नै कथाहरू थिए होलान् छोडी जाने बाध्यताहरू
त्यही बाध्यताको डोरीले डोर्‍याएर हिँडाएपछि
आयुको जीजिविषालाई कस्ले पो रोक्न सक्छ र ?
मानव सभ्यताको सृष्टिमा ।

जीवनको आयु नाप्दै-नाप्दै हिँड्नेहरू कहाँ पुगे होलान् ?
साँच्चिकै जीवन नापे कि नापेनन्
भेट्नु खोज्नेहरू साँच्चिकै भेटिए कि भेटिएनन् ?
छुट्टिनेहरू र
बिर्सिजानेहरू ।

आँशुका बाछिटाहरू उछिट्टिएर
परेलीका अधरहरूमा कसरी तौरिए होलान् ?
र बगरमा बगेका पानीहरू जसरी बगे कि बगेनन्
सम्झनाको सन्दूक बोकेर सुदूर हिँड्ने यात्रीहरू
जीवनको अन्तिम आयुसम्म पनि
अन्तिम भेटको बाटो पर्खिनेहरू साँच्चिकै भेटिए होलान् ?
माकुराको जालोजस्तै यादहरूले सतायो भन्नेहरूलाई साँच्चिकै सतायो कि सताएन
छोडी जानेहरूको यादले ?

आफू जे हो त्यही भइरहनु पो गाह्रो रहेछ त !

पीरहरूको भारी बिसाउँदै बिसाउँदै
तमोरको गढतिर हिँडे होलान्
मुजिङ्ना र खेयङ्नाहरू कुनैबेला
अक्करे पहाडको दुःख बोकेर
बसे होलान् रहर र बाध्यताको क्यानभासभित्र
र बगे होलान् तमोर जस्तै निरन्तर-निरन्तर
कहिल्यै नफर्किने गरी बिर्सी जानेहरू ।

००००००००००
(मुजिङ्ना, खेयङ्ना – मुन्धुमअनुसार प्रथम महिलापुर्खा आमाको पूरा नाम)

याङवरक ४, पाँचथर