‘हामी प्रूफरीडरहरूको जागीर जाने भयो ! हामी स्कूले मास्टरहरूको मुखमा माड नलाग्ने भयो ! हामी विद्यार्थीहरूले परीक्षाको भीरबाट गुल्टिनुपर्ने भयो !’ अचेल जहाँ गयो, यस्तै चीत्कार र हाहाकार गुञ्जिन्छ । तिनको मर्म कसले सुन्ने ? सरकारी निकाय कानै सुन्दैन । नेपाली वर्णविन्यास शुद्ध बनाउन चाहने विद्यार्थीका आँखामा कसिंगर भएर घनटाउके अक्षरका भित्तेलेखन, सूचनापाटी, परिचयपाटी र टेलिभिजनका अधोलेखनहरू बिझेको बिझ्यै छन् किनभने त्यस्ता लेखनमा वर्णविन्यासको कुनै पनि नियम पालना गरिएको हुँदैन । पुस्तकैपिच्छे र पत्रिकैपिच्छे थरीथरीका लेखाइ छन्, कुनचाहिंको सिक्ने ? शब्दकोशपिच्छे वर्णविन्यास विभिन्न छन्, कुनलाई मानक मान्ने ? मानक निर्धारण गर्ने सरकारी निकाय कुन हो ? निर्धारणको आधार के हो ?
‘पदमा पुगेका भाग्यमानी तुरुपहरूले नेपाली भाषालाई कुरूप बनाए । महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट् बालकृष्ण सम आदि साहित्य दरबारका एक्का र बादशाहहरूलाई पनि गर्लम्मै ढाले ।’ नेपाली भाषाका चिन्तित प्रयोक्ताहरू आज यस्तै चर्चा गर्दैछन् ।
सातथरी नेपाली शब्दकोश पल्टाएपछि सातै दिनमा बहुलाइन्छ । नबहुलाउन त एउटा मात्रै पल्टाउनुपर्छ । कुन चाहिं एउटा शब्दकोश पल्टाउने ? सोध्नुहोला— त्रिविका भाषावैज्ञानिक र भाषाविशेषज्ञ स्वनामधन्य धुरन्धरहरूको नामावली रहेको प्रज्ञा प्रतिष्ठानकै ‘नेपाली बृहत् शब्दकोश, सातौं संस्करण’ मानक हो ? त्यो त झन् किन्दै नकिन्नुहोला । दशा पन्छाउन किनिहाल्नुभएको छ भने कृपया त्यसलाई नपल्टाउनुहोला । त्यस बहुरूपीले त झन् तर्साउँछ । पेटबोलीमा जताततै दीर्घ ‘फूल’ फुलेको देखिन्छ, मूल प्रविष्टिमा हेर्दा ह्रस्व भइसकेको हुन्छ । ‘पूरा, पुरा’ आदि शब्दहरूको हबिगत त्यस्तै छ । राम्रो भएको भए सबै जनाको हुने, बिग्रिएको चाहिं कसैको पनि नहुने ? अख्तियारी प्राप्त उपकुलपतिज्यूले भूमिकाका माध्यमबाट सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ तर दोष चाहिं लिनुभएको छैन । त्यसो त उपकुलपति गंगाप्रसाद उप्रेतीज्यू र उहाँकै समितिका सदस्य बूँद रानाज्यूले आफ्नै नाम बिगारिएको सुइँको समेत पाउनुभएनछ । संशोधनको अख्तियारी पाएका उपकुलपति महोदयले नै बहिष्कार गर्नुभएको ‘नेपाली बृहत् शब्दकोश’ को वर्णविन्यासलाई हामीले कसरी विश्वास गर्ने ? पर्याप्त प्रमाण उहाँकै भूमिकामा पाइन्छ । त्यस भूमिकामा प्रयोग गरिएका शब्द र शब्दकोशको तुलना गरे भइहाल्छ ।
सातौं संस्करणका वरिष्ठ सदस्य हेमांगराज अधिकारी, महादेव अवस्थी र बद्रीविशाल भट्टराईका शब्दकोश अरू नै छन् । अन्त प्रयुक्त वर्णविन्यासमा अर्कै प्रकार पाइन्छ त्यसैले असरल्ल छरिएको दोष उहाँहरूको भागमा पर्ने कुरै आएन । संशोधन समितिका संयोजक चूडामणि बन्धुज्यूलाई नै आफ्नो संयोजकत्वको शब्दकोश चाहिं नभएर हेमांगराज अधिकारी तथा बद्रीविशाल भट्टराईज्यूको ‘प्रयोगात्मक शब्दकोश’ नै मानक हो भन्ने विश्वास छ । ‘बृहत् नेपाली शब्दकोश’ मा नाम छापिएका प्रायः सबैका मुखबाट निस्कन्छ, ‘शब्दकोशको कुरै नगरौं । मलाई केही थाहा छैन ।’
यसैले पनि हामी निष्कर्ष निकाल्न बाध्य हुन्छौं— गल्ती जसले गयो, त्यो मान्छेले गरेको होइन, मूसाले गरेको हुनुपर्छ । सम्भवतः मूसो पनि गणेशजीको आशीर्वाद प्राप्त सर्वाधिकार सम्पन्न थियो होला, त्यसैले अदृश्य भयो ।
संयोजक बन्धुज्यूले मानक शब्दकोश मान्नुभएको ‘प्रयोगात्मक शब्दकोश’ मा क्षतिपूर्तिस्वरूप दीर्घीकरण गर्ने परम्परा राम्रोसँग धानिएको छ अर्थात् त्यहाँ ‘फूल, पूरा’ जस्ता शब्दहरू दीर्घ नै भेटिन्छन् । २०६८ को संस्करणसम्म हेमांगराज अधिकारी र बद्रीविशाल भट्टराईको शब्दकोशमा चाहिं चरोमूसो केही पनि पसेको पाइँदैन । हेमांगराज अधिकारीको ‘समसामयिक नेपाली व्याकरण, २०६६’ मा निकै लामा पदहरू पनि जोडिएरै लेखिएका छन्, क्षतिपूर्तिस्वरूप दीर्घीकरण पनि गरिएकै छ । आफ्नै शब्दकोश र व्याकरणका विपक्षमा बोल्न उहाँहरू कसरी बाध्य हुनुभयो ? अथवा नियामकले नै नमानेको नियम मान्न हामी कसरी बाध्य बनाइयौं ? यक्षप्रश्न यिनै हुन् ।
अचेल शिक्षक र कक्षापिच्छे भिन्नभिन्न वर्णविन्यास सिकाइन्छ । विद्यार्थीले अगिल्लो कक्षामा ‘फुल फुल्छ’ लेख्दा चड्कन पाए, पछिल्लो कक्षामा ‘फूल फुल्छ’ लेख्नाले गाली खाए । त्रिविका प्राध्यापकभित्रै मतैक्य छैन । नयाँ वर्णविन्यासका पक्षमा खुलेर बोल्ने प्राध्यापकको संख्या गन्न एउटा हातका औंलाहरू नै पर्याप्त छन् । गोप्य मतदान गराउँदा थाहा भइहाल्छ । खुला गराउने भए चाहिं यसै भन्न सकिंदैन । एउटै विद्यार्थीलाई एकै वर्षमा एउटै ‘त्रिभुवन विश्वविद्यालय’ को मानविकी संकायमा एकथरी र शिक्षाशास्त्र संकायमा अर्कोथरी वर्णविन्यास प्रयोग गर्नुपर्दा कस्तो लागेको होला ? प्राध्यापकहरूले दुई संकायमा दुइटा काय लिएर जानुपर्ने अवस्था छ । ‘आफूलाई विश्वमा कतै नभएको आधुनिक भाषावैज्ञानिक भनाउनेहरूले नै प्रज्ञा प्रतिष्ठान र त्रिविमा कब्जा जमाए, पाठ्यक्रम विकास केन्द्रहरूमा पनि तिनैको हालीमुहाली रह्यो र वर्णविन्यासमा अराजकता आयो ।’ सम्भवतः यो आरोप शतप्रतिशत सत्य हो ।
‘नेपाली बृहत् शब्दकोश, २०४०’ मा निर्देशक, विशेष सम्पादक, सम्पादक, सहायक सम्पादक र सहसम्पादक सबै जना त्रिविकै (अपवाद : सहायक सम्पादक हर्षनाथ भट्टराई) हुनुहुन्थ्यो । सातौं संशोधनमा माधव ढुङ्गेल बाहेक परिपूर्ण दशावतार त्रिविकै हुनुहुन्थ्यो । वर्णविन्यास बिगार्ने काम त्रिभुवन विश्वविद्यालयका निश्चित केही प्राध्यापकबाटै भएको छ । ताना चलुन्जेल ‘तानासर्मा’ भएका तारानाथ शर्मालाई ‘सर्मा’ को अर्थ ‘कुकुर्नी’ हो भन्ने बोध नहुन्जेलसम्म चेत आएन । ‘झर्रो सब्द्यौली’ बाट ‘झर्रो शब्द्यौली’ मै फर्किनुभएको वरिष्ठतम भाषाविद बालकृष्ण पोखरेलले अल्लारे हुँदा मनपरी गरेको अक्षम्य अपराध स्वीकार गरिसक्नुभएको छ । निर्दोष र अबोध विद्यार्थीहरूलाई बालकृष्ण पोखरेलज्यूहरू र हेमांगराज अधिकारीज्यूहरू के उत्तर दिनुहुन्छ ? सम्भवतः उहाँहरू भन्न सक्नुहुन्छ— ‘प्रथम व्याकरणकार भगवान महेश्वर हुन् । हामी महेश्वरका वाहन हौं । त्यसैले व्याकरण परिवर्तनमा मनपरी गर्ने अधिकार हामी जुरेहरूलाई पदेन प्राप्त भयो ।’
शिक्षा तथा संस्कृति मन्त्रालयरूपी महेश्वरहरू बोल्न सक्दैनन्, हामी चाहिं वाहन महोदयका तरंगी तर्कमा ‘हो’ मिसाउन बाध्य पारिएका छौं । फुच्चे बाछाहरूको प्रश्न छ— ‘महोदयहरू ! तपाईंहरूले बनाएको नियम तपाईंहरू स्वयंले चाहिं पालना गर्नुपर्दैन ?’
ठाउँ, समय, परिवेश अनुसार नेपाली भाषा पनि हजारौं प्रकारले बोलिन्छ । टेलिचलचित्रको धुर्मुसे पात्र एकै दिनमा अनेक प्रकारले बोल्न सक्छ । एउटै मान्छेको बोली बाल्य, युवा र वृद्ध यी तीन अवस्थामा भिन्नभिन्न सुनिन्छ । भाषाको उच्चारण वा बोलीचाली परिवर्तनशील हुन्छ । यसैले भाषालाई एकताबद्ध बनाउन तथा स्थायित्व दिन नै लेख्य परम्परा बसेको हो । लेख्य परम्परा परिवर्तन गर्न भाषावैज्ञानिकलाई कतिसम्म अधिकार हुन्छ ? स्थापित मान्यता अनुसार वर्णविन्यास पनि नेपाली व्याकरणको अभिन्न अंग हो । नेपाली भाषाको वर्णविन्यासमा बालचन्द्र शर्माबाट सम्पादित ‘नेपाली शब्दकोश, २०१९’ ले स्थिति बसालिसकेको थियो । त्यसमा छुटपुट भएका ऐतिहासिक अभिलेख तथा स्थापित साहित्यकारका शब्दहरू र नवप्रचलित शब्दहरू थप्दै गएको भए पुग्ने ठाउँमा प्रज्ञा प्रतिष्ठानको तात्कालिक नेतृत्वले बिसुरका झर्रोवादीहरूलाई मनपरी दाइँ गर्ने अवसर दियो । ‘नेपाली बृहत् शब्दकोश, २०४०’ का निर्देशक बालकृष्ण पोखरेल हुनुहुन्थ्यो । त्यसका सम्पादक मध्येका सर्वाधिक सक्रिय व्यक्ति कृष्णप्रसाद पराजुली हुनुहुन्थ्यो । २०६९ को ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ भन्ने घोषणापत्रमा बालचन्द्र शर्माकै समर्थन गर्ने अर्थात् ‘… सकेर (दिसा गरिसकेर) दैलो देख्ने’ पनि उहाँहरू नै हुनुहुन्छ । उहाँहरूले बहर छँदा नपाएको ज्ञान बूढो भएपछि अर्थात् हलो तान्न छोडिसकेपछि पाउनुभएछ । ढीलै भए पनि बुद्धि फिरेछ । पदमै छँदा सत्यको पक्षमा लागिदिनुभएको भए नेपाली भाषाले यस्तो कन्तबिजोग भोग्नुपर्ने थिएन ।
आजका उन्मत्त वर्णविन्यासे बहर वाहनहरूले पनि भविष्यमा अवश्य पछुताउनुपर्नेछ, गुरुबाहरूले जस्तै गरी । विडम्बना ! उहाँहरू पछुताउने बेलासम्म नेपाली भाषाको वर्णविन्यास क्षतविक्षत भइसकेको हुनेछ । उहाँहरूकै जुरो जोगाइदिनका लागि बिचरा भाषासम्पादक तथा बबुरा स्कूले शिक्षक र विद्यार्थीहरूले बाछाको मिचाइ कहिलेसम्म भोगिरहनुपर्ला ? शुद्ध वर्णविन्यास प्रयोग गर्न चाहनेहरूले ‘त्रिशूल कि गाई ?’ भनेर ढ्याक पल्टाउनुपर्ने अवस्थाबाट मुक्ति चाहेका छन् । भाषावैज्ञानिकको अधिकार क्षेत्र कति हो ? त्यो पनि बुझ्न चाहेका छन् ।
साभार: ‘नागरिक’ २०६९ वैशाख ३०, शनिवार
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।