अङ्ग्रेजीको फोक (Folk) शब्दको नेपाली अर्थ हो ‘लोक’ । यो संस्कृतको तत्सम् शब्द हो । ‘लोक’ शब्दको सामान्य अर्थ हुन्छ, संस्कृति सम्पन्न मानिसको समुदाय या सर्वसाधारण । हुन त कतिपय नेपाली तथा भारतीय विद्वानहरूले ‘लोक’ शब्दको सट्टा ‘जन’ शब्दको प्रयोग पनि गरेको पाइन्छ तर यो प्रयोगले ‘लोक’ शब्दको अर्थ र अभिप्रायमाथि अन्याय गर्न सक्ने संकेत पनि गरेका छन्, बहुसंख्यक विद्वानहरूले । किनभने औद्योगिक समाजको श्रमिक वर्गको रूपमा बढी मात्रामा ‘जन’ शब्दको प्रयोग भएकाले जनवादी साहित्य तथा यसले श्रमिक वर्गका पक्षमा लेखिएको साहित्य भन्ने अर्थ दिन सक्छ । त्यसैले ‘लोक’ शब्द नै उपयुक्त र प्रचलित रहेको छ । अङ्ग्रेजी भाषाको फोकको सामान्य अर्थ चाहिँ ग्रामीण, असंस्कृत र अशिक्षित जाति भनेर उल्लेख गरिएको पाइन्छ । तर संस्कृत वाङ्मयमा ‘लोक’ शब्दको प्रयोग दुई अर्थमा भएको देखिन्छ । स्थान र मानिसको अर्थमा । जस्तैः स्थानवाचक शब्दको रूपमा– स्वर्गलोक, मत्र्यलोक आदि । र, मानिसको अर्थमा लोकजीवन, लोकसंस्कृति आदि । तर वर्तमान परिप्रेक्षमा ‘लोक’ भन्नाले सम्पूर्ण मानवीय गतिविधि भन्ने नै अर्थ राख्दछ । यही ‘लोक’ शब्दमा नाटकको समासबाट बनेको शब्द हो लोकनाटक । लोकवार्ता वा लोकसाहित्यका विभिन्न शाखाहरू मध्येको एउटा शाखा हो, लोकनाटक । अध्येता तुलसी दिवसका अनुसार– ‘लोकनाटकको सबैभन्दा ठूलो विशेषता यसको लोकधर्मी स्वरूप हो । सामूहिक आवश्यकता र प्रेरणा निर्मित लोकनाटक, लोककथा, लोकविश्वास, लोककला, लोकतत्त्वलाई अँगालेर जीवनको प्रतिनिधित्व गर्दछ ।’ पूर्वीय साहित्यशास्त्रका प्रथम शास्त्रकार भरत मुनिको लोकनाटकसम्बन्धी विचार भने यस्तो छ

मोहनप्रकाश

स्वभाव भावोपगतं शुद्धं तु विकृतं तथा
लेकवार्ता क्रियोपेतं अङ्ग लीला बिबर्जितम् ।
स्वभावभिनयोपेतं नाना स्त्रीपुरुषाश्रयम्
यदीदृशं भवेन्नाट्यं लोकधर्मी तु सास्मृतां ।।

अर्थात्, स्वभाविक, शुद्ध र विकाररहित, लोक प्रचलित कार्यसँग सम्बद्ध, अङ्ग–लीलारहित, सहज अभिनययुक्त विभिन्न प्रकारका स्त्री र पुरुषद्वारा अभिनित नाटक नै लोकधर्मी नाटक हो ।

यसरी हेर्दा स्वभाविक अर्थात स्वतस्फूर्त, शुद्ध अर्थात् लोकजीवन आफैँमा पवित्र हुन्छ । त्यहाँ कुनै छलकपटरहित अभिव्यक्ति स्वतः प्रस्फुटन हुन्छ । विकाररहित हुन्छ । जीवन भोगाइका क्रममा ती आत्मा अभिव्यक्तिका रूपमा प्रवाहित हुन्छन् र लोक प्रचलित हुन्छन् । कुनै शास्त्रार्थ वा बुद्धिविलासको अंश भेटिन्न । बनावटी र कपोकल्पित हुँदैनन् । आँखाअगाडि जे देख्यो, जे भोग्यो त्यही कुरा सहज रूपमा स्वच्छन्द मुखबाट प्रवाहित हुन्छन् या नैतिक सन्देशले युक्त हुन्छन् । र, स्त्री र पुरुषद्वारा दैनिक जीवनमा सम्पर्कमा आएका सत्यतथ्यलाई कुनै अतिरञ्जनाबेगर सहज रूपमा सम्पूर्ण लोकका माझमा ती पोखिन्छन् । ती एकलाप वा वार्तालाप जुन रूपमा भए पनि गीतका रूपमा आए गीतिनाटक र कविताका रूपमा आए कवितानाटक हुन्छन् । नेपाली परम्परामा तिनैलाई सोरठी, घाटु, बालुन, लीला, धाननाच, रत्यौली, नचरी, मुन्धुम, राजामति, पालाम, मारुनी, स्वयेक्तु, सिलमे, चरित्र, देवीनाच, महाकालीनाच, कुमारीनाच त्यस्तै झ्यालिञ्चाको नाच, सबाभक्कुको नाच, कंवचा नाच, कीर्तनिया, विदेशिया, जात्रा, स्वांग, नौटङ्गी, रासलीला आदिका नाम उल्लेख गर्न सकिन्छ । यिनलाई कसैले गीतिनाटक पनि भन्छन् । र, कतै ति नृत्यमा त कतै मुक्तालयमा या गद्यमा पनि आउने गर्छन् । यस्तो गद्य परम्पराको लोकनाटकमा ललितपुर सहरको मङ्गलबजारमा देखाइने कात्तिक नाचलाई लिन सकिन्छ । त्यहाँ प्रस्तुत हुने ‘तीन बाठा मानिसहरूको प्रदर्शन’ यसको नमूना मान्न सकिन्छ । यो हास्यप्रधान नाटक हो । त्यहाँ यो नाटक हेर्न सहरभरिका हजारौं मानिसहरू जम्मा हुन्छन् । यो एउटा लोक उत्सवकै रूपमा मञ्चन हुन्छ ।

‘लोक’ शब्दको सान्दर्भिकता र महत्त्व

हामी अहिले उत्तरआधुनिक युगमा छौं । एकत्वको अन्त्य वा केन्द्रीयतालाई भङ्ग गर्दै बहुलवादी प्रवृत्ति, सोचका साथै सीमान्तकृत संस्कृतिलाई आत्मसात गर्दै अघि बढेको यो परिवेशमा लोकसंस्कृतिको अवस्था वा महत्त्व के कति छ ? त्यसभित्र पनि लोकनाटकको सार्थकता वा महत्त्व हेर्ने प्रयास हो यो । त्यसमा पनि सर्वप्रथम ‘लोक’ शब्दको महत्त्व कति छ भन्ने कुरा विश्वपरिवेशमा प्रचलित केही ‘लोक’ शब्दहरू निहाल्नुपर्ने हुन्छ । हुन त शब्द मात्र पनि आफैँमा पर्याप्त होइन । नेतृत्वमा बसेको व्यक्ति वा बाैद्धिक समुदाय र सभ्य भनाउँदाहरूको विवेकले पनि ती शब्दहरूको प्रयोग वा तिनमाथि गर्ने न्यायले पनि महत्त्वपूर्ण भूमिका खेल्छ नै । त्यही भूमिकाले ती शब्दको वजनलाई अझ विशिष्टता प्रदान गर्दछन् । प्रचलित तिनै लोकशब्दहरूको प्रयोग हेरौंः–

१. लोकप्रियः जनप्रिय भन्नु र लोकप्रिय भन्नुमा कति अन्तर छ, आफैं अनुभुत गर्न सकिन्छ । लोकप्रियको ‘लोक’ शब्दले सम्पूर्ण मानवजातिलाई समेट्दछ नकि जन शब्दको अर्थ सीमित र राजनीतिक प्रयोजनले लिप्त देखिन्छ ।

२. लोकभावना वा लोकमतः यी शब्दले साँच्चै मानवीय भावना अभिव्यक्त गर्दछन् । अझ गहिराईमा पुग्दा मानव मनले जँचेको कुरा नै लोकमत हुन्छ । यी शब्द आफैंमा स्वच्छन्द लाग्छन् । सत्यनिकट लाग्छन् ।

३. लोकमार्गः नेपालकै सन्दर्भमा पहिले राजमार्ग भनिने शब्द अहिले लोकमार्गका नाममा प्रचलनमा आउँदैछन् । लोकमार्गलाई जनमार्ग भनिए ती पूर्ण शासन सत्ताले कब्जा गरेका अतिरञ्जित र सस्ता लाग्न सक्छन् ।

४. लोकसभाः विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतको जननिर्वाचित प्रतिनिधिहरूको सभालाई लोकसभा भनिन्छ । यो शब्द केवल नेताहरूको वैठक गर्ने भवनभन्दा पनि सम्पूर्ण देशका नागरिकहरूको सभा भन्ने प्रतीत हुन्छ ।

५. लोककार्यः सर्वसाधारणदेखि सम्पूर्ण नागरिकको हित हुने काम वा सामाजिक सेवाको काम भन्ने अर्थ दिन्छ ।

६. लोकनिन्दाः जनस्तरबाट हुने हेलाँ, लोकापवाद अर्थात भ्रष्टलाई लोकले स्वतः निन्दा गर्छ, भत्र्सना गर्छ वा खारेज गर्छ भन्ने अर्थ दिन्छ ।
७. लोकपालः दिक्पाल, राजा, भूपति अर्थात समग्र देशवासीको रखवाल गर्ने व्यक्ति, जसले जनमानसको अहित चिताउनै सक्दैन । यदि लोकमतको अवज्ञा गरेमा लोकले नै तिनको निषेध या खारेजी गरिदिन्छ ।

८. लोकप्रमाणः लोकमानस नै प्रमाण बनेर प्रस्तुत हुन सक्ने विषय । अकाट्य, सत्यतथ्य, यथार्थ ।

९. लोकतन्त्रः राजतन्त्र, प्रजातन्त्र, जनतन्त्र, गणतन्त्र हुँदै अनन्तोगत्वा आज नेपालमा लोकतन्त्र स्थापित भएको छ । सायद अब देशमा जस्तोसुकै क्रान्ति चलेपनि यो शब्दलाई विस्तापित पर्ने दोस्रो शब्द फेला नपर्ला । यसैले पनि स्पष्ट पार्दछ लोकको अर्थ र अभिप्राय ।

१०. लोकसेवाः नेपालमा देशभक्त कर्मचारीहरूको पदपुर्ति गर्ने एउटा संवैधानिक अंग वा आयोग । जसले निष्पक्ष रूपमा लोकहित गर्दै देशविकासमा भूमिका खेल्दछ ।

११. लोकवार्ता वा लोकसाहित्य या लोकसंस्कृतिका केही शाखाहरूः लोकगीत, लोककथा, लोकगाथा, लोककविता, लोकनाटक, लोकनृत्य, लोकसङ्गीत, लोकबाजा, लोकधुन आदि । यी शब्दहरू आफैं स्वतःस्फूर्त बनेका हुन् । यिनमा कुनै बनावटीपन वा विशेषण थप्नै पर्दैन ।

१२. लोककल्याणः उत्तरी युरोपमा अवस्थित स्कान्डिनेभियन राष्ट्रहरू डेनमार्क, नर्वे, स्विडेन, फिनल्याण्ड जस्ता देशको राज्यव्यवस्थालाई लोककल्याणकारी राज्य व्यवस्था भनिन्छ । यी देशमा जस्तो नागरिकमा समर्पित व्यवस्था संसारका अन्य देशमा पाइँदैन । यहाँसम्म कि ती देशका पसलहरूमा कुनै बासी चिज या म्याद गुज्रेका सामान बेच्न पूर्ण निषेध छ । उदाहरणका लागि आज ल्याइएको तरकारी वा फलफूल दिनभरिमा बिक्री नभए निश्चित समयमा तिनलाई डिस्पोज गरिन्छ । सरकारकै गाडी आएर तिनलाई लिएर जान्छन् । नागरिकको स्वास्थ्यमा प्रत्यक्ष र हर्दम जिम्मेवार रहन्छ सरकार । त्यसैले त होला त्यसलाई लोककल्याणकारी व्यवस्था भनियो । ‘लोक’ शब्दको सान्दर्भिकता र महत्त्व यहाँभन्दा दोस्रो के होला ?

माफ गर्नु होला, लोकनाटकको विषय थियो कुरा राजनीतिमा घुम्यो । अवश्य आज नेपालकै सन्दर्भमा पनि यो कुरा राजनीतमै ठोक्किनु पर्ने हुन्छ । ‘लोक’ शब्दमार्फत लोकमतको महत्त्व दर्शाउनै पर्ने हुन्छ । त्यसमा पनि ‘लोक’ शब्दकै गहिराई नाप्दैछौं हामी । ‘लोक’ शब्दको वास्तविक अर्थ, अभिप्राय वा गहिराई बुझ्यौं भने बल्ल लोकनाटकको अभिप्राय र प्रयोजन पनि स्पष्ट हुँदै जाने छ ।

लोकनाटकको परम्परादेखि वर्तमानसम्म

लोकनाटकको परम्परालाई पछ्याउने हो भने हामी प्राचीनतम् ग्रिस तथा रोमन साम्राज्यमा खडा भएका खुल्ला रङ्गमञ्चमा पुग्नुपर्ने हुन्छ । (प्राचीन ग्रीस भन्नाले ईशापूर्व एक हजार वर्षदेखि ईशाको प्रारम्भसम्म र प्रचीन रोमन साम्राज्य भन्नाले ईशाको प्रारम्भदेखि चौथो शताब्दीसम्मको समयावधि हो ।) त्यो बेला विशेष अनुष्ठान वा अवसरहरूमा ३०/४० हजार दर्शकहरू एकैठाउँमा भेला भएर नाटक हेर्न सक्ने ‘एट्टिक’ रङ्गशााला बनेको थियो । त्यो खुल्ला आकाशमुनि भएकाले नै खुल्ला रङ्गमञ्च भनिएको हो । सम्पूर्ण नगरबासी यहाँ अटाउँथे । कसैलाई पनि यी अनुष्ठानमा निषेध थिएन, स्वतस्फूर्त प्रवेश पाउँथे । लोकनाटक परम्पराको त्यो नै पहिलो विकसित र प्रमाणीत रूप थियो । ती उत्सवमय हुन्थे । त्यसबाहेक पनि खुल्ला रङ्गमञ्चका मञ्चहरू खुल्ला आँगन, चोक, मठमन्दिरका खुल्ला डबलीहरू हुन्थे । हुन त लोकनाटक मानव समुदायको उत्पत्तिसँगै प्रारम्भ भएको परम्परा मानिन्छ । अध्येता तुलसी दिवसका अनुसार– ‘आदि सृष्टिमा मानवले बालकले झैं हाँसेर रोएर आफ्नो भावनाहरूको अभिव्यक्ति संकेतबाट गर्ने गर्थ्यो । यही सांकेतिक भावाभिव्यक्ति अभिनयको प्रारम्भिक रूप हो ।’ भनिन्छ सिकारी युगमा सिकारमा जानुपूर्व उनीहरू पूर्वाभ्यास गर्ने गर्थे । त्यहाँ अन्य उपस्थितहरूलाई त्यो मनोरञ्जनको विषय हुन्थ्यो । कसैकसैले यो नै अभिनय परम्पराको प्रारम्भिक अवस्था पनि मानेका छन् ।

नेपालको सन्दर्भमा काठमाडौं उपत्याकाभित्र यस्ता परम्परा लिच्छविकालदेखि नै प्रारम्भ भएको देखिन्छ । त्यो भन्दा अगाडि किराँतकालमा पनि थिए भन्ने अनुमान छ । तर ऐतिहासिक प्रमाणका आधारमा लिच्छिवि काल नै नेपालको लोकनाटक परम्पराको प्रथम सिढी हो । डा. हिमांशु थापाका अनुसार– ‘लिच्छवि नरेश द्वितीय जयदेवको समयको शिलापत्रमा ‘पोण्डिमण्डपिका’ र ‘प्रेक्षण मण्डपी’को उल्लेखबाट मण्डपको अतित्त्व रहेको स्पष्ट हुन्छ,’ भनेका छन् । यही बेलाको समयबाट काठमाडौं उपत्याकालाई ‘नेपाल मण्डल’ भन्न थालिएको अनुमान छ । प्राध्यापक मणिकलाल श्रेष्ठ भन्छन्– ‘हालको काठमाडौं उपत्याका र यस वरिपरिका जिल्लाहरू समेटेर नेपाल मण्डल बनेको थियो ।’

लोकनाटक अध्येताहरूका लागि ‘मण्डल’ शब्द विशेष महत्त्वको छ । मण्डलको अर्थ हुन्छ गोलाकार विशेष स्थान । यही मण्डल शब्द मल्लकालमा आइपुग्दा मण्डप हुँदै डबलीसम्म आइपुग्यो । काठमाडौं उपत्याकाका चारै सहरहरू(कान्तिपुर, ललितपुर, भक्तपुर र किर्तिपुर) मा यस्ता दर्जनौं डबलीहरू अहिले पनि देख्न सकिन्छ । यिनै स्थानहरूमा विशेष अवसर, चाडपर्व तथा जात्राहरूमा अनुष्ठानहरू गरिन्थ्यो । यिनै धार्मिक अनुष्ठान संस्कार र संस्कृति बनेर लोकपरम्पराको विकास भयो । र, लोकगीत, लोकनृत्य, लोककथा, लोकगाथा, लोकनाटक आदि प्रचलनमा आए । तिनै खुल्ला रङ्गमञ्च बने । अनि हजारौं नागरिक जम्मा भएर उत्सव मनाउने स्थानका रूपमा रहे ।

नेपालको इतिहासमा मल्लकाल लोकनाटकको क्षेत्रमा ‘स्वर्णयुग’ मानिन्छ । मल्लकालमा नाटकको विषयवस्तुको स्रोत धर्म र इतिहास हुन्थ्यो भने सङ्गीत र नृत्य अनिवार्य तत्वका रूपमा रहन्थ्यो । नाटक सम्बद्र्धनमा मल्ल राजाहरूको सक्रिय भूमिका रहन्थ्यो । नाटक लेखनदेखि अभिनयसम्म मल्ल राजाहरूको सक्रियता हुन्थ्यो । यसरी मल्लकालसम्म आइपुगेको लोकनाटक परम्परा पृथ्वीनारायण शाहको एकिकरण अभियानसँगै छायाँमा प¥यो । राणाकालमा आएर राणाका दरबारमा पारसी(हिन्दी, उर्दु भाषामा)शैलीका नाटकहरू भित्रिए । तर यता खुल्ला डबली लगायत विभिन्न जातजातीमा परम्परादेखि चल्दै आएका लोकनाटकहरू पनि चलनचल्तीमा छँदै थिए । २००७ सालपछि बनेका सरकारहरू एकपछि अर्को विभिन्न षडयन्त्रमा फस्दै गए । तरपनि नयाँ राजनीतिक परिवर्तनसँगै लोक संस्कृति र परम्परामा नयाँ ऊर्जा नथपिएको भने होइन । यो परिवर्तन संस्थागत हुन नपाउँदै पञ्चायती व्यवस्था लागु भयो र लोकआवाज पुनः थिचिंदै गए । छयालिस सालको परिवर्तनसँगै लोकनाटकहरू गाउँ–गाउँमा जुर्रमुराउन लागे । यता सामाजिक परिवर्तनका नाराहरू लिएर सडक नाटकहरू समेत गाउँ–गाउँ पुगे । त्यस्तै ब्ल्याकबक्स थिएटरहरूको आगमनसँगै लोकनाटकहरू बिस्तारै छाँयामा पर्दै गएको देखिन्छ । लोकनाटकले आधुनिक थिएटरभित्र खासै स्थान पाएनन्, पाइरहेका छैनन् ।

वर्तमान समयविन्दुमा आइपुग्दा कोरोना महामारीले नाटक छाँयामा परेका छन् । लोक संस्कृति तथा जात्राहरू स्थगन भएका छन् । यसले पनि लोकआवाजलाई केही हदसम्म विच्छेद गरिदिएको छ । वहु जातजाती र संस्कृतिले भरिएको नेपालमा लोकपरम्पराको भण्डार छ । युवा जमात परम्पराबाट क्रमशः बिस्तापित हुँदैछन् । इतिहासका केही सरकारहरू लोकपरम्पराप्रति अवरोध बनेका दृष्टान्त पनि नभएका होइनन् । २०६५ सालमा बनेको माओवादी सरकारका अर्थमन्त्रीले उपत्याकाको जात्राका लागि छुट्याउदै आएको बजेट कटौति गरेपछि नेवार समूदाय खुलेरै त्यसको बिरुद्धमा सडकमा उत्रिएको थियो । अर्थात त्यो कार्यको लोकनिन्दा भयो । लोकसंस्कृतिप्रति शाषकहरूले निहित स्वार्थका लागि धृष्टता पनि प्रदर्शन गर्छन् । र, यस्तो कार्यको लोकले बहिष्कार पनि गरेको देखिन्छ । त्यसैले लोकनाटक सदा लोकमै समर्पित हुन्छ । त्यहाँ कुनै नाफा घाटा खोजिदैन ।

यहाँनेर बझ्नै पर्ने एउटा कुरा के छ भने शाषक तथा एलिटवर्गका मनोरञ्जन स्थलहरू या माध्यमहरू अनेकौं हुन सक्छन् । तर लोकजीवनको मनोरञ्जनको एउटै क्षेत्र भनेको लोकसंस्कार नै हो । यसले लोकजीवनलाई स्वस्थ र स्फुर्त राख्न मद्दत मात्र गर्दैन, संस्कृतिको संरक्षण हुन गई अन्ततोगत्वा देश नै समृद्धिको बाटोमा पुग्न मद्दत पनि पुग्छ । पर्यटनको विकास हुन्छ । रोजगारीका अवसरहरू बढ्दै जान्छन् । लोकमा एकताको भाव प्रबल हुँदै जान्छ । र, देश विकासमा मद्दत पुग्दछ ।

सहरिया, नागरिक र लोक शब्दको सम्बन्ध/अर्थ

वसन्तकुमार शर्मा ‘नेपाल’को नेपाली शब्दसागर नामक सोपपत्तिककोषमा ‘नागरिक’ शब्दलाई यसरी अर्थ्याइएको छ– ‘जुनसुकै राष्ट्रको जन्म वा पुर्खा वा सरकारको इजाजतबाट बसोबास गर्ने अधिकार प्राप्त व्यक्ति, जनता बन्ने जन्मसिद्ध अधिकारवाला व्यक्ति ।’ आधुनिक राज्यको परिभाषा अनुसार कुनैपनि देशमा बस्ने नागरिकलाई दिइने प्रमाणपत्रलाई नागरिकताको

प्रमाणपत्र (Cityzenship) भनिने भएकाले सम्पूर्ण देशवासीलाई नागरिकको सूचीमा त राख्न सकिन्छ तर ‘नगर’ शब्दमा ‘इक’ प्रत्यय लागेर बनेकाले यसको खास अर्थ नगरमा बस्ने बासिन्दा भन्ने नै हुन्छ । शर्माकै सोपपत्तिक कोषले ‘नगर’ शब्दका बारेमा भन्छ– ‘विभिन्न जाति–पेशा–सुविधा–बाटोघाटो–घरमहल आदि भएको विकसित जनबस्ती, शहर, पुर, नगरी ।’ यसरी नगरहरू प्राचीनकालदेखि नै सुव्यवस्थित संरचनामा बनेका देखिन्छन् । त्यसैले पनि प्राचीनतम् ग्रिस तथा रोमका वासिन्दालाई नागरिक भनियो । नेपालको सन्दर्भमा काठमाडौं उपत्याकाका सहरहरू यस्तै व्यवस्थित संरचनामा बनेका देखिन्छन् । बालचन्द्र शर्माको ऐतिहासिक रूपरेखामा सन् ८८९ मा राजा आनन्ददेव मल्लले भक्तपुर नगरलाई यस्तै सुव्यवस्थित नगरको रूपमा स्थापित गरेको उल्लेख छ । मल्लले नगरका आठ कोणमा अष्टदेवीको मठ निर्माण गरेर अष्टमात्रिका चित्रकै आधारमा नगरको जग बसाएका थिए । नगर स्थापनाको यस्तै व्यवस्था काठमाडौं र ललितपुरमा पनि थियो । उपत्यकाका पुराना बस्तीहरूलाई नियाल्ने हो भने अहिले पनि ती नक्सासँग मेल खान्छन् । यसरी हेर्दा काठमाडौं उपत्याकाका नेवार समुदाय नै वास्तविक नगरवासी नागरिक हुन् ।

नगरमा बस्ने मानिस त्यसैपनि चेतनशील र सचेत हुने भएकाले ‘नागरिक समाज’ भनिएको हो । तर ‘नागरिक’ शब्दको तुलनामा ‘लोक’ शब्दको अर्थ अझ व्यापक भएको देखिन्छ । छलकपट, चतुर्‍याईं, बौद्धिक या विलासी जस्ता कुराहरू लोकले स्वीकार गर्दैन । दैनिक परिश्रम र मेहनतमा विश्वास गर्ने किसान समुदायले नै लोक शब्दको प्रतिनिधित्व गर्दछन्, जसको अंश नागरिकमा पनि हुन्छ तर शहरियामा निकै कम हुन्छ । ‘सहर’ विशेषतः अवसर र स्वार्थ खोज्दै आउनेहरूको बाहुल्य भएको स्थान हो । त्यसैले टाठाबाठा भनाउँदाहरू नै सहरिया हुन गए । सहरियाको लामो इतिहास हुँदैन, न त खासै संस्कार र संस्कृतिमा सम्पन्न हुन्छन् । यिनले अवसर पाउनेबित्तिकै विलासी र मोजमस्तीमा समय खर्च गर्छन् । नाम र दामका लागि जस्तोसुकै मूल्य चुकाउन पछि पर्दैनन् । नेपालको शासनसत्ता बहुसंख्यक यस्तै व्यक्तिको हातमा परेकाले पनि देशमा साहित्य, कला, संस्कृतिको विकास हुन नसकेको हो । डा. महेशराज पन्त पाणिनिलाई उदृत गर्दै भन्छन्– ‘राजन्वान् देशः राजवान् देशः’ अर्थात्, राजा वा शाषक असल भएको देश हो भने त्यो राजन्वान् देश नत्र भने त्यो राजवान् देश, वा यसलाई यसरी बुझौं– ‘संस्कृति सम्पन्न देश त्यो हो जहाँ शासक असल हुन्छ, नत्र त्यो शासकको देश मात्र हुन्छ ।’

अन्त्यमा

वर्तमान युगमा लोकनाटकको महत्त्वको बारेमा कुरा गर्दा भारतीय विद्वान श्याम परमारको विचार यहाँ राख्नु सान्दर्भिक होला– ‘जुन सिद्धान्तहरूले परिष्कृत नाटकहरूको मूल्याङ्कन गरिन्छ, तिनै सिद्धान्तहरूलाई लोकनाटकको अध्ययनको निम्ति आधार बनाउनु हुँदैन ।’ अवश्य पनि लोक परम्पराले कुनै पनि वाद या शास्त्रार्थ जान्दैन । यी त सिर्फ बौद्धिक बहस या विलासका कुरा हुन् । ‘लोक’ अर्थको गहिराईलाई आत्मसात गर्ने हो भने दैनिक १२ घण्टा पसिना बगाउने किसान हुन् यी । वर्षमा १/२ वटा जात्रामा गएर मनोरञ्जन लिनुबाहेक यिनको भागमा कुनै मनोरञ्जनका साधन रहदैनन् । आधुनिकताको खोल ओडेको सरकार वा सम्बन्धित निकायले यिनका संस्कृति, जात्रा, अनुष्ठानको बजेट घटाएर शहरिया भोगविलासमा केन्द्रित हुनु महापाप हो । यसको सट्टा साहित्य, कला, संस्कृतिमा आफूलाई अर्पण गरेका व्यक्तित्वहरूको खोजी गरी तिनलाई प्रोत्साहन र सम्मान गर्न सके लोकहित हुनगइ अन्तराष्ट्रिय जगतमा पनि देशको नाम फैलिन्छ ।

लोकसंस्कृतिको संरक्षणमा देशका कुनाकाप्चादेखि विदेशमा रहेका नेपाली भाषीका बस्ती–बस्ती चहारेर लोकगीत संकलन गर्दै गाउँदै हिंड्ने धर्मराज थापा हुन् या देशका कुनाकन्दरामा पुगेर लोकसंस्कृतिको खोज अनुसन्धान गर्ने सत्यमोहन जोशी या लोकबाजाको संकलनमा लागेका रामशरण दर्नाल यिनको कामको उचित सम्मान र संरक्षण बाहेक दोस्रो विकल्प छैन । यी त उदाहरण मात्र हुन् । यी बाहेक पनि निरन्तर लोकसंस्कृतिको संरक्षण र खोजमा लागेका दर्जनौँ व्यक्तित्वहरू छन् । यिनको खोजी हुनुपर्छ । नेपाली लोकनाटक अध्येता प्रा.डा.कुसुमाकर न्यौपानेका अनुसार– ‘नेपालमा लोकनाटक अनुसन्धानको प्रारम्भ मात्र भएको छ ।’ यसको मतलव लोकनाटका क्षेत्रमा धेरै काम गर्नु छ । लोकका निम्ति मरिमेट्ने लोकनायकहरूको सम्मान नहुने देश कहिल्यै अगि बढ्न सक्दैन । अन्त्यमा पुनः श्याम परमारको लोकनाटकसम्बन्धी अर्को विचार यहाँ राख्नु सान्दर्भिक होला– ‘लोकनाटक भन्नाले नाटकको त्यस रूपलाई भनिएको हो जसको सम्बन्ध विशिष्ट शिक्षित समाजभन्दा भिन्न सर्वसाधारणको जीवनसँग होस् र जो परम्परागत रूपमा आ–आफ्ना क्षेत्रका जनसमुदायको मनोरञ्जनको साधन रहेको होस् ।’