युवापुस्ताका रहरलाग्दो सम्भावना बोकेका कलाकारहरूको लिस्टमा छुटाउनै नहुने नाम हो, राजेन्द्र कुँवर । सुनवल १, नवलपरासीमा जन्मिएका उनी लामो समयदेखि राजधानीमा कलाकर्म गरिरहेका छन्।

हाल व्यावसायिक कलामा रमिरहेका कुँवरले कलामै त्रिभुवन विश्वविद्यायबाट स्नातकोत्तर गरेका छन् । उसो त यहाँसम्म उनी यसै आइपुगेका हैनन् । आफ्नो विगतमा फर्किएर नोस्टाल्जिक हुँदै उनी भन्छन्, ‘अहिले आएर बुझ्दा मेरो भविष्यको बाटो मैले सानैदेखि खनेको रहेछु, म श्री सोमनाथ निम्न मा.वि.मा २ कक्षामा पढ्दाताका नै चित्रकलामा दोस्रो भएको थिएँ, ४ कक्षामा प्रथम भएँ ।’

उनी थप्छन्, ‘स्कुल लेभलमा त्यसपछि पुरस्कारहरू पाउने क्रम जारी रह्यो, १० कक्षामा पढ्दा श्री महाकवि देवकोटा उच्च मा.वि. बाट भाग लिँदा जिल्लास्तरीय चित्रकला प्रतियोगितामा त प्रथम नै भएँ ।’

यसरी शुरू भएको आफ्नो कलायात्रालाई उनले कहिल्यै पूर्णविराम लगाउने सोच राखेनन् बरू यसैलाई व्यावसायिक पेशा बनाउने निधो गरेर एस.एल.सी.पछि कलाको थप अध्ययन गर्न राजधानी छिरे । ललिलकलाबाट कलामा उच्चशिक्षा हासिल गरे । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन ।

अचेल उनी कलाक्षेत्रमा युवापुस्ताका उत्कृष्ट कलाकारहरूमा गनिन्छन् । कलाक्षेत्रमै लागेर गुजारा चलाउन सक्नुका साथै नाम र सम्मानहरू पनि पाइने हुँदा यो क्षेत्रमा एक किसिमको आकर्षण बढेको कलाकार कुँवरको ठम्याई छ । आज हामी उनै स्थापित अब्बल कलाकार राजेन्द्र कुँवरका कलाकृतिहरू अवलोकन गर्नेछौँ ।