१

रवीन्द्रनाथ टैगोर
एउटा सुँगा थियो । त्यो बडो मूर्ख थियो । गाउँथ्यो तर शास्त्र पढ्दैनथ्यो । फुद्रुक फुद्रुक उफ्रन्थ्यो । उसलाई काइदाकानुन के हो थाहा थिएन ।
राजाले भने, ‘काइदाकानुन नजान्ने सुँगाको के काम ? यसबाट कुनै फाइदा छैन, हानि चाहिँ पर्याप्त छ । जंगलका फलहरू खान्छ, दरबारको फल चाहिँ कुहिएर जान्छ ।’
मन्त्रीलाई बोलाइयो र भनियो, ‘यो सुँगालाई शिक्षा दिनुपर्यो ।’
२
सुँगालाई शिक्षा दिने काम राजाको भान्जोले पायो ।
पण्डितहरूको बैठक बस्यो । विषय थियो, ‘सुँगाको अविद्याको कारण के होला ?’ बडो गहिरो विचार विमर्श भयो ।
सिद्धान्ततः ठहर गरियो, सुँगाले आफ्नो घर (गुँड) साधारण खरपातले बनाउँछ । त्यस्तो घरमा विद्या कसरी आउँछ । त्यसैले सबैभन्दा पहिले उसका लागि कुनै भव्य र आकर्षक पिँजडा बनाइदिनु पर्छ ।
राजपण्डितहरूले यत्तिको भव्य सिद्धान्त बनाएपछि तिनीहरूको विद्वतालाई कदर गर्दै दक्षिणा दिइयो । उनीहरू प्रशन्न भएर आ-आफ्नो घरतर्फ लागे ।
३
यसपछि सुनार बोलाइयो । ऊ सुनको पिँजडा तयार गर्न जुट्यो । पिँजडा यस्तो अनौठो बन्यो कि त्यसलाई हेर्न देशविदेशका मानिसहरूको भिड जम्मा हुन थाल्यो ।
कसैले भन्थ्यो, ‘मान्नुस्, नमान्नुस्, शिक्षाको त इति नै भयो । यस्तो गरिएपछि शिक्षा सकिँदैन त !’
कसैले भन्थ्यो, ‘शिक्षा दिने काम भएन भने पनि के फरक पर्यो र ? कम्तीमा पिँजडा त बन्यो नि ! हेर त, यो सुँगाको भाग्य पनि कति आरिसलाग्दो !’
यति भव्य पिँजडा बनाएकामा सुनारले थैलीभरिको इनाम पायो । ऊ तत्क्षण घरतर्फ लाग्यो ।
यसपछि सुँगालाई पढाउने काममा एक जना पण्डित जुटे । उनले नस लिएर भने, ‘यो काम चानचुने पोथी (किताब)को काम होइन है !’
यो कुरा राजाको भान्जोले सुन्यो । उसले सोही क्षण किताब लेख्नेहरूलाई बोलाए । किताबका नक्कलहरू बनाइन थालियो । नक्कलमाथि नक्कल र त्यसको पनि नक्कल उतार्नेले काम पाए र किताबको चाङ लाग्यो ।
जसले पनि चाङका चाङ पोथी देखे, उनीहरूले भने, ‘स्याब्बास् ! यति धेरै विद्या भएपछि त अरू कुराका लागि ठाउँ नै बाँकी रहने छेन ।’
किताबको नक्कल उतार्नेहरू पनि पुरस्कृत गरिए । तिनीहरूले गोरूगाढाभरि इनाम बोकेर घरतर्फ लागे । उनीहरूको घरसंसारमा अब गरिबीको कुनै नामनिशान बाँकी रहेन ।
भव्यतम र दामी पिँजडाको रेखदेखमा राजाको भान्जो निकै व्यस्त हुन थाल्यो । यति व्यस्त कि व्यस्तताको सीमा नै रहेन । मर्मतको काम पनि हुन थाल्यो । बिहान-दिउँसो-साँझ त्यहाँ लिपपोत, झाडु र पालिस लगाउने काम चलिरह्यो । जसले पनि देख्थ्यो, भन्थ्यो, ‘उन्नति भइरहेको छ ।’
यी काममा अनेक अनेक मानिसहरू लगाइयो र तिनको काम हेर्नका लागि पनि अनेक मान्छे राखिए । सबैले महिना-महिनामा मोटो मोटो तलब थाप्थे । तिनको तलब यति हुन्थ्यो कि अब त ठूलाठूला सन्दुक (बाकस) पनि भरिन थाले ।
उनीहरू मात्र होइन, तिनका नजिकका नातेदार, काकाका छोराछोरी, मामाका छोराछोरीहरू, फुपाजूका आफन्तसमेत प्रशन्न देखिन्थे । तिनको ठूलाठूला कोठामा मोटा मोटा गद्दी देखिन थाले ।
४
संसारमा अनेक किसिमका अभाव त हुन्छन् नै तर निन्दकको अभाव भने कहिल्यै हुँदैन । एक जना निन्दक खोज्यो भने हजार फेला पर्छन् । उनीहरू भन्न थाले, ‘पिँजडाको पो उन्नति भयो त, कसैले सुँगाका बारेमा खोजखबर गरेको छ ?’
यो कुरा राजाको कानमा पर्यो । उनले भान्जालाई बोलाए र भने, ‘भान्जाबाबु, मैले यो के सुन्दैछु ?’
भान्जोले भन्यो, ‘महाराज, यदि साँचो साँचो कुरा सुन्न चाहनुहुन्छ भने सुनारहरूलाई बोलाउनुस्, पण्डितहरूलाई बोलाउनुस्, ठूल्ठूला किताब नक्कल उतारेर चाङ बनाइदिने ती लेखकलाई बोलाउनुस् । मर्मत गर्ने र मर्मतको रेखदेख गर्नेहरूलाई बोलाउनुस् । निन्दकहरू त काम गर्ने होइनन्, तिनको भागमा कुनै पैसा पर्ने हैन । त्यसैले उनीहरूले यस्तो तल्लो कुरा गर्छन् ।’
यो जवाफ सुनेर राजाले पूरै मामिला के हो भनेर भलिभाँति र स्पष्ट रूपमा बुझे । भान्जाको गलामा तत्काल सुनको हार पहिर्याए ।
५
यति भव्यतम् काम एक पटक आफ्नै आँखाले हेर्नुपर्छ कि क्या हो ? राजालाई यस्तै विचार सुझ्यो । त्यसपछि राजा आफ्नै आँखाले सुँगालाई शिक्षा कार्यक्रम कस्तो धूमधडाकाका साथ र कस्तो तीव्र गतिमा चलिरहेको छ भनी मन गरे । त्यसैले एक दिन उनले आफ्ना आसेपासे, मित्र र मन्त्रीहरूको साथ शिक्षालय पुगे ।
उनी पुग्नासाथ शंख, ढोल, नगारा, तुरही, काँस, बाँसुरी, कर्ताल, मृदंग अनेक अनेक वाद्ययन्त्र बज्न थाले ।
सँगसँगै पण्डित पनि ठूलो स्वरमा गला नै फाट्ने तरिकाले मन्त्रपाठ गर्न थाल्यो । मिस्त्री, मजदुर, सुनार, किताबको नक्कल उतार्नेहरू, रेखदेख गर्नेहरू र तिनका पनि सहयोगी तथा मामा, फुपू, काकाका छोराहरू जयजयकार गर्न थाले ।
भान्जोले भन्यो, ‘महाराज, देखिरहनु भएको छ नि ? काम कति भव्य भइरहेको छ, हैन त ?’
महाराजले भने, ‘आश्चर्य! शब्द त कुनै कमी देख्दिनँ ।’
भान्जो बोल्यो, ‘शब्द मात्र किन, यसको अर्थ पनि कुनै कम छैन ।’
राजा प्रशन्न भएर फर्किए । यसपछि राजा जसै हात्तीको सवारी गर्न लागेका थिए, छेउमै कसैले खुसखुस्याएको राजाले सुने । ती निन्दक नै थिए । निन्दकमध्ये एकले भन्यो, ‘महाराजले त सुँगा पनि हेर्न भ्याएनन् होला !’
राजा चकित भए । उनलाई लाग्यो, ‘अरे, हो त ! खासमा मैले त सुँगालाई पनि हेर्न बिर्सिएँ त !’
उनी चढ्दाचढ्दैको हात्तीबाट ओर्लिए र फेरि सुनको पिँजडा भएनेर गए । त्यसपछि पण्डितलाई भने, ‘तिमी सुँगालाई कसरी पढाउँछौ, मलाई हेर्नु छ ।’
कसरी पढाइन्छ, त्यो ढंग पनि राजालाई देखाइयो । त्यो ढंग देखेर राजाको प्रशन्नताको कुनै सीमा रहेन । पढाउने ढंग सुँगाको तुलनामा यति ठूलो थियो कि स्वयं सुँगा नै देखिँदैनथ्यो । राजाले सोच्यो, सुँगा नै छोपिने गरी पढाइँदैछ भने सुँगा नै किन हेर्नु पर्यो र ? उसलाई नहेरे पनि त हुन्छ ।
राजाले के बुझ्यो भने सुँगाका लागि गरिएको बन्दोबस्तीमा कुनै भूलचूक चाहिँ भएको छैन । पिँजडामा दानापानी थिएन, मात्र शिक्षा थियो । अर्थात्, पोथीको थुप्रो ! हरेक पोथी च्यात्तै कलमको निबले सुँगाको मुखमा कोचिन्थ्यो । सुँगाको गाउने क्रम बन्द भएको थियो । चिच्याउने कामका लागि पनि अब कुनै गुञ्जायस बाँकी थिएन । मुखभरि कागज जो ठोसिएको थियो ! यो देख्नेको आङ नै सिरिङ्ग हुन्थ्यो ।
शिक्षा राम्ररी नै दिइएको चाल पाएपछि राजा फर्किए र पुनः हात्तीमा चढ्न लागेका थिए । हात्तीको सवारी निस्कनुअघि छेउकै कान-निमोठुवा सरदारलाई भने, ‘निन्दकका कानलाई राम्रोसँग उखेलिदिनू ।’
६
सुँगा दिनप्रतिदिन भद्र रीतिका अनुसार अधमरो हुँदै जान थाल्यो । चञ्चल सुँगाको शान्ति देखेर अभिभावकहरूलाई निकै आनन्द लाग्यो र उनीहरूलाई लाग्यो, प्रगति त निकै तीव्र गतिमा हुन थालेछ । तापनि पक्षी हो, उसको स्वभावको एक स्वाभाविक दोष त उसले बोकेरै जन्मिएको थियो । त्यसलाई उसले अझै त्याग्न सकेको थिएन । के गर्थ्यो भने बिहान बिहान उज्यालोतिर हेरिरहन्थ्यो एकरसले । अचाक्ली भएपछि उसले आफ्नो पखेटालाई फडफडाउन थाल्थ्यो । यति मात्र होइन, कहिलेकाहीँ त उसले आफ्नो रोगी थुतुनोले सुनको पिँजडालाई नै काटूँलाझैँ गर्थ्यो ।
सुरक्षाकर्मी चिच्यायो, ‘यो कस्तो संस्कारहीनता हो ?’
सुँगाको संस्कारहीनतालाई तह लगाउन लोहार आयो, आगो ल्याइयो र भाथी र हतौडा पनि ल्याइयो ।
सुँगामाथि धोबी धुलाई, लोहा-पिटाई हुन थाल्यो । सुँगाका लागि आवश्यक साङ्लो तयार पारियो र पखेटा पनि काटियो ।
राजाका सम्बन्धीहरूले हाँडीजस्तो मुख बनाएर भने, ‘यो राज्यको पक्षी बेबकुफ मात्र होइन, नमकको सिधा नगर्ने पनि हुँदारहेछन् ।’
त्यसपछि पण्डितहरूले एक हातमा कलम र अर्को हातमा छडी लिएर जुन काण्डको रचना गरे, त्यसैलाई शिक्षा भनियो ।
लोहारको कामबाट राजा यति खुसी भए कि लोहारकी पत्नी लुहारीका अंगअंगमा गहना देखिन थाल्यो र सुरक्षाकर्मीको चतुर्याइँ देखेर राजाले उसलाई तक्मा प्रदान गरे ।
७
सुँगा मर्यो । कहिले मर्यो, कसैले पनि निश्चय गरी भन्न सकेन ।
नालायक निन्दकहरूले हल्ला फैलाए, ‘सुँगा मर्यो !’
राजाले भन्जालाई बोलाए र भने, ‘भान्जा बाबु, मैले यो के सुनेँ ?’
भान्जोले भन्यो, ‘महाराज, सुँगाको शिक्षा पूरा भयो ।’
राजाले भने, ‘के अझै त्यो सुँगा उछलकुद गर्छ ?’
भान्जोले भन्यो, ‘गर्दैन हजूर!’
८
‘अझै उड्छ ?’
‘अँहँ, उड्दै उड्दैन ।’
‘के अहिले पनि गाउँछ ?’
‘कहाँ गाउनु ?’
‘दाना खान नपाउँदा कत्तिको चिच्याएर हैरान पार्छ ?’
“बिल्कुलै चिच्याउँदैन ।”
राजाले भने, ‘एक पटक मलाई सुँगा हेर्न मन लाग्यो । लिएर आउनुस् भान्जाबाबु ।’
सुँगा ल्याइयो । साथमा सुरक्षाकर्मी, तिनका प्यादा र घोडसवार पनि आए ।
राजाले सुँगालाई औँलाले घोचे । सुँगाले न त अँ गर्यो न त उँ नै । अँ, उसको पेटमा कागज टुक्राको आवाज भने सुनियो ।
बाहिर नयाँ वसन्तको पालुवा लागिरहेको थियो ।
अनुवादः अच्युत कोइराला



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

