सन् २०२१ अक्टोबरमा हलिउडको ‘रस्ट’ नामक फिल्मको फिल्माङ्कन क्रममा अभिनेता एलेक बाल्डविनले चलाएको बन्दुकका कारण ४२ वर्षीया छायाँकार हेलेना हचिन्सको मृत्यु भएको थियो । सो घटनामा अभिनेताले जानाजान छायाँकार हचिन्सको हत्या गरेको आरोपमा लागेको मुद्दाले किनारा पाएको छ ।

एलेक बाल्डविन

अमेरिकाको न्यु मेक्सिको राज्यस्थित न्यायाधीश मेरी मार्लोले शुक्रबार हत्या जानाजान नभएका कारण उनलाई हत्या आरोपमा जेल सजाय दिन नमिल्ने र यस मुद्दालाई अर्को अदालतमा लैजान नमिल्ने गरी मुद्दामा सफाई दिएकी हुन् ।

सफाई लगत्तै बाल्डविनको परिवारबीच रूवाबासी चलेको थियो । उनीहरूले तीन वर्षयता ठूलो यातना भोगेको बताउँदै आइरहेका थिए ।

फिल्मको सुटिङको रिहर्सलका क्रममा बन्दुक चलाउँदा फिल्मकी छायाँकार हचिन्सको निधन भएको थियो भने निर्देशक जोएल सोउजा घाइते भएका थिए ।

फिल्मको द्वन्द्व विभागमा यस्ता खतरनाक हतियारको रखरखाव गर्ने हाना गुटेरिज रिडलाई भने यसअघि नै १८ महिनाको सजाय तोकिएको थियो ।

अभिनेता एलेक बाल्डविनलाई बधाई दिँदै पत्नी

यस मुद्दामा यसअघि दुई जना वकिलले यस केसलाई हेर्न अस्वीकार गरेका थिए भने सान्ता फे अदालतले दिने निर्णयलगत्तै उच्च अदालतमा मुद्दा दायर गर्ने तयारीसमेत भइरहेको थियो ।

यस क्रममा न्यायाधीश मेरी मार्लोवी सोमरले अर्को अदालतमा लैजान नमिल्ने मुद्दाका रूपमा यसलाई अन्तिम फैसला दिएकी थिइन् ।

एलेक बाल्डविन हलिउडका एक प्रख्यात अभिनेता हुन् । उनी शुरूवातमा टेलिभिजनको थर्टी रक शृंखलाबाट चर्चामा आएका थिए । पछि उनी अर्बपति व्यापारी तथा राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गरेर प्रख्यात बन्न पुगेका थिए ।

अदालतले दिएको सफाईपछि पत्रकारहरूको कुनै पनि प्रश्नको जवाफ नदिई कालो गाडीमा उनीहरू अज्ञातस्थलतर्फ लागेका थिए ।

‘रस्ट’ फिल्ममा छायाँकार रहेकी हचिन्सले यसअघि कलाकारका रूपमा समेत काम गरिसकेकी थिइन् । उनलाई सम्झनेहरूले गज्जबकी कलाकार भनेर सम्झन्छन् ।

छायाँकार हचिन्स

अमेरिकन सिनेम्याटोग्राफर म्यागेजिनले उनलाई सन् २०१९ मा सम्भावना भएकी छायाँकारका रूपमा नामाङ्कित गरेको थियो । सन् २०२० मा उनले आर्कइनेमी नामक फिल्म खिचेकी थिइन्, जसलाई उनको सबैभन्दा उत्कृष्ट काम मानिन्छ ।

पेशाले पूर्व पत्रकारसमेत रहेकी छायाँकार हचिन्सले बेलायती फिल्महरूमा समेत काम गरेकी थिइन् ।