संस्कृतमा वाल्मीकिलाई रामकै रामायणले नै आदिकवि बनाएछ । कथात्मक मिठास र मौलिकताको बँधाइसँग रामका कथाले नेपाली साहित्यमा भानुलाई आदिकवि बनाएछ । हिन्दी भाषा–साहित्यमा तुलसीदास ‘रामचरितमानस’ लेखेर आदिकवि बनेका रहेछन् । आखिर आदिकवि जन्माउने आधार रामकथा वा भगवान् रामकै गाथा रहेछ ।
कुन् दुःखको मूल भनेर जान्नू ?
मेरो म हुम् भन्नु छ तेहि मान्नू ।
कुन् हो जगत्को गहना बन्याको ?
विद्यै छ सब्को गहना बन्याको ।।३१।। (प्रश्नोत्तरमाला)
रामको महिमा गान होओस् या आदर्शको भाव होओस् आदिकवि भानुभक्त आचार्यको रचनाभित्र नैतिक आध्यात्मिक अनुभवको सागर भेटिन्छ । संवत् १८७१ असार २९ गते नेपालको तनहुँ जिल्लाको रम्घामा पिता धनञ्जय आचार्य र धर्मावतीदेवीका एक मात्र छोराका रूपमा जन्मेका भानुको महिमा भाषा र साहित्यको गहनतम भावनामा कसिएको छ । प्रेरणादायी हजुरबा श्री कृष्ण आचार्यको देनले भानु चम्किला भए । युवाकवि मोतीराम भट्टले भानुलाई चिनाए अनि भानुको तेजलाई प्रदीप्त बनाए । गरिब बाहुनको छोरो भए पनि संस्कृत पढ्नलाई घरको वातावरणबाटै प्रेरणाले भानुको साहित्यिक जगलाई कसिलो बनायो । भानुले संस्कृत पढे तर नेपालीमा लेखे । त्यति बेलाका लागि नेपाली भाषामा साहित्यको रचना गर्नु पनि एउटा क्रान्ति नै थियो किनकि संस्कृत छोडेर नेपालीमा लेख्नुलाई राम्रो मानिँदैन रहेछ ।
साहित्य र भाषारूपी महत्ताको गहन तेजमा चम्किला भानुलाई देशभित्र उनको जन्मदिनमा जति सम्मान हुन्छ देशबाहिर उत्तिकै सम्मान हुन्छ । आज भाषा र साहित्यमा रुचि राख्नेहरूले मात्र भानुको मर्मलाई बोध गर्नुपर्छ भन्ने सीमाङ्कनको अघोषित नियम बनाएर हामी दम्भ बोक्न थालेका छौँ । भाषाको रक्षा गर्नुपर्ने विषयमा चासो दिने संस्कारलाई भाषा अध्येतामा सीमित तुल्याउनु दुःखद् कुरा हो । भारत, अमेरिका लगायतका देशले उनको सालिक बनाइरहँदा हामीले एकदिनको स्मृति दिवस मनाएर भानुको चम्किलो देनको सम्मान कसरी गरौँला र ? समयको अन्तरालमा हामी धेरै बाठा भयौँ । तर, भानुको समयमा पढ्ने अवसर पाउनु नै अप्ठ्यारो थियो । त्यसमा पनि संस्कृत पढ्नु चानचुने कुरा पनि त होइन । खरिदार जागिर खाएका, जागिरे बनेका कुरादेखि घाँसीसम्मको देनमा भानुको कवित्व भाव छचल्किएकै छ । संस्कृतका आदिकवि वाल्मीकिको रामायणलाई प्रशस्त नेपाली मौलिकताको कसीमा बाँधेर अनुवाद गर्ने भानुको कर्मले भाषा र साहित्यमा कोसे ढुङ्गो स्थापित गरायो । समाजलाई डोर्यायो । कर्मवादी बन्न प्रेरित ग¥यो ।
घर–घरमा भानुको रामायण राखियो अनि पढियो । पुराना पुस्ताले अक्षर चिनेसम्म रामायणलाई उक्काए, गाए, लय भरे अनि नाति पुस्ताले गाथा सुन्यो । कथा बुझ्यो अनि साहित्य सिक्यो । भाषालाई जान्यो । तब त भानुको नाममा भाषाको सम्बन्ध गाँसियो अनि साहित्यको सुगन्ध फैलियो । आख्यानात्मक पद्यात्मक कथनभित्रको श्रुति मधुरताले रामायण कृतिमा भानुको तेज चम्कियो । आदर्शको पाठलाई समाजले सिक्यो अनि भानुभक्तको नाममा रामभक्तको समानान्तर संज्ञा गाँस्न सिक्यो । कसैले भाषाका लागि पढे हुनन् त कसैले साहित्यका लागि तर धेरैले भानुलाई रामको कथा र गाथाको श्रुतिमधुर भावभक्तिका लागि पढे । सत्य र धर्मको आधारमा सत्कर्मको सारमा पनि पढे ः
यो क्रुर हो प्रभु ! परस्त्रि पनी त हन्र्या ।
यस्को क्रिया कसरि योग्य भनेर गन्र्या ।।
बिन्ती ग¥या यति विभीषणले र ताहाँ ।
खूसी भई हुकुम भो उहि बीच माहाँ ।।२७९।।
(श्रीयुद्धकाण्ड, रामायण)
रामायणभित्रको काव्यात्मकता अनि काव्यात्मक सारभित्रको आख्यानात्मकताले रसानुभूति गरायो । पाठकप्रिय बनायो । मानव हृदयलाई भक्ति रसमा पगाल्यो । उनले रामायणलाई अनुवाद मात्र गरेनन् नेपाली संस्कृतिको जगलाई, समाजलाई पनि बोलिदिए । रामायणबाहेकका कृतिमा हेर्दा त वास्तवमा जे देखे त्यो लेखे । उनको काव्य लेखनीमा छन्दबद्ध अन्त्यानुप्रासीय मिठास छ । व्यङ्ग्यको आफ्नै भाव छ । आशुकवित्वको छलाङलाई हेरेर अनुवादक मात्र भन्नै मिल्दैन । उनका रचनामा चमत्कारिक शब्द चयन र मीठो संयोजनको चातुर्य उत्तिकै थियो ः
केश् कन्चेट् कुहुनू कपाल् र कलेजो काखी करङ् कन्सिरी ।
कान्यागूजि र कुर्कुचा कटि र कान् कम्मर र कापा पनी ।।
कान्छिउम्लि र काँध कुम् पनि भया कण्ढो र कोखो समेत् ।
कम्पारो जियमा कदेखि उठन्या बिस्थोक् इनै हुन् बुझ ।।
(फुटकर रचना)
समयको जीवन बोधमा भानु जे थिए जतिखेरको समाजले त्यहाँभन्दा बढी जान्न र भोग्न तयार थिएन । अर्थात् त्योभन्दा बढी परिवर्तनका रहस्य भ्रामक लाग्थे । उनले त्यही लेखे । लेखक, कवि वा विचारक समेत जहिल्यै आफू र समाजसँग फुरेको हुन्छ । समाजलाई नै बोलेको हुन्छ । भोगाइलाई शब्दमा कसेको हुन्छ । ऊ जुन समाजमा हुन्छ, त्यही बुझ्छ र त्यही लेख्छ । भानुभक्त भाव र भाषामा कला गाँसिएर उसै गरी फुरेका हुन् भन्न सकिन्छ । हेराइका आफ्ना तरिकामा समाज चलेको हुन्छ । रामायणभित्र रामले कहीँ नारीलाई सम्मान गरे रामायणमा नारीकै उद्धारका लागि भनेर ताडका राक्षसनी मारे अनि कथाका आधारमा मुक्ति दिए ।
नेपाली जातिका प्रिय कवि बनेकैले देवकोटाद्वारा जातीय कविको उपाधि पाएका भानुको देनसँग पछिल्ला सर्जकले बाटो र माटो पाए । जगमा टेक्ने हाँगो पाए । कवित्व भावमा नूतनता छरे । हुनलाई अजन्त हलन्त प्रयोग, चन्द्रबिन्दु-शिरबिन्दु, पदयोग र पदवियोगको प्रयोगजस्ता कुरामा एकरूपता उनका कृतिभित्र अवश्य पनि पाइँदैनन् ः
हूकुम् येति गरेर तेज् परशुराम्को खैंचनू भो जसै
चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै ।।१३०।।
(श्रीबालकाण्ड)
आखिर भाषिक मानकको नियम त उनले भाषामा कोरेको कर्मले बाँधेको डोरोको विकासमा आएरै ठोक्किएको न रहेछ । उनले नेपाली भाषाका कृतिको रचना नभएको समयमा यत्रो महाकाव्यलाई अनुवाद गर्नु चानचुने कुरै होइन । त्यो पनि छन्दमा छ । त्यो पनि आख्यानात्मक छ । त्यो अवस्थालाई बिर्सेर आजको आडमा भाषिक शुद्धतासम्मकै मूल्याङ्कन गर्न खोज्नु मूर्खता नै हो । त्यो युगसापेक्षित व्याख्याले बोल्ने समालोचनात्मक कडी पनि त हो ।
पृथ्वीनारायणले नेपालको एकीकरण गरिरहँदा भानुले नेपाली भाव र भाषाको एकीकरण गरे । नेपाल र नेपालीलाई नातो गाँसेर जिउने आधारमा सहायता दिए । समाजलाई बोले यसर्थ भाषालाई बोले । अतः आदिकवि आचार्यले संस्कृतको भाषानुवाद मात्र गरेनन् आफ्नै मौलिक पङ्क्तिको पनि सृजना गरे ः
जागीर् छैन धनी म छैन घरको केवल् कुदालो खनी
खान्थ्याँ दुक्ख गरेर चाकरी गरेँ मान् पाउँला की भनी ।।
(फुटकर रचना)
जतिखेर साहित्यकै अभाव थियो त्यस्तो समयमा फुटकर रचना मात्र होइन, खण्डकाव्य मात्र पनि होइन सिङ्गै महाकाव्यभित्र मौलिकता भर्नु भानुको देन हो । सायद कलम र मसीको अभाव थियो होला । पढिरहने, लेखिरहने अवसरको अभाव हुँदो हो तर उनले रामायणजस्तो उत्कृष्ट काव्यलाई जन्माए । उनको आशुकवित्वलाई हेर्दा उनले घाँसीको प्रेरणालाई काव्यमा उतारे । तारापतिलाई बुहारीको स्वभाव देखेर सुझाव दिन भन्दै वधूशिक्षा लेखे ।
अतः भानुमा आशुकवित्वको बाढी रहेछ भन्दा अत्युक्ति नहोला । त्यो मरुभूमिमा खनिएको कुवाले यति धेरै पानी उपलब्ध गराउँदा हामीले दोष मात्रै हेर्ने हो भने त्यहाँ अन्याय हुन्छ । आजको समाजलाई हेरेर त्यो समाज बिर्सने हो भने पनि त्यो व्याख्या अधुरो र अल्पज्ञानमा आधारित हुन्छ । भानुको व्याख्या भानुकै युगमा पुगेर गर्न नजान्नेले भानुलाई आरोप लगाउने चेष्टा गर्दछ ।
होला– व्यक्तिगत स्वभावका कारण उनमा दोष होला जुन हरेक मानव सरहको हुँदो हो तर भानुको भावना जसरी रचनामा आए पनि त्यो समाजपरक समालोचक एच.ए. टेनको “जाति, क्षण र पर्यावरण” पद्धति अनुरूप त्यस बेलाको समाजको प्रभावबाट प्रभावित जातिको प्रस्तुति हो । त्यो समय र परिवेशले साहित्यकारलाई पारेको प्रभाव हो । अनि, उनका अघि देखा परेका घटना–परिघटनाको असर हो ।
अन्ततः भानुले धेरै नेपालीलाई साक्षर तुल्याउन बाटो दिए । सहज भाषामा रामायणलाई गुनगुनाउँदा श्रुति मधुरता प्रदान गरे । नेपाली भाषामा काव्य रचना गर्न सकिने आधार प्रदान गरे । तत्कालीन परिवेशमा बहुभाषिक समुदायको सहसम्बन्ध बाँध्ने आधार नभइरहँदा उनले भाषिक एकीकरणको सेतु बनाए । सबै मातृभाषीलाई एकताको सूत्रमा बाँध्ने काम गरे । आदर्श पुरुष राम र आदर्श नारीकी प्रतीक तथा धैर्यताकी पहिचान सतीत्व नारी सीताको चरित्रमा भानुका भक्त रामभक्तिमा डुबे । आदर्श जीवनको रहस्य खोतले । सायद व्यासको वेदको सार रामगीतामा उतारे ।
जाति, धर्म, भाषा, संस्कृति, साहित्य, सम्प्रदायको विविधतामा एकताको भावसँगै देशप्रेम, आदर्शता, व्यक्तित्व निर्माणको चेतनालाई जगाए । अतिथि, गुरु तथा मान्यजनको आदर र सानाप्रतिको प्रेमको पुन्तुरो खोल्ने शिक्षा दिए । त्यतिखेरको जनजिब्रोमा भिज्न सफल सीतारामको कथामा कारुणिक मर्मको उद्घाटन गरे । कथालाई कविताभित्रै कलात्मक शैलीमा उतारे जुन कुरा आजसम्म पनि उत्तिकै प्रिय छन् । यो एउटा कालजयी इतिहास हो । त्यसैले भानु भाषा र साहित्य स्रष्टाका रूपमा नेपाली मनमुटुमा बसेका छन् र बसिरहने छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।