बलिउड अभिनेत्री आलिया भट्टले बालबालिकाका लागि एउटा पुस्तक बजारमा ल्याएकी छन् । पुस्तकको नाउँ छ, एड फाइन्ड्स अ होम ।
पछिल्लो समय आलियाले विभिन्न व्यापारमा आफ्नो गोडा पसार्दै छिन् । खासगरी उनले बालबालिका केन्द्रित पसल खोलेकी छन् । उनको पसल छिर्नेबित्तिकै एउटा शिशुलाई आवश्यक पर्ने पहिरनदेखि लिएर किशोर किशोरीलाई आवश्यक पर्ने विभिन्न साहित्यसम्म बजारमा ल्याउने प्रयास गरिरहेकी छन् ।
यसै क्रममा पहिलो साहित्यकृतिका रूपमा आलियाले पुस्तक ल्याएकी हुन् । गत जुन १६ मा उनको यो पुस्तक बजारमा आएको हो ।
यो पुस्तक एड अ माम्मा शृंखलाको यो पहिलो पुस्तक रहेको बाइएको छ ।
उनको एड अ माम्मा पसल सन् २०२० मा स्थापना गरेकी थिइन् । यसले बालबालिकाका लागि पहिरन, किशोर किशोरीका लागि चाहिने सामग्रीदेखि गर्भवती महिलाका लागि आवश्यक चिजबिज ल्याउने गरेको थियो । उनले कम्पनी स्थापना गरेको छोटो अवधिमा नै मुकेश अम्बानीको रिलायन्स ब्रान्डले ३०० करोडमा किनेको थियो ।
उनले कम्पनी स्थापना गर्नुको उद्देश्य नै बालबालिकाहरूलाई पहिरन लगाइदिँदा अहिलेको वातावरणअनुकूलका सामग्रीबाट बनोस् भन्ने थियो । उनले पहिरन, पुस्तक मात्र नभएर विभिन्न खेलौनाहरू पनि ल्याउने भएकी छन् । यस्तोमा सबैभन्दा नाफा दिने बेबी केयर क्रिमहरू नपर्ने कुरै भएन ।
आलियाको नयाँ पुस्तक भन्नेबित्तिकै उनले लेखेको पुस्तकमा के छ भन्ने चासो ह्वात्तै बढेको छ । खासगरी बलिउड सेलिब्रिटीहरूमा चासो राख्नेहरूमाझ । बालबालिकाहरूमा प्रकृतिप्रेम बुझाउने यो पुस्तकको उद्देश्य रहेको छ ।
बालबालिकाले बढीभन्दा बढी समय घरबाहिर बिताऊन्, प्रकृतिको वास्तविक मजा महसुस गरून् भन्ने उनको सन्देश यस पुस्तकबाट दिएको पुस्तकमा बताएकी छन् ।
जम्मा ४० पृष्ठको यो पुस्तकको मूल्य ३०० भारू रहेको छ । पेन्गुइन रेन्डम हाउस इन्डियाको बाल शाखा पफिन बुक्सले यसलाई प्रकाशन गरेको हो । यसको चित्राङ्कन तन्वी भाटले गरेकी हुन् भने आलियालाई लेख्न विवेक कामथ र शबनम मिनवालाले सघाएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।