“डरमाथिको विजय नै जीवनको सार्थकता हो, भलै जीवन लक्ष्य अधुरो किन नहोस् ।” कतै सुनेकी थिएँ—प्रिय सान्टियागो ! तिम्रै स्मृतिमा माथिको अभिव्यक्ति म पुनः सम्झिँदै छु । आजसम्मकै मलाई मन परेको पात्र तिमी । यस घरी म तिमीलाई नै सम्झिएर केके थोक सोचिरहेकी छु, अभिप्रेरित छु तिमीबाट । हेर त म तिमीलाई नै पढिरहेकी छु यस सुन्दर शरदकालीन याममा ।
महान् छौ सान्टियागो यसरी म तिमीप्रति धारणा बनाउँदै छु । विश्वास गर, त्यो धारणा मानव जीवनमा अत्यन्तै मूल्यवान् हुनेछ । तिम्रो सन्दर्भमा मैले फेरि एक पटक एलन मस्कलाई सम्झिएँ । उनले “तपाईंको रकेट प्रक्षेपणको क्लाकुलेसन गर्दा कति प्रतिशत सफल होला लागेको छ ?” प्रश्नमा भनेका थिए “त्यस्तै तीस पैँतीस प्रतिशत होला ।”
यस्तो अप्रत्यासित तर सहज उत्तरमा विस्मित भएका पत्रकार लामो उच्छ्वाससँगै जिज्ञासु हुन्छन्, एलन मस्कको प्रतिउत्तर सुन्न “तीस पैँतीस प्रतिशत मात्र सफल हुने सम्भावना भएको ठाउँमा तपाईंलाई सारा सम्पत्ति लगानी गर्न डर लागेन ?”
पत्रकार पुनः उस्तै सहज जवाफ पाउँछन् जुन उनले सोचेका पनि थिएनन् । त्यहाँनेर एलन मस्कले कस्तो अद्भुत वाणी बोलेका छन्, “डर … त्यसो होइन । महान् कार्यको लागि केही सोच्नु पर्दैन । डराउनु पर्दैन । प्रयास भलै असफल होला तर त्यसबाट केही सिकिने छ !” त्यही सिक्ने क्रममा आज उनी एलन मस्क भएका छन् ।
प्रिय पात्र ! तिमी पनि यसै सान्टियागो भएका होइनौ । साधारण मान्छे होइनौ । तिमीबाट पाठ सिक्नु छ जगत्ले । सामान्य मानिस हुन जन्मिएकाहरू जहिल्यै भयबाट प्रताडित हुने रहेछन् । जन्मिसकेपछि एक दिन त मर्नु छ । त्यो भन्दा ठूलो घाटा के छ र जीवनमा ? अरू घाटा त साधारण कुरा हुन् । जीवनै त एकदिन समाप्त हुन्छ भने अरू थोक समाप्त हुनुमा के त्रास ? त्यही समाप्त हुनदेखि नडराएर नै तिमी अन्त्यसम्म आशावादी रह्यौ, क्रियाशील भयौ, सङ्घर्षरत रह्यौ ।
एउटा गरीब पात्र, माछा मारेर जीविका चलाउने बूढो माझी ! सान्टियागो तिम्रो परिचय यसभन्दा अरू म केही पाउँदिनँ । तर तिम्रो त्यही निरीह जीविकामा कति ठूलो जीवन दर्शन छ । महान् सन्देश छ “मानिस टुक्रिन्छ तर हार्न जान्दैन । ध्वस्त हुन्छ तर कहिल्यै पराजित हुँदैन ।” हो तिमी किञ्चित पराजित भएका छैनौ । त्यही चेतले तिमी आज पनि जीवित छौ, भोलि पनि जीवितै रहने छौ । तिमीसँगै तिमीलाई सिर्जना गर्ने स्रष्टा अर्नेस्ट हेमिङ्ग्वे पनि सदा जीवित रहने छन्, अस्तित्वमा रहिरहने छन् ।
शुरुमा ‘द वोल्ड म्यान एन्ड द सी’ त्यस्तो उत्कृष्ट पुस्तक लागेको थिएन । स्तरीय पाठकको लागि यसले सन्तुष्टि दिन सक्छ लागेन । तर मलाई नलागेर के भयो ? विश्व साहित्यमा चर्चित कृति, जगत्ले रुचाएको कृति । नोवेल सम्मान प्रापक स्रष्टाको कृति । केही थोक राम्रो लाग्नु नलाग्नुमा हेर्ने दृष्टिकोण कस्तो छ ? त्यसले फरक पार्दोरहेछ । त्यसलाई मूल्याङ्कन गर्ने चेतनाले फरक गर्ने रहेछ । वस्तु उत्कृट हुँदाहुँदै पनि त्यसलाई हेर्ने दृष्टि कहिलेकाहीँ अनुत्कृष्ट भइदिन पनि सक्छ । हो, त्यतिखेर सही मूल्याङ्कन हुन नसक्ने रहेछ ।
शरदको आगमनसँगै डेङ्गो लागेर म शिथिल भएकी छु । बडा दशैं पनि नजिक आउँदै छ म गाउँ जान्छु । दुर्बल अनुभवले मसँग केही उत्साह थिएन । केही पढ्ने लेख्ने इच्छा जागृत होला पनि लागेन । साहित्यकार राजेन्द्रमान डङ्गोलकृत ‘आँखामा हिमाल पैतालामा हिऊँ’ नियात्रात्मक कृति लगेकी थिएँ घर जाँदा । अरू केही पुस्तक लगिनँ । डङ्गोलको पुस्तक बडो साहित्यिक रहेछ । कस्तो मीठो लेखन शैली । कति परिष्कृत भाषा, सुन्दर प्रस्तुति । मलाई धेरै मन पर्यो ।
समय अझै बाँकी छ तर पाठ्य सामग्री छैन । एकचोटि अध्ययन गरेको पुस्तक पुनः पठन गर्न मन लागेन । फेरि फुर्सदिलो भएर बस्न पनि मनले मानेन । त्यतिखेर छनोटमा परेको थियो ‘बूढो मान्छे र समुद्र’ (द वोल्ड म्यान एन्ड द सी) ।
जब समय बित्दै जान्छ, अप्ठ्याराहरू एकपछि अर्को आइलाग्छन्, सङ्कटहरू थपिँदै जान्छन्— त्यसपछि थाहा हुने रहेछ जीवन बचाइको अभिप्राय । दिन ढल्दै गएपछि समयको महत्व बोध हुनु र एउटा जीवनको आखिरी उस्तै कुरा रहेछ ।
पुनः दोहोर्याएर पठन गर्दा थाहा भयो ‘बूढो मान्छे र समुद्र’को गहिराइ । वास्तवमा सान्टियागो तिम्रो जीवनमा उस्तो उल्लेख्य घटना म केही देख्दिनँ । त्यही अन्तिम क्षण, बुढ्यौली समयमा मार्लिन (ठूलो माछा) सँग गरिएको सङ्घर्ष न हो । माछासँगको भिडाइ । तर होइन त्यति मात्र होइन । मार्लिनसँग जोडिएको एउटा साधारण घटनाभित्र कत्रो मर्म छ । हरेक जीवनको लागि अत्यन्तै महत्वपूर्ण सन्देश छ । बूढो माझीको सङ्घर्षमा मैले गहिरो आशय पाएँ ।
अर्नेस्ट हेमिङ्ग्वे स्वयं विश्व युद्ध भोगेका स्रष्टा । प्रथम विश्वयुद्धताका—रेडक्रसको एम्बुलेन्स ड्राइभरका रूपमा इटाली पुगेका, गम्भीर घाइते भएका स्रष्टा । त्यतिखेर उनलाई बोध हुन्छ जीवनको महत्व, बाँच्नुको अर्थ । मृत्युको सम्मुख त्यस चुडान्त घडीमा पनि—आशा र विश्वासले मानिसको जिजीविषा कति सक्रिय हुने रहेछ । ऊ मृत्यु स्वीकार्छ तर हार स्विकार्दैन । उसलाई पराजय मन पदैन । पराजित हुँदैन । बरु भिड्दा भिड्दै आहुति दिन्छ । सङ्ग्राम गर्दागर्दै मर्छ । यही चेत लिएर लेखकले ‘बूढो मान्छे र समुद्र’ रचेका छन् ।
जीवन छ र त चुनौती छ, सङ्घर्ष छ, आहुति छ र मृत्यु छ । यिनै कुराले त जीवनलाई सार्थक बनाउने रहेछ, सम्झिन लायक बनाउने रहेछ ।
सान्टियागो ! तिमी फेरि जन्मिन आवश्यक छ । हेर त अहिलेका मान्छेहरू तिमी जस्तो साहसिक छैनन् । तिमीले पुनः ‘मानिस टुक्रिन्छ तर हार्न जान्दैन’ भन्ने पाठ सिकाउनु पर्ने भएको छ । जीवनसँग जुझ्ने शक्ति अहिले क्षीण हुँदै छ । शिथिल हुँदै छ । नियोजित ढङ्गले कति धेरै मानिसहरू मृत्युको तयारीमा छन् ।
सुन त सान्टियागो ! आज हाम्रो गाउँमा नराम्रो खबर आएको छ । अशुभ खबर । एकदमै अस्वाभाविक शोक खबरले गाउँ उदास छ, निराश छ । विरक्तिएको छ । छिमेकी काका विक्षिप्त अवस्थामा छन् । पुत्रशोकले बेखबर छन् । मैले के भनेर सम्झाउने हो उनलाई । केही शब्द पाउँदिनँ । मैले मात्र होइन अरूले पनि केही शब्द पाएका छैनन् । मौन शोकमा सन्नाटा व्याप्त छ । मुर्दा शान्तिले गाउँ रुग्ढ छ ।
स्वेच्छाले मृत्यु चयन गरेका उनका पुत्र पढ्नमा मेधावी थिए । साइन्समा प्लस टु गरेका, विदेश जाने तयारी अवस्थामा—उनले अकस्मात् किन मृत्यु रोजे ? दीपावलीको समयमा उनले चकमन्न रात झारेर गए । केवल चकमन्न रात । यसरी युवा पुस्तामा देखिएको निराशालाई तिमी कसरी बुझ्दै छौ ? अहिलेका युवालाई कस्तो सन्देश दिन चाहन्छौ ? थाम्नै नसक्ने गरी पलायन बढ्दै छ, निराशा बढ्दै छ । एकचोटि हाम्रो मुलुकमा आऊ सान्टियागो तिमीलाई निमन्त्रणा छ । आशाको, विश्वासको, सङ्घर्षको पाठ सिकाउन आऊ सान्टियागो आऊ । कृपया ! हामी तिम्रै स्वागतको प्रतीक्षामा छौँ । स्वागतको तयारीमा छौँ ।
सान्टियागो तिमी त्यो आखिरी घडीसम्म कत्रो भरोसाले मार्लिनसित जुधिरहेका थियौ । तिमीसँग जीवन बाँच्ने कति ठूलो भरोसा थियो । चौरासी दिन भइसक्यो माझी कर्मबाट विफल भएको । एउटै गतिलो माछा— जालमा पार्न सकेका थिएनौ । तर पनि निराश अहँ कदाचित भएनौ, तिमीमा उदासीनता किञ्चित आउँदै आएन ।
यतिखेर सान्टियागो मैले तिमीलाई मात्र सम्झिएकी छैन । तिम्रो सुख दुःखको साथी सानो केटो मानोलिन पनि उतिकै सम्झिरहेकी छु । मित्रता होस् त तिमीहरूको जस्तो । उसले तिम्रो गुन बिर्सिएको छैन । तिमी जस्तै अर्को मानोलिनको जन्म पनि अहिले उतिकै आवश्यक छ । हेर त उसको मित्रता केहीसँग तुल्य छैन । उसका बाबु आमाले अभागी बूढो माझीसित नहिँड् भनेका थिए । केही दिन ऊ अर्कै डुङ्गामा माछा मार्न गयो पनि । तर ऊ खुशी थिएन तिमीलाई छोड्नु पर्दा । तिमी हरेक दिन रित्तो हात घर फर्किंदा उसलाई नमज्जा लाग्थ्यो । कुनै तरिकाले ऊ तिमीलाई मद्दत गर्न चाहन्थ्यो । अन्ततः उसले तिमीलाई छोड्न सकेन ।
सम्पूर्ण देह प्रौढताले दुर्बल भए पनि, तिम्रो तेजिलो आँखामा एक किसिमको आभा, त्यो चमक निभेको छैन उस्तै छ । दृष्टिमा दृढता उस्तै छ । तिमी कति आत्मविश्वासी छौ भने नि ! कस्तै अवस्थामा पनि दुःख देख्दैनौ, कष्ट झेल्दा पनि दुःख ठान्दैनौ । त्यो दृढताप्रति म एकदमै प्रभावित छु । “तिमीलाई अझै पनि ठूलो माछा समात्न सक्छु जस्तो लाग्छ ?” मानोलिनको यस्तो प्रश्नमा तिम्रो उत्तरले म आत्मविश्वासी हुन्छु । आफूप्रतिको तिम्रो विश्वास कति अविचलित छ “म अझै पनि ठूलो माछा समात्न सक्छु नि । मसँग माछा मार्ने थुप्रै उपायहरू छन् ।”
हेर त तिम्रो पारिवारिक पृष्ठभूमि केही खुलाएका छैनन् हेमिङ्ग्वेले । खुलाएको भए तिमीबारे अझ केही थाहा हुने थियो । तिमी निसङ्ग छौ । सुख दुःखमा साथ दिने तिम्रो कोही छैन । तिमी एक्लै हाँस्छौ । एक्लै रुन्छौ । हुन त यहाँ तिमी रोएको दृश्य कहीँ देखिँदैन । तर लामो जीवनमा कहिलेकाहीँ त अवश्य रोयौ होला । हेर न म पनि रुने गर्छु बेला बेला । रोएर आफूलाई हलुङ्गो पार्ने गर्छु ।
तिमी नितान्त एक्लो छौ । तर एक्लो हुँदाको अनुभूतिले दुर्बल भएको म देख्दिनँ । आफैँप्रतिको निश्चल विश्वासले तिमी बाँचेका छौ । भनिन्छ नि पक्षी कहिल्यै आफूले टेकेको डाली हेर्दैन रे ! लचक लचक अब भाँचिएला जस्तो डालीमा ऊ बसेको हुन्छ । तर पनि किञ्चित डराउँदैन । उसलाई हाँगामा होइन आफ्नै पखेटामा विश्वास छ । हाँगा भाँचिनु नभाँचिनु उसलाई वास्ता छैन । हाँगो भाँचियोस् तर पनि ऊ भुइँमा खस्ने छैन । यसरी मैले तिमीलाई पक्षीको प्रतीक मानेर पढेँ ।
सुन त तिम्री स्वास्नीको कुरा भने हेमिङ्ग्वेले कतै बताएका छन् । तर उनी अहिले जीवित छैनन् । भित्तामा झुण्डिएको फिका रङ्गको तस्बिरमा—उनको अस्तित्व अडिएको छ । ए ! साँच्ची … तिम्रा छोरा छोरी जन्मिएनन् ? खै कहीँ पनि कुरा उठ्दैन त ! यतिखेर मलाई आफ्नै उपन्यासको पात्र ‘प्रयास’को सम्झना भएको छ । ऊ पनि तिमी जस्तै एक्लो छ । तिमी जस्तै कर्ममा विश्वास गर्ने दृढ छ, लगनशील छ, जागरुक छ । कदाचित नहार्ने दृढ निश्चयी छ ।
चौरासी दिनसम्म माछा मार्न नसेका तिमी—भोलिपल्ट पचासीयौँ दिनमा, जसरी पनि माछा मार्न सक्छु भन्ने एउटा दृढ विश्वास छ । मैले वन्दना गरेँ—तिमीले हजारौँ पाउण्डको माछा मार्न निश्चय सक्ने छौ । कर्मले तिमी एउटा बूढो माझी हौ । माछा र समुद्रसँग खेल्दा खेल्दै वृद्ध भएका छौ । तथापि आफ्नो अवस्थादेखि बाहिरी जगत्प्रति तिम्रो चासो उतिकै देख्दा मलाई अचम्म लाग्छ । बडो जिज्ञासु छौ । समय मिलाएर पत्रपत्रिका पढिरहन्छौ । खेलकुद तथा खेलाडीका बारेमा पनि तिमीलाई राम्रो जानकारी छ । तिमीमा एउटा चेत छ समसामयिक वस्तुस्थिति बुझ्ने । खानको लागि होइन तिमी बाँच्नको लागि सङ्घर्षरत छौ ।
हेलो सान्टियागो ! तिमी आफूलाई कसरी बुझ्ने गर्छौ ? मेरो बुझाइमा तिमी एक सचेत माझी हौ । मलाई मन परेको छ तिम्रो स्वभाव । त्यस दिन तिमीसँग नयाँ पत्रिका थिएन । ओछ्यानबाट हिजोको खबरपत्रिका निकालेर—बेसबलको केही समाचार छ कि भनी पत्रिका पल्टाउँदा म विस्मित हुन्छु । के तिमीलाई थाहा छ ? मैले तिमी जस्तो बूढो माझीबारे हेमिङ्ग्वेले जसरी केही लेखेको भए—त्यस पात्रलाई यति सचेत र जिज्ञासु बनाउने थिइनँ निश्चय । किनकि हाम्रोमा त्यस्तो सचेतता छैन । तिमी जस्तै सचेत बूढो माझी निर्माण गरेँ भनेँ मेरो पात्र विश्वासिलो हुन सक्ने छैन । मेरो बूढो माझी तिमी जस्तो जागरुक हुने छैन । साहसिक, निर्भीक हुने छैन । ऊ भट्टी जानेछ । नशामा लठ्ठिएर दिनभरि सुतिरहने छ । उसलाई समाचारको, खेलकुदको केही चासो हुने पनि छैन । यसरी चेतनाका हिसाबले पनि हामी निकै पिछडा छौँ । तिमीहरू निकै अग्रगामी छौ हरेक थोकमा ।
ए बूढा माझी ! तिमीले केही अखबार–पत्रिका पढे नपढे पनि—यो जगत्, यो समय गतिशील भइरहने छ । तिमीले जगत्बारे केही नबुझेर जगत् रोकिने वाला छैन । बिग्रिने वाला छैन । तर तिमीमा रहेको उत्सुकता मलाई प्रिय लागेको छ । बेसबलका खेलाडी डिमागियो एक माझी पुत्र हुन् भन्ने थाहा पाएका तिमीलाई कत्रो धोको छ—डिमागियोलाई आफूसँगै माछा मार्न लैजाने । यद्यपि तिम्रो इच्छा कति निरर्थक छ । हुन त मानिसका सप्पै इच्छा पूरा हुन्छन् भन्ने छैन । अनि पूरा नहुँदा ऊ दुर्बल भएको मान्नु पनि ठीक होइन । उसले पूरा नहुने इच्छा पनि कल्पना गरिरहेको हुन्छ । हो तिम्रो त्यो इच्छा पूरा नहुने खालको कठिन रहेछ ।
तिमीलाई विश्वास छ माछा जालमा नपरेका धेरै दिन भए पनि—माछाले तिमीलाई हराउन भने किमार्थ सक्ने छैन । मानोलिनसँग तिमीले त्यही त भनेका छौ “मलाई लाग्छ हामीलाई अयोग्य ठहर्याउन सक्ने ठूलो माछा जन्मेको छ जस्तो लाग्दैन ।” हो साँच्ची नै मलाई त्यही लागेको छ त्यस्तो माछा जन्मिएको छैन जसले तिमीलाई पराजित गर्न सकोस् ।
आफूभित्रको भरोसालाई अझ सबल बनाउन फेरि तिमी भन्छौ, “मैले सोचे जस्तो बलियो नहुन पनि सक्छु म । तर मसित थुप्रै उपाय र दृढता छ ।” तर भाग्यले साथ नदिएको तिम्रो बुझाइ छ । किन्तु आफ्नो सुर नछोड्ने तिमीमा अटल आत्मविश्वास छ । कुनै दिन भाग्यले साथ देला भनेर तिमी हरेक निमेष व्यस्त छौ ।
पीर परिरहन्छ । तिमी कति दिन यसरी जुझिरहन्छौ प्रौढकालीन जीवनसँग । बूढो उमेरसँग । जब तिमी अप्ठ्यारोमा पर्छौ हो त्यतिखेर मानोलिनको सहायता चाहन्छौ, तिम्रो हितको भन्नु उही एउटा त छ नि । ऊ कतै टाढा माझीकै धन्दामा गएको हुन्छ । त्यतिखेर तिमी एक्लो पर्छौ मद्दत आवश्यक हुँदा । बडो कर्मवादी छौ । त्यस्तै भगवान्प्रति उतिकै विश्वास छ तिमीलाई जति विश्वास आफूलाई गरेका छौ ।
यतिखेर जीवन एकदम सङ्घर्षमय छ । जटिल सङ्घर्षमा व्यतीत छ तिम्रो समय । जालमा परेको मार्लिन (माछा) प्रतिद्वन्द्वी भएको छ । प्रतिद्वन्द्वीकै शक्ति छ उसँग । ऊ कस्तो छ देख्ने हुटहुटी तिमीमा जति बढ्दै जान्छ त्यति म काल्पनिक हुन्छु । मार्लिन कत्रो होला ? मेरो कल्पनामा त्यो अत्यन्तै ठूलो छ । रातभर तिमी सुस्ताउन पाएका छैनौ, उसँग जुझ्नु परेको छ । त्यस स्थितिमा पनि तिमीलाई ‘आज ग्रान्ड लीगमा बेसबलको खेल कस्तो रह्यो होला ?’ कुतुहलता हुन्छ । तिमी बडो अभिलाषी छौ । यही अभिलाषा, यही जिज्ञासा र आस्था नै त जीवन हो । जिजीविषा हो । त्यस बखत खेल समाचार थाहा पाउन— आफूसँग रेडियो नभएकोमा तिमी केही खिन्नता जस्तो अनुभव गर्छौ । हो त्यतिखेर नमज्जा लाग्छ । तिम्रो अभाव म आफ्नै जस्तो महसूस गर्छु ।
पेशाले तिमी प्राणीको हत्या गर्न विवश छौ । तिमी प्राणी घातक मानव हौ । तर दयालु छौ । मार्लिन आफूभन्दा शक्तिशाली भएकोमा गर्व अनुभव गरेका तिमीलाई पढ्दा—मलाई रावणको सम्झना हुन्छ । जसले स्वयं भगवान् राम आफ्नो प्रतिद्वन्द्वी भएकोमा बडो गर्व गरेको थियो जस्तो तिमी गरिरहेका छौ यतिखेर । तिमी बडो कुशल छौ आफ्नो पेशामा र पनि चौरासी दिनदेखि एउटै माछा मार्न नसक्दा म ज्यादै दुखी हुन्छु तिम्रो विकलतामा । बुढ्यौलीसँगै तिम्रो कुशलता डाँडापारिको घाम जसरी डुब्न लागेको त होइन ? ईश्वरसँग प्रार्थना गर्छु त्यस्तो नहोस् भनेर । तिम्रो प्रतिज्ञा देखेर म अवाक् छु । मार्लिनसँगको एकल संवादमा भन्छौ ‘हेर माछा ! म नमरुन्जेल यहीँ बसिरहन्छु तँसित तर छोड्दिनँ त्यतिकै ।’
खुशी खुशी मर्न राजी छौ तर हार्न होइन । यस घडी कति विरोधाभासयुक्त छ, घटना उत्कर्षमा पुगेको छ । जालमा परेको मार्लिनलाई नियन्त्रणमा लिन तिमी सफल हुने हो कि विफल भन्न सक्ने अवस्था छैन । त्यसो त तिम्रो सङ्कल्प कहाँ सामान्य छ र ‘हेर तँलाई माया पनि गर्छु साथै सम्मान पनि तर घाम डुब्नु अघि नै नमारी छोड्दिन तँलाई ।’
चौरासी दिन व्यतीत हुनु अघिको तिम्रो जीवन कस्तो थियो ? म जान्न चाहन्छु । त्यसो त तिम्रो जीवन माछा र समुद्रकै निकटतामा बितेको कुरा स्वतः ज्ञात छ । तर कुन रीतले तिम्रो जीवन बित्यो ? कस्ता सङ्घर्षहरू भोग्यौ ? कस्ता चुनौतीहरू सामना गर्यौ ? यी कुरा चाहिँ अज्ञात छ हेर सान्टियागो ।
तिमी एक्लो छौ भन्ने बुझेको मलाई तिम्रो एकान्तिकता मन पर्दैन । अप्ठ्यारो स्थितिमा ‘आफ्नो भन्नु’ तिम्रो को नै छ र ? कसैले तिमीलाई ‘के भयो सान्टियागो ?’ भनेर अहँ सोध्ने छैन मानोलिनले बाहेक । त्यस रात्रिमा एक्लो महसूस हुँदाको क्षण—एकहुल जङ्गली हाँस देखेपछि तिमीलाई लाग्यो समुद्रमा कोही पनि एक्लो हुँदो रहेनछ । त्यस बखत म ढुक्क हुन्छु तिमी निसङ्ग छैनौ ।
अझै पनि मार्लिनलाई नियन्त्रणमा लिनु—सपनाको लक्ष्य जस्तो भएको छ । तिमी हार्छौ या जित्छौ निश्चित छैन । मार्लिनलाई समात्न सकेँ भने यशु र उनकी माता मेरीलाई धेरै पटक प्रार्थना गर्नेछु, तिम्रो जुन वचन छ—त्यसले के बुझाउँछ भने मार्लिनलाई समात्न तिमीले असम्भव प्रयास गरिरहेका त छैनौ ? प्रश्न उठ्छ । तिमी लक्ष्यमा पुगेको हेर्न म उत्कण्ठित हुन्छु अर्थात् तिमीले मार्लिन पक्डिन सके हुन्थ्यो अपेक्षा गर्छु । तर मेरो अर्को मनले त्यसरी मार्लिनलाई दुःख दिएको, जीव हत्या गरेको मन पराउँदैन । हेर त म कस्तो द्वैध मनस्थितिमा छु ।
बेला बेला तिमीलाई आफ्नो सङ्कल्पले झस्काउँदा म पनि सँगै झस्किछु । तिम्रो लक्ष्य (मार्लिन) कति अनौठो छ । यतिको समय भइसक्यो मार्लिनसँग द्वन्द्व चलेको । अझ पनि तिम्रो प्रतिद्वन्द्वी थाकेको छैन । तर तिमी थाक्न लागिसकेका छौ । म केही निराश हुन्छु कतै तिमी हार्ने त होइन ? हार्नबाट जोगिन, सफलताको लागि मनोबल वृद्धि गर्न—जब तिमी एउटा पुरानो घटना (क्यासाब्लाङकाको रक्सी–भट्टी) सम्झिन पुग्छौ । जहाँ एक जना निग्रोसित तिमीले पञ्जा लडाउने खेल खेलेका थियौ । त्यो भीमकाय पराक्रमी निग्रोलाई तिमीले हराएरै छाड्यौ । तिमी जहिल्यै आफ्नो सङ्कल्पमा दृढ छौ । आशा छ तिमीले मार्लिनलाई पनि जित्ने छौ, जस्तो अप्रत्याशीत किसिमले निग्रोलाई जित्यौ ।
मार्लिनको पराक्रम देखेर घरी घरी उसप्रति गौरव गर्दा मलाई बडो विचित्र लाग्छ । तिमी कति महान् छौ । ‘उसको व्यवहार शील स्वभाव वा गरिमालाई हेर्दा त उसलाई मारेर खानु उचित लाग्दैन …’ तिमीले यही त भनेका छौ ।
डेढ दिन एक रात भइसक्यो तिमी अनिदो भएको । मार्लिन समातेर तिमी कहिले घर फर्किने हो ? म त्यही समयको पर्खाइमा छु । बल्छीमा परेको मार्लिन ज्यादै सशक्त छ । त्यो बुझेका तिमीले आफू पनि उतिकै सशक्त हुन, अन्तश्चेतनालाई गरेको अनुरोधमा—म पुनः डा. जोसेफ मर्फे स्मरण गर्छु । आफूभित्र शक्ति सञ्चय गर्ने तिम्रो तरिका कति मनोवैज्ञानिक छ । पराजित भई मर्न तिमीलाई किमार्थ सुहाउँदैन । ‘म यसरी यस्ता जाबा एउटा माछाका लागि असफल भएर मर्न चाहन्नँ ।’ शिथिल हुन लागेको तिम्रो प्रतिज्ञा पुनः पुनः यसरी ब्यूँझिरहन्छ ।
हाई ! सान्टियागो ! तिमी अहिले के सोच्दै छौ ? वास्तवमै त्यो मार्लिन कति विलक्षणको छ हगी ? त्यसैले त ‘उसको पुरुषार्थमा आफू हारे पनि दुःखी नहुने’ कुरा तिमीले गरेका छौ । तब लाग्यो सङ्ग्राम त जहिल्यै ठूलोसँग गर्नुपर्छ । दुर्बल प्रतिद्वन्द्वीसँग लड्दा—विजय उत्सवको तृप्ति नै कहाँ ? प्रखरतासँग भिड्दा हार पनि जित बराबर हुनेछ ।
त्यो बोध भएका तिमी साँच्चीकै श्रेष्ठ योद्धा हौ । जीवन बाँच्ने कला, हतोत्साही नहुने कला, सर्वथा जागरुक हुने कला—सिकाउने योद्धा । तिम्रो मनोभावना कति असाधारण छ, ‘तँ जस्तो सुन्दर, विशाल, शान्त स्वभावको माछा मैले कहिल्यै देखेको थिइनँ भाइ । आइज मलाई मार । कसले कसलाई मार्छ मलाई केही पर्वाह छैन ।’
त्यस दिन तिमी विजयी हुन्छौ । बडो कठिनले लक्ष्यमा पुग्छौ । विजयको थकान मेट्न एकछिन सुस्ताउँछौ ।
सुन त सान्टियागो ! माछासँगको तिम्रो जुधाइ भनेको यस्तै सानातिना कुरामा भुलेर जीवनसँग, मृत्युसँग तिमी अर्थात् मानिस लडिरहेको छ—कृतिमा हेमिङ्ग्वेले यस किसिमको थिम पनि दिएका छन् प्रकारान्तरले । आखिर तिम्रो जीवनको उपलब्धि खै ? माझी भएरै तिम्रो जीवन सकिँदै छ, गन्तव्यको अन्तिम पयर उचाल्दै छौ । तर जीवन सार्थकता कहीँ देखिँदैन । एक्लै छौ गुजाराको लागि रातदिन माछासँगको भिडाइमा छौ । कति दिनदेखि भिड्दा भिड्दा बडो सकसले समुद्रबाट उतारेको मार्लिन । त्यसको अस्थिपञ्जर मात्र बाँकी रहेको दृश्यले यही थिम बोलेको छ निस्सारता, शून्यता, व्यर्थता । तथापि जीवन जति नै निस्सारतामा टुङ्गिए पनि नहार्नु नै तिम्रो लक्ष्य हो, अर्थात् हेमिङ्ग्वेको अर्थात् उपन्यासको अभिप्राय हो ।
तिमीले पाखा उतार्नु अघि नै मार्लिनलाई शार्कले चिथोरेर कङ्काल बनाइ सकेको सत्य —थाहा पाउँदा म बडो उदासीन हुन्छु । तिमी यस घरी ज्यादै उदास छौ । शार्कले चिथोरेको मार्लिन देख्दा तिमीलाई असह्य हुन्छ । हेर्न सक्दैनौ । शार्कले उसलाई चिथोरेको देख्दा तिमी आफैँलाई चिथोरेको अनुभव हुन्छ । यो यथार्थ तिमीलाई स्वीकार्य छैन । मानिस पराजित हुन जन्मिएको होइन अझ पनि तिमी यही भनिरहेका छौ । हुन पनि तिमी पराजित कहाँ भयौ र ? भलै तिम्रो सङ्घर्ष सार्थक भएन फरक त्यति न हो । अन्तिम निमेषमा आएर पनि ‘अझै राम्रो हुन यो सब घटिरहेको छ’ तिमी विश्वस्त छौ, तिमीले यही त भनेका छौ । यही अनन्त अभिलाषाले, आस्थाले, विश्वासले उपन्यास जीवन्त छ ।
प्रथमतः मार्लिनसँगको सङ्घर्षमा तिमी सफल भयौ, उसलाई बल्छीमा पार्न सक्यौ । भरे मार्लिनलाई सार्कले हमला गर्दा— तिम्रो दोस्रो चरणको सङ्घर्ष मार्लिनसँग नभएर बित्थामा सार्कसँग गर्नु परेको—कति उदेक लाग्दो कुरा छ । जीवन यसरी भिड्दा भिड्दै कतिखेर अन्त हुन्छ थाहै नहुँदो रहेछ । हेर त आखिरीसम्म तिमी जुझिरह्यौ एउटा माछाको लागि । होइन एउटा मामुली जीविकाको लागि । एउटा मामुली जीवनको लागि । यही जिजीविषाले तिमी निर्देशित भइरह्यौ ।
केही सफलता धेरै असफलता जस्तो अनुभव लिएर जब तिमी घर जान्छौ, त्यतिखेर म झनै उत्सुक हुन्छु अब तिमीमा कस्तो परिवर्तन, कस्तो विचार आउँछ होला ? कति दिनको भोक, निद्रा र शिथिलताले दुर्बल भएका तिमी बेखबर भएपछि—मानोलिन कति रोयो तिमीले थाहा पाएनौ । सधैँ झैँ ऊ आज बिहान पनि आएको थियो । जतिखेर तिमी आखिरीको जस्तो—श्वास फेरिरहेका थियौ । उसले सदा झैँ कफी लिएर आयो तिमी अहिल्यै मृत्युसँग हार्ने छैनौ उसलाई विश्वास छ ।
कति दिनपछि तिमी निराश भई घर फर्केका थियौ त्यस बिहानीको रातमा । तर तिमी भन्दै थियौ ‘अहँ ! कसैले पराजित गरेन मलाई ।’
म पनि त्यही भन्छु सान्टियागो तिमी हारेका होइनौ । जितेर अहिले निश्चेष्ट लडिरहेका छौ । एउटा दृष्टान्त बन्यौ अन्तिम निमेषमा आएर । तिमी जस्तै अरू माझीहरूले मार्लिनलाई देखेर भनेका छन्—यति अजङ्गको माछा त अहिलेसम्म कसैले मारेकै थिएन ।
हेर त तिम्रो अवस्था देखेर व्याकुल भएको मानोलिन अझै थामिएको छैन । अशान्त छ अधैर्य छ । गरम कफी लिएर ऊ आडैमा बसेको छ । तिमीलाई उठाएर निद्रा बिगार्न उसले राम्रो मानेन । थकान मेटिएपछि तिमी आफैँ ब्यूँझन्छौ ऊ निश्चिन्त छ । अन्ततः तिमी ब्यूँझियौ पनि । तर मलाई तिमी निद्राबाट तङ्ग्रिन्छौ लागेको थिएन । त्यतिखेर तिमी बोलेको सुन्दा मैले लामो निश्वास लिएँ । ढुक्क भएँ तिमी जीवितै छौ भनेर । किन्तु त्यसै क्षण हितैषी केटालाई फेरि तिमीले भन्यौ ‘तिनीहरू (माछा)ले मलाई पराजित गरे मानोलिन । साँच्चीकै पराजित गरे तिनीहरूले मलाई ।’ तिम्रो यस वाक्यले म व्यग्र हुन्छु । लाग्यो तिमी मानसिक रूपमा शिथिल भइसकेछौ । तिम्रो मन गलेछ । तर होइन । तिमीलाई पराजय स्वीकार्य छैन ।
त्यसै क्षण तिम्रो अर्को अभिव्यक्तिले निराश हुन दिँदैन । हिमाल जस्तो तिम्रो अविचलित मनोबलले थप ऊर्जा मिल्छ पाठकलाई । असक्त स्थितिमा पनि तिम्रो मन अहँ डग्दैन । डग्न जान्दैन । अघिको भनाइ सच्याएर तिमी फेरि बोल्यौ ‘अहँ होइन माछाले पराजित गरेको त पक्कै होइन । माछाले होइन’ यति भनेर तिमीले आफूलाई सम्हाल्यौ ।
अर्नेस्ट हेमिङ्ग्वे धन्य छन्, श्रेष्ठ छन् । उनले तिमी (सान्टियागो)लाई विचलित पारेर, हरुवा बनाएर मार्छन् कि ? मसँग ठूलो त्रास थियो । त्यस विकट क्षणमा पनि हेमिङ्ग्वेले तिमीलाई आशावादी हुन सिकाएका छन् । उता मानोलिन तिमी तङ्ग्रिन्छौ अनि सँगै माछा मार्न जाने कुरामा विश्वस्त छ ।
आरम्भमा लागेको थियो तिम्रो जीवन सामान्य छ । तर होइन रहेछ । बरु मेरो बुझाइ साधारण रहेछ । कति असाधारण छ तिम्रो मनोबल, तिम्रो जिजीविषा, जीवनप्रतिको तिम्रो भरोसा, सङ्घर्ष अनि प्राप्ति अप्राप्तिहरू ।
आजका मानव ज्यादै काफर छन् । फेरि हामीलाई—तिम्रो जीवनमा श्रेष्ठता भर्ने अर्नेस्ट हेमिङ्ग्वे चाहिएको छ । प्रत्येक मानवलाई अनवरत सङ्घर्षमा, चुनौतीमा जीवन देख्ने सान्टियागोको कथा पढाउन आवश्यक छ । विषादमा, अवसादमा पनि अविचलित रहने नवपुस्ताको खाँचो छ । एकचोटि सबैले तिमीलाई पढिदिऊन् । तिमीबाट जीवनको वास्तविकता बुझून् । यतिखेर जीवनसँग हारेर घुँडा नटेक्ने जनशक्तिको एकदम खाँचो छ राष्ट्रलाई । जो कहिल्यै पलायन नहोऊन् । बरु खुशी खुशीले अप्ठ्याराहरू स्वीकारून् । तब त जीवन कदाचित् दुरूह नहोला । मनमा विकटताको अनुभूति नआउला । विकलताले नडग्मगाउला ।
जीवनको जटिलतामा तिमीले जटिल अनुभूति गर्दै गरेनौ । कति स्वाभाविक तवरले लिएका छौ जटिलतालाई । लाग्यो दुःख पनि दुःख नहुँदो रहेछ त्यस स्थितिमा । हो त्यसरी नै विद्यमान—मानवले सङ्घर्षमय जीवनसँग गुनासो नगरून् । यही अपेक्षा छ । कठिनाइ त त्यतिखेर हुने रहेछ जतिखेर कठिनाइसँग ऊ भाग्ने गर्छ । भागेपछि त्यसले झन् बढी लघार्दो रहेछ । बरु एकचोटि स्वीकारेर त्यसको अनुभूति गरोस् । तब त भाग्ने छैन, डराउने छैन, दुखेसो गर्ने छैन जीवनसँग, विद्यमानतासँग । त्यस बखत भिड्नुको नशा चढ्न थाल्ने रहेछ । साक्षी भावले हरेक परिस्थितिलाई नियाल्न ऊ समर्थ हुने रहेछ । जीवनसँग जुझ्नु, भिड्नुमा उसलाई आनन्द हुन थाल्ने रहेछ । हो त्यतिखेर म जुझिरहेको छु भन्ने बोध समेत उसले गर्न भ्याएको नहुने रहेछ, जस्तो तिमीले भ्याएका छैनौ ।
जीवनसँग, परिस्थितिसँग भाग्नेहरू कहीँ पुग्ने छैनन् । त्यसरी भागेको भए तिमीले मार्लिन समात्न सक्ने थिएनौ । लक्ष्यमा पुग्ने थिएनौ । बीच मार्गमै खण्डित हुने थियौ । लक्ष्य विमुख भएर तिमी व्यर्थ बाँच्ने थियौ । तर त्यसो भएन । तिमीलाई तिम्रै लक्ष्यले जीवनको अन्त्यसम्म जागरुक बनाइरह्यो । आज पनि जगत्ले तिमीलाई उतिकै स्मरण गरिरहेको छ । हेर त म तिम्रैबारे केही लेखिरहेकी छु । एउटा बूढो माझी भएर पनि तिम्रो यशकीर्ति कति विराट छ, व्याप्त छ । तिमीलाई तिम्रै लक्ष्यले, विचलित नहुने दृढताले जीवन्तता दिएको छ ।
अत्यधिक मानसिक विचलन भोगेको—विश्व मानव समुदायले एकचोटि तिमीलाई बुझोस्, अनन्त ऊर्जाशील भई जीवनगामी होस् । मेरो यही निवेदन छ ।
अन्त्यमा यति सुन्दर कृति अनुवाद गरी—नेपाली वाङ्मयलाई समृद्ध बनाउन प्रयासरत बद्रिप्रसाद घिमिरेज्यूलाई हार्दिक धन्यवाद छ । हजुरका यस्ता असल कर्महरू आइरहून् । त्यस्तै ट्रान्स रिप्रिन्टले मानव कल्याण गर्ने, प्रेरणा, हौसला दिने कृतिहरू प्रकाशनमा ल्याइरहोस्, शुभकामना छ ।
३० मङ्सिर २०८०
राइनास नगरपालिका—३, लमजुङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।