कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका २, नौडाँडाका शरद भण्डारी अहिले २५ वर्षका भए ।
अभिनय, चित्रकला, साहित्य र अध्यात्ममा रुचि राख्ने उनी पछिल्लो समय भने चित्र बनाउनमा सम्पूर्ण समय खर्च गरिरहेका छन् ।
स्कुल पढ्दा देखिनै फाट्टफुट्ट चित्र बनाउने भण्डारीले एसएलसीपछि फुर्सदको समय सदुपयोग गर्दै विभिन्न चित्रहरु कोर्न थाले । बिस्तारै रङ, आकार र तिनको संयोजनमा उनलाई आफ्नो जीवन, जगत र वस्तुप्रतिको दृष्टिकोण प्रस्तुत गर्ने सुखान्त माध्यम अनुभूत हुन थाल्यो । निरन्तरको प्रयासपछि उनीले चित्रबाट धेरैका मन लोभ्याउन र आकर्षित गर्न सिपालु भइसकेका छन् ।

शरद भण्डारी
‘आफू अगि भएको दृश्य लाई अथवा आफ्नो दृष्टिकोणमा उब्जिएका तस्बिर हरुलाई हुबहु उतार्ने प्रयास गर्दिनँ तर ती दृश्यप्रति उब्जिएको मेरा आन्तरिक भावनाहरुलाई रङको माध्यमबाट प्रभावित रुपमा देखाउने प्रयत्न गर्छु । चित्रकलामा विशेषतः दृष्टि र द्रष्टा अनि उनीहरुको दृष्टिकोण महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।
उनले कोर्ने गरेका चित्रहरुमा अध्यात्मिक चिन्तन र मनोवैज्ञानिक भावहरुलाई समेटिएका हुन्छन् ।
उनले साहित्यपोस्टसँग भने, ‘मेरो लागि क्यान्भास आफू भित्रका गुम्सिएका गाँठाहरु फुकाउने स्थान हो । कयौंपटक इजेल, क्यान्भास, रङ र ब्रसहरु बोकेर हिँड्ने क्रममा मानिसहरुबाट अनौठा प्रतिक्रिया पाउने गर्छु । कति मानिसहरुले फरक र असामान्य व्यवहार पनि गरेका छन । प्रायः खेतका डिलहरुमा, खोला र खुला पहाडरुमा एकोहोरो चित्र बनाउने काममा नारिएको देख्दा सुरु सुरुमा नजिकका साथीभाइ र छिमेकिहरुले पनि मनोरोगी हो कि झैँ पनि गर्थे । चित्र मेरो स्वायन्त सुख हो । अनि रेखा, छायाँ र रङ संयोजन मेरा भाषा हुन् । मलाई लाग्छ, चित्रकला मानिस, समाज, संस्कृति र भूगोलको पर्याय हो । मानिसहरु महारोगको यो समयमा अल्ली मानसिक तनाव र निराशामा छन्, त्यसैले चित्रकला मानिसभित्र ऊर्जा थप्ने एउटा शक्तिशाली सृजानात्मक माध्यम हो ।’
कोरोना महामारी फैलनुअघि उनको शिक्षण पेसा, अभिनय साहित्य तथा अध्यात्ममा दिनहरु चलिरहेको थियो ।
तर , पछिल्लो समय उनी चित्रहरु कोर्नमा व्यस्त छन् ।
उनको चित्रकलाको माध्यम एक्रेलिक रङ, तेल रङ, पेन्सिल र चरकोल स्केच हो । उनलाई अर्धमूर्त, अमूर्त र ल्याण्डस्कोप शैलीका चित्रहरु बनाउन बढी मन पर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

