जावेद अख्तर

जब मानिसहरू आफ्ना बारेमा लेख्छन्, सबैभन्दा पहिला जुन शहरमा बस्छन्, त्यसका बारेमा बताउँछन् । म कुन शहरलाई आफ्नो भनूँ ? … म जन्मिएर अपराध भएको शहर ग्वालियरलाई आफ्नो भनूँ ? कि पहिलो पटक होश सम्हालेको लखनउलाई आफ्नो भनूँ ? पहिलो पटक आफ्नो होश गुमाएको शहर अलिगढलाई आफ्नो भनूँ ? या भोपालमा सिकेका केही बुद्धिमताका कारण उसलाई आफ्नो मानूँ ? तर बम्बई आएपछि मात्र मेरो होश ठेगानमा लागेको हो र यसैलाई आफ्नो भनूँ कि ?

लखनउ
म आठ वर्षको थिएँ । मेरो बुवा बम्बईमा थिए, आमा चिहानमा । दिनभर आँगनमा मेरो भाइसँग क्रिकेट खेल्छु । साँझ ट्युसन पढाउन एक डरलाग्दा मास्टर आउँछन् । उनलाई पन्ध्र रूपैयाँ महिना दिइन्छ । (यो मलाई निकै स्पष्ट किन याद आयो भने नपढेको निहुँमा यही कुरा सुनाइएको थियो ।) साँझ-बिहान खर्च गर्नका लागि केही रकम दिइन्छ । त्यसैले पैसाको कुनै समस्या छैन । बिहान रामजी लाल बनियाँको दोकानबाट रंगीन मिठाई किन्छु र साँझ अगाडिको फुटपाथमा भगवतीको चाटमा खर्च गर्छु । ऐश नै ऐश छ ।

स्कुल लाग्न थाल्छ । मेरो नाम लखनउको चर्चित स्कुल कल्विन कलेजको छैटौँ कक्षामा लेखाइन्छ । पहिले यहाँ सरकारी जागिरेका सन्तान मात्र पढ्न पाउँथे । यतिबेला भने म जस्ता तल्लो जातका मानिसले पनि पढ्न पाउने भएको छ । स्कुलको फिस निकै महँगो छ, प्रति महिना १७ रूपैयाँ । (मलाई यो स्पष्टसँग याद किन छ भने दैनिक रूपमा हामीले नपढेकोमा भनाइ खानु पर्थ्यो- त्यत्रो खर्च गरेको छ र पनि पढ्दैन ।)

मेरो कक्षाका कयौँ केटाकेटीहरू घडी बाँध्छन् । उनीहरू सबै धनी घरका जो हुन् ! उनीहरूसँग लगाउनका लागि आकर्षक सुइटर छ । एक जनासँग त फाउन्टेन पेन पनि छ । यी सबै केटाकेटी हाफ टाइममा स्कुलको क्यान्टिनबाट आठ आनाको चकलेट किन्छन् (अब त घर छेउको भगवतीको चाट मन पर्न छाडेको छ ।) हिजो कक्षामा राकेश भन्दैथ्यो, उसको बाबाले उसलाई पढाउन बेलायत पठाउने रे ! मेरा हजुरबा चैँ भन्दै थिए, कसैगरी यसले जसोतसो झुण्डिएरै मेट्रिक पास गरे, हुलाकमा छाप लगाउने काम त पाउँथ्यो होला ।

त्यो उमेरमा जब बालबालिका इन्जिन बनाउने सपना देखिरहेका हुन्छन्, मैले चाहिँ धनी हुने सपना देखिरहेको थिएँ… ।

अलिगढ
पात्रः मेरी फूपू, घरका अन्य सदस्य र म

जावेद अख्तर

मेरो भाइलाई लखनउमा मावलीमै राख्ने निर्णय गरियो र म चाहिँ मेरी फुपूको भागमा परेको छु, जो यतिबेला अलिगढ आएकी छन् । ठीकै त छ, दुई अनाथ बच्चालाई कुनै एउटा परिवारले त पाल्न सक्दैन नि ! मेरी फुपूको घर अगाडि टाढासम्म खेतैखेत देखिन्छ । आँखाले देखिउञ्जेलसम्मको खेतपछि बल्ल स्कुल आउँछ । … म नवौँ कक्षमा त्यहाँ पढ्न थाल्छु । उमेर १४ वर्षको छ ।

अलिगढमा जब जाडो हुन्छ, त्यो जाडो बडो माप्पाको हुन्छ ।

स्कुलको पहिलो कक्षा सात बजे लाग्छ । म स्कुल गइरहेको छु । अगाडि चक्कुको धारजस्तो ठण्डी छ, त्यसमाथि हावा चलिरहेको छ । छुँदा पनि आफ्नो अनुहार हो कि होइन भन्ने थाहा पाइन्न । छुँदा आफ्नै नाक कान हावाले काटिदिएको हो झैँ लाग्छ । त्यसो त पढाइमा त्यसै पनि नाक काटिई नै रहन्थ्यो । थाहा छैन कसरी पास चाहिँ भइन्थ्यो । यो स्कुल, जसको नाम मिन्टो सर्किल हो, मेरो नाम लेखाउँदा फुपाजूले शिक्षकसँग भनेका थिए, यसलाई अलि नै ख्याल राख्नु है… पढाइमा कम र फिल्मी गानामा बढी नै मन लगाउँछ यसले ।

दिलिप कुमारको उडन खटोला, राज कपूरको श्री चार सौ बीस हेरिसकेको थिएँ । निकै फिल्मका गीतहरू मलाई याद छन् तर घरमा यी फिल्मी गाना गाउन त के, सुन्न पनि प्रतिबन्ध छ । त्यसैले स्कुलबाट फर्कंदा बीच बाटोमा म एक्लै चर्को स्वरले गाउँछु । (माफ गर्नुस्, स्कुल जाँदा त यति धेरै जाडो हुन्थ्यो कि त्यस बेला पक्का रागहरू मात्र गाउन सकिन्थ्यो, फिल्मी गीत होइन ।)

मेरो स्कुल युनिभर्सिटी क्षेत्रमा नै छ । मेरो मित्रता स्कुलका दुई चार केटाहरूका अतिरिक्त विश्वविद्यालयका केटाहरूसँग पनि छ । मलाई ठूला केटाहरूजस्तै होस्टलमा बस्न मन पर्छ । त्यसैले अक्सर स्कुलबाट भाग्ने गर्छु । स्कुलले कयौँ पटक गुनासो नगर्ने होइन, मेरा फुपाजूसँग । त्यसैले कयौँ पटक घरमा पिटाई पनि खाएकै हुँ । त्यसले मलाई केही फरक परेन । कोर्सको किताबमा मन कहिल्यै लागेन । तर उपन्यास भने पढ्न छाडिनँ । गाली खान्थेँ कयौँ पटक तर पनि पढिरहन्थेँ । मलाई सायरी निकै याद छ । विश्वविद्यालयमा जब उर्दू सायरीको अन्ताक्षरी हुन्छ, म आफ्नो स्कुलको तर्फबाट भाग लिन्छु र हरेक पटक मैले निकै पुरस्कार जित्छु । विश्वविद्यालयको पुरस्कारका कारण मलाई धेरै जसोले चिन्छन् । मलाई केटाहरूले चिन्छन्, त्यसमा खुसी लाग्छ । मलाई केटीहरूले चिन्छन्, त्यसमा झन् बढी खुसी लाग्छ ।

अब म अलि ठूलो भएको छु… १५ वर्षको र जिन्दगीमा पहिलो पटक एक युवतीलाई प्रेमपत्र लेख्छु । अर्को दिन एउटा खाली ब्याडमिन्टन कोर्टमा त्यो केटी भेटिन्छे र हिम्मत गरेर म उसलाई त्यो चिठ्ठी दिन्छु । र, यो मेरो जिन्दगीको पहिलो र अन्तिम प्रेमपत्र बन्न पुग्छ । (त्यो पत्रमा के लेखिएको थियो, मैले बिर्सिएँ तर त्यो केटी अहिलेसम्म याद आइरहन्छे ।)

मेट्रिकपछि म अलिगढ छोड्छु । मेरी फुपू निकै रोइरहेकी छन् र फुपाजू उनलाई सान्त्वना दिइरहेका छन्, भन्छन्- तँ त यसरी रोइरहेकी छस् कि ऊ भोपाल होइन, युद्धमोर्चामा जाँदैछ ।

त्यो बेला न त उनले न मैले नै थाहा पाएको थिएँ कि वास्तवमा म युद्धमोर्चामा नै गइरहेको थिएँ ।

भोपाल
पात्रहरूः अनेकन् असल मानिसहरू, धेरै साथीहरू र म ।…

अलिगढबाट बम्बई जाँदा मेरा बुवाले मलाई भोपाल अथवा यसो भनूँ आधा बाटोमा नै छाडिदिए । केही दिन म सौतेनी आमाको घरमा बसेँ । त्यसपछि त्यो पनि छुट्यो । सेफिया कलेज पढ्न थाल्छु र साथीहरूको साथसहयोगमा उनीहरूसँगै बस्न थाल्छु । त्यो बेलाका साथीहरूको सूची बनाउन बसूँ त टेलिफोन डाइरेक्ट्रीजस्तै मोटो किताब बन्ला । म बिए सेकेन्ड इयरमा छु । मेरो साथी एजाजसँग बसिरहेको छु । घरभाडा उसैले तिर्छ । म त बस्, बस्ने मात्र हुँ । ऊ पढ्छ र ट्युसन पढाउँछ । त्यही पैसाले हामी दुई जनाको गुजारा चल्छ । सबै जना साथीहरू उसलाई मास्टर भनेर चिढ्याउँछन्… म पनि उसलाई मास्टर भन्छु । यही मास्टरसँग एक दिन कुनै कुरामा झगडा भयो । कुराकानी नै बन्द भयो । त्यसैले ऊसँग अचेल म पैसा माग्दिनँ । पैसा चाहियो भने उसको टाँगिएको पेन्टबाट झिक्छु अथवा ऊ मलाई जानकारी नै नदिई मेरो सिरानेमा एकादुई रूपैयाँ राखेर कतै जान्छ ।

बिए फाइनल इयर चलिरहेको छ । मेरो चौथो वर्ष भएकाले तयारी व्यापक भइरहेको छ । मैले कहिल्यै यो कलेजमा फिस तिरिनँ… कलेजले मागेन पनि । सायद यो त भोपालमा मात्र हुँदो हो ।

कलेजको कम्पाउन्डमा एउटा खाली कोठा, त्यो पनि मलाई सित्तैमा दिइएको छ । जब कक्षा सकिन्छ, म कुनै कक्षाबाट दुई वटा बेन्च उठाएर आफ्नो कोठामा राख्छु र त्यसैमा ओछ्यान ओछ्याउँछु । बाँकी सबै कुरा ठीक छ तर बेलाबेलामा बेन्चबाट निस्कने उडूसले हैरान मात्र त पार्ने हुन् ! जुन होटलमा म उधारो खान्थेँ, ऊ मजस्ता सित्तैका ज्वाइँलाई खुवाउँदा-खुवाउँदा बन्द भएको छ । त्यसको ठाउँमा जुत्ताको दुकान खुलेको छ । अब के खानु ? रोगी छु, एक्लो छु, ज्वरो आएको छ चर्को । त्योभन्दा चर्को छ भोक । कलेजका दुई जना केटा, जोसँग हल्का परिचय मात्र भएको छ, उनीहरू टिफिनमा खाना लिएर आएका छन्… यिनीहरूसँग मेरो कुनै दोस्ती भएको होइन तर पनि… अजिबका बेबकुफ छन् तर म पनि निकै चलाख छु, उनीहरूलाई थाहा नै दिन्नँ कि उनीहरू गएपछि म ग्वाँ ग्वाँ रूनेछु । रोएपछि म चंगा हुन्छु । रोगबाट पनि चंगा हुन्छु केही दिनमा । उनीहरू दुवै मेरो निकै मिल्ने साथी बन्न पुग्छन् ।

… मलाई कलेजमा वक्तृत्वकला प्रतियोगितामा बोल्ने सोख जाग्छ । गएका तीन वर्षमा भोपाल रोटरी क्लबको प्रतियोगिताको पुरस्कार जितेको पनि हुँ । इन्टर कलेज डिबेटमा त कयौँ ट्रफी जितेको हुँ । विक्रम युनिभर्सिटीका तर्फबाट दिल्ली युथ फेस्टिभलमा पनि भाग एकै हुँ । कलेजमा दुई पार्टी छन् र ती दुई पार्टीले नै मलाई आफ्नातर्फबाट बोल्नका लागि आग्रह गर्छन्… मलाई चुनावसँग होइन, मात्र भाषण ठोक्नुसँग मतलब छ । म दुवै पार्टीलाई आफ्नो वक्तृत्वको स्वीकृति दिन्छु ।

कलेजको त्यो कोठा पनि मैले गुमाएँ । अब म मुस्ताक सिंहसँग बसिरहेको छु । मुस्ताक सिंह जागिर खान्छ र पढाउँछ पनि । ऊ कलेजको उर्दू संघको सदस्य हो । म निकै राम्रो उर्दु जान्दछु । ऊ चाहिँ मभन्दा पनि राम्रो उर्दू जान्दछ । मलाई कयौँ सेर-सायरी मुखाग्र याद छ । उसलाई चाहिँ मभन्दा बढी नै याद छ । म आफ्नो घरका सदस्यहरूसँग अलग्ग बस्छु, सम्बन्धै छैन । उसको चाहिँ कुनै घरवाला छैनन् ।… हेर्नुस्, हरेक काममा ऊ मभन्दा राम्रो छ । वर्षभरि नै उसले मलाई खाना खुवाइरहेको छ, कपडा पनि उसैले सिलाइदिएको छ । अँ, दिनमा एउटा चुरोट पनि किनिदिन्छ ।
अब म कहिलेकाहीँ रक्सी पिउन थाल्छु- हामी दुवै जना राति रक्सी पिइरहेका छौँ । ऊ मलाई भारत-पाकिस्तानको विभाजन, त्यो जमानाको दंगा, त्यसको भयानक पीडाका किस्सा सुनाइरहेको छ । ऊ त्यो बेला कौन सा जान्ने वा बुझ्ने भएको थियो र ? तापनि ऊ सुनाउँछ । उसलाई एक एक कुरा याद छ । सुनाउँछ- कसरी ऊ दिल्लीको करोल बागमा हुँदा दुई मुस्लिम युवतीहरूलाई ह्वारह्वारी बलिरहेको चारकोलको ड्रममा दुई जना मुस्लिम युवतीलाई झोसियो… कसरी एउटा मुस्लिम केटोलाई…

म उसलाई रोक्न खोज्छु- भन्छु, मुस्ताक सिंह, तँ मलाई एक घण्टादेखि यस्ता किस्सा सुनाउँदा सुनाउँदा पक्का मुस्लिम लिगको सदस्य बनाउलास्जस्तो भइसक्यो । अत्याचारको यस्तो ताली त दुवै हातले बजाइएको थियो, हैन र ? अर्को हातको तालीका बारेमा पनि त केही बता ।
मुस्ताक सिंह हाँस्न थाल्छ… भन्छ, ठीक छ, सुनाउँछु । जग बिती सुनाउँ कि आप बिती ?

म भन्छु, आफ्नै कुरा सुना न, किन संसारको सुनाउँछस् !

ऊ लामो सास फेर्छ र भन्छ, मेरो घरमा एघार पुरूषको खान्दान थियो । दस जना मेरै आँखा अघिल्तिर मारिए…।

मुस्ताक सिंहलाई उर्दूका निकै धेरै शेर याद छन् । म मुस्ताक सिंहको कोठामा एक वर्षदेखि बसिरहेको छु । एउटै कुरा चाहिँ मैले बुझ्न सकिनँ, अहिले सम्झँदा उदेक लाग्छ र सोध्न मन लाग्छ, भन् न मुस्ताक, तँलाई तिनले किन नमारी छाडिदिए ? तँजस्तो असल मान्छे, चाहे जुनसुकै जात र धर्ममा जन्मिएका होऊन्, सधैँ तिनलाई सूलीमा चढाइएको छ । तँ कसरी बाँचिस् हँ.. ?

अचेल ऊ बेलायतको ग्लास्गोमा बस्छ । जब हामी दुवै जना छुट्टिदै थियौँ, मैले उसले लगाउने गरेको कडा (बाला) लिएँ र लगाएँ । त्यो बाला अहिलेसम्म मेरै हातमा छ । जब पनि म यो बाला सुम्सुम्याउँछु, उसको झल्को आइहाल्छ । यस्तो लाग्छ, ऊ मेरै अघिल्तिर छ र भनिरहेको छ,

बहुत नाकामियों पर आप अपनी नाज करते हैँ
अभी देखी कहाँ हैं, आपने नाकामियाँ मेरी

(आफ्ना असफलतामाथि तिमी यति धेरै गर्व गर्छौ
तिमीले मेरो असफलता अहिले देखेकै कहाँ छौ र)

बम्बई
पात्रः फिल्म उद्योग, दोस्त, दुस्मन र म…

४ अक्टोबर १९६४, म बम्बई सेन्ट्रल रेल स्टेसनमा उत्रिएको छु । अब यस अदातमा मेरो जीवनको निर्णय हुनु छ । बम्बई आएपछिको ६ दिनमै उसको घर छोड्नु पर्छ । गोजीमा सत्ताइस पैसा मात्र छ । म खुसी छु किनभने जिन्दगीमा जब अठ्ठाइस पैसा मात्र भए पनि कमाउँछु, म नाफामा हुन्छु र संसार घाटामा ।

बम्बई आएको दुई वर्ष पुग्यो । न बस्ने न त खाने नै कुनै ठेगान बन्न सक्यो । हुन त एउटा सानो फिल्ममा म सय रूपैयाँ महिनामा संवाद लेखिसकेको छु । कहिलेकाहीँ फिल्ममा सहायक भएर पनि काम गरेको छु । कहिले ससाना भूमिका पनि पाइएकै छ । तर त्यो पनि प्रायः कहाँ पाइन्छ र ?

काम गरेको पैसा माग्नका लागि बम्बईको दादरस्थित एक फिल्म निर्माताको अफिस पुग्छु । उसले मलाई अघिल्लो फिल्मको संवाद लेखाएको थियो । कमेडी सिन थियो । यो सिन त्यो नामुद लेखकको नामबाट नै चिनिनेछ, जुन अहिले लेखिरहेको छ । तर अफिस त बन्द छ । अब फेरि आफू बसेको ठाउँ बान्द्रा फर्कनु छ । सोच्दैमा रिँगटा चल्छ किनभने निकै टाढा छ । पैसा मसँग यति मात्र छ कि या त मैले बसको टिकट मात्र किन्न सक्छु कि त खाना खान मात्र सक्छु । खाना खाने हो भने मैले पैदल नै हिँड्नु पर्नेछ । उपाय निकाल्छु, म चना किन्छु र पेन्टको गोजीमा हाल्छु अनि पैदल नै हिँड्न थाल्छु ।

कोहिनूर मिल्जको गेट अगाडि हिँड्दै गर्दा म सोच्छु, सायद सबै कुरा बद्लिए पनि यो गेट त जस्ताको त्यस्तै रहला । एक दिन म यसै गेटको अघिल्तिरबाट मेरो निजी कार गुडाउनेछु ।

अब मैले एउटा फिल्मको संवाद लेख्ने काम पाएको छु । केही दृश्य लेखेर म निर्देशकको घर जान्छु । ऊ खाजामा अनारस खाइरहेको छ । उसले मैले लेखेको सिन पढ्छ र सारा कागज मेरो मुखमा हुर्याइदिन्छ । त्यसपछि मलाई फिल्मबाट निकालेको घोषणा गर्दै भन्छ, तँ जिन्दगीमा कहिल्यै लेखक बन्न सक्दैनस् ।

चर्को घाममा सडकको एक किनारामा हिँड्दै गर्दा आँखाको कुनामा आएको आँशु पुछ्छु र सोच्छु- म एक दिन यही निर्देशकलाई देखाउँछु.. के देखाउँछु ? सोच्दै गर्दा अचानक यो दिमागमा आयो, यो निर्देशक त सधैँ अनारस नै खाजा खाँदो हो है ?

(बलिउडका चर्चित  गीतकार एवं स्क्रिपप्टराइटर जावेद अख्तरको आत्मकथा ‘तरकश’को एक अंश)