भुवन ढुंगाना प्रसिद्ध कवि तथा आख्यानकार हुन् । वि.सं. २००३ साल जेठ ३ गते पूर्वी नेपालको विराटनगर, गहेलीटोलमा माता नन्दकुमारीदेवी कोइराला र पिता विष्णुप्रसाद कोइरालाको कोखमा उनको जन्म भएको हो ।
एम.ए. ( अङ्ग्रेजी त्रि.वि.), बी.एल. बङ्गाली भाषामा स्नातक र भारतीय शास्त्रीय नृत्यमा स्नातक भुवन ढुंगानाले प्राध्यापन / समाजसेवा र नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य पदसम्म पुगिसकेकी सु-प्रसिद्ध सर्जक हुन् ।
प्रारम्भमा भुवन कोइरालाका नाममा रचना प्रकाशित गरेको देखिए पनि मानव अधिकारकर्मी तथा राजनीतिककर्मी दमननाथ ढुंगानासँग विवाहपछि भुवन ढुंगानाका नामले नेपाली साहित्यमा स्थापित भएको पाइन्छ ।
कविता भाषाकाे एक विशिष्ट कला हो । भुवनका काव्यशिल्पमा समयको गतिशीलता / आरोह-अवरोह / निजी अनुभव / अनुभूति र जीवनको पार्श्वचित्रहरूको प्रतिच्छाया प्रतिबिम्बित भएको पाइन्छ ।
अत्यन्त सूक्ष्म विषयमा पनि जीवन-दर्शनको पुटदिएर काव्य सिर्जना गर्ने ढुंगानालाई बौद्धिक सौन्दर्यकी पर्यायका रूपमा चिनिन्छ ।
प्रस्तुत छ –
आजभन्दा ५५ वर्षअघि गोरखापत्र संस्थानको मधुपर्क मासिक [ वर्ष -२ अङ्क ९, वि.सं.;२०२६ ] मा प्रकाशित ‘अफिस आफैं नरमाइलो’ शीर्षकको कविता ।
अफिस आफैं नरमाइलो
– भुवन ढुंगाना
नरमाइलो लाग्छ
एउटा मध्यान्नको घाम
सँगसँगै
एउटा अफिसको काम
टेवुल भरी छरिएका
कलम, कागज, अखवार
एक दुई तीन
रित्तो एस्ट्रे
ठूटो सिगरेट
पातलो हावा
पर्दा साथै चलमलाएको
झ्याल ढोकाका भित्ताहरूमा
लम्पसार परेको टेवुल
कुक्रुक्क परेको कुर्सी
हाई हाई गर्दै च्यात्तिएको
कारिन्दाको अनुहार
एउटा खोलाको छेउमा
खुट्टा डुबाएर बस्ने जस्तो दिन
उडिरहेको चरा
गुडिरहेको मोटर
झर्को लाग्दो झींगाको संगीत
बादल आएर ढपक्क
ढाकिदिएको सूर्य
फेरि कुद्दै आइरहेको घाम
पहाडबाट खेत
खेतबाट पहाड
चर्किएको घाम
टाउकोमा पोल्दो राप
कलधारामा मुख डुबाइरहूँ जस्तो तिर्खा
बसिरहूँ टोलाएर
लोलाएर
खाली बसीरहूँ, बसीरहूँ जस्तो दिन !
***
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।