अठ्ठाइसौं अध्याय
बेथरका राजकुमार शमदामसँग गुफामा आउँछन्
राजकुमार र मिर्दादबीच युद्ध र शान्तिको बारेमा कुराकानी हुन्छ, शमदामले मिर्दादलाई जालमा फसाउँछ
नरोन्दा: गुरुले भर्खरै बोल्न सकेका थिए । हामी उनको नयाँ शब्द बारे सोचिरहेका थियौँ । हामीले बाहिर ठूलो आवाजमा बजिरहेको पाइला र त्यसको साथमा केही अस्पष्ट कुराकानी सुन्यौँ । चाँडै दुई ठूला सिपाहीहरू ढोकामा आए र दायाँ बायाँ उभिए । तिनीहरूको हातमा नाङ्गो तरवारहरू थियो । जुन घामको उज्यालोमा चम्किरहेको थियो । उनको पछि एक जवान राजकुमार शाही मुकुटले सजिएको थियो । उनको पछि शमदाम थियो । जो हिचकिचाउँदै हिँडिरहेको थियो । शमदामको पछाडि दुई जना सिपाही थिए ।
राजकुमार मिल्की वेका सबैभन्दा शक्तिशाली र प्रसिद्ध शासकहरू मध्ये एक थियो । ऊ ढोकामा केही बेर रोकियो । भित्र जम्मा भएका मानिसहरूको अनुहारलाई ध्यानपूर्वक हेर्यो । त्यसपछि, आफ्ना ठूला चम्किला आँखा गुरुसामु फर्कायो । आफ्नो शिर निकै तल झुकायो । अनि भन्यो,
राजकुमार: प्रणाम महात्मान ! हामी महान् मिर्दादलाई अभिवादन गर्न आएका छौँ । जसको कीर्ति यी पहाडहरूदेखि दूर-दूरसम्म फैलिएको छ । हाम्रो सुदूर राजधानीसम्म पुगेको छ ।
मिर्दाद: प्रसिद्धि विदेशतिर झन् द्रुत गतिमा सवार हुन्छ । गुरु यस विषयमा मेरो साक्षी हुनुहुन्छ । प्रसिद्धिको चंचलतामा विश्वास नगर राजकुमार ।
राजकुमार: तर पनि कीर्तिको चञ्चलता साह्रै मीठो छ । धेरै रमाइलो छ । कैयाै मान्छेको ओठमा नाम उचारण हुनु असल हैन ?
मिर्दाद: मानिसहरूको ओठमा आफूलाई लेख्नु भनेको समुद्र तटको बालुवामा नाम लेख्नु जस्तै हो । बतास र छालहरूले यसलाई क्षणभरमै मेटाइदिन्छ । एक हाच्छिँउले मात्र उसलाई आफ्नो ओठबाट उडाउँछ । यदि मानिसहरूले तिमीलाई नहाच्छिउँन् भन्ने चाहुन्छौ भने, तिनीहरूको ओठमा आफ्नो नाम नछाप । बरू तिनीहरूको हृदयमा छाप ।
राजकुमार: तर मानिसहरूको मन धेरै तालाहरूमा बन्द छ ।
मिर्दाद: ताला त धेरै होलान् तर चाबी एउटै छ ।
राजकुमार : त्यो चाबी तिमीसँग छ ? मलाई उसको धेरै आवश्यकता छ ।
मिर्दाद: तिमीसँग पनि छ ।
राजकुमार: अरे ! तिमीले मलाई मेरो लायक भन्दा धेरै मूल्यवान बनाउँदै छौ । छिमेकीको मनभित्र पस्ने साँचो लामो समयदेखि खोजेको छु । तर कतै भेटिनँ । उनी शक्तिशाली राजकुमार हुन् । मसँग लड्न इच्छुक छन् । मेरो शान्त र प्रेमील स्वभावको बाबजुद पनि म उनको विरुद्धमा हतियार उठाउन बाध्य छु । गुरु ! मेरो श्रीपेच र मोतीले जडित लुगालाई धोका नदेऊ । मैले खोजेको चाबी फेला पार्न सकिनँ ।
मिर्दाद: यी चीजहरूले चाबी लुकाउँछन् । यसलाई राख्नुहुन्न । तिनीहरूले तिम्रो पाइलालाई बन्दी बनाउँछन् । तिम्रो हात बाँध्छन् । तिम्रो दृष्टिलाई गलत दिशामा निर्देशित गर्दछन् । तिम्रो खोजलाई निराश बनाउँदन् ।
राजकुमारनः गुरुले यसो भन्नुको अर्थ के हो ? के मैले मेरो श्रीपेच र शाही पोसाक फ्याँक्नुपर्छ ? ताकि मसँग मेरो छिमेकीको हृदयमा प्रवेश गर्ने साँचो होस् ?
मिर्दाद: यदि तिमी ती चीज राख्न चाहन्छौ भने, तिमीले आफ्नो छिमेकी गुमाउनु पर्छ । आफ्नो छिमेकी राख्न चाहन्छौ भने, तिनीहरूलाई गुमाउनु पर्छ । आफ्नो छिमेकी गुमाउनु भनेको आफैँलाई गुमाउनु हो ।
राजकुमार: म आफ्नो छिमेकीको मित्रता यति महँगो मूल्यमा किन्न चाहन्नँ ।
मिर्दाद: के तिमीलाई यति सानो मूल्यमा पनि किन्न मन लाग्दैन ?
राजकुमार: के म आफैँलाई किन्न सक्छु ? म कुनै कैदी होइन, जसले आफ्नो रिहाइको मूल्य चुकाउनुपर्छ । यसबाहेक, मसँग मेरो रक्षाको लागि सेना छन् । जसलाई राम्रो तलब दिइएको छ । तिनको साथमा पर्याप्त युद्ध सामग्री छ । मेरो छिमेकीले यो भन्दा गतिलो सेना भएको दाबी गर्न सक्दैनन् ।
मिर्दाद: कुनै व्यक्ति वा वस्तुको बन्दी हुनु भनेको असहनीय कैद हो । मानवहरूको विशाल सेना र धेरै चीजहरूको समूहको बन्धन भनेको अन्तहीन निर्वासन हो । कुनै चिजमा आश्रित हुनु भनेको त्यसको कैदी बन्नु हो । त्यसैले ईश्वरमा मात्र भर पर । ईश्वरको कैदी हुनु निस्सन्देह स्वतन्त्र हुनु हो ।
राजकुमार: त्यसोभए के मैले आफूलाई, मेरो सिंहासन र जनताहरूलाई असुरक्षित छोड्नुपर्छ ?
मिर्दाद: आफैँलाई कमजोर नछोड ।
राजकुमार: त्यसैले मैले सेना राखेको छु ।
मिर्दाद: त्यसकारण तिमीले आफ्नो सेनाको विघटन गर्नुपर्छ ।
राजकुमार: तर मेरो छिमेकीले तुरुन्तै मेरो राज्य खोस्नेछ ।
मिर्दाद: उसले तिम्रो राज्यलाई खोस्न सक्छ, तर तिमीलाई कसैले खोस्न सक्दैन । दुईवटा कारागार एउटै बन्यो भने पनि स्वतन्त्रताको सानो घर बन्दैन । यदि कुनै मानिसले तिमीलाई तिम्रो जेलबाट छुटाउँछ भने, रमाऊ । तर आफैँ आफ्नो जेलमा कैद हुन आउने मान्छेको ईर्ष्या नगर ।
राजकुमार: म युद्ध मैदानमा आफ्नो बहादुरीको लागि प्रसिद्ध परिवारको सन्तान हुँ । हामीले अरूलाई युद्धमा जबरजस्ती कहिल्यै गर्दैनौँ । तर जब हामी लड्न बाध्य हुन्छौँ । हामी कहिल्यै पछि हट्दैनौँ । शत्रुको शवमाथि विजयको झण्डा नफहराएसम्म युद्धको मैदान छोड्दैनौँ । मेरो छिमेकीलाई उसले जे चाहन्छ त्यही गर्न दिनुपर्छ भन्ने तिम्रो सल्लाह उचित होइन ।
मिर्दाद: तिमीले शान्ति चाहन्छु भनेको होइनौ ?
राजकुमार: हो, म शान्ति चाहन्छु ।
मिर्दाद : त्यसो भए झगडा नगर ।
राजकुमार: तर मेरो छिमेकी मसँग लड्न रहर गरेको छ । म उसँग लड्नु पर्छ । ताकि हामीबीच शान्ति स्थापित होस् ।
मिर्दाद: तिमी आफ्नो छिमेकीलाई मार्न चाहन्छौ, ताकि तिमी उसँग शान्तपूर्वक बस्न सक ! कस्तो अनौठो कुरा ! मृतकसँग शान्तपूर्वक जीवन बिताउनुमा कुनै पुण्य छैन । जिउनेहरूसँग शान्तिपूर्वक बस्नु नै पुण्य हो । बरू तिमी कुनै जीवित व्यक्ति वा चीजसँग लड्नुपर्छ । जसको इच्छा र स्वार्थले कहिलेकाहीँ तिमीलाई बाधा पुर्याउछ भने, त्यसलाई अस्तित्वमा ल्याउनुहुने ईश्वरसँग लड । संसारसँग लड । त्यहाँ अनगिन्ती चीजहरू छन्, जसले तिम्रो मनलाई विचलित तुल्याइरहन्छ । तिम्रो हृदयलाई पीडा दिन्छ । तिम्रो जीवनलाई कमजोर बनाउँछ ।
राजकुमार: यदि मैले आफ्नो छिमेकीसँग शान्तिमा बस्न चाहेँ, तर ऊ लड्न चाहन्छ भने के गर्नुपर्छ ?
मिर्दाद: लड ।
राजकुमार: अब तिमी मलाई राम्रो सल्लाह दिन्छौ ।
मिर्दाद: हो, लड । तर छिमेकीसँग होइन । बरू तिनीहरूसँग लड, जसले तिमी र तिम्रो छिमेकीलाई आपसमा झगडा गराइरहेका छन् । तिम्रो छिमेकी तिमीसँग किन झगडा गर्न चाहन्छ ? के यसको कारण तिम्रो आँखा नीलो र उनको खैरो भएर हो ? के तिमी स्वर्गदूतहरूको सपना देख्छौ ?
तिमीले त्यो शैतानको सपना देख्यौ र ? वा तिमी र उसमा कुनै भिन्नता छैन जस्तो गरी उसलाई प्रेम गर्छौ ? तिमी आफ्नो जे छ त्यो उसको हो भन्ठान्छौ ?
राजकुमार ! तिम्रो छिमेकी, तिम्रो शाही पोषाक, तिम्रो सिंहासन, तिम्रो सम्पत्ति र वैभव लगायत तिमी बन्धक भएको सबै चीजहरूको लागि तिमीसँग लड्न चाहन्छ ।
के तिमी उसको विरुद्धमा हतियार नउठाएर उसलाई हराउन चाहन्छौ ? त्यसकारण उसले तिमीसँग युद्ध सुरु गर्नु अघि, तिमी आफै यी सबै चीज विरुद्ध युद्धको घोषणा गर । जब तिमी आफ्नो आत्मालाई तिनीहरूको चंगुलबाट मुक्त गर्छौ र तिनीहरूलाई जित्छौ, तिमीले तिनीहरूलाई फोहोरको थुप्रोमा फ्याँकिदिन्छौ । तिम्रो छिमेकी सायद पछि हट्नेछ । आफ्नो तरवार म्यानमा राख्छ र आफैँलाई भन्नेछ, “यदि यी चीजहरू लड्न लायकको भए, मेरो छिमेकीले तिनीहरूलाई फोहोरको थुप्रोमा फाल्ने थिएन ।”
यदि तिम्रो छिमेकीले आफ्नो पागलपन त्यागेन र फोहोरको थुप्रो लगेन भने, यस्तो घृणित बोझबाट तिम्रो स्वतन्त्रता रमाउँछ ? तिम्रो छिमेकीको दुर्भाग्यमा पछुताउछौ ?
राजकुमार: मेरो इज्जत ! मेरो इज्जतको के हुन्छ ? जुन मेरो समस्त सम्पत्ति भन्दा मूल्यवान छ ?
मिर्दाद: मानिसको गरिमा केवल एउटा मानिस हुनुमा निहित छ । एउटा मानिस, जो ईश्वरको जीवित छवि र प्रतिरूप हो । अरू सबै सम्मान अपमान मात्र हो ।
मानिसले दिएको इज्जत मानिसले सजिलै खोस्छ । तरवारले कोरेको सीमारेखा सजिलै मेटिन्छन् । यसको लागि एउटा खिया लागेको तीर कुनै इज्जतको लायक छैन । तातो आँसु बगाउन वा रगतको एक थोपा पनि बगाउन बिर्स ।
राजकुमार: र स्वतन्त्रता ? म र मेरो जनताको स्वतन्त्रता ? के यो सबैभन्दा ठूलो बलिदानको लायक छैन ?
मिर्दाद: साँचो स्वतन्त्रता, यसको लागि आफ्नो अहंकारको बलिदान लायक छ । तिम्रो छिमेकीको हतियारले त्यो स्वतन्त्रता खोस्न सक्दैन । तिम्रो आफ्नै हतियारले यसलाई प्राप्त गर्न सक्दैन । यसको रक्षा गर्न पनि सक्दैन । युद्धभूमि साँचो स्वतन्त्रताको लागि चिहान हो ।
साँचो स्वतन्त्रता हृदयमा मात्र पाइन्छ र हराउँछ ।
तिमी युद्ध चाहन्छौ ? त्यसैले आफ्नो हृदयसँग आफैँ लड । तिम्रो हृदयबाट हरेक आशा, हरेक डर र खाली इच्छाहरू हटाऊ । जसले तिम्रो संसारलाई निसास्सिने घेरा बनाउँछ । तिमीले यसलाई ब्रह्माण्ड भन्दा ठूलो पाउनेछौ । तिमी यस ब्रह्माण्डमा स्वतन्त्र रूपमा घुम्नुनेछौ । तिम्रो बाटोमा केही आउँदैन ।
यो एक मात्र युद्ध गर्न लायकको छ । यो युद्धमा संलग्न होऊ । त्यसपछि अरू युद्धको लागि समय प्राप्त हुनेछैन । त्यसपछिका युद्धहरू दुष्ट जनावर र राक्षसी चालहरूका रूपमा देखा पर्न थाल्नेछन् । जसको कार्य तिम्रो मनलाई गलत दिशामा मोड्ने र शक्तिलाई समाप्त पार्नु हो । यसरी तिमी विरुद्धको महान् युद्ध तिम्रो हारको कारण बन्नेछ । जुन वास्तवमा धार्मिक युद्ध हो । यो युद्ध जित्नु भनेको अनन्त जीवन प्राप्त गर्नु हो । तर कुनै पनि अन्य युद्धमा विजय पूर्ण पराजय भन्दा खराब छ । हरेक मानव युद्धको भयानक पक्ष त्यही हो ।
विजयी र पराजित दुवैले हारको सामना गर्छन् । कस्तो शान्ति चाहियो ? त्यसोभए कागजातहरूको शब्द खोजी नगर । यसलाई चट्टानहरूमा लेख्ने प्रयास पनि नगर । कलमले सहजै शान्ति लेख्छ ।
उसले युद्धको बारेमा पनि लेख्न सक्छ । “आऊ ! हामी शान्ति कायम गरौँ ।” “आऊ ! युद्ध गरौँ ।” जस्ता यावत शब्दहरू सजिलै कोर्न सक्छ । साथै, कागज र ढुङ्गा, कलम र छेनी आदि चाँडै नै कीरा, खिया र प्रकृतिक परिवर्तन तत्वहरूको शिकार बन्छन् । तर मानिसको समय र मुक्त हृदयको कुरा फरक छ । त्यो मात्र यस्तो सिंहासन हो, जसमा दिव्य ज्ञान विराजमान छ ।
दिव्य ज्ञान प्रकाशित भएपछि युद्ध तुरुन्तै जितिन्छ । हृदयमा स्थायी शान्ति स्थापित हुन्छ । युद्धग्रस्त संसारमा बस्दा पनि शान्त हृदय सधैं शान्त नै रहन्छ ।
अशान्त हृदय द्वैतले भरिएको हुन्छ । दोहोरो हृदयको परिणाम विभाजित संसार हो । विभाजित संसारले निरन्तर युद्धलाई जन्म दिन्छ ।
एउटा शान्त हृदय सधैँ एकताबद्ध हुन्छ । एकताबद्ध हृदयको परिणाम एउटै संसार हो । एक विश्व शान्तिमय संसार हो । किनभने लड्नको लागि दुई चाहिन्छ ।
त्यसैले हृदयलाई एकताबद्ध बनाउन यसको विरुद्ध लड्न सल्लाह दिन्छु । विजयको इनाम दिगो शान्ति हुनेछ ।
हे राजकुमार ! जब तिमीले हरेक चट्टानमा सिंहासन देख्न सक्छौ, हरेक गुफामा किल्ला पाउँछौ, तब सूर्य तिम्रो सिंहासन बन्न पाउँदा धेरै खुसी हुनेछ । ताराहरू तिम्रो किल्ला बन्नेछन् ।
जब खेतमा फक्रेको डेजीको प्रत्येक सानो फूल तिम्रो लागि पदक बन्न योग्य हुन्छ, हरेक कीरा तिम्रो गुरु बन्न योग्य हुन्छ, ताराहरू तिम्रो छातीमा सजिन पाउँदा खुसी हुनेछन् । पृथ्वी तिम्रो प्रचार मञ्च बन्न तयार हुनेछ ।
जब आफ्नो मनलाई शासन गर्न सक्छौ, तिम्रो शरीरमा शासन गर्नेले तिमीलाई के फरक पार्छ ? जब सारा ब्रह्माण्ड तिम्रो हुनेछ, पृथ्वीको एक टुक्रामा प्रभुत्व जमाउनेले तिमीलाई के फरक पार्छ ?
राजकुमार: तिम्रा शब्दहरू अति मनमोहक छन् । अझै पनि लाग्छ कि युद्ध प्रकृतिको नियम हो । के समुन्द्रका माछाहरु पनि निरन्तर लड्दैनन् ? के कमजोरहरू बलियोको शिकार बन्दैनन् ? तर म कसैको शिकार बन्न चाहन्नँ ।
मिर्दादः तिमीलाई युद्ध जस्तो लाग्छ त्यो त प्रकृतिको पेट भर्ने र आफैलाई विस्तार गर्ने तरिका हो । जसरी कमजोरका लागि खाना बनाइएको छ, त्यसरी नै बलियोका लागि पनि खाना बनाइएको छ । अनि, स्वभावमा को बलियो र को कमजोर ?
केवल प्रकृति बलियो छ । अरू सबै कमजोर प्राणीहरू हुन् । जसले प्रकृतिको इच्छालाई मान्छन् । चुपचाप मृत्युको धारामा बग्छन् ।
मृत्युबाट मुक्त जीवित प्राणीहरूलाई मात्र बलवानको दर्जा दिन सकिन्छ । हे राजकुमार ! के मानिस मृत्युबाट मुक्त छ ? हो, मानिस प्रकृति भन्दा शक्तिशाली छ । उसले आफ्नो आवश्यकता पूरा गर्नको लागि धनी प्रकृतिको शोषण गर्छ । उसले आफूलाई सन्तानमार्फत मात्र विस्तार गर्छ । ताकि उसले आफूलाई यस्तो विस्तारभन्दा माथि उठाउन सकोस् ।
जनावरहरूको शुद्ध प्रवृत्तिलाई उद्धृत गरी आफ्नो भ्रष्ट इच्छालाई सही ठहराउन चाहने मानिसहरूले आफूलाई जङ्गली बँदेल, ब्वाँसो, स्याल वा जेसुकै भनुन्, तर तिनीहरूको साहायताले मानिसको असल नामलाई कलंकित गर्न नदेऊ ।
ओ राजकुमार ! मिर्दादलाई विश्वास गर । आफ्नो शान्ति खोज ।
राजकुमार: गुरुले मलाई बताएका छन् कि मिर्दाद बोक्सीविद्याको रहस्य राम्ररी जान्दछन् । उसलाई विश्वास गर्न सकूँ भनी, उसले बताएको आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्छु ।
मिर्दाद: यदि मानिस भित्र ईश्वर प्रकट हुनु बोक्सी हो भने, मिर्दाद एक जादुगर हो । के तिमी मेरो जादूको कुनै प्रमाण र कुनै प्रदर्शन चाहन्छौ ?
हेर ! त्यसैले म प्रमाण र प्रदर्शन हुँ ।
अब जाऊ । जुन कामको लागि आएका हौ त्यही गर ।
राजकुमार: तिमीले सही अनुमान गर्यौ । तिम्रो मूर्ख कुराले मेरो कानलाई मनोरञ्जन दिनु बाहेक अरू काम पनि छ । बेसरको राजकुमार अर्को प्रकारको जादूगर हो । अब ऊ आफ्नो कला प्रदर्शन गर्नेछ ।
(तिमीहरूका सेनाहरूलाई) आफ्नो साङ्ला ल्याऊ । यसको गुरू वा मानव ईश्वरको हात खुट्टा बाँध । आऊ । उनी र यहाँ उपस्थित सबैलाई हाम्रो जादू कस्तो छ भनी देखाऊ ।
नरोन्दा: क्रूर जनावरले झैं, चार सिपाहीहरूले गुरुलाई घेरे । तुरुन्तै साङ्लाले हात खुट्टा बाँध्न थाले । सात साथीहरू एक क्षणको लागि स्तब्ध भए । आफ्नो अगाडि भएको घटना ठट्टा कि वास्तविकता ? उसले बुझ्न सकेन । मिकायन र जमोराले त्यो अप्रिय अवस्थाको गम्भीरता बुझेका थिए । दुई क्रोधित सिंह झैं तिनीहरूले सिपाहीहरूलाई प्रहार गर्न थाले । यदि उनीहरूले गुरुको आवाज नसुनेका र उनीहरूलाई हौसला नदिएका हुन्थे भने, उनीहरूले सिपाहीहरूलाई सजिलै हराइदिन्थे ।
मिर्दाद: उनीहरूलाई आफ्नो सीप प्रयोग गर्न देऊ । क्रोधले उत्तेजित मेरा प्रिय साथी मिकायन र जमोरा ! कृपया तिनीहरूको इच्छा पूरा गर्न देऊ । मिर्दादका लागि कालो खाडलभन्दा डरलाग्दो साङ्ला अरू छैनन् । राजकुमारको अधिकारलाई आफ्नो शक्तिमा मिलाएकोमा शमदामलाई खुसी मनाउन दिनु । यो नियम आफैँले दुवैलाई टुक्राटुक्रा पार्नेछ ।
मिकायनः हाम्रा गुरुलाई अपराधीलाई झैं बाँधिएको अवस्थामा हामी कसरी टाढिने ?
मिर्दाद: मेरो बारेमा चिन्ता नगर । धैर्य गर । यी मानिसहरूले तिमीसँग कुनै दिन यस्तो व्यवहार गर्नेछन् । तर तिनीहरूले आफैँलाई हानि गर्नेछन् । तिमीलाई होइन ।
राजकुमार: कानुनी अधिकार र शक्तिको विरोध गर्न हिम्मत गर्ने हरेक बदमाश र पाखण्डीलाई यस्तै व्यवहार गरिनेछ ।
यो धर्मात्मा (शमदामलाई औंल्याएर) यस मठको कानुनी गुरु हो । उसको वचन सबैको लागि कानुन हुनुपर्छ । यो पवित्र डुङ्गा, जसको उदारताको तिमी लाभ उठाउँदै छौ । त्यो मेरो संरक्षणमा छ । मेरो चनाखो आँखाले यसको भाग्य हेर्छ । मेरो पराक्रमी हात यसको छाना र सम्पत्तिमाथि फैलिएको छ । यसलाई छुने जो कोहिको हात मेरो तरवारले काटिदिनेछ । साबधान रहनू ।
(फेरि आफ्ना सेनाहरूतिर हेर्दै)
अध्याय उन्तीस
शमदामले आफ्ना साथीहरूलाई आफूसँग सामेल गराउन असफल प्रयास गर्छन्,
मिर्दाद चमत्कारी रूपमा फर्किन्छन् र शमदाम बाहेक सबै साथीहरूलाई विश्वासको चुम्बन दिन्छन्
नरोन्दा: जाडोले हामीलाई समातेको थियो । धेरै कठोर हिउँदे जाडो । मुटु काँप्ने जाडो ।
हिउँले ढाकिएका पहाडहरू चुपचाप उभिएर सास फेरे । तलका उपत्यकाहरूमा सुकेको हरियालीका टुक्राहरू मात्र देखिन्थे । यता उता चाँदीको रेखाजस्तै देखिने नदी समुद्रतिर बगिरहेको थियो ।
सात साथीहरू कहिले आशाका छाल त कहिले शङ्काका छालले दबिएका थिए । मिकायान, मिकास्टार र जमोरा गुरु आफ्नो प्रतिज्ञा अनुसार फर्कने आशामा अडिग थिए । बैनून, हिम्बल र अविमारले गुरुको फिर्ताको बारेमा आफ्नो शङ्कालाई पक्रिराखेका थिए । त
तैपनि सबैले भयानक शून्यता र पीडादायी बोझको अनुभव गरिरहेका थिए ।
डुङ्गा चिसोले ग्रस्त थियो । त्यहाँका भित्ताहरूमा विशाल बरफको सन्नाटा थियो । तैपनि शमदामले जीवनमा उत्साह भर्न सक्दो प्रयास गरिरहेको थियो । मिर्दादलाई लगिएदेखि शमदामले प्रेमद्वारा हामीलाई वशमा पार्न खोजिरहेको थियो । उसले हामीलाई स्वादिष्ट भोजन र दाखमद्य दियो ।
तर न त त्यो भोजनबाट ऊर्जा पाए । न त्यो वाइनबाट प्रेरणा पाए । तिनले काठ र कोइला निकै जलाए । तर त्यो आगोले हामीलाई न्यानो दिन सकेन । शमदामले एकदमै विनम्र व्यवहार गरिरहेका थिए । उनको व्यवहार प्रेमिल देखिन्थ्यो । तैपनि उसको नम्रता र स्नेहले हामीलाई ऊ बाट अझ टाढाको बनायो ।
लामो समयसम्म उसले गुरुको बारेमा केही चर्चा गरेन । तर अन्तमा आफ्नो भावना व्यक्त गर्दै भन्यो,
शमदाम: मेरा साथीहरू ! म मिर्दादलाई घृणा गर्छु भन्ने ठान्छौ भने ममाथि अन्याय गर्दैछौ । म मेरो सारा हृदयले उनको लागि दु: ख महसुस गरिरहेको छु ।
मिर्दाद खराब व्यक्ति नहुन सक्छन् । तैपनि खतरनाक आदर्शवादी छन् । ठोस यथार्थ र व्यावहारिकताको संसारमा उनले प्रचार गरिरहेको सिद्धान्त पूर्णतया अव्यावहारिक र गलत छ । क्रूर वास्तविकतासँगै उनको पहिलो मुठभेड र उनको अनुयायीहरूको दुःखद अन्त्य निश्चित छ । यसमा मलाई पूर्ण विश्वास छ । मेरा साथीहरूलाई यस्तो विपत्तिबाट बचाउन चाहन्छु ।
युवावस्थाको आवेगबाट प्रेरित मिर्दाद कुराकानीमा चतुर हुन सक्छन् । तर उनको हृदय अन्धो, जिद्दी र अधर्मी छ । जबकि मेरो हृदयमा साँचो ईश्वरको त्रास छ । मसँग मेरो निर्णयलाई महत्व र प्रमाणिकरण गर्ने वर्षौँको अनुभव छ ।
वर्षौँमा म भन्दा बढी लाभदायक डुङ्गा कसले व्यवस्थापन गर्न सक्छ ? के मैले तिमीसँग धेरै समय बिताएको छैन र ? तिम्रो लागि दाजु र बुवा दुवै भएको छैन ? के हाम्रो हृदयले शान्ति र हातले प्रशस्त समृद्धि पाएको छैन ? हामीले यति लामो समयदेखि निर्माण गर्दै आएका कुराहरू किन एक अपरिचित व्यक्तिलाई भत्काउन दिने ? अनि विश्वासको राज भएको ठाउँमा अविश्वासको बीउ छर्न र शान्तिको शासन भएको ठाउँमा असहमतिको बीउ छर्न किन दिने ?
साथीहरू हो ! रुखमा बसेका दसवटा चराको आशामा हातमा भएको एउटालाई छाड्नु सरासर पागलपन हो । मिर्दादले तिमीलाई यो डुङ्गा छोड भन्न चाहन्छन् । जसले तिमीलाई धेरै वर्षसम्म आश्रय दिएको छ । ईश्वरको नजिक राखेको छ । मानिसहरूले चाहेको सबै कुरा दिएको छ । संसारको समस्या र दुःखबाट सुरक्षित राखेको छ । बदलामा उनलाई के दिने वाचा गर्छौ ? दुःख, निराशा र गरिबी । र यसको शीर्षमा सधैँ झगडा ! उनले तिमीलाई यी लगायत धेरै खराब चीजहरू दिने वाचा गर्छन् ।
उसले हावामा डुङ्गा उचाल्ने वाचा गर्छ । अनन्त शून्यमा एउटा पागलको सपना, एउटा बाल्यकालको कल्पना र मीठो असम्भवता ! के उनी डुङ्गाको संस्थापक नोआभन्दा बुद्धिमान् छन् ? उनका बेतुक शब्द बारे सोच्दा र सोध्दा मलाई निकै दुःख लागेको छ ।
मेरो साथी बेथरका सुल्तानलाई मिर्दादको विरुद्धमा उसको बलियो हतियारको लागि मद्दत मागेर डुङ्गा र यसको पवित्र परम्पराहरू विरुद्ध अपराध गरेको हुन सक्छु, तैपनि म तिम्रो भलाइ चाहन्थेँ । यो मात्रै मेरो अपराध थियो भनेर प्रमाणित गर्नुपर्छ । निकै ढिलो हुनुअघि तिमीलाई यो डुङ्गाबाट बचाउन चाहन्थेँ । ईश्वरले मलाई साथ दिए । मैले तिमीलाई बचाएँ ।
साथीहरू हो ! मसँग रमाओ । ईश्वरलाई धन्यवाद दिनू । उनले हाम्रो पापी आँखालाई हाम्रो डुङ्गाको विनाश देख्ने ठूलो अपमानबाट बचाएका छन् । यो कलंकसँग म कत्ति पनि बाँच्न सक्दिनँ ।
मेरा प्रिय चेलाहरू ! अब आफूलाई हजरत नोआ, उनको जहाज र तिमीहरूको ईश्वरको सेवामा नयाँ रूपमा समर्पित गर्दछु । पहिले जस्तै खुसी रह । ताकि तिम्रै खुसीले मेरो खुसी पूरा होस् ।
नरोन्दा : यति भन्दै शमदाम रुन थाल्यो । उनको आँसु निकै दयनीय थियो । आँसु बगाउने ऊ एक्लो थियो । उसको आँसुले हाम्रो हृदय र आँखामा केही साथ पाएन ।
एक बिहान । निकै लामो समयपछि जब सूर्यले आफ्नो किरण पहाडका टाकुराहरूमा फैलायो, जमोराले आफ्नो विणा उठाए र गाउन थाले:
जामोरा,
मेरो ओठमा अहिले
शीतको गीत बसेको छ
हिउँले घेरिएको सपना
हिउँले घेरिएको मुटु
मेरो विणाको ।
हे विणा !
तिम्रो गीतलाई पगाल्ने वायु कहाँ छ ?
हे विणा !
तिम्रा सपनाहरूलाई मुक्त गराउने हात कहाँ छ ?
बेथरको कोठरीमा !
हे प्रेमिल वायु
जाऊ
बेथरको कोठरीको र साङ्लोबाट
मलाई एउटा गीत माग
हे चतुर सूर्यकिरणहरू
जाऊ
मेरो लागि
बेथरको कोठरीबाट साङ्लाले बनेको सपना भर ।
चीलका पखेटाहरू मेरा थिए
ती सारा आकाशमा फैलिएका थिए
म राजा थिएँ
अब
म अनाथ भएको छु
एक्लो र परित्याग गरिएको सन्तान हुँ
मेरो आकाशमा
अहिले उल्लु राज गर्दैछ
किनकि
चिल टाढाको गुँड फर्केको छ
बेथरको कोठरीमा ।
नरोन्दा: जमोराका हात लङ्गडा भए । उनको टाउको विणामा झुक्यो । आँखाबाट आँसु खस्यो । त्यो आँसुले हाम्रो दबिएको पीडाको बाँध फुटायो । हाम्रो आँखाबाट आँसुको धारा बग्यो ।
मिकायनन अचानक उठे र यति चर्को स्वरले चिच्याए कि, उनी निसास्सिरहेका थिए । उनी हतार-हतार खुला हावामा गए । जमोरा, मिकास्टार र म उनको पछिपछि आँगन हुँदै ठूलो पर्खालको ढोकामा पुग्यौँ । जहाँ हाम्रा साथीहरूलाई अगाडि जान हिम्मत थिएन । शक्तिशाली झट्का दिँदै मिकायनले भारी आग्लो ताने । ढोका खुल्यो । जो आफ्नो खोरबाट बाघ भागे जस्तै बाहिर निस्क्यो । अरू तीन जना पनि मिकायनको पछि लागे ।
सूर्यमा रमणीय न्यानोपन र चमक थियो । यसको किरणहरू जमेको हिउँबाट उछालिए । तिनीहरूको चमकले हाम्रा आँखा झनै चम्किए । जहाँसम्म आँखाले देख्यो कि, अग्ला र रूखविहीन पहाडहरू हिउँले ढाकिएका थिए । अनौठो रङको प्रकाशले सबै उज्यालो भएजस्तो लाग्थ्यो । चारैतिर गहिरो सन्नाटा छाएको थियो । जसकारण कान लाटो भएको थियो । हाम्रो पैतालामुनिको चिसो हिउँले मात्र त्यो मौनताको जादू तोडिरहेको थियो । हावाले शरीरलाई सताइरहेको भएपनि, यसले हाम्रो फोक्सोलाई यसरी स्याहार गरिरहेको थियो कि, हामी बिना प्रयास उडिरहे झैं महसुस भयो ।
थप कुरा के हो भने, मिकायनको स्वभाव पनि परिवर्तन भयो । उनी रोकिए र ठूलो स्वरमा भने, “सास फेर्न पाउँदा कति आनन्द लाग्छ । र यो साँच्चै महसुस भयो कि पहिलो पटक हामीले स्वतन्त्र रूपमा सास फेर्दाको आनन्द अनुभव गरेका छौँ । सासको अर्थ बुझेका छौँ ।
हामी केही टाढा पुगेका थियौँ । मिकास्टारले अग्लो ढिस्कोमा कालो छाया देखे । हामी मध्ये कतिपयले त्यो एक्लो ब्वाँसो हो भन्ने सोचेका थिए । कसै-कसैले सोचे कि त्यो चट्टान हो । जुन हावाले माथिको हिउँ उडाएर बाहिर निकालेको थियो । तर त्यो छायाँ हामीतिर आउँदै गरेको जस्तो लाग्थ्यो । हामीले उनको निर्देशन पछ्याउने निर्णय गर्यौँ । उनी हाम्रो नजिक आए र बिस्तारै मानव रूप धारण गरे । अचानक मिकायनले चर्को स्वरले भने, “ऊ नै हो ! ऊ नै हो !”
उनी उस्तै थिए । उनको आकर्षक हिँडाइ । गर्विलो मुद्रा । सम्मानित र उच्च शिर । उडिरहेको हावाले उनको लुगासँग लुकामारी खेलिरहेको थियो । लापरवाहीपूर्वक उहाँको लामो र कालो दारी कपाल जिस्किरहेको थियो । घामको किरणले अनुहारको नरम र खैरो त्वचा धपक्क बलेको थियो । तर अँध्यारो र काल्पनिक आँखाबाट गहिरो शान्ति र विजयीका प्रेमिल छालहरू बगिरहेका थिए । काठको चप्पलमा सजिएका उनका खुट्टालाई गाढा गुलाबी हिउँले चुमिरहेको थियो ।
मिकायन सबैभन्दा पहिला उनीकहाँ पुगे । रुँदै र हाँस्दै उनको पाउ परे । अचेत अवस्थामा गनगन गर्न थाले । “मेरो आत्मा मैकहाँ फिर्ता आएको छ ।”
अरु तीन जना पनि उनको पाउमा परे । गुरुले तिनीहरूलाई एक एक गरी उठाए । सबैलाई अपार प्रेमले अँगालो हालेर भने,
मिर्दाद: विश्वासको चुम्बन प्राप्त गर । अबदेखि तिमीहरू विश्वासमा सुत्नेछौ । विश्वासमै उठ्नेछौ । शङ्का तिम्रो तकियामा कहिल्यै बस्नेछैन । साथै अनिश्चितताले समेत तिम्रो पाइलालाई बाँध्ने छैन ।
नरोन्दा : डुङ्गामा बसेका चारजना साथीले गुरुलाई ढोकामा देखेपछि पहिला छाया हो भनी डराए । तर गुरुले प्रत्येकलाई नाम लिएर बोलाए । उनीहरूले गुरुको आवाज सुने । उनीहरू तुरुन्तै अगाडि आए र उनको पाउमा ढले । शमदाम मात्र आफ्नो कुर्सीमा टाँसिएर बसेको थियो । गुरुले ती तीन जनालाई पनि त्यही भने, जसरी उनले पहिले चार साथीहरूलाई भनेका थिए ।
शमदाम खाली नजरले हेरिरह्यो । ऊ शिरदेखि पाउसम्म काँपिरहेको थियो । अनुहार लाशझैं फिक्का थियो । ओठहरू काँपिरहेको थियो । हातले लक्ष्यविहीन कम्मर समातिरहेको थियो । अचानक आफ्नो कुर्सीबाट उठ्यो र अतालिदै गुरु उभिएको ठाउँमा पुग्यो । गुरुको खुट्टालाई काखमा लिएर भुइँतिर अनुहार फर्काइ चिन्तित हुँदै भन्यो, “मलाई पनि विश्वास छ ।”
गुरुले उनलाई पनि उठाए, तर चुम्बन नगरी भने,
मिर्दादः डरले नै शमदामको भारी शरीर काँप्दै ‘म पनि विश्वास गर्छु’ भनिरहेका छन् ।
मिर्दादलाई कालो खाडल र बेथरको कोठरीबाट बाहिर ल्याउने जादूसामु शमदाम काँप्दै र शिर झुकाउँदै छ । उसलाई गुरुले बदला लेलान कि भन्ने डर छ । यसबेला उसले आराम गर्नुपर्छ । आफ्नो हृदयलाई साँचो विश्वासमा निर्देशित गर्नुपर्छ ।
डरको छालहरूमा उभिएको विश्वास फोहोरको थुप्रो मात्र हो । ऊ डरसँगै उठ्छ र बस्छ । साँचो विश्वास प्रेमको हाँगामा मात्र फुल्छ । अन्त कतै फुल्दैन । यसको परिणाम दिव्य ज्ञान हो । यदि तिमी ईश्वरसँग डराउछौ भने, ईश्वरलाई विश्वास नगर ।
शमदाम: (पछाडि हेर्दै, भुइँमा आँखा टेकेर) शमदाम आफ्नै घरमा अनाथ र बहिष्कृत छ । कम्तिमा एक दिनको लागि मलाई तिम्रो दास बन्न देऊ । तिम्रो लागि केही खाना र केही न्यानो लुगाहरू ल्याउन देऊ । तिमी धेरै भोको र जाडोले थकित छौ ।
मिर्दाद: मसँग खाना छ । जुन कुरा भान्सालाई थाहा छैन । र त्यो न्यानोपन, जुन ऊन वा ज्वालाको धागोबाट उधारो लिन सकिदैन । के शमदामले आफ्नो पसलमा यी भोजन र न्यानोपन अन्य खाद्य पदार्थ र इन्धन कम गर्नको लागि राखेको थियो ?
हेर, हिमालको चुचुरोमा जाडो काट्न समुन्द्र आएको छ । जमेको समुद्रलाई कोट बनाएर लगाउन पाउँदा शिखर खुसी छ । ऊ आफ्नो कोटमा न्यानो महसुस गरिरहेको छ ।
समुद्र पनि चुचुराहरूमा सुत्न पाउँदा खुसी हुन्छ । यति शान्त । केही समयको लागि मंत्रमुग्ध । तर केही समयको लागि मात्र । किनकि वसन्त अवश्य आउनेछ । समुन्द्रले हिउँदमा सुतेको सर्पझैँ आफ्नो कुण्डल खोल्नेछ । आफूलाई अस्थायी रूपमा बन्धक बनाउने स्वतन्त्रता फिर्ता लिनेछ । फेरि एक किनारबाट अर्को किनारमा लहरिनेछ । फेरि एकपल्ट हावामा सवार भएर आकाशको यात्रा गर्नेछ । आफूले चाहेको ठाउँमा पर्फ्यूमको रूप लिई तितरबितर हुनेछ ।
तर तिमीजस्ता मानिसहरू पनि छन् । जसको जीवन अनन्त जाडो र लामो निद्रा हो । वसन्तको आगमनको कुनै संकेत नदेख्ने यिनै मानिसहरू हुन् । हेर ! मिर्दाद शगुन हो । मिर्दाद जीवनको शगुन हो । मृत्युको घण्टी होइन । तिमी कहिलेसम्म वेहोस भै सुतिरहने ?
मलाई विश्वास गर शमदाम ! मानिसले बाँच्ने जीवन र मर्ने मृत्यु दुवै लामो निद्रा हुन् । म मानिसहरूलाई तिनीहरूको निद्राबाट जगाउनुको साथै गुफा र द्वारबाट बाहिर ल्याएर अमर जीवनको स्वतन्त्रतामा लैजान आएको हुँ । मलाई विश्वास गर । मेरो लागि होइन । बरू तिम्रो आफ्नै लागि ।
नरोन्दा: शमदाम निश्चल उभियो । मुख खोलेन । बैनूनले मेरो कानमा फुस्फुसाउँदै गुरुलाई सोध्न भन्यो कि, उनी बेथरको कोठरीबाट कसरी निस्कन सफल भए ? तर मेरो जिब्रो यो प्रश्न सोध्ने अनुमति मान्न तयार थिएन । तर गुरुले तुरुन्तै हाम्रो नसोधिएको प्रश्नको जवाफ दिए ।
मिर्दादः बेथरको कारागार अब जेल रहेन । पवित्र मन्दिर बनेको छ । बेथरका राजकुमार पनि अब राजकुमार रहेनन् । आज उनी तिमीहरू झैँ सत्य खोज्ने यात्री भएका छन् ।
अँध्यारो कालकोठरीलाई पनि उज्यालो मन्दिरमा परिणत गर्न सकिन्छ । घमण्डी राजकुमारलाई पनि सत्यको अगाडि आफ्नो नक्कली मुकुट त्याग्न प्रेरित गर्न सकिन्छ । क्रोधित साङ्लोबाट पनि दिव्य संगीत उत्पादन गर्न सकिन्छ । दैवी ज्ञानको लागि कुनै चमत्कार छैन । चमत्कार आफैमा ईश्वरीय ज्ञान हो ।
नरोन्दा: बेथरका राजकुमारले राज्य परित्याग गरेको शब्दहरू शमदामको कानमा बिजुलीझैँ वर्षे । उसलाई अचानक यस्तो अनौठो र हिंस्रक आघातले समात्यो कि, हामी उनको जीवनको बारेमा गम्भीर भयौँ । आघात बेहोसमा परिणत भयो । धेरै बेरको प्रयासपछि मात्र हामीले उसलाई होशमा ल्याउन सक्यौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।