दार्शनिक वर्गसाँ १८ अक्टोबर १९५९ मा फ्रान्सको राजधानी प्यारिसमा जन्मेका थिए । उनका पिता माइकल वर्गसाँ यहुदी मूलका पोल्याण्डेली पियानो बादक थिए । आमा क्याथरिन लुइसन चाहिँ यहुदी मूलकी अङ्ग्रेज परिवारकी डाक्टरकी छोरी थिइन् । वर्गसाँको जन्मपछि उनको परिवार केही समय लण्डनमा बसोबास गर्थ्यो । उनले अङ्ग्रेजी भाषाको प्रारम्भिक ज्ञान आफ्नी आमाबाट हासिल गरेका थिए। उनी नौ वर्षका भएपछि उनको परिवार लण्डनबाट फ्रान्सको प्यारिस फर्क्यो र उनी पनि फ्रेञ्च नागरिक नै भए। सन् १८९१ मा उपन्यासकार मार्सल प्रूष्टका काकाकी छोरीसँग उनको विवाह भएको थियो ।
उनी प्राध्यापक थिए। उनी सन् १९१४ मा फ्रान्सेली प्रज्ञा प्रतिष्ठानका सदस्य पनि भए। प्रख्यात दार्शनिक र विचारक वर्गसाँले सन् १९२७ को नोबेल पुरस्कार प्राप्त गरे। उनको दार्शनिक सिद्धान्त मुख्यतः विकासवादसँग सम्बन्धित छ भने उनी जडवादका विरोधी देखिन्छन् ।
वर्गसाँका प्रसिद्ध पुस्तकका आधारमा उनको दर्शनको विकास भएको छ। ती पुस्तकमा उनले स्वैरकल्पना, प्रतीक र दृष्टान्तका आधारमा जीवनको नयाँ व्याख्या गरेका छन् । वर्गसाँका धेरै निबन्ध र समीक्षा उनका संकलन मस्तिष्कको शक्ति (Mind Energy, 1919) र विचार र गति (Thought and Motion, 1934) पुस्तकमा संकलित छन् । वर्गसाँका रचनाहरू सात ठेलीमा सङ्कलित र प्रकाशित छन् । निम्नलिखित उनका अन्य प्रसिद्ध पुस्तक हुन् :
१. समय र स्वतन्त्र विचार (Time and Free Will, 1889), २. तत्वज्ञानको परिचय (An Introduction to Metaphysics, 1903), ३. भौतिक पदार्थ र स्मृति (Matter and Memory, 1896), ४. रचनात्मक विकास (Creative Evolution, 1907), ५. नैतिकता र धर्मका दुई स्रोतहरू (The Two Sources of Morality and Religion, 1932), र ६. हाँसो (Laughter, 1900)
जनवरी ४, १९४१ मा राजधानी प्यारिसमा हेनरी वर्गसाँको देहान्त भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।