किस्सा एक:
दश कक्षाको सुरुवाती दिनहरूमै हुनुपर्छ । एकाएक ममा भूत चढ्यो । भयंकर भूत । त्यो भूतको नाम मोबाइल थियो । त्यो पनि रङ्गीन ।
ममा रंगीन मोबाइलको भूत चढे यसरी चढ्यो कि मैले आफैँलाई बिर्सिएँ । हाँस्न, पढ्न र घरमा राम्रोसँग कुरा गर्न पनि बिर्सिएँ । अरू के के बिर्सिएँ ? मलाई थाहा छैन ।
म दशमा पढिसक्दा पनि हामीमाझ मोबाइलको सहज पहुँच थिएन । भर्खर भर्खर एनसेलले सस्तो र सहज तरिकाले सिम दिन थालेकाले मोबाइल बोक्ने हातहरु बढेका थिए । तर मोबाइल बोक्ने हातहरुमा बाहुल्य सादा मोबाइलकै थियो । सादामा पनि नोकियाको एघार सय दश मोडल ।
घर घरमा बिजुली बल्न थालेको थियो तर गाउँले बिजुलीको उपभोगमा हस्तक्षेप राखेसँगै लोडसेटिङ पनि ह्वातै बढेर गएको थियो । दिनमा १८ घण्टासम्म लोडसेटिङ हुने समय थियो त्यो । अहिले त कुलमान आए र हामीलाई उज्यालोको स्वाद चखाइदिए । जीवनमा कुन समयमा उज्यालो बोकेर खै को आइपुग्छ ? मलाई थाहा छैन ।
अँ, मेरो मगजमा एउटै मात्र कुराले डेरा जमाएर बसेको थियो, रंगीन मोबाइल । पढाइ त धुलिट्याम भई नै गयो । म मोबाइलकै बारेमा मात्र सोचेर एकोहोरिन पनि थालेछु । सायद बाबालाई लाग्यो– यसको घिड्घिडो नमेटिए बौलाउँछ । पढाइ बिगार्छ । अहिलेसम्म यसरी केही कुरामा जिद् गरेको थिएन । सायद अब उमेर पुग्दै गएर होला ! मरोस् त अब, एउटा ५ हजारको सेट रिनै गरेर भए पनि ल्याइदिन्छु ।
हो, ड्याडीले पाँच हजार रिनै गरेर मेरो हातमा थमाइदिनुभयो र भोलि बिर्तामोड गएर चाहिएको मोबाइल ल्याउन भन्नुभयो । त्योबेला नोकियाको सादा मोबाइल नै पनि तीन हजार घटी आउँदैन थियो । रंगीन पाँच हजारमा आउने कुरै भएन तर चाइनिज भने आउँथ्यो । मोहन (साथी) लाई साथमा लिएर गएर मैले ४२ सयको चाइनिज मोबाइल किनेँ । खाजा र सिम किन्दा पाँचै हजार झर्याम् । धन्न मेमोरी भने मोबाइलमै दियो । अर्काे पाँच सय बच्यो ।
चाइनिज मोबाइलमा गीत तथा भिडियो घन्किन थालेपछि भने मैले फेरि आफैँलाई सम्झिन थालेँ । बिस्तारै पहिलेकै अवस्थामा फर्किएँ । साथीमाझ सानाका लागि केही महिना गोजीमा मोबाइल हालेर स्कूल पनि गएँ । साथीहरूका लागि केही समय मेरो मोबाइल खुब चासोको विषय बन्यो पनि । तर एकै कुरो सधैँ चासोको विषय बनिरहन सक्दो रहेनछ । न आफ्नो लागि, न त अरूका लागि नै । बर्खापछि म पढाइतिर तानिएँ । मोबाइललाई बिर्सिदै गएँ ।
सायद, मोबाइल किन्दाको पाँच हजार रिन जिउँका तिउँ थियो, मोबाइल बिग्रियो । खै किन सामान बिग्रिदा मन नासिन्छ, तर रिन बिग्रिदा धन ? मलाई थाहा छैन ।
किस्सा दुईः
ममा चढेको मोबाइलको भूत चाइनिजले शान्त बनायो, जुन मेरो जीवनको पहिलो मोबाइल थियो । दोस्रो बनेर आयो आधा मात्र किप्याट भएर, आधा उप्किएर गइसकेको वोडाफोन ।
सरोज मेरो गाउँ सानोको यार । सानो मात्र होइन, कोक्रोकै साथीभन्दा हुन्छ । तर ऊसँगका कोक्रोका यादहरू मेरो मगजले स्टोर गर्न सकेनन् । तर अन्तरालमा वोडाफोन उसको याद बनेर मेरो जीवनमा आयो ।
उसले पढाइ छोडिसकेको थियो । नजिकैको इँटा भट्टाकम काम गर्थ्यो । पैसा राम्रै कमाउँथ्यो सायद । नयाँ रंगीन मोबाइल किन्यो । रंगीन मोबाइल भएपछि पुरानो सादा वोडाफोनको के काम, बेच्छु भन्यो । एसलएसीपछि इँटा भट्टामै १० दिन इँटा मिलाउने काम गरेर मैले एक हजार रुपैयाँ कमाएको थिएँ । उसले आधामात्र किप्याट भएको मोबाइलको दाम ६ सय रुपियाँ राख्यो । मैले काम गरेको पैसाले कपडा किनिसकेको थिएँ । साथमा बाँकी जम्मा दुई सय थियो । त्यही दुई सय क्यास दिएर बाँकी बिस्तारै दिन सर्तमा उसले मलाई मोबाइल बेच्यो । केही समयमा उसलाई मैले अर्काे एक सय पनि दिएँ । त्यसपछि रहेको तीन सय दिने दिन अहिलेसम्म आएन । माग्नकै लागि त उसले धेरैपटक मागेको पनि हो, तर उसले मागेको समयमा मेरो तीन सयको हैसियत कहिल्यै भएन । पछि पछि उसले माग्नै छोड्यो ।
करिब १ वर्ष चलाएपछि मोबाइल पनि बिग्रियो । अहिले त त्यो मोबाइलको अवशेष कतै माटोमुनि दबिएर रहेको होला । तर कतै वोडाफोन देखेँ, या हिन्दी च्यानलमा वोडाफोनको विज्ञापन सुने भने मात्र पनि मलाई सरोजको याद आउँछ । अँ, मोबाइलको त आयु हुन्छ, तर यादको आयु कति हुन्छ ? मलाई थाहा छैन ।
किस्सा तीनः
कुरा दश कक्षाताकाको हो । मेरो मिल्नेमध्येको एक साथी प्रकाशसँग रंगीन मोबाइल थियो । उसो त दश कक्षामा प्रकाशलाई साउथ पोइन्ट ट्युसन सेन्टरको भर थियो । स्कूल त्यति नआउने । ऊ स्कूल आएपछि माहोल नै गरम बनाइदिने ।
चौथो पिरियड सकिएपछि एक घण्टाको ब्रेक हुन्थ्यो । त्यो ब्रेकमा प्रकाश आएको दिन हामी स्कूलभन्दा ५०० मिटरमाथि रहेको सिसाै तथा बाँसघारीमा पुग्थ्यौँ । त्यो ब्रेक टाइमलाई रंगीन बनाउन प्रकाशले आफ्नो मोबाइलमा अनेक अनेक श्रव्य तथा दृष्य सामाग्री लिएर आएको हुन्थ्यो । कहिले डबल मिनिङवाला गजल तथा कहिले भल्गर कार्टुन । कहिले हर्टेस्ट हिन्दी भिडियो त कहिले कट (पोर्न भन्ने थाहा थिएन) ।
एकदिन, ब्रेकको मनोरञ्जनमा प्रकाशले कट लिएर आएको रहेछ । ठूला सिमलको कापमा गुजुल्टिएर हामी हेर्नमा मस्त थियो । सबै केटाहरूको एकाग्रता यस्तो थियो कि मानौँ, उनीहरूले मोबाइलबाट एक पल मात्र आँखा हटाए वा झिमिक्क मात्र गरे भने पनि भुइँचालो जान्छ । हाल त मेरो पनि उस्तै थियो । तर प्रकाश मोरो भने हाम्रो हाउभाउमा रमिरहेको रहेछ । उसले आफ्नो चोरी औँलाले मेरो जिपमा प्याट्ट पार्याे । म त झसङ्गै । रासलीलामा रातोपिरो भइरहेको म एकाएक लाजले पिरो भएँ । मैले त प्यान्टको जिप नै पो लाएको रहेनछ ।
“पेन्टी लाउँदैनस् क्या ओ ?”, प्रकाशले हाँस्दै सोध्यो । अरू केटाहरूको आँखा पनि मतिर मोडियो । माहोल एकाएक परिवर्तन । मेरो लाजको सीमा सायद त्यही सिमलको फेदबाहेक अरू कोकसले थाहा पाए ? मलाई थाहा छैन ।
“लाउदिन चाहिँ होला ! अलि लुज भएको छ,” मैले आफ्नो अवस्था सम्हाल्न भ्याइसकेको थिएँ ।सबै केटाहरु गल्ल… हासेँ । मैले पनि जबर्जस्ती हाँसो मिसाइदिएँ । तर प्रकाश, साँच्ची त्यो दिन तैँले प्रश्न हैन, उत्तर दिएको थिइस् । मैले अन्डरवेअर लाएकै थिइनँ ।
……………
माथि उल्लेखित तीन किस्साहरू कीप्याडवाला मोबाइलका थिए । स्मार्ट फोनले हामीलाई स्मार्ट बनाएको त कति नै पो समय भयो र !
अहिले मोबाइल नैलो विषय होइन । बरू कसैका साथमा कीप्याडवाला मोबाइल देखियो भने नौलो लाग्न सक्छ । मेरा दुई वर्षका भान्जा मोबाइलमा कार्टुन नहेरी खाना खाँदैनन् । मलाई स्मार्ट फोनमा केहीबेर सञ्जाल नचहारी निद्रा लाग्दैन । आखिर कुनै पनि समयलाई कुनै जमाना हुन कति नै पो समय लाग्दो रहेछ र !
उल्लेखित तीन किस्सा सिर्फ सम्झना हुन् । मैले मोबाइलका बारेमा पनि कुनै दिन लेख्नु पर्नेछ भनेर कहिल्यै सोचेको थिइनँ । तर खै किन जीवनमा नसोचेका कुराहरू नै बारबार भइरहन्छ ? मलाई थाहा छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।