सन् २०१५ मा बेलायतको ग्लास्गोमा आयोजना भएको टेलर स्विफ्टको सांगीतिक कन्सर्टमा मरिहत्ते गरेर गायिकालाई भेटेकी जेनिफर कोवाल्स्की यतिबेला टेलरविरोधी देखिएकी छन् ।

त्यो बेला उनलाई टेलरले मञ्चबाट नाम बोलाएर आफूसँग तस्बिर खिचाएकी थिइन् । उनीसँगै जेनिफरकी बहिनी पनि थिइन् । टेलरले दुई दिदीबहिनीलाई अँगालोले बेरेर तस्बिर खिचाएकी थिइन् ।

विरोधपछि उत्सव मनाउँदै

यसको ठीक नौ वर्षपछि बेलायतमा इरा टूर नामक कन्सर्टका लागि आउँदा जेनिफरले टेलर स्विफ्टले प्रयोग गरेको निजी जेट विमानमा पहेँलो पोतेर विरोध गरिन् ।

पछिल्लो समय जेनिफरले अति खर्चालु र पर्यावरणमा गम्भीर प्रभाव पार्ने निजी जेटको प्रयोगबारे उनी विरोध कार्यक्रम चलाइरहेकी छन् । २८ वर्षे जेनिफरले जस्ट स्टप आयलकी अभियन्ता २२ वर्षीया कोल म्याकडोनाल्ड सँग मिलेर स्टान्स्टेडस्थित विमानस्थलको भिआइपी विभाग छलेर त्यहाँ रोकिराखिएका दुई वटा विमानलाई पहेँलो रंग्याइदिएका हुन् ।

उनीहरूले रंग्याइदिएको विमान गायिका टेलर स्विफ्टले प्रयोग गरेकी थिइन् कि थिइनन्, प्रस्ट हुन सकेको छैन तर यस घटनाले विमानको उडान भने नरोकिएको जनाइएको छ ।

निजी जेट विमान रंग्याएर विरोध गर्दै

उनीहरूले निजी विमान रंग्याएको भिडियो बिहान ५ बजे सार्वजनिक गरेका थिए । उनीहरूले भिडियोमा सरकारले नयाँ खनिज तेल र ग्यासका ठूला आयोजनामा लगानी गर्न बन्द गर्नुपर्ने माग गरेका छन् ।

केही दिनअघि मात्र जब गायिका स्विफ्टले निजी विमान प्रयोग गरिरहेको समाचार प्रसारण भयो, पत्रकार क्रिस प्याकहमले त्यसको आलोचना गरेका थिए । खर्बपतिहरूले बढीभन्दा बढी कार्बन उत्सर्जनका सामग्रीहरू प्रयोग गरिरहेकोमा उनीहरूले आलोचना गरेका हुन् ।

प्लेन रंग्याउने दुवैलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि यस्तो घटना कहिल्यै नघटेको बताउँदै प्रहरीले अरूका सम्पत्ति नष्ट गर्ने अधिकार अधिकारकर्मीहरूलाई नभएको बताएका छन् ।

बेलायती सरकारले यसअघि सन् २०३० सम्म डिजेल र पेट्रोल कार प्रयोगमा कडाई गर्ने बताएको थियो ।