तोया गुरुङ – नेपाली आधुनिक कविताका शीर्षस्थ कवि हुन् । प्रयोगात्मक र प्रतीकात्मक भावव्यक्त गर्न सक्ने उनका कवितामा वैश्विक चिन्तन निक्कै सघन देखिन्छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानमा पहिलो महिला प्राज्ञका रूपमा प्रवेश पाएकी गुरुङ – शान्त, शालीन र मृदुभाषी व्यक्तित्वकी धनी कवि हुन् ।

सधैं सम्यक् विचार र सम्यक् चिन्तन गर्ने तोया गुरुङले नेपाली राजनीति र साहित्यका उच्च व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला लगायतसँग विराटनगरमा संगत गर्ने अपूर्व अवसर प्राप्त गरिन् ।

उनका कवितामा प्रकृति / नारी र मानिसका अव्यक्त अवगुम्फनहरूको लयदार प्रस्तुति हुन्छ । उदार भावना / परिवर्तनकारी सोच र शालीन विद्रोह उनका कविताको नूतन आयाम हुन् ।

बुबा आर्मीको लप्टन हुनुहुन्थ्यो । पुरानो घर खोटाङ बाक्सिला भए पनि उनको जन्म सिन्धुपाल्चोकको कुतीमा भएको हो । माता पदमकुमारी गुरुङ र पिता पूर्णबहादुर गुरुङको कोखबाट बि.सं. २००४ चैत्र १८ जन्मिएकी तोया गुरुङले एम.ए. (नेपाली), बी.एल. गरेकी छन् ।

प्रस्तुत छ – आजभन्दा ५४ वर्षअघि सुश्री तोया गुरुङ, विराटनगरको नाममा – वि.सं. २०२७ साल सालको ‘मधुपर्क’ वर्ष ३ अङ्क ६ मा छापिएको ‘केही रेखाहरू कोर्दै लाँदा’ शीर्षकको कविता ।

केही रेखाहरू कोर्दै लाँदा

सुश्री तोया गुरुङ

तोया गुरूङ

निर्दोषी आमाले
कुर्ली कुर्ली ओथारा बसेर
आफ्नो मृत खसमको तस्वीरमा
सिउँदोको रेखा छामेर
एउटा व्यथा जन्मन्छ
एउटा नवआगन्तुक जन्मन्छ

निर्दोषी आमाले
पलाएको रस चुसाउँदै
घमाइलो आँगनमा थाङ्ना ओछ्याएर
हिमाली जलपको धर्सा मुछ्दै
युगको लय हालेर
पहाडी माटोमा तोरीको फूल सुकाउँदै
थाप्लोमा नाम्लोको डाम बोकेर
कोक्रोभरि नवआगन्तुक जन्मन्छ

केही उत्साह बोकेर
केही प्रेरणा पोखेर
केही व्यथा बोकेर
अधवैंसे रेखा कोरिन्छ कंचटभरि व्यथा बोकेर
छातीभरि ममता बोकेर
लीटोको स्वाद निलेर
तिमीलाई नरुवाउने विरह बोकेर

एउटा अदृश्य आवाज संगालेर
जिन्दगीको काउकुती पन्छाएर
जुवारीको संगीत थर्काउन
अनि बाँकी-बक्यौता इतिहासलाई
सबै दौंतरी रेखाहरूले
इतिहासको अपूरो पाना कोर्ने बिहानी खोपेर
इतिहासको अपूरो पाना कोर्ने बिहानी खोपेर ।

***