अध्याय छब्बीस

अंगूर उत्सवमा तिर्थ यात्रीहरूलाई मिर्दादले प्रभावशाली उपदेश दिन्छन्, साथै अनावश्यक वजनको डुङ्गालाई केही राहत दिन्छन्

मिर्दाद: हेर मिर्दाद ! त्यो अंगूरको बोट, जसको बाली अझै कटनी भएको छैन । जसको रस अझै पिइएको छैन ।

मिर्दाद आफ्नो बालीले भरिएका छन् । तर बाली काट्नेहरू अन्य कामकाजमा व्यस्त छन् ।

मिर्दाद रसको प्रचुरताले निसास्सिरहेको छ । तर पिउने र पिलाउनेहरू अन्य रक्सीको नशामा छन् ।

हलो, कोदालो र हँसिया चलाउनेहरूलाई म आशिर्वाद दिन्छु ।

तिमीहरूले अहिलेसम्म के जोत्यौ ? के खन्यौ ? के काट्यौ ?

के तिमीले आफ्नो आत्माको उजाड जमिन जोतेका छौ ? जहाँ सबै प्रकारका झारपातहरू यति धेरै बढेका छन् कि, तिनीहरू साँच्चै जङ्गल बनिसकेका छन् । जसमा डरलाग्दो सर्प, बिच्छी आदि फस्टाउँदैछन् । तिनीहरूको संख्या बढ्दै छ ।

के तिमीले ती घातक जराहरूलाई उखेलेका छौ ? तिनीहरू सबै तिम्रो जराहरूमा टाँसिएका छन् । तिनीहरूको पालनपोषण गरेर आफ्नो अंगुरको हत्या गर्दै छौ ।

के तिमीले आफ्ना हाँगाहरू छाँटेका छौ ? जुन विषालु कीराहरूले खोक्रो पारिरहेका छन् ।

ठीक छ । तिमीले आफ्नो सांसारिक खेतबारी जोत्न, तिनीहरूलाई खन्न र छाँट्न राम्रोसँग सिकेका छौ । तर त्यो अलौकिक खेतबारी ? जुन तिमी आफै हौ । जुन बेस्सरी उजाडिएको र उपेक्षित छ ।

बगैँचामै रहेर पनि बगैँचालाई ध्यान दिएनौ भने, तिम्रो हरेक परिश्रम कति व्यर्थ छन् !

बलिष्ठ हात भएका मानिसहरू हो ! म तिमीहरूको नितम्बलाई आशिर्वाद दिन्छु ।

प्लम्बलाइन र नाप तौलका साथीहरू हो ! हथौडा र आरानका साथीहरु ! छेनी र आराका साथीहरू ! तिमीहरू आफ्नो सम्बन्धित शिल्पमा कति दक्ष र सक्षम छौ ।

तिमीलाई थाहा छ । कसरी चीजको स्तर र गहिराई थाहा पाइन्छ । तर आफ्नो स्तर र गहिराई कसरी पत्ता लगाउने भन्ने चाहिँ थाहा छैन ।

तिमी हथौडाको साहायताले फलामको टुक्रालाई कुशलतापूर्वक आकार दिन्छौ । तर ज्ञानको हथौडामा आधारित दृढ संकल्पको हथौडाले कच्चा मानिसलाई कसरी आकार दिने ? त्यो थाहा छैन । न त पछाडिबाट प्रहार नगरी अगाडिबाट कसरी प्रहार गर्न सकिन्छ भन्ने बहुमूल्य पाठ आरनबाट सिकेका छौ ।

तिमी, काठमा आरा र ढुङ्गामा छेनी चलाउन उत्तिकै माहिर छौ । तर असभ्य र अलमलमा परेको मानिसलाई कसरी सभ्य र व्यवस्थित बनाउने ? त्यो थाहा छैन ।

आफ्नो शिल्प गुरु आफैँ नभएसम्म तिम्रा सबै शिल्पहरू कति व्यर्थ छन् ? पहिला आफूलाई शिल्प गुरु बनाऊ ।

मानिसलाई पृथ्वी माताले दिएका उपहारसँगै मानव हातले निर्मित अन्य चीजहरू पनि चाहिन्छ । तैपनि मानिसहरूले आफ्नो फाइदाको लागि यिनीहरूको व्यापार गरिरहेका छन् ।

म आवश्यकता, उपहार र उत्पादन गरिएका सामानहरूलाई आशिर्वाद दिन्छु । व्यापारलाई पनि आशिर्वाद दिन्छु । जसले अनन्त कालसम्म लाभ दिन्छन् । जसले वास्तवमा घाटा मात्र दिन्छन्, तिनको लागि पनि मेरो मुखबाट आशिर्वाद बर्सिरहन्छन् ।

मौन रातमा, दिनको आय व्ययको हिसाब गर्दा नाफा घाटाको खातामा के राख्छौ ? के तिमी आफ्नो लागत भन्दा बढी प्राप्त हुने पैसा नाफा खातामा राख्छौ ? त्यसोभए त्यो दिन साँच्चै नै व्यर्थको थियो । जुन पूँजी तिमीले प्राप्त गर्यौ, चाहे त्यो पूँजी जतिसुकै ठूलो किन नहोस् ? त्यो दिनको सद्भाव, शान्ति र प्रकाशको अनन्त खजानाबाट तिमी पूर्णतया वञ्चित थियौ । तिमीले त्यो स्वतन्त्र निमन्त्रणाको फाइदा उठाउन सकेनौ । ती मानव हृदय गुमायौ, जुन तिमीले उपहारको रूपमा आफ्नो हत्केलामा राखेका थियौ ।

जब तिम्रो मुख्य चासो मानिसहरूको खल्तीमा हुन्छ, तिमी कसरी तिनीहरूको हृदयमा बाटो पाउन सक्छौ ? यदि तिमीले मानिसको हृदयमा पुग्ने बाटो पाउन सकेनौ भने, तिमी कसरी ईश्वरको हृदयमा पुग्ने आशा गर्न सक्छौ ? यदि तिमी ईश्वरको हृदयमा पुग्दैनौ भने, तिम्रो जीवनको अर्थ के हो ?

यदि तिमीले नाफा मानेको कुरा घाटा हो भने, त्यो घाटा कति भयानक हुनेछ ! निस्सन्देह ! नाफा बाहेक तिम्रो सम्पूर्ण व्यवसाय प्रेम र समझदारी हो ।

राजदण्ड थामेका मुकुटधारीहरू हो !

सर्प हातमा भएको राजदण्ड हो । जुन घाउ बनाउन निकै फुर्तिलो तर घाउ निको पार्न साह्रै अल्छे हुन्छ । प्रेमको लचिलो हातमा राजदण्ड बिजुलीको डण्डी जस्तै हुन्छ । जसले दुःख र विनाशलाई नजिक आउन दिदैन ।

आफ्नो हात राम्ररी जाँच गर ।

हीरा, मणिक र नीलमणिले जडित सुनको मुकुट । घमण्ड, अज्ञानता र मानवमाथि हावी हुने सत्ताको लोभ आदि सबै चीजले मानिसलाई बोझिलो, दुःखी र असहज महसुस गराउँछ । यस्तो मुकुट आफ्नै उपहास गर्ने माध्यम मात्र हो । अत्यन्त दुर्लभ र उत्कृष्ट रत्नले जडित मुकुट पनि ज्ञान र आत्म-विजयले नचम्किएको शिरमा बस्नुपर्दा लज्जाबोध गर्दछ ।

आफ्नो शिर राम्ररी जाँच ।

जनताको शासन गर्न चाहन्छौ ? पहिले आफैँलाई शासन गर्न सिक ।

आफैँलाई शासन नगरी अरूलाई कसरी शासन गर्न सकिन्छ ? के वायुद्वारा सताइएको छालले समुद्रलाई शान्ति र स्थिरता प्रदान गर्न सक्छ ? के आँसुले भरिएका आँखाले आँसु भरिएको हृदयमा खुसीको मुस्कान जगाउन सक्छ ? के डर वा क्रोधले काम्ने हातले जहाजको सन्तुलन कायम राख्न सक्छ ?

मानिसमाथि शासन गर्ने मानिस मानिसद्वारा नै शासित छ । मानिसहरू अशान्ति, अराजकता र अहंकारले भरिएका छन् । आकाशमा उड्दा उड्दै कहिलेकाहीँ हावाको झोक्काले बेस्सरी जमिनमा पछारिन पुग्छन् । हरेक आँधीको आक्रमणको अगाडि समुन्द्र जस्तै सिथिल छन् । तिनीहरूमा ज्वारभाटा र प्रवाह पनि छ । र त कहिलेकाहीँ आफ्नो सीमा नाघेको जस्तो महसुस गर्छन् । कहिलेकाहीँ समुद्रजस्तै शान्त भएर गहिराइमा पुगेको अनुभव पनि गर्छन् ।

यदि तिमी साँच्चै नै जनतालाई शासन गर्न चाहन्छौ भने, पहिले तिनीहरूको गहिराइमा पुग । मानिसहरू केवल छालको फिँज मात्र होइनन् । मानिसको अन्तिम गहिराइमा पुग्नको लागि पहिले आफ्नो परम गहिराइमा पुग्नु पर्छ । यसो गर्नको लागि राजदण्ड र श्रीपेच त्याग्नुपर्छ । ताकि तिम्रो हातले स्वतन्त्र भएको महसुस् गर्न सकोस् । तिम्रो शिर सोच्न र न्याय गर्नको लागि भाररहित भएको होस् ।

व्यर्थ तिम्रो नियम हो । अराजक तिम्रै नियम हुन् । अराजकता तिम्रो व्यवस्था हुन् । यसबाहेक तिमीले आफूभित्र रहेको असभ्य मानिसलाई शासन गर्न सकेनौ । त्यसैले तिमी आफूलाई मन पर्ने साधन राजदण्ड र मुकुटसँग खेलिरहेको छौ ।

धूपौरो र धार्मिक पुस्तक भएकाहरू हो ! धुपौरोमा के जलाउछौ ? धार्मिक पुस्तकमा के पढ्छौ ?

केही बिरुवाको सुगन्धित हृदयबाट निस्कने रसलाई जलाउन सक्छौ ? साधारण बजारमा किनबेच हुने एक दुई रुपैयाँको धुपले कुनै ईश्वरलाई खुसी पार्न सक्छ ?

के धूपको सुगन्धले घृणा, ईर्ष्या र लोभको गन्धलाई दबाउन सक्छ भन्ने लाग्छ ? के यसले छल गर्ने आँखा, झुट बोल्ने जिब्रो र कामुक हातको दुर्गन्धलाई दबाउन सक्छ ? के यसले आस्थाको ढोंगी, अविश्वासको दुर्गन्ध र आनन्दमय स्वर्गको ढोल बजाउने दु:खी शरीरको दुर्गन्धलाई दबाउन सक्छ ?

ती सबैलाई भोकै राखेर, एक एक गरी हृदयमा जलाएर चारै दिशामा खरानी छर्दा जुन सुगन्ध यहाँ आउनेछ, त्यो तिम्रो ईश्वरको नाकमा झनै मीठो हुनेछ ।

तिम्रो धुपमा के जल्छ ? मनन, प्रशंसा वा प्रार्थना ?

क्रोधित ईश्वरलाई उनकै क्रोधको आगोमा जल्न छोडिदिनु राम्रो हो । स्तुतिका भोका ईश्वर स्तुतिले नै भोकाउनु राम्रो हो । कठोर हृदयको ईश्वरलाई आफ्नै कठोर हृदयको हातमा मर्न छोड्नु राम्रो हो ।

तर ईश्‍वर ! न त क्रोधित छन्, न त प्रशंसाको भोका । न कठोर हृदयको नै । तिमी क्रोध, प्रशंसाको भोक र कठोर हृदयले भरिएको छौ ।

ईश्वर तिमीले जलाएको धूप चाहदैनन् । उनी यो चाहन्छन् कि, तिमी आफ्नो क्रोध, अहंकार र कठोरतालाई जलाएर उनी झैँ स्वतन्त्र र सर्वशक्तिमान बन । उनी चाहन्छन् कि, तिम्रो हृदय नै धूपौरो बनोस् ।

तिम्रो धार्मिक पुस्तकमा तिमी के पढ्छौ ?

मन्दिरका भित्ता र गुम्बजहरूमा सुनले लेखिएका आदेशहरू पढ्छौ ? वा जीवित र सत्य हृदयमा कुँद्न चाहन्छौ ?

तिमी धर्मशास्त्र अध्ययन गर्छौ । ताकि तिमी तिनीहरूलाई धार्मिक मन्त्रबाट सिकाउन सक्छौ । तर्क र बयानबाजीको साथै आवश्यक परे तरवारको धारबाट तिनीहरूको रक्षा गर्न सक्छौ । तिमी जीवनको अध्ययन गर्छौ । जुन सिकाउने र बचाउने सिद्धान्त होइन । बरू स्वतन्त्रता प्राप्त गर्न दृढ संकल्पका साथ हिँड्ने बाटो हो । मन्दिर भित्र र बाहिर, दिन र रात, साथै उच्च पदहरूमा रहँदा त्यो बाटोमा हिँड्न र गन्तव्यलाई निश्चित स्थानमा पुर्याउन बाहेक, अरूलाई त्यो बाटोमा हिँड्ने निम्तो दिने साहस कसरी गर्छौ ?

तिमी आफ्नो धार्मिक पुस्तकहरूमा टेबल, नक्सा र अन्य चीजका मूल्य सूची देख्छौ । जसले मानिसहरूलाई यो वा त्यो पृथ्वीको मूल्यले कति स्वर्ग किन्न सकिन्छ भनेर बताउँन सक्छ ?

ठग र पापका व्यापारीहरू हो ! तिमीहरू मानिसहरूलाई स्वर्ग बेचेर आफू पृथ्वी किन्न चाहन्छौ । पृथ्वीलाई नर्क बनाएर उनीहरूलाई यहाँबाट भाग्न प्रेरित गर्छौ । बरू पृथ्वीको केही अंशको सट्टा स्वर्गमा आफ्नो अंश बेच्न मानिसहरूलाई किन मनाउदैनौ ?

यदि तिमीले आफ्ना धार्मिक पुस्तकहरू राम्ररी पढेको भए, मानिसहरूलाई यो बताउथ्यौ कि पृथ्वीलाई स्वर्ग कसरी बनाउने ? दिव्य हृदय भएका मानिसहरूका लागि पृथ्वी स्वर्ग हो । पार्थिव हृदय भएकाहरूको लागि पनि पृथ्वी स्वर्ग नै हो ।

मानिस र उसका साथीहरू बीच र अन्य प्राणीहरूको साथै ईश्वरको बीचमा खडा हुने सबै अवरोधहरू हटाऊ । मानिसको हृदयमा स्वर्ग प्रकट गर । तर यसका लागि तिमी स्वयं ईश्वर बन्नुपर्छ । स्वर्ग किन्न वा भाडामा लिन सकिने बगैँचा होइन । स्वर्ग अस्तित्वको एक राज्य हो । जुन पृथ्वीमै प्राप्त गर्न सकिन्छ । त्यसोभए किन घाँटी तान्छौ ? किन आँखा तान्काउछौ ? किन धरतीभन्दा पर स्वर्ग खोज्छौ ?

नर्क कुनै आगोको भट्टी होइन कि, जहाँबाट प्रार्थना गरेर वा धूप बालेर उम्कन सकिन्छ । नरक मनको एउटा अवस्था हो । जुन यस असीम ब्राह्माण्डदेखि पृथ्वीमा जहाँ पनि अनुभव गर्न सकिन्छ ।

जसको इन्धन मन हो । त्यो आगोबाट भागेर कहाँ जान सकिन्छ ? जबसम्म मनले नै आगो त्याग्न सकेन भने ?

जबसम्म मानिस आफ्नै छायाको बन्दी हुन्छ, उसको स्वर्गको खोजी व्यर्थ हुन्छ । नरकबाट उम्कने प्रयास पनि व्यर्थ हुन्छ । स्वर्ग र नर्क दुवै द्वैतमा सञ्चालित राज्य हुन् । जबसम्म मानिसको तन र मनको एकता हुँदैन, उसको हृदय एउटा, र शरीर अर्को हुन्छ । जबसम्म मानिस छायारहित हुँदैन र संकल्प चार दिशातिर छरिन्छन्, उसको एउटा खुट्टा स्वर्गमा र अर्को नर्कमा हुन्छ । यो राज्य विचार र पश्चातापको नर्क हो ।

आशाले उत्तेजित हुनु र निराशाले खुम्चिनु, त्यो भयरहित विश्वासले जाग्नु, भयपूर्ण शंकाले यसलाई बाँध्नु, यी सबै लक्षण प्रकाशको पखेटा र सीसाको खुट्टा हुनु भन्दा निकै खराब हो ।

स्वर्ग त्यो होइन, जुन अरुको लागि नर्क हो । नर्क त्यो होइन, जुन अरुको लागि स्वर्ग हो । अक्सर एकको नर्क अर्कोको स्वर्ग हुन्छ । एकको स्वर्ग अक्सर अर्कोको नर्क हुन्छ । त्यसैले स्वर्ग र नर्क स्थायी र विरोधाभासी अवस्था होइनन् । तर स्वर्ग र नर्क दुवैबाट मुक्ति प्राप्त गर्न लामो यात्रामा पार गर्नुपर्ने अनेकौँ चरणहरू छन् ।

दाखमधका प्रिय तिर्थयात्रीहरू !

मिर्दादसँग सद्गुणी बन्ने इच्छुकहरूलाई बेच्ने वा प्रस्ताव गर्ने कुनै स्वर्ग छैन । न त ऊ सँग कुनै नर्क छ । जसलाई उसले दुष्ट बन्न चाहनेहरूका लागि पासो बनाउन सक्छ ।

तिम्रो धार्मिकता धर्म नबनेसम्म एक दिन फुल्छ अनि ओइलाउँछ ।

तिम्रो दुष्टता दुष्ट नबनेसम्म एक दिन दबिरहन्छ, तर अनुकूल अवसर पाएपछि फुल्छ ।

मिर्दादसँग तिमीलाई दिनको लागि कुनै स्वर्ग वा नर्क छैन । तर दिव्य ज्ञान जसले तिमीलाई कुनै नर्क आगो र स्वर्गको महिमाले भन्दा माथि उठाउछ । यो उपहार हातले हैन मनले ग्रहण गर्नुपर्छ । यसका लागि ज्ञान प्राप्तिको इच्छा र संकल्प बाहेक अन्य इच्छा र संकल्पको बोझबाट हृदयलाई मुक्त गर्नुपर्छ ।

न त तिमी धर्तीको अपरिचित ? न त धर्ती तिम्रो लागि सौतेनी आमा ? तिमी उसको हृदय र मेरुदण्डको धेरै भाग हौ । तिमीलाई आफ्नो बलियो र फराकिलो पीठमा बोक्न पाउँदा ऊ नीकै खुसी हुन्छ । तिमी किन यसलाई आफ्नो कमजोर फुस्रो छातीमा बोक्न जिद्दी गर्छौ ? चिच्याउन र सास फेर्नकै नचाहिँदो संघर्ष गर्दै छैनौ र ?

धर्तीको थुनबाट दूध र मह बग्छ । लोभले आवश्यकताभन्दा बढी लिएर किन दुवैलाई खेर फाल्छौ ?

पृथ्वीको मुहार शान्त र सुन्दर छ । दु:खद् कलह र त्रासले किन यसलाई अशान्त र कुरूप बनाउन चाहन्छौ ?

पृथ्वी एक पूर्ण एकाइ हो । तरबार र सीमाको निशानाले यसलाई टुक्रा टुक्रा पार्न किन लागिपरेको ?

पृथ्वी आज्ञाकारी र लापरवाह छ । तिमी किन यति धेरै चिन्तित र अनाज्ञाकारी छौ ?

तैपनि तिमी पृथ्वी, सूर्य र आकाशका सबै ग्रहहरू भन्दा स्थायी छौ । सबै नष्ट हुनेछन्, तर तिमी हुँदैनौ । तब हावामा काँपेका पातहरू झैँ किन काँप्छौ ?

यदि अरू कुनै कुराले तिमीलाई ब्रह्माण्डसँगको एकता अनुभव गराउन सक्दैन भने, पृथ्वीले मात्र तिमीलाई यो अनुभव गराउछ । तर पृथ्वी आफैमा एउटा ऐना हो । जसमा तिम्रो छाया झल्किन्छ । प्रतिबिम्बित वस्तु भन्दा ऐना धेरै महत्त्वपूर्ण छ ? के मान्छे भन्दा मान्छेको छाया महत्त्वपूर्ण छ ?

आँखा मिच र जागा होऊ । तपाईँ पृथ्वीभन्दा धेरै मूल्यवान छौ । तिम्रो भाग्य बाँच्नु, मर्नु र मृत्युको भोका बङ्गाराको खाना बन्नु मात्र होइन । तिम्रो भाग्य जीवन र मृत्युबाट मुक्त हुनु हो । स्वर्ग, नर्क र एकअर्कासँग द्वन्द्वमा निर्भर सबै विरोधी तत्वहरूबाट तिम्रो भाग्यलाई ईश्वरको अनन्त दाखबारीमा फल्ने फलदायी दाखको बोट बनाउनु हो ।

जसरी जीवित दाखको हाँगा जमिनमा थिचिँदा जरा गाड्छ र अन्तत: आमाजस्तै अंगूर दिने स्वतन्त्र रूख बन्छ, जससँग यो जोडिएको हुन्छ । त्यसरी नै मानव, जो ईश्वरीय लता हो । ईश्वरको जीवित शाखा हो । आफ्नो दिव्यताको माटोमा गाडिएपछि ऊ ईश्वरको रूप बन्नेछ । सधैँ ईश्वरसँग एक भएर रहन्छ ।

के मानिसलाई जिउँदै गाड्नु पर्छ ? ताकि उसले जीवन पाउन सकोस् ? हो, पक्कै यो सत्य हो । जीवन र मृत्युको द्वैतमा दफन नगरेसम्म तिमीले अस्तित्वको एकता पाउदैनौ ।

जबसम्म तिमी ईश्वरीय प्रेमको अंगूरले पोषण हुँदैनौ, तिमी ईश्वरीय ज्ञानको मदिराले भरिदैनौ ।

दिव्य ज्ञानको मदिराको प्रभावमा बेहोश नभएसम्म स्वतन्त्रताको चुम्बनले होशमा आउदैनौ ।

जब तिमी पार्थिव दाखको फल खान्छौ, तिमीले प्रेमको भोजन नभएर थोरैलाई खुसी पार्न धेरै धोका खान्छौ ।

पार्थिव दाखको रस पिएर तिमीले ज्ञान पाउन सक्दैनौ । तिमीले पीडालाई क्षणिक रूपमा बिर्सन मात्र पिउछौ । जुन पिउदा तिम्रो पीडाको तीब्रता झन दोब्बर हुन्छ । तिमी पीडादायी अहंकारबाट भाग्छौ । त्यही अहंकारले फेरि अर्को पटक भेटेरै छोड्छ ।

मिर्दादले तिमीलाई प्रस्तुत गरेको अंगूरमा न विष हुन्छ, न त सडेको नै । एक पटक तिनीहरुसँग सन्तुष्ट हुनु भनेको सदाको लागि सन्तुष्ट रहनु हो । उसले तिम्रो लागि तयार पारेको दाखमद्य ती ओठहरूका लागि अति उत्तम छ । जो जल्न डराउँछन्, ती हराउँछन् । तर अनन्तसम्म आत्म-विस्मरणको नशामा डुबिरहन चाहने हृदयहरूलाई यसले अनन्त जीवन दिन्छ ।

के तिमीहरूमाझ मेरो दाखको निमित्त भोकाएका मानिसहरू छन् ? तिनीहरूलाई आफ्नो टोकरी लिएर अगाडि आउन देऊ ।

मेरो रसको पर्खाइले तिर्खाउनेहरू छन् ? तिनीहरूलाई आफ्नो कप लिएर जान देऊ ।

किनभने मिर्दाद आफ्नै अन्नले भरिएको छ । अन्न र रसको बहावले निसास्सिदै छ ।

आत्म-विस्मरणको दिन पवित्र दाखको दिन थियो ।

प्रेमको मदिराले माती ज्ञानको आभामा नुहाएको दिन । स्वतन्त्रताको पखेटामा सङ्गीतको आनन्द भरिएको दिन । बाधाहरू हटाएर सबैमा विलीन हुने दिन । तर हेर त ! आज के भयो ?

यो रोगी आत्माले अहंकारको दावी गरेको एक हप्ता भएको छ । घृणित लोभले घृणित लोभको व्यापार गर्दैछ । दासत्वले दासत्वसँग खेलिरहेको छ । अज्ञानताले नै अज्ञानतालाई भ्रष्ट बनाइरहेको छ ।

कुनै समयको आस्था, प्रेम र स्वतन्त्रताको मदिरा अहिले घृणित बजारमा परिणत भएको छ । उसले तिम्रो दाखबारीबाट उत्पादन लिन्छ । तिमीलाई भने विषाक्त मदिरा बनाएर बेच्छ । तिम्रो हातको परिश्रमबाट ऊ तिम्रो लागि हथकडी बनाउँछ । तिम्रो परिश्रमको पसिनालाई जिउँदै जलाउनको लागि तातो कोइला उत्पादन गर्दैछ ।

डुङ्गा आफ्नो लक्ष्यबाट धेरै टाढा गइसकेको छ । तर अहिले यसको लक्ष्यलाई सही दिशा दिइएको छ । अब यो सबै अनावश्यक वजनबाट मुक्त हुनेछ । ताकि यो आफ्नो बाटोमा आराम र सुरक्षित रूपमा चल्न सक्छ ।

यसकारण सबै उपहार दिनेहरूलाई फिर्ता गरिनेछ । सबै ऋणीहरूलाई क्षमा गरिनेछ । डुङ्गाले ईश्वर बाहेक कसैलाई दाताको रूपमा स्वीकार गर्दैन । ईश्वर कोही पनि ऋणी नहोस् भन्ने चाहन्छन् । आफैलाई पनि ।

यो नोआको लागि मेरो उपदेश थियो ।

यो तिमीलाई मेरो शिक्षा हो ।

 

अध्याय सत्ताइस

सत्य सबैतिर प्रचार गर्नुपर्छ कि, केही चुनिएकाहरूलाई ?

दाख उत्सवको अघिल्लो दिन, मिर्दादले आफू बेपत्ता हुनुको रहस्य प्रकट गर्दछन् र झूटा शक्तिको बारेमा छलफल गर्दछन्

नरोन्दा : प्रेम पर्व सम्झना मात्रै बनेको लामो समयपछि एक दिन सातै साथीहरू पहाडको गुफामा गुरु नजिकै भेला भएका थिए । साथीहरू त्यस दिनको अविस्मरणीय घटनाहरूको बारेमा छलफल गर्दै थिए । गुरु भने मौन रहे । भीडले गुरुको वचनलाई स्वागत गरेको ठूलो उत्साह देखेर केही साथीहरूले आश्चर्य व्यक्त गरे । डुङ्गाको खजानाबाट सयौँ आदानप्रदानको बिल निकालेर सबैका अगाडि नष्ट गरिँदा, तहखानाबाट सयौँ जार र मदिराका भाँडाहरू बाहिर निकालिएको र त्यसबेला शामदामको अनौठो र रहस्यमय व्यवहारबारे अरूले टिप्पणी गरे । बहुमूल्य चीज लगायत कैयाै उपहार फिर्ता गरियो । त्यसबेला शमदामले कुनै किसिमको विरोध गरेन । ऊ हाम्रो कारणले डराएको थियो । तैपनि आँखाबाट आँसुको धारा बगाएर चुपचाप सबै कुरा हेरिरह्यो ।

जनताले हर्षोल्लास गर्दै अँगालो हालेको भए पनि उनीहरुको प्रशंसा गुरुको लागि नभएर ऋण माफी र उपहार फिर्ता भएकोमा यसो भएको बैनूनले बतायो । यस्तो भीडमा आफ्नो समय बर्बाद गरेकोमा उनले गुरुको हल्का आलोचना गर्यो ।

जसले खानु, पिउनु र रमाइलो गर्नु भन्दा ठूलो कुनै खुसी खोजेन । बैनूनले केही छानिएका व्यक्तिलाई मात्रै सत्य प्रचार गर्नुपर्छ र सबैलाई विचार नगरी प्रचार गर्न नहुने धारणा राख्यो ।

त्यसमा गुरुले आफ्नो मौनता तोडे र भने:

मिर्दाद: वायुमा छोडेको तिम्रो सास पक्कै कसैको फोक्सोमा पुग्छ । यो कसको फोक्सो हो भनेर नसोध । केवल ध्यान देऊ कि तिम्रो सास शुद्ध छ ?

तिम्रो शब्दले कान खोज्छ । पक्कै पनि कान फेला पार्छ । यो कसको कान हो भनेर नसोध । केवल मनमा राख कि तिम्रो शब्दहरूले स्वतन्त्रताको साँचो सन्देश बोक्नुपर्छ ।

तिम्रो मौन विचारले पक्कै पनि कुनै जिब्रोलाई बोल्न प्रेरित गर्नेछ । यो कसको जिब्रो हो भनेर नसोध । केवल ध्यान देऊ कि तिम्रो विचारहरू प्रेमिल हृदयले बलेको छ ?

कुनै पनि प्रयासलाई व्यर्थ नठान । कतिपय बीउहरू वर्षौँसम्म माटोमा गाडिन्छन् । जब पहिलो अनुकूल मौसमको सासले उनीहरूलाई जीवन दिन्छ, तिनीहरू तुरुन्तै जीवित हुन्छन् ।

सत्यको बीज हरेक मानिस र वस्तु भित्र हुन्छ । तिम्रो काम सत्य छर्नु होइन । यसलाई अंकुरणको लागि अनुकूल मौसम तयार गर्नु हो ।

अनन्तकालमा सबै कुरा सम्भव छ । तसर्थ, कुनै पनि मानवको स्वतन्त्रतामा निराश नहोऊ । बरु समान आस्था र उत्साहका साथ सबैमा मुक्तिको सन्देश फैलाऊ । जसरी पीडामा परेकाहरू छन्, त्यस्तै सुखमा रहेकाहरूलाई पनि । दुःख नपाउनेहरुले एकदिन पक्कै दुःख पाउनेछन् । आज पखेटा नभएकाहरुले कुनै दिन पखेटा पाउनेछन् । पखेटा सजाएर आकाशका सुदूर र दुर्गम उचाइमा उडाएर च्यात्नेछन् ।

मिकास्टार: हामी यति धेरै दुःखी छौँ कि, आजसम्म हामीले बारम्बार अनुरोध गर्दा पनि गुरुले दाखमध उत्सव दिनअघिको आफ्नो वेपत्ताको रहस्य खोलेका छैनन् ।

साथीहरू हो ! रुखमा बसेका दस वटा चराको आशामा एउटा चरालाई हातमा छाड्नु सरासर पागलपन हो । मिर्दादले तिमीलाई यो डुङ्गा छोड्न भन्न चाहन्छन् । जसले तिमीलाई धेरै वर्षसम्म आश्रय दिएको छ । तिमीलाई ईश्वरको नजिक राखेको छ । तिमीलाई मानिसहरूले चाहेको सबै कुरा दिएको छ । तिमीलाई संसारको समस्या र दुःखबाट सुरक्षित राखेको छ । बदलामा उनी के दिने भनी वाचा गर्छन् र ? मन दुःखाइ, निराशा र गरिबी । यसको निम्ति सधैँ झगडा ! उनले तिमीलाई यी लगायत अन्य धेरै खराब चीज दिने वाचा गर्छन् ।

उसले हावामा डुङ्गा उचाल्ने वाचा गर्छ । विशाल शून्यमा एउटा पागलको सपना, एउटा बाल्यकालको कल्पना र मीठो असम्भवता ! के उनी मातृ बोटका संस्थापक पिता नोआभन्दा बुद्धिमान् छन् ? उनको बेतुक शब्दहरूको बारेमा सोच्दा र सोध्दा मलाई निकै दुःख लागेको छ ।

मेरो साथी बेथरका राजकुमारलाई मिर्दादको विरुद्धमा लाग्न उक्साएको छु । शक्तिशाली हतियारको लागि मद्दत मागेको छु । जसले डुङ्गा र यसको पवित्र परम्परा विरुद्ध अपराध गरेको ठहरिन सक्छ, तर म तिम्रो भलाइ चाहन्थेँ । यो मात्रै अपराध जायज थियो भनेर प्रमाणित गर्नुपर्छ । समय आउनु अघि नै यो डुङ्गा बचाउन चाहन्थेँ । ईश्वरले मलाई साथ दिए । तिमीलाई बचाएँ ।

साथीहरू हो ! मसँग रमाऊ । ईश्वरलाई धन्यवाद देऊ । उनले हाम्रो पापी आँखालाइ डुङ्गाको विनाश देख्ने ठूलो अपमानबाट बचाएका छन् । म यो कलंकसँग बाँच्न सक्दिनँ ।

मेरा प्रिय चेलाहरू हो ! अब म आफूलाई नोआ, उनको जहाज र ईश्वरको सेवालाइ नयाँ रूपमा समर्पित गर्छु । पहिले जस्तै खुसी रहनू । तिम्रो खुसीले मेरो खुसी पूरा होस् ।

उनी धूमधाम र भव्यताका साथ सवारी गर्छन्, ताकि कसैले पनि उनको छली हृदयभित्र छिर्ने हिम्मत नगरोस् । उनी बन्दुक र भालाको सहायताले डगमगाउने सिंहासनलाई स्थिर राख्छन् । झूटो घमण्डमा बेरिएर, डरलाग्दो छाया र अन्धविश्वासको पछाडि लुक्छन्, ताकि जिज्ञासु मानिसहरूको आँखाले उनको घृणित गरिबी देख्न नपरोस् ।

यस्तो शक्तिले प्रयोग गर्न इच्छुक व्यक्तिको आँखालाई अन्धो बनाउँछ । उसको लागि अभिशाप पनि हुन्छ । शासक, तिनका समर्थक र विरोध गर्नेहरूलाई कायम राख्नको लागि जुनसुकै मूल्य चुकाउनु पनि ऊ तयार हुन्छ । यसले आफूलाई जुनै हालतमा पनि काबुमा राख्न चाहन्छ ।

सत्ताको भोकले जनतालाई निरन्तर त्रसित बनाएको छ । जोसँग सत्ता छ उसले सधैँ यसलाई कायम राख्न लड्छ । जोसँग छैन ऊ सधैँ सत्तामा भएकाहरूको हातबाट सत्ता खोस्न संघर्ष गर्दछ । जहाँ मान्छे र उसमा लुकेको ईश्वर भयानक खुरले कुल्चिन पुग्छन् । तसर्थ तिनलाई युद्ध मैदानमा एक्लै छोडिन्छ । अन्ततः ऊ उपेक्षित, असहाय र प्रेमबाट वञ्चित रहन पुग्छ ।

युद्ध सधैँ भयंकर नै हुन्छ । योद्धाहरू रक्तपातको लागि यति पागल हुन्छन् कि, नक्कली दुलहीको अनुहारबाट रंगिएको मुखौटा हटाउँन कोही चाहँदैन । सबैको अगाडि राक्षसी कुरूपता प्रदर्शन गर्न कोही रोकिदैन । दुर्भाग्यवश ! कुोही पनि ।

साथीहरू हो ! मलाई विश्वास गर । कुनै शक्तिको थोरै मूल्य हुँदैन । दिव्य ज्ञानको शक्ति बाहेक, जुन निकै अमूल्य छ । त्यसलाई प्राप्त गर्न कुनै ठूलो त्यग चाहिँदैन । एक पटक त्यो शक्ति प्राप्त गरिसकेपछि समयको अन्त्यसम्म साथमा रहनेछ । यसले तिम्रो शब्दलाई यस्तो शक्तिले भर्छ, जुन संसारका प्राय सेनाहरूले प्राप्त गर्न सक्दैनन् । उनको आशिर्वादले संसारका सबै शक्ति मिलेर संसारको झोलामा मीठो सपना हालिदिन्छ । जसले सबैको हृदयमा सद्भाव बाँड्छ ।

सत्य सबैलाई प्रचार गर्नुपर्छ ?

ईश्वरीय ज्ञान नै यसको ढाल हो । यसको शक्तिशाली हात प्रेम हो । यसले न सताउँछ, न त दमन गर्छ । यो हृदयमा शीत जस्तै झरिरहन्छ । यसले यसलाई स्वीकार नगर्नेहरूलाई राहत दिन्छ । जसरी यसले यसलाई पिउनेहरूलाई राहत दिन्छ । आफ्नो आन्तरिक शक्तिमा गहिरो विश्वास भएकामा यसले कुनै बाह्य शक्तिको समर्थन लिँदैन । यो बिल्कुल भयमुक्त छ । यसले डरलाई कुनै व्यक्तिमा थोपर्ने काम गर्दैन ।

दैवी ज्ञानको हिसाबले संसार गरिब छ । अहो ! अति गरिबी ! त्यसैले उसले आफ्नो गरिबीलाई झूटो शक्तिको पर्दामा लुकाउन खोज्छ । झूटो शक्तिले झूटो शक्तिको साथ रक्षात्मक र आक्रामक सम्झौता तयार पार्छ । अन्ततः दुवैले आफ्नो नेतृत्वलाई डरमा आत्मसमर्पण गर्छन् । त्यसपछि डरले दुवैलाई नष्ट गर्छ ।

कमजोरहरूले आफ्नो कमजोरी जोगाउन आफूलाई संगठित गर्ने गरेको सधैँ देखिएको छैन र ? यसरी आफ्नो र विश्वको क्रूर शक्ति दुवै हातमा हात मिलाएर डरको नियन्त्रणमा हिँड्छन् । अज्ञानतालाई युद्ध, रगत र आँसुको भेल बनाएर आफ्नो दैनिकी चलाउछन् । अनि अज्ञानता मन्द मुस्कुराउछ र सबैलाई भन्छ, ‘असल भयो !’

मिर्दादलाई नदीमा डुबाएपछि शमदामले आफैलाई भन्यो, ‘राम्रो भयो !’ तर शमदामले मलाई खाल्डोमा फालेर मलाई होइन कि आफैलाई फ्याँक्यो भन्ने सोचेका थिएन । नदीले कुनै पनि मिर्दादलाई बगाउन सक्दैन । जहाँ कालो र चिप्लो पर्खाल चढ्नका लागि शमदामले लामो समय मिहिनेत गर्नुपर्ने हुन्छ ।

संसारको हरेक शक्ति नक्कली गहना मात्र हो । दिव्य ज्ञानको दृष्टिले जो अझै शिशु छन्, उनीहरूले यसबाट मनोरञ्जन लिउन् । तर तिमीले आफूलाई कसैमाथि लाद्नु हुँदैन । जे पनि शक्तिद्वारा थोपरिएको छ । ढिलो वा चाँडो ती शक्तिद्वारा हटाइन्छ ।

मानिसको जीवनमा कुनै प्रकारको प्रभुत्व स्थापित गर्ने प्रयास नगर । उनीहरू ईश्वरको इच्छाको अधीनमा छन् । न त जनताको सम्पत्ति कब्जा गर्ने प्रयास गर । मानिस आफ्नो सम्पत्तिमा जति बाँधिएको छ, त्यति नै उसको जीवनसँग पनि बाँधिएको छ । उसले आफ्नो बन्धन विचलित गर्नेहरूलाई शंका र घृणाले हेर्छ । तर प्रेम र ईश्वरीय ज्ञान मार्फत मानिसको हृदयमा ठाउँ खोज्ने बाटो खोज । एकचोटि तिमीले त्यहाँ ठाउँ फेला पार्यौ भने, मानिसलाई उनीहरूको बन्धनबाट मुक्त गर्न अझ प्रभावकारी भूमिका खेल्न सक्षम हुनेछौ ।

जब प्रेमले बाटो देखाउनेछ, दिव्य ज्ञान दियोको सलेदो हुन्छ ।