चोरी
गीत चतुर्वेदी
प्रेम यसरी गरियोस् कि
प्रेम शब्दको उच्चारण कहिल्यै गर्न नपरोस्
यसरी चुम्बन गरियोस् कि
ओठ सधैँ असमञ्जसमा रहोस्
तिमीले चुमेको हो
वा मेरै तल्लो ओठले माथिल्लो ओठलाई छोएको हो
स्पर्श यसरी होस् कि
कोसौं टाढा तिम्रो मुहारमा
हरियाहरिया सपना पलाओस्
तिम्रो देहको छत मुन्तिर
यसरी बसियोस् कि
निद्रामा एउटा मुस्कान तिम्रो मुहारमा रहिरहोस्
तिमीले आँखा खोल्दा त्यसले भेष बदलोस्
प्रेम यसरी गरियोस् कि
सांसारिकताको कारोबार चलिरहोस्
कसैलै खबरै नपाओस् कि प्रेम घट्यो भनेर
स्वयं तिमीलाई पनि थाहा नहोस्
कसैलाई आफ्नो प्रेमकथा सुनायौ भने पनि विश्वासै नगरून्
बँच्नु प्रेमकथाको पात्र बन्नुबाट
नत्र सबैले तिम्रो प्रेमलाई दया गर्नेछन् ।
***
तिम्रो सत्सङमा
सर्वेश्वर दयाल सक्सेना
तिम्रो सत्सङमा
प्रायः मलाई यस्तो महसुस भएको छ कि –
दिशा नजिकिएका छन्
मार्ग छोटिएका छन्
संसार खुम्चिएर एउटै आँगन बनेको छ
जहाँ खचाखच भरिभराउ छन्
एकान्त कतै छैन
न भित्र न त बाहिर
सबैचिजका आकार घटेका छन्
वृक्ष यति होचो भएको छ कि
मैले तिनीहरूका शिरमा हात राखेर
आशीर्वाद दिन सक्छु
आकाश छातीमा ठोक्किन्छ
जतिबेला मनलाग्यो उतिबेला
बादलमा मुहार लुकाउन सक्छु
तिम्रो सत्सङमा
प्रायः मलाई यस्तो महसुस भएको छ कि
प्रत्येक कुराको कुनै अर्थ हुन्छ
यहाँसम्म कि घाँस हल्लिनुको पनि
हावा झ्यालबाट आउनुको
अनि घामका किरण भित्तामा चढेर फर्किनुको
तिम्रो सत्सङमा
हामी असमर्थताले होइन सम्भावनाले घेरिएका हुन्छौँ
हरेक पर्खालमा मार्ग बनाउन सक्छौँ
र हरेक पर्खालबाट सिङ्गो पहाड छिराउन सकिन्छ
यदि शक्ति सीमित छ भने
सबैकुरा अशक्त पनि छ
यदि अँगालो सानो छ भने समुद्र पनि समेटिएको छ
सामर्थ्य केवल इच्छाको दोस्रो नाम हो
जीवन र मृत्युको बिचमा जुन भूमि छ
त्यो नियतिको होइन, मेरो हो ।
******
बायाँ काँध, तिमी र चश्माको फ्रेम
अंजुम शर्मा
याद छ, जाडोयामको प्रभातमा
हुस्सुसँग आँखा जुधाएर
म तिमीलाई भेट्न आउने गर्थेँ
तिमी अर्ध खुलेको आँखा बिछ्याएर
मेट्रो स्टेसनको सिँढीमा मेरो प्रतीक्षा गरिरहेकी हुन्थ्यौ
मेरा चिसा हात तिम्रा न्यानो हातमा राखेर
मैले दोहोर्याउँथे केदारनाथ सिंहका कविता :
`उसको हात
आफ्नो हातमा राखेर
मैले सोचेँ –
यो संसार हातजस्तै न्यानो र सुन्दर हुनुपर्छ !´
तिमी लजाउँदै मेरो हात झट्कार्थ्यौ
अनि मेरो चश्माको दुबै लेन्समा
औंलाको टुप्पोले लेखिदिन्थौ मेरो नामको दुई अक्षर
तिमी गुनासो गर्थ्यौ मेरो चश्माको प्रेम सानो भयो भनेर-
`यसमा अटाउँदैन हामी दुबैको नाम´
यति भनेर तिमी कलिलो बिरुवा जसरी
झुक्यो तिम्रो शिर मेरो काँधमा
एकदिन मेरो चप्पलको फित्ता चुँडिदा
तिमीले पनि फुकाली दियौ आफ्ना चप्पल
उड्न थालेकी थियौ – मसँग हरियो दुबोमा
त्यो दिन घाँस अन्तिमपटक अधिक ताजा भएको थियो
अनि तिमी अधिक गुलाबी
त्यो दिन अन्तिमपल्ट दिल्लीमा इन्द्रेणी
सम्पूर्ण रङमा उत्रिएको थियो
अन्तिमपल्ट मैले बादलमा घोडा दौडाएको थिएँ
तिम्रा यादका नदीमा
म हरेक दिन डुब्छु
प्रत्येक दिन खोज्छु किनारा
मेरो चस्माको फ्रेम अचेल केही मोटो भएको छ
तर तिम्रा औंलाहरू अहिले यतिधेरै टाढा भएका छन् कि
मेरो टाढाको नजरमा पनि देखिँदैन
हुस्सुसँग हिँड्न सिकेको छु
मात्र हात चिसा रहिरहन्छन्
अनि बायाँ काँध
बायाँ काँध एकदम दुख्छ जाडोयाममा ।
*****
प्रेमपत्र
बद्री नारायण
प्रेत आउने छ
किताबबाट निकालेर लाने छ, प्रेमपत्र
गिद्धले पहाडमा, त्यसलाई लुछीलुछी खाने छ
चोर आयो भने, प्रेमपत्र नै चोर्ने छ
जुवाडेले प्रेमपत्र नै दाउमा लगाउने छ
ॠषि आए भने दानमा प्रेमपत्र माग्ने छन्
वर्षात भयो भने प्रेमपत्रलाई भिजाउने छन्
आगो लाग्यो भने प्रेमपत्रलाई जलाउने छन्
बन्धन प्रेमपत्रमा नै लगाइने छ
सर्प आयो भने प्रेमपत्रलाई नै डस्ने छ
झ्याउँकीरी आयो भने प्रेमपत्र चाट्ने छ
कीराहरूले प्रेमपत्र नै काटने छन्
प्रलयको दिनमा सप्तर्षि, माछा र मनु
सबैले वेद नै बचाउने छन्
प्रेमपत्रको सुरक्षा कसैले गर्ने छैनन्
कसैले रोम बचाउने छन्, कसैले मदीना
कसैले चाँदी, कसैले सुन बचाउने छन्
म नितान्त एक्लो
कसरी बचाउँला – तिम्रो प्रेमपत्र !
*****
एउटा अचम्मको दुविधामा छु
कुँवर नारायण
आजभोलि एउटा अचम्मको दुविधामा छु
मेरो भरपुर घृणा गर्न सक्ने ताकत
दिनदिनै क्षीण हुँदैछ
मुसलमानलाई घृणा गर्छु भनेर हिँडे
गालिब आएर सामुन्ने उभिइदिन्छन्
अब तपाईं नै भन्नुस्
कसको के लाग्छ, उनको सामु
अङ्ग्रेजलाई घृणा गर्छु भनेर हिँडे
जसले दुई शताब्दी हामीलाई राज गरे
त्यतिबेला शेक्सपियर आडमा आउँछन्
थाहा छैन
उनले मलाई कति उपकार गरेका छन्
अनि त्यो प्रेमिका
जोसँग मेरो पहिलो बिछोड भएको थियो
भेटेँ भने उसको हत्या गरिदिन्छु
भेटघाट पनि हुन्छ
तर, कहिले मित्र
कहिले आमा
कहिले बहिनीजस्तै भएर
अनि मायाको घुटकी पिएर बिर्सन्छु
प्रत्येक पल
पागलजस्तै भट्किरहन्छु
कोही त यस्तो भेटियोस्
जसलाई भरपुर घृणा गरेर
मेरो मन हल्का गर्न सकूँ
तर, हुन्छ ठिक उल्टो
कोही न कोही, कहीँ न कहीँ
कुनै न कुनै यस्ता भेटिन्छन्
जसलाई प्रेम नगरिरहन सक्दिन्
दिनदिनै मेरो यो प्रेम रोग
बढ्दै जाँदैछ
अनि यो भ्रमले, बलियो जरा गाडेको छ
यो प्रेमले कुनै दिन मलाई स्वर्ग देखाएरै छोड्छ।
*****
मैले ती सबै कुरालाई प्रेम गरेँ
नवीन रांगियाल
म ती सबै सिँढीहरूलाई प्रेम गर्छु
जसमा चढेर उनलाई भेट्न जान्थेँ
अनि त्यो झ्यालसँग पनि
जहाँबाट चिहाउँथिन् उदास आँखा
मलाई अहिले पनि त्यो अँध्यारोसँग प्रेम छ
जसको उज्यालोमा हिँडेर म उनीसम्म पुग्थेँ
मैले ती तमाम कुरासँग प्रेम गरेँ
जे जे उनको हातद्वारा स्पर्श भएको थियो –
कुनै न कुनै बेला
जस्तै पर्खाल
गाजल लागेको ऐना
कपडा सुकाउने डोरी
कोठाका ताल्चाहरू
र कोठाका सबै कुनाहरू –
जहाँ कुनै दिन हामीले आफ्ना प्रार्थना झुण्डाएका थियौँ
मैले आलमारीमा झुन्डिएका सारा ह्यांगरहरूलाई प्रेम गरेँ
जहाँ सर्फको सेतो फिँजजस्तै सुगन्ध आउँथ्यो
उनको हात
मैले ती तमाम कुरासँग प्रेम गरेँ
जसलाई उनको पाइतालाले स्पर्श गरेका थिए
जस्तै पृथ्वी
जस्तै यो पूरा संसार
यसरी मैले
संसारका एक-एक कुरालाई प्रेम गरेँ –
उनको प्रेममा ।
****
दुई सहर एक रात
गौरव गुप्ता
दिनमा चम्किएका दुई अलगअलग सहरलाई
एउटा कालो घना रातले जोड्छ
तिमीले नचाहेरै पनि म पुग्न सक्छु
तिम्रो गहिरो निद्राको कोठामा
बिरालो चालमा तिम्रा सपनामा
रातले दुरी कम गराउन सक्छ
अञ्जान बन्दै गएका दुई व्यक्ति बिचको
सुनेको थिएँ
चन्द्रमा एकैचोटि हेर्नुले
प्रेम बढ्छ रे
दुई सहरका चन्द्रामा एउटै हुन्छ
यसका लागि म ईश्वरसँग कृतज्ञ छु ।
झरेका ताराको खोजीमा आकाश नियालिरहेको छु
रात लामो होस् भनेर ओठमा प्रार्थना अल्झिएको छ
आँखा बन्द हुने अवसरको प्रतीक्षामा छ
दायाँ हातका औँला बायाँ हातका औँलासँग अल्झिएका छन्
दुई अलगअलग छतमा बसेर
के हामी अबेर रातसम्म सँगसँगै चन्द्रमा हेर्ने
अन्तिम प्रयास गर्न सक्दैनौ ?
****
उल्झन
बेबी शाँ
तिमीलाई सोच्दा
यो दुनियाँ
कति शान्त र सुन्दर बनिदिन्छ
तिमीलाई सोच्दा
यो दुनियाँ
कति बेचैन र अस्थिर बनिदिन्छ ।
*****
सन्देश
मीनाश्री जिजीविषा
तिमीलाई मेसेज गरेको
घन्टौंसम्म पनि रिप्लाई आउँदैन
त्यतिबेला यस्तो लाग्छ :
चराले रोकेर राख्यो आफ्नो गीत
फूलले आफ्नो सुगन्ध
भमराले आफ्नो गुञ्जन
पातले आफ्नो नृत्य
हावाले बिर्सियो बहनु
समयले आफ्नो गति
जबसम्म तिम्रो जवाफ आउँदैन
स्थगित हुन्छन्
शृष्टिका सबै अत्यावश्यक काम
पृथ्वी रोकिएर बस्छ
मेरो पुतली जस्तै ।
*****
पुरुष लेखक
वत्सला पाण्डेय
पुरुषले जब लेख्यो
आफूले बाँचेको अधुरो प्रेम
प्रतिक्रियामा उसलाई प्राप्त भयो सहानुभूति
स्त्रीले जब लेखी
आफूले बाँचेको अधुरो प्रेम
प्रतिक्रियामा उसलाई प्राप्त भयो
हेय दृष्टि ।
****
प्रेम
मानव कौल
तिमीसम्म पुग्न सक्दो रहेछु म
यति नरम छुनुले पनि
तिमीलाई छोएपछि मलाई लाग्यो
हामीले यतिका वर्ष व्यर्थ संवादमा बिताएछौँ
असहायजस्ता हाम्रा आँखा
कति विचरा बन्छ
जब नग्न हुनुलाई अनुवाद गर्छौँ हामी
तिमी मौन, म मौन
एकार्कालाई पढेर थाकेपछि
हामी आँखा बन्द गर्छौँ
त्यसपछि मात्र स्पर्श बाँकी रहन्छ
व्यवहारिक बन्दै
पुनः हामी एकाअर्काको प्रशंसामा लाग्छौँ
तिमी मुधुरमधुर मुस्कुराउनु
मेरा स्पर्शका प्रशंसामा धन्यवाद ज्ञापन गरे जस्तो लाग्छ
त्यसपछि हामी एउटा-एउटा रङ चयन गर्छौँ
अनि एकाअर्कालाई रङ्गाउन सुरु गर्छौँ
नराम्रोसँग पूर्णतः
तिमी कहिले पूरै रातो बनिसकेकी हुन्छौ
कहिले म पूर्ण निलो
यति ठूलो संसारमा
हामी एकाअर्कालाई यो पलमा
थोरै अधिक जान्दछौँ भन्ने कुराको
सुख बोधले केही रातो रङ तिमीमाथि
र केही निलो रङ ममाथि बनिरहनेछ ।
हामी एकाअर्कालाई यो पलमा
थोरै अधिक जान्दछौँ भन्ने कुराको
सुख बोधले केही रातो रङ तिमीमाथि
र केही निलो रङ ममाथि बनिरहनेछ ।
भावानुवाद : जनक कार्की
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला