कोशी प्रदेश संयोजक: माधव पोखरेल

कामना

चिरञ्जीवी काफ्ले

छन्द :बालोरी

चिरञ्जीवी काफ्ले

जाग उठ हे युवा पहाड र तराई
हामी सबै एक हौं किन बस्छौ डराई
नागरिक देशका अधिकार एक हो
मिली जुली उठ हे सिंगार्नुछ देश यो ।

पहाडको फेदमा कोइलीले गाएको
हिमालको काखमा माया प्रिती लाएको
मधेश र पहाड नगरौंन फरक
नेपाली हौं गर्वले झर्छ आँसु तरक्क ।

घुम्दै जाऊँ मेची र महाकाली रमाई
उत्तरमा हिमाल दक्षिणमा तराई
जात धर्म सङ्गाली हातेमालो गरेर
अन्त्य गरौं बिभेद सबै अघि सरेर

बोली बोलौं बुद्धको शान्ति गीत गाउँदै
विश्व मान चित्रमा माया प्रिती लाउँदै
भृकुटी र सीता झैं आदर्शता बचाऊ
उच्च शिर पारेर नेपाली हूँ बताऊ

पहेंल्पुर बारीमा अन्न बाली देखियोस्
धरोहर पूर्खाको वीर गाथा लेखियोस्
खोला नाला झरना सुसाउँदै जङ्गल
हरा भरा खेत होस् सुस्वास्थ्य र मङ्गल

मोरङ्ग

 

मातृ पुकार

दुष्यन्त भट्टराई

छन्द:-भुजङ्गप्रयात

दुष्यन्त भट्टराई

बनेँ एसियामा सबैदेखि तुच्छ
बनाएर सन्तान हाँसे मुसक्क
छ धिक्कार भन्छन् तिनैले मलाई
गरूँ शर्म वा के गरूँ भो मलाई ।

यता एउटा हात राखेर माथ
कुरा गम्न थालेँ बिताएर रात
म कस्तो थिएँ के भएँ आज हेर
बिना सूर्यको लाग्छ मेरो सबेर।

रुपैयाँ यता आउँदा हुन्न घाटा
म निर्यात गर्थेँ सधैँ धान पाटा
छ आयात ऐले र बेपार शून्य
बुझेनन् कसैले यसो गर्न हुन्न ।

हिजो सम्म उद्योगमा काम हुन्थ्यो
थियो रोजगारी बडो दाम हुन्थ्यो
हराए डुबाएर उद्योगलाई
मगन्ते बनाए तिनैले मलाई ।

यता हेर्छु उल्लू उता हेर्छु उल्लू
कुनै बादशाहा कुनै दास गुल्लू
सबै चुँड्नमा व्यस्त छन् फूलपात
स्वयं बाग छाम्दैछु आफ्नै ललाट ।

हिजोसम्म मेरा सबै छेउ हुन्थे
भरोसा र आशा नयाँ नित्य दिन्थे
उज्यालो बने ज्योति मेरो लिएर
गए कष्ट पीडा अनेकौँ दिएर ।

रुँगालो बने जिन्दगीको म आज
सुतायो मलाई र हाँस्यो समाज
बचेको थियो वा अझै चुस्नलाई
त्यसैले भनेनन् मरेकी मलाई ।

म आमा हुँ मेरो सबै चुस्न सक्छौ
मरेकी मलाई अझै लुट्न सक्छौ
अझै बढ्छ मेरो तिमीमाथि प्रेम
यही सम्झ मेरो तिमीमाथि देन ।

पुर्‍याऔं विचार

सुनील सापकोटा

छन्द:झ्याउरे

सुनील सापकोटा

हरियो वन नेपाली धन गरौं न मनन
डढेलो लाए मारिन्छन् जन्तु सकिन्छ जीवन
पग्लियो हिउँ बढ्दै छ ताप बिग्रियो मौसम
फल्दैन अन्न पर्दैन पानी बनेछ विषम ।

उजाड बन्ला संसार सारा नसोचे बेलैमा
अस्तित्व हाम्रो रहला कहाँ स्वार्थको खेलैमा
हिउँले ढाक्ने उत्तरी क्षेत्र नेपाली शान हो
आग्लागी चोरी सिकार गर्नु हुँदैन जान भो ।

खराब पानी खराब हावा बाँचौला कसरी
आँखाका रोग फोक्सोका रोग बढ्दै छन् बेसरी
धुवाँ र धुलो अचाक्ली बढ्दा कष्टमा मानव
मानिस भई विवेकहीन नबनौं दानव ।

बिग्रियो हावा सुक्दै छ पानी पुर्याऊँ विचार
जङ्गल जन्तु हावा र पानी जोगाऊँ यी चार
डढेलो लाए खबर पाए हालिन्छ जेलमा
सपार्न हामी नसक्ने छैनौं आपसी मेलमा ।

 

खोजे यो सरकार

माधव पोखरेल “गोज्याङ्ग्रे”

शार्दूलविक्रीडित

माधव पोखरेल गोज्याङ्ग्रे

खोजे यो सरकार चारतिर नै बालेर बत्ती पनि
गर्नुथ्यो र समाजवादतिरको नौला कुरा खै भनी
वादैवाद छ आजभित्र दलमा बुझ्दै नबुझ्ने मन
नेपाली पनमा विदेशतिरको पच्दै नपच्ने धन

भोेको पेट भरेर नाटक तिमी गर्छौ सधैँ देसमा
माग्छौ लाज नमानि भीख किन हो ? जोगी सरी भेषमा ।
आफ्नो नैतिकता हराउन गयो सुझ्दैन यो जोशमा
कालो जाल बुनेर घात जनमा पच्दैन की होसमा ।

ल्यायौ फूल टिपेर बागतिरको चोरेर एक्लै हुँदा
हाँगा नै अपराधको महकमा पारेर टुक्रा छुँदा
राम्रो काम गरेर देखिन यहाँ सक्दै नसक्नेहरू
भाग्यो की सरकार प्वालतिर लौ बन्यो कि स्यालै बरु ?

राम्रो शासक नै हराइ रहने यो देशको हाल छ
रोएका जनता भयो अति यहाँ जोगी सरी चाल छ
पाएको अधिकार खोस्न नपरोस् पीडा छ धेरै यहाँ
सक्दैनौ यदि काम गर्न जनको कुर्सी नछोऊ त्यहाँ ।

सत्तामा महझैँ छ स्वाद जहिले चाटेर औलाहरू
कुर्सीमा जहिले लडाइ छ यहाँ राखौ न पिर्का बरु?
भोका ती जनका छ रोग मनमा पालेर बस्ने सधैँ
देख्दैनौ कहिले र बास उसको आकाश छानो सधैँ ।

मान्छे मोहित पार्न भाषण भने तिम्रै छ चारैतिर
खोक्रो त्यो सपना सबै बिरहको नाप्छौ र के आखिर
कालो कर्तुतमा नि विज्ञसरि नै मान्छे भयौ के गरी ?
आफ्नाको हितमा विचार नगरी गर्छौ तिमी जे थरी ।

 

बुढ्यौली

कविराज घिमिरे

छन्द:-भुजङ्गप्रयात

कविराज घिमिरे

हुँदा स्याप्प मेरा दुवै यी कपोल
छ ढाक्ने यता श्वेत दाह्री अमोल
यहीँ नाति खेल्ने दुवै नातिनी यी
रमाएछ मेरो अहा ! यो बुढ्यौली ।

बगे र्‍याल आफ्नै छ छुट्टै रुमाल
सबै ठिक्क पारेर काट्ता कपाल
म देखिन्छु राम्रो बुढो भन्न गाह्रो
नठानौँ बुढ्यौली कहाँ हुन्छ साह्रो ।

सधैंँ गर्छु व्यायाम अल्छी नमानी
लिनेगर्छु खाना बडो ठिक्क जानी
हुने छैन मात्रा कमी खान पानी
रमेकोछ मेरो बुढ्यौली जबानी ।

ठिकै कान सुन्दै छु सुँघ्दै छ नाक
सफा गर्छु आफैँ नलाई रबाफ
सधैँ गर्छु आफैँ रमी नित्यकर्म
बुढ्यौलीपनाले कहाँ रोक्छ गर्न ।

युवा छौ भने जोड मस्तिष्क पाको
ठुलो झन् हुनेछौ मिली प्रीत बाको
युवा हुन्छ काँचो बिना वृद्ध जान
बुढ्यौली सबैको छ यो उच्च ठान ।

 

शरद्वैशिष्ट्य

हरिप्रसाद रिमाल

हरिप्रसाद रिमाल

गाढा निलो गगनमा रमिता अपार
नौ लाख छन् अति मनोहर यी सितारा
धर्ती अझै कुसुमले रमणीय कस्तो
सङ्गीतमा मधुर-राग मिलेछ जस्तो।

खाद्यान्न खेततिर पाक्न भए तयारी
खाने अनेक फल छन् रमिता छ भारी
जाहीजुही चपल चम्पक-राग कस्तो
सङ्गीतमा मधुर राग मिलेछ जस्तो।

माला उनेर घरमा बहिनी खुसी छन्
चिन्ता गए पर कता मनदीप बल्छन्
पाके अनेक परिकार मिठास कस्तो
सङ्गीतमा मधुर राग मिलेछ जस्तो।

बत्ती बले सय थरी अनमोल कान्ति
माला सबैतिर पुगे रमिता र शान्ति
उद्दीप्त शैलसम सुन्दर भव्य कस्तो
सङ्गीतमा मधुर राग मिलेछ जस्तो।

लाई अनेक गहना मनकी उज्याली
छिन् उर्वशी सम यहाँ युगओठ लाली
हाँस्छिन् मुसुक्क सँगमा मनभाव कस्तो
सङ्गीतमा मधुर राग मिलेछ जस्तो।

खेलिन्छ उत्सव समान मिलेर भैलो
यो देउसी अझ अलौकिक लाग्छ नौलो
छन् पर्वभित्र गरिमा र भनिन्छ यस्तो
सङ्गीतमा मधुर राग मिलेछ जस्तो।

 

जय होस् असलतन्त्र

किरण अन्जान रिजाल

छन्द:मन्दाक्राता

किरण अन्जान

मेची काली अनल सरियो हेलि भित्रै रहेछ
नेपालीका तरल मनमा पोलि भित्रै रहेछ
चल्छन् आँधी सरल दिलमा त्रास लाग्दो बनेर
भै”गो भै”गो अधम पशुले घात ठूलो गरेर ।

उफ्रेकाछन् असुर गण जो राष्ट्र सारा सताइ
मस्ती मार्छन् ठग सदनका घुर्त ब्वासा रमाइ
पाल्सेढाँचे अघम हरुले देश हाम्रो सकाए
खोस्रीखास्री विरह धरणी रक्त धारा बगाए ।

पाखण्डी पागल मिलिमतो एक सत्ता चलाए
नेपालीका रगत पसिना चुस्न पो मात्र भ्याए
भ्रष्टाचारी पतित हरु कै बोल बाला सधै छ
चट्टा बट्टा अबुझ लठुवा कार्य कर्ता कहिन्छ ।

कस्तो हो यो हृदय तलमा छुन्न यो लोकतन्त्र
भोका नाङ्गा द्रवित तनको हुन्न यो लोकतन्त्र
जाली,झेली,अमिर जनको मात्र भो लोकतन्त्र
नेपालीका सकल सपना भन्छु हो राजतन्त्र ।
विराटनगर -१