चौबीसौँ अध्याय

के भोजनको लागि अरूको हत्या गर्नु उचित हो ?

जब शमदाम र कसाई गए, मिकायनले गुरुलाई सोध्यो:

मिकायन: गुरु ! भोजनको लागि अरूको हत्या गर्नु ठीक होइन ?

मिर्दाद: हत्याले पेट भर्नु भनेको हत्याको भोजन बन्नु हो । अरूको दुःखमा बाँच्नु भनेको पीडाको सिकार हुनु हो । यो ईश्वरको इच्छाको आदेश हो । मिकायन ! पहिला यसलाई बुझ । अनि आफ्नो बाटो रोज ।

मिकायन: यदि मैले छनौट गर्न सकेँ भनेँ, हर चीजको सुगन्धमा अमर चरा झैं बाँच्न चाहन्छु । उनीहरूको मासुमा होइन ।

मिर्दाद: तिम्रो छनौट साँच्चै उत्कृष्ट छ । मलाई विश्वास गर मिकायन ! त्यो दिन चाँडै आउँदैछ । जब मानिसहरू उनीहरूको मासु र रगतमा नभएर आत्माको सुगन्धमा बाँच्छन्, त्यो दिन चाहनेहरूका लागि उक्त दिन धेरै टाढा छैन ।

चाहना राख्नेलाई थाहा छ कि, देहको जीवन मात्र देहविहीन जीवनको पुल हो ।

चाहना रख्नेहरूलाई थाहा छ कि, स्थूल र अकुशल इन्द्रियहरू अति सूक्ष्म र पूर्ण ज्ञानले भरिपूर्ण संसार हेर्ने आँखीझ्याल मात्रै हुन् ।

चाहनेहरूलाई यो थाहा छ कि उनीहरू जसको मासु काट्छन्, ढिलो होस् वा चाँडो ! आफ्नै मासुले उनीहरूको घाउ मर्मत गर्नुपर्दछ । उनीहरू जसको हड्डी भाँच्छन्, आफ्नै हड्डीले त्यसको पुनर्निर्माण गर्नुपर्नेछ । उनीहरूले जतिसुकै रगत किन नबगाउन्, आफ्नै रगतले त्यसको क्षतिपूर्ति तिर्नुपर्नेछ । यो शरीरको नियम हो ।

इच्छा गर्ने व्यक्तिलाई उसकै इच्छाले रोक्छ । जब गैर तृष्णाले उसको इच्छा निषेध गर्न अरूको इच्छा पर्खन्छ, इच्छा नगर्नेहरूका लागि जुन कुरा वैधानिक छन्, इच्छा गर्नेहरू त्यसलाई अवैधानिक बनाउछन् ।

जबकि गैर तृष्णाले थप धेरै चीज ग्रहण गर्छ, उसले उक्त तृष्णा आफ्नो खल्ती वा पेटमा राख्नेछ । इच्छा गर्ने व्यक्ति विना खल्ती आफ्नो बाटो हिँड्छ । कुनै प्राणीको रगत या मासुले पेट भर्छ ।

इच्छा नगर्नेले जे सोच्छ त्यो पाउँछ । अधिक मात्रामा चाहनेले आत्माको हलुकापन वा समझदारको मीठास प्राप्त गर्दछ ।

हरियो मैदान हेर्दा, दुई जनामध्ये एकले मैदानको उत्पादन सुन चाँदीको मूल्यसँग तुलना गर्छ । दोस्रोको आँखाले हरियालीको आनन्द पिउँछ । आफ्नो विचारले प्रत्येक पातलाई चुम्बन गर्छ । आत्मामा हरेक जरा, ढुङ्गा र माटोको प्रत्येक थलोप्रति भ्रातृभावको भावना स्थापित गर्छ ।

म तिमीलाई भन्छु, दोस्रो मानिस त्यो क्षेत्रको वास्तविक मालिक हो । पहिलो मानिस व्यापारी हो ।

एउटा घरमा बसेका दुई जनामध्ये एकजना मालिक र अर्को पाहुना मात्रै हुन् । मालिकले निर्माण र मर्मतसम्भारको लागत, स्याहार र अन्य सामानहरूको मूल्यको बारेमा विस्तृत छलफल गर्छ । जबकि पाहुनाले आफ्नो हृदयदेखि नै तिनलाई आशिर्वाद दिन्छन् । जसले खानीबाट ढुङ्गाहरू निकाले, तिनीहरूलाई खोपेर सुन्दर मूर्ति तथा अन्य थुप्रै चीज निर्माण गरे । यसरी यी चीजलाई अस्तित्वमा ल्याउने सृजनात्मक हातको प्रशंसा गर्दा एकको आत्मा सधैँ उच्च हुन्छ ।

म तिमीलाई भन्छु, पाहुना घरको स्थायी निवासी हुन् । जबकि नाम मात्रको मालिक पिठ्युमा बोझ बोकेर बस्ने कागजी जनावर हो ।

बाछोको स्याहार गर्ने दुई जनामध्ये एकले बाछोको नरम शरीरलाई आगामी जन्मदिनमा साथीहरूको भोजनको लागि अति उत्तम मासु उपलब्ध भएको सम्झन्छ । दोस्रोले भने आफ्नो पालनपोषण गर्ने भाइको रूपमा लिन्छ । उसको हृदय उक्त बाछो र आमाको प्रेमले फुलिरहन्छ ।

म तिमीलाई भन्दछु, त्यो बाछोको मासुले अर्को व्यक्तिलाई साँच्चै पोषण दिन्छ । जबकि पहिलोको लागि त्यो विष बन्छ ।

हो, पेटमा यस्ता धेरै चीज राखिन्छन् । जसलाई हृदयमा राख्नुपर्ने हुन्छ ।

यस्ता धेरै चीज खल्ती र जेलमा बन्द छन् । जसलाई हाम्रो आँखा र नाकले भण्डारण गर्नुपर्थ्यो ।

यस्ता धेरै चीज छन् । जसलाई हाम्रो दाँतले नचपाएर हृदयले चाख्नुपर्थ्यो ।

शरीरलाई बाँच्नको लागि निकै थोरै चीज चाहिन्छ । तिमीले उसलाई जति थोरै दिन्छौ, उति धेरै उसले बदलामा दिन्छ । तिमीले जति धेरै दिन्छौ, बदलामा उसले उति नै थोरै दिनेछ ।

तिम्रो खल्ती र पेटभित्र पसेको वस्तुले भन्दा बाहिर रहेको वस्तुले धेरै पोषण दिन्छ ।

तिमी अहिले केवल वस्तुको गन्धमा मात्र बाँच्न सक्दैनौ । त्यसैले पृथ्वीको उदार हृदयबाट तिमीलाई जति आवश्यक छ, त्यो भन्दा बढी लिनू । पृथ्वी यति उदार र प्रेमिल छे कि ! आफ्ना बच्चाहरूको लागि उनको हृदय सधैँ खुल्ला छ ।

पृथ्वी यो भन्दा फरक कसरी हुन सक्छे ? आफ्नो पोषणको लागि अन्त कहाँ जान सक्छे ? पृथ्वीले नै पृथ्वीलाई पोषण दिनुपर्छ । पृथ्वी कुनै कञ्जुस गृहिणी होइन । उनको हृदय चारैतिर फैलिएको छ । विशाल हृदयले सबैलाई पर्याप्त भोजन उपलब्ध गराइरहेको छ ।

जसरी पृथ्वीले तिमीलाई भोजनको लागि निम्तो दिन्छे र कुनै पनि वस्तु तिम्रो पहुँचबाट टाढा राख्दिन, त्यसरी नै तिमीले पनि पृथ्वीलाई भोजनको लागि निम्तो दिनुपर्छ । साँचो हृदयले भन्नुपर्छ:

“ओ मेरी अवर्णिय माता ! जसरी तिमीले मेरो अगाडि आफ्नो विशाल हृदय फैलाएकी छौ, ताकि मलाई जे चाहिन्छ त्यो लिन सकूँ । त्यसरी नै मेरो हृदय पनि तिम्रो लागि सधैँ खुल्ला छ । तिमीलाई भनिएको छ कि तिमी जे चाहान्छौ त्यो लिन सक्छौ ।”

पृथ्वीको आत्माबाट भोजन प्राप्त गर्दै गर्दा, यदि यस्तो भावनाले उत्प्रेरित गर्यो भने, तिमी के खान्छौ ? त्यसले कुनै फरक पार्दैन ।

यदि यो भावनाले तिमीलाई साँच्चै नै उत्प्रेरित गर्छ भने, तिमीसँग पर्याप्त हृदय र प्रेम हुनुपर्छ । जसले पृथ्वीको कुनै पनि सन्तान खोस्नु हुँदैन । विशेष गरी, ती सबै सन्तान बाँच्नुको आनन्द र मृत्युको पीडा अनुभव गर्न आएका हुन् । उनीहरू पनि मेहनत गर्दै बिस्तारै एकताको बाटो हिँड्नु पर्छ । उनीहरूको बाटो तिम्रो भन्दा लामो छ । यदि तिमीले उनीहरूको प्रगतिमा बाधा पुर्यायौ भने, उनीहरूले पनि तिम्रो प्रगतिमा बाधा पुर्‍याउँछन् ।

अविमार: कुनै न कुनै कारणले गर्दा सबै जीवित प्राणीले मर्नै पर्छ । तैपनि ती सबैको मृत्युको कारक म नै हुँ भनेँ, उनीहरूको मृत्युमा मैले किन शंका गर्ने ?

मिर्दाद: यो सत्य हो कि सबै प्राणीको मृत्यु निश्चित छ । तर पनि धिक्कार छ उसलाई, जसले कुनै पनि जीवित प्राणीको मृत्यु गराउँछ ।

जसरी तिमी नरोन्दा र मलाई असाध्यै प्रेम गर्छौ । मेरो हृदयमा रगतको प्यास छैन भन्ने थाहा पाएपछि उसको हत्या गर्न दिदैनौ, त्यसरि नै ईश्वरको इच्छद्वारा एक मानवबाट अर्को मानव वा जनावरलाई मार्ने आदेश हुँदैन । जबसम्म उनलाई उक्त मृत्यु ल्याउनको लागि जो कोहीलाई साधनको रूपमा प्रयोग गर्न आवश्यक ठान्दैनन् ।

जबसम्म मानिसहरू मानिस जसरी रहन सक्दैनन्, उनीहरुमा चोरी, डकैती, झूट, युद्ध र हत्या जस्ता भ्रष्ट र पापपूर्ण कामनाहरू रहनेछन् ।

तर, चोर र डाँकूलाई धिक्कार छ ! झूटो बोलेर युद्ध तथा हत्याको आतङ्क मच्चाउनेहरूलाई पनि धिक्कार छ । हरेक मानिस, जो आफ्नो हृदयमा भ्रष्ट र पापपूर्ण इच्छाहरू राख्छन् । दुष्ट भएकै कारण उनीहरू ईश्वरद्वारा सञ्चालित हुदैनन् । बरू दुष्टको सन्देशवाहक भएकाले, दुष्टकै रूपमा कार्यरत हुन्छन् ।

मेरा साथीहरू हो ! आफ्नो हृदयलाई हरेक भ्रष्ट र पापपूर्ण आवेगबाट मुक्त गर्नुपर्दछ । ताकि ईश्वरको इच्छाले, दुःखी संसारमा सुखी सन्देश । दुःखबाट मुक्तिको सन्देश । आत्म-विजयको सन्देश र अन्नत स्वतन्त्रताको सन्देश दिन सक्षम भएको ठान्छ । यी सबै सन्देश प्रेम र ज्ञान मार्फत आउँछन् ।

नोआलाई मैले यही सिकाएको थिएँ ।

यो तिमीलाई मेरो शिक्षा हो ।

पच्चीसौँ अध्याय

मदिरा उत्सव मनाउने तयारी गर्दै गर्दाको पूर्वसन्ध्यामा मिर्दाद वेपत्ता भए

नरोन्दा : मदिराको जन्मोन्सव मनाउने दिन नजिकिँदै थियो । हामी लगायत डुङ्गा बासीको साथमा बाहिरबाट आएका स्वयंसेवी उक्त पर्व मनाउने तयारीमा व्यस्त थियौँ । गुरु आफ्नो सम्पूर्ण शक्ति लगाएर यति उत्साहका साथ काम गरिरहेका थिए कि, पछि शमदामले सन्तुष्ट भएर टिप्पणी गर्यो ।

डुङ्गाका ठूला तहखाना सफा गरेर रङ लगाउनुपर्थ्यो । दर्जनौँ ठूला मदिरा भाँडाहरू सफा गरि फेरि उही ठाउँमा राख्नुपर्थ्यो । ताकि उनीहरू नयाँ मदिराले भरिन सकून् । अघिल्लो वर्षको अंगुरको दानाबाट बनेको मदिरासहितका जार र भाँडाबाट ग्राहकले सजिलै स्वाद परिक्षण गर्न सकून् भनी सजाएर प्रदर्शन गर्नुपर्थ्यो । हरेक मदिरा उत्सवमा अघिल्लो वर्षको मदिरा बेच्ने चलन थियो । यो चलन अझै छ ।

साताव्यापी उत्सवको लागि डुङ्गाको खुला चोकहरू सुन्दर ढंगले सजाउनुपर्थ्यो । आउने यात्रुलाई बस्नका लागि सयौँ टेन्टहरूको साथै व्यापारीहरूको सामान प्रदर्शन गर्न अस्थायी पसलहरू निर्माण गर्नुपरेको थियो ।

अरु पनि थुप्रै जहाजबाट सङ्कलन हुने अनगिन्ती अंगूरका थुप्रो त्यसमा हाल्न सकियोस् भनी भएका असल अंगूरलाई तयारी अवस्थामा राख्नूपर्थ्यो ।

किसान तथा शुभचिन्तकहरूले गधा, खच्चर र ऊँटको पिठमा सामान ल्याउनुपर्थ्यो । धेरै मात्रामा रोटी पकाउनु पर्थ्यो । अन्य खाद्यवस्तु आपूर्तिको अभाव भएका वा विनाआपूर्ति आएकाहरूलाई बेच्नको लागि तयारी अवस्थामा राख्नूपर्थो ।

मदिरा उत्सवको सुरुमा कृतज्ञताको दिन थियो । तर, शमदामको असाधारण व्यावसायिक कौशलताले यसलाई एक सातासम्म लम्ब्यायो । एक प्रकारको मेलामा परिणत गर्‍यो । जसले गर्दा टाढा-टाढाका हरेक पेशाका स्त्री पुरूष प्रत्येक वर्ष बढ्दो संख्यामा भेला हुन थाले । राजा, भिक्षु, किसान तथा कारीगरहरू । नाफा, आनन्द र अन्य लक्ष्य पूरा गर्न चाहनेहरू । रक्सी पिउने तथा त्याग्नेहरू । धर्मी यात्री तथा अधर्मी आवाराहरू । मन्दिरका भक्त तथा व्यापारीहरू । यी सबैको साथमा रहेका जनावरको यो रंगीन भीडले वर्षको दुई पटक (शरद ऋतुको मदिरा उत्सव र वसन्तको डुङ्गा उत्सवको दिन ) शिखरमा रहेको मठमा आनन्दको माहोल सृजना गर्छ ।

यी मध्ये अन्य उत्सवमा पनि कोही यात्रु खाली हात डुङ्गामा आउँदैनन् । सबैले कुनै न कुनै प्रकारको उपहार ल्याउँछन् । जुन अंगूरको गुच्छा वा मदिरा, मोतीको दाना वा हीराको हारसम्म हुन सक्छ । सबै व्यापारीबाट उनीहरूको बिक्रीको दस प्रतिशत कर पनि उठाइन्छ ।

पर्वको पहिलो दिन जेष्ठ नागरीकहरूले अंगूरका गुच्छाले सजाइएको लता मण्डपमुनि उठेको मञ्चमा बसेर भीडलाई स्वागत र आशीर्वाद दिएर पाएको उपहार ग्रहण गर्ने चलन छ । त्यसपछि उनीहरूसँग नयाँ मदिराको पहिलो पेग पिउने गर्छन् । त्यहाँ उपस्थित नेता चाहिँले एउटा ठूलो र लामो खोक्रो टम्बलरबाट आफ्नो कचौरामा मदिरा खन्याउछ र भीडको वरिपरि घुम्नको लागि कचौरा आफ्नो साथीलाई दिन्छ । कचौरा खाली भएपछि फेरि भरिन्छ । जब सबैको कचौरा भरिन्छ, नेताले सबैको कचौरा माथि उठाउँछ । उनीहरूसँगै पवित्र अंगूरबाट निर्मित मदिराको प्रशंसा गीत गाउँछ । भनिन्छ कि उक्त गीत नोआ र उनको परिवारले पहिलो पटक अंगूरको रस चाख्दा गाएका थिए । गीत गाएर भीडले हर्षोल्लासका नारा लगाउदै कचौरा खाली गर्छ । आफ्नो व्यापार र मेला सफल भएकोमा खुसी हुँदै सबै आफ्नो बाटो लाग्छन् ।

पवित्र मदिराको लागि प्रशंसाको भजन यस्तो छ:

 

यो पुण्य मदिराको जय होस् !

कोमल अंगूरको पालनपोषण गर्ने

त्यो अद्भुत जराको जय होस् !

सुनको फललाई जीवन्त मदिराले भर्ने

यो पुण्य बोटको जय होस् !

बाढीले अनाथ भएकाहरू

हिलोमा फसेकाहरू

आऊ आऊ

यो प्रेमील हाँगाबाट बग्ने रसको स्वाद लेऊ

यो पुण्य बोटको जय होस् ।

तिमी सबै माटोका बन्धक हौ

यात्री हौ, तर भट्केका छौ

तिमी

मुक्तिको मूल्य चुकाउन सक्छौ

आफ्नो बाटो आफैं खोज्न सक्छौ

यो दिव्य बोटको रसले

यो मदिराबाट

यो मदिराबाट !

पर्व सुरु हुनुभन्दा एक दिन बिहानैदेखि गुरु बेपत्ता थिए । सात साथीहरू यति डराए कि त्यसको वर्णन गर्न सकिँदैन । उनीहरूले तुरुन्तै अत्यन्त सावधानीपूर्वक गुरुको खोजी सुरु गरे । टर्च तथा लालटेन बालेर डुङ्गा भित्र र वरपर दिनरात खोजे । तर गुरु कतै भेटिएनन् । शमदाम यति धेरै चिन्तित र विचलित भए कि, गुरुको रहस्यमय बेपत्तामा उनको हात छ भनेर कसैले शंका गरेन । तर सबैलाई विश्वास थियो कि गुरु कुनै षड्यन्त्रको शिकार बनेका थिए ।

ठूलो उत्सव चलिरहेको थियो । तर सात साथीहरूको जिब्रो शोकले वरफ झैँ जमेको थियो । उनीहरू छाया जस्तै यत्र तत्र घुमिरहेका थिए । भीडले गीत गाउँदै रक्सी पिएर सिध्याएको थियो । नेता पनि मञ्चबाट ओर्लिएका थिए ।

केही समयपछि भीडको कोलाहलभन्दा धेरै माथि कोही चिच्याएको आवाज सुनियो, “हामी मिर्दादलाई हेर्न चाहन्छौँ । हामी मिर्दादलाई सुन्न चाहन्छौँ ।”

उक्त आवाज रास्टिडियनको हो भन्ने हामीले बुझ्यौँ । गुरुले उनलाई के भनेका थिए र उनको लागि के गरेका थिए भन्ने कुरा रास्टिडियनले टाढा-टाढाका मानिसहरूमाझ फैलाएको थियो । भीडले तुरुन्तै उनको आवाजलाई आफ्नो बनायो । गुरुको लागि गरिएको रोदन चारैतिर फैलियो । बिस्तारै उक्त रोदनले हाम्रो कान दुखाउन थाल्यो । आँखा आँसुले भरिए । घाँटी कसैले थिचिदिएझैँ निसास्सिन थाल्यो ।

अचानक कोलाहल अलि शान्त भयो । सम्पूर्ण समुदायमा गहिरो मौनता छायो । अग्लो स्थानबाट भीडलाई शान्त पार्न गुरुले हात हल्लाउँदै गरेको देख्यौँ । उनी गुरु हुन् भनी पत्याउन निकै गाह्रो भयो ।