अचेल अभियन्ताहरु पनि अराजक हुन थालेका छन् । पछिल्लो उदाहरण फ्रान्समा घटित भएको छ । अभियन्ताहरु चित्रकला प्रदर्शनीमा जाने र प्रख्यात चित्रलाई फोहोर पारिदिने क्रम बढेपछि फ्रान्सेली संस्कृति मन्त्री रचिदा दातीले नयाँ कानुन बनाउन आग्रह गरेका छन् । उनको भनाइ छ, प्रख्यात चित्रको सुरक्षाका लागि नफुट्ने सिसा लगाइएको भए पनि सभ्यता सिकाउनुपर्ने भएको छ ।

केही दिनअघि मात्र पेरिसमा रहेको ओर्से म्युजियममा फ्रान्सेली इम्प्रेसनिस्ट चित्रकार क्लाउड मोनेटले बनाएको चित्र ‘पोपी फिल्ड’मा एक जना पर्यावरण अभियन्ताले पोस्टर टाँसिदिएका थिए ।

मोनेटले बनाएको पप्पी फिल्ड चित्र

यस घटनाभन्दा पहिले पनि गएको जनवरी महिनामा लुभ्र दरबारमा रहेको मोना लिसाको चित्रमाथि ‘दिगो खाद्यान्नः सामाजिक सुरक्षा’ माथि काम गरिरहेको रिपोस्टे एलिमेन्टायर नामक एउटा समूहका अगुवाले एक गिलास जुस फ्याँकिदिएका थिए ।

पछिल्लो घटनामा ओर्से म्युजियमले प्रतिक्रिया दिँदै भनेको छ, ‘सन् १८७३ मा मोनेटले बनाएको सो चित्रमाथि पोस्टर टाँस्दा कुनै क्षति भएको छैन ।’

संस्कृति मन्त्रीले नयाँ बन्ने फ्रान्सेली कानुनअनुसार कसैले चित्रकलामाथि बदमासी गरेको खण्डमा सात वर्षसम्मको जेल साजय र एक लाख युरोसम्म जरिवाना हुने छ । त्यसो त यो सजाय त्यस्ता दुर्लभ चित्रकलाहरु बिग्रिए, भत्किएमा मात्र यस्तो सजाय हुने बताइएको छ ।

चित्रकला बिग्रिएन भने पनि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने नयाँ कानुन बनाउन मन्त्री दातीले आग्रह गरेकी छन् । यस्तो बदमासी गर्नेहरु कुनै पनि सजायबाट नउम्कियून् भन्ने दाती चाहन्छिन् ।

फ्रान्सेली संस्कृति मन्त्री रचिदा दाती

आफ्नो देशको कला, संस्कृतिलाई माया गर्नुका साथै सम्मान भाव राख्न यस्ता कडा कानुन बनाइनुपर्ने उनको धारणा छ । यस्तो भए मात्र देशका धरोहर बच्ने दातीले बताएकी छन् ।

सन् २०२२ मा नेदरल्यान्डमा जस्ट स्टप आयल अभियन्ताले त्यहाँको प्रख्यात गर्ल विद द पर्ल इयररिङ चित्रमाथि हात राखेको आरोपमा उनीहरुलाई एक महिने जेल सजाय तोकिएको थियो । त्यसैको सिको गर्दै फ्रान्सले पनि कडा कानुन बनाउनेतर्फ सांसदहरुलाई संस्कृति मन्त्रीले सचेत गराएकी हुन् ।

नेदरल्यान्डका प्रख्यात चित्रकार जोहानेस भर्मिरले गर्ल विद द पर्ल इयररिङ बनाएका थिए ।