हामी नेपालमा कलाकार शशिविक्रम शाहलाई घोडा बनाउने एक वरिष्ठ कलाकारका रूपमा चिन्छौ । यद्यपि उहाँ घोडा मात्र बनाउने कलाकार भने होइन । जीवनको अघिल्ला दिनहरूमा उहाँले थुप्रै स्केच, इलस्ट्रेसन, कार्टुन र क्यालियोग्राफी पनि बनाउनुभएको छ । उहाँ फास्ट स्केचका नामूद कलाकार पनि हो । कुनैबेला सिर्जना आर्ट ग्यालरी, जमलमा उहाँकै छेउमा बसेर मैले पनि स्केच कोर्ने मौका पाएको थिएँ । जुन परिवेशको सम्झना अझै पनि छ । उसबेला उहाँले चित्र बनाएको देख्दा मलाई उदेक लाग्थ्यो । डाइरेक्ट ट्युब रङबाट क्यानभासमा स्केच प्रक्षेपण गर्दै चित्र पुरा गरेको देख्दा कौतुहल जाग्थ्यो । कलाकार शाहसँग मेरो उठबस र गुरु चेलाको भाव तीन दशकअघिदेखि नै रह्यो ।

विशेषतः मेरो यो लेखकीय पंक्तिमा शशिको घोडाचित्रमा उत्खनन् गर्नुपर्ने जागरण रहेकोले अन्यत्र नगई शशिघोडा र उहाँको घोडा विषयवस्तुलाई नै संक्षिप्तमा सम्मुख ल्याउने प्रयत्न गरिरहेको छु ।

क्यानभासमा बनेका शशिविक्रमको घोडा क्यानभासमा धार्मिक दर्शन, आख्यान र भावपक्षहरू घनीभूत हुन्छन् । प्रत्येक घोडाभित्र अर्थ लुकेको हुन्छ । घोडा शक्तिको प्रतीक, समयको दौड, सम्भ्रान्तताको पहिचान र अवतारको स्वरूप हो भन्ने उहाँको धारणा थियो । धार्मिक ग्रन्थ र कथ्यमा आधारित तारणहार भगवान् विष्णुको नवौं अवतार (मत्स्य, कच्छप, वराह, नरसिंह, वामन, परशुराम, कृष्ण, राम र बुद्ध ) पूर्ण भइसकेको छ । अबको दशौं अवतारमा भगवान कल्कीका रूपमा आउने छन् भन्ने उनको घोडावादी क्यानभासको मूल मान्यता हो । निकट भविष्यमा हुन गइरहेको एकल प्रदर्शनीको तयारीमा स्टुडियोमा जुटिरहेका शाह, क्यानभासमा ‘हिनहिनाई’ दौडिरहेका विच्छृङ्खल घोडा बथानहरू कोर्दै भन्नुहुन्छ, ‘घोडा विषयमा विश्वभरका कलाकारहरूले काम गरेका छन् तर मेरा घोडाहरू शैली र आख्यानात्मक दृष्टिले तिनीहरूका भन्दा पृथक छन् । यिनमा नेपालीपन र आध्यात्मिक सुवास छ ।’ तैल र एक्रेलिक रङ माध्यममा कडा तुलिकाघातले बनाइएका उनका अधिकांश घोडाहरू पुष्ट र गतिमान देखिन्छन् । केही रुग्ण घोडाहरू क्यानभासको कुनाकानीबाट हुत्तिदै आइरहेका पाइन्छन् । सवल र दक्ष रेखासंयोजनमा रङहरूको मिठासपूर्ण आनन्द भेटिन्छ ।

स्तम्भकार तीर्थ निरौला र शशिविक्रम शाह

युद्ध विभीषिका, परमाणु द्वन्द्व, शीतयुद्ध र असमान राजनीतिक पीडा र प्रताडनाहरूले आक्रान्त कलियुगे जीवन र जगत्माथि कल्की अवतारलाई उद्धारका निम्ति पुकारा गर्नु उहाँको क्यानभासको ध्येय हो । ‘यी विविध घोडाहरूमध्ये स्वेत घोडाले विष्णुको अवतारलाई सम्बोधन गर्छ’ क्यानभासका घोडाहरूलाई चोरी औँलाले देखाउँदै उहाँ भन्नुहुन्छ, ‘कलीमा, रक्तिम र रुग्ण घोडाहरू नकारात्मक वा दुर्गति, दुर्भावना र दुर्गुणका प्रतीकात्मक पात्रहरू हुन् ।’ त्यस्तै सात घोडा मात्र रहेको अर्को क्यानभासलाई देखाउँदै उहाँ थप्नुहुन्छ, ‘सूर्यको बाहन सात घोडा हुन्छन् । इन्द्रेणीको सात रङ हुन्छन् । सङ्गीतका सात सुर हुन्छन् ।’ जगत् प्रतिविम्बित उनको क्यानभासमा राजनीतिक चालको प्रतीक बनेको छ — चेस आकृति । यसको पृष्ठभूमिमा सलबलाएका शक्तिउन्माद परिणतिहरू छर्लङ्ग छन् । त्यहाँ मानिसको बाँच्ने जिजीविषा दिग्भ्रमित भएको छ । परपीडन निर्मूलनका निम्ति विष्णुरूपि स्वेत कल्की अवतार आकाशगङ्गाबाट धर्तीमा अवतरित हुने अवस्थामा छ । जब त्यो अवतरण हुन्छ, जगत्मा शान्ति, समृद्धि र धार्मिकताको भावना पुलकित हुन्छ र सत्ययुगको पुनरावृत्ति हुन्छ । यिनै आदर्श र दर्शनमा कोरिएका चित्र अर्थात् भावनाहरू मूलतः भगवान् विष्णुको भनाइको पैँचो हो । विख्यात प्रभाववादी कलाकारहरू हेन्ड्रिमेटिक्स, पिसारो, भ्यानगग, मोने र जापानीज क्यालियोग्राफी शैलीबाट प्रभावित उहाँको हृदय अर्थात् चित्र विख्यात कलाकार डाली र म्याक्स अरनेष्टका चित्रहरूसँग नजिकिएका पाइन्छन् । अति यथार्थवादी शैलीमा मोहित उहाँका चित्रहरूमा रङको चयन, तुलिकाघात, ‘टेक्सचर इफेक्ट’ र क्यानभासको ‘स्पेस डिभिजन’ उच्च कोटीका छन् ।

शशिविक्रम शाह

सन् १९४० मा काठमाडौँमा जन्मिनुभएका शाहले बम्बईस्थित ‘सर जे. जे. स्कुल अफ फाइन आर्ट’बाट कलामा स्नातक र विविध कोर्सहरू पूरा गर्नुभएको छ । उहाँले नेपाल, भारत, अमेरिका, जापान, बङ्लादेश, कोरिया, तत्कालीन सोभियत रुस आदि धेरै देशहरूमा चार दर्जनभन्दा बढी एक व्यक्ति र दजनौंपल्ट सामूहिक कलाप्रदर्शनी गरिसक्नु भएको छ । सन् १९७९ मा इन्द्रराज्य लक्ष्मी पुरस्कार, सन् १९७० राष्ट्रिय कला प्रदर्शनीमा प्रथम पुरस्कारलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट अनगिन्ती पुरस्कार तथा सम्मानहरू पाइसकेका छन् । नेपाली कलाको विकासका सन्दर्भमा कुरा गर्दा उहाँ सङ्ख्यात्मक मात्रा र विकास र आर्थिक दृष्टिले हामी र हाम्रो कला, अन्य कलाका विद्याहरूको तुलनामा पछि परिरहेकामा थकथकी मान्नुहुन्छ । ‘मुख्यतया यसको दोषी पक्ष भनेको सरकार र स्वयम् हामी कलाकार नै हौँ,’ उहाँ भन्नुहुन्छ, ‘अब यस क्षेत्रको समग्र विकासका लागि हामी सबै जना एक भएर जागरुक नभई अर्को उपाय छैन । नत्र धेरै पछाडि परिन्छ ।’