कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो एघारौँ श्रृंखला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृंखलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना कविका लुकेका कवितालाई यसले बढी महत्व दिए पनि नयाँ पुस्ताका असाध्यै राम्रा कविताहरू पनि यो अभियानमा समावेश गरिने डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् ।

प्रस्तुत छ, यसपटकका स्मार्ट पोयम्सहरू :

 

१. मृत्यु
(अविनाश श्रेष्ठ)

अविनाश श्रेष्ठ

शरीरमा
हैन
शब्दमा मात्र
रहनेछु
कुनै
दिन ।

 

 

२. पुलिस र कविता
(विमल निभा)

विमल निभा

पुलिसले कविता पढ्यो
र भन्यो
राम्रो छ

पुलिसले कवितालाई राम्रो भन्यो

कवितामा लेखिएको थियो
के लेखिएको थियो कवितामा
पुलिसलाई थाहा छ

पुलिसलाई राम्ररी थाहा छ

किनभने
पुलिसले कविता पढ्यो
र भन्यो
राम्रो छ

पुलिसहरू पनि
कविता पढ्छन् ।

३. बाँचुन्जेल मेरो हो
(विष्णुविभु घिमिरे)

विष्णुविभु घिमिरे

फक्रक्क फक्रेकी
एउटी सुन्दरी फूलसँग सोधेँ—
यो यौवन कहिलेसम्म हो ?
यो आकर्षण कति दिनको हो ?
भन यसरी निरन्तर
तिमी कहिलेसम्म मुस्कुराउन सक्छ्यौ ?
भन सुन्दरी, यो यौवनको मीठो सुवास
कहिलेसम्म बाँडिरहन सक्छ्यौ ?

फूलले मुस्कुराउँदै भनिन्—
नझरुन्जेल म फुलिरहन्छु
नमरुन्जेल म बास्ना छरिरहन्छु
बाँच्नु कति छ ?
यो त मलाई थाहा छैन
जति बाँच्नु छ, बाँचुन्जेल मेरो हो
बाँचुन्जेल हाँसिरहन्छु
हाँसुन्जेल बाँचिरहन्छु ।

४. मलाई तिमी आफू जस्तै बनाऊ
(विनय रावल

विनय रावल

विसङ्गति हेरेर बस्नु
यहाँको नियति भैसक्यो,
नराम्रो खबर सुनेर बस्नु
यहाँको परम्परा भैसक्यो,
छातीभित्र आक्रोश थिचेर बस्नु
यहाँको बाध्यता भैसक्यो,

हे ईश्वर !
किन मलाई आँखा चाहियो ?
किन मलाई कान चाहियो ?
किन मलाई मुख चाहियो ?
मलाई दया गर
मलाई तिमी आफू जस्तै बनाऊ ।

५. मेरो रूप
(ज्ञान उदास)

ज्ञान उदास

भोकाएको मगन्ते झैँ
तिर्खाएको प्यासी झैँ
मेरो रूप–अनुरूप
ठोकिन्छ, पछारिन्छ
छटपटिन्छ, भुटभुटिन्छ
अनि आकुल–व्याकुल भएर
बैशाख र जेठको ढाक्रे झैँ
रुख र छहारीको शितल खोज्छ
पाउँदैन, हो पाउँदैन,
अनि मेरो रूप
अनायास च्यातिन्छ धुजाधुजा भएर
धेरै वर्ष पुरानो क्यालेण्डर र तस्बिर झैँ !