साहित्यपोस्टले मुक्तक प्रतियोगिताको साताैँ चरण सुरु गरेको छ । यसअघि यसका छ चरण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
साहित्यपोस्टका अनुसार प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिनेछ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको संगालो प्रकाशन गरिने छ । त्यसैगरी पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ ।
त्यसैगरी उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ ।
मुक्तकका निर्णायकहरूमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ ।
अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनुभएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्ये पर्नुहुन्छ ।
तेस्रा निर्णायकमा राजन सिलवाल रहनुभएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजन सिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरूमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनुभएको छ ।
साहित्यपोस्टले गएको साता राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जल अर्पण गर्दै उनकै सेरोफेरोमा रहेर मुक्तकका तीन विषय प्रस्तुत गरेका थियौँ । यो हप्ता काेराेनाकाे महामारीमा परी परदेशमा अलपत्र पर्नुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनाहरूलाई समेटेर तिन विषय प्रस्तुत गरिएकाे छ ।
पहिलो मुक्तकको विषयः परदेशीको अवस्था (यसलाई छुने जुनसुकै विषय वा घटना)
दोस्रो मुक्तकको विषयः रेमिट्यान्स र महामारी (यसलाई छुने जुनसुकै विषय वा घटना)
तेस्रो मुक्तकको विषयः स्वदेश फर्कने सपना (यसलाई छुने जुनसुकै विषय वा घटना)
नियमहरू:
— सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
— मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ ।
— प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् ।
— पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन ।
– एकपटक पुरस्कृत भइसकेका मुक्तककारलार्इ प्रतियोगितामा समावेश गरिने छैन । (चौथो चरणबाट थप गरिएको)
— यसअघि अनलाइन,छापा वा कुनै पनि स्मारिकाहरूमा प्रकाशन भइसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् ।
यो साताको प्रतियोगिता अहिल्यैबाट सुरू भई अर्को साताको बुधबार (भदौ २४ गते) रातको १२ बजेसम्म रहनेछ ।
पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्;
पहिलो मुक्तकको विषयः परदेशीको अवस्था (यसलाई छुने जुनसुकै विषय वा घटना)
दोस्रो मुक्तकको विषयः रेमिट्यान्स र महामारी (यसलाई छुने जुनसुकै विषय वा घटना)
तेस्रो मुक्तकको विषयः स्वदेश फर्कने सपना (यसलाई छुने जुनसुकै विषय वा घटना)
यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीन वटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।