युगकवि सिद्धिचरण श्रेष्ठ खतरै कवि हुन् । क्रूर राणाकालमै अर्थात् ००७ सालअगाडि नै ‘.. क्रान्तिविना यहाँ हुँदैन स्वच्छ शान्ति’ जस्ता क्रान्तिकामी कविता लेख्ने यी कविका हृदयस्पर्शी र कालजयी कविताहरूको भण्डारै छ ।
‘आज नखाऔँ; नसुतौँ; आओ
सब मिली हडताल मचाऔँ
कसरी चल्ला विधिको सृष्टि
लौ त्यसको पाइन हेरौँ !’
कविताकर्म गरेकै अपराधमा राणाशासनले उनलाई सर्वस्वसहित १८ वर्ष काराबासमा हाल्यो । त्यही बीचमा उनी–लगायतले उकासेको ००७ सालको क्रान्ति मज्जैले उर्लियो र त्यो तानाशाही शासनलाई नै उखेलिदियो । अनि, उनले ५ वर्षमै रिहा हुन पाए । अन्यथा, ‘पाँचौँ शहीद’ हुन वा ‘दोस्रो कृष्णलाल’ बन्न कुनै बेर लाग्ने थिएन ।
‘सुमति’ उपन्यासका लेखक विष्णुचरण श्रेष्ठ ओखलढुङ्गा जिल्लामा तत्कालीन मालअड्डाको हाकिम भएर आएका थिए । सोही बखत उनै विष्णुचरण र नीरकुमारीका एकमात्र छोराको रूपमा वि.सं. १९६९ जेठ ९ गते ओखलढुङ्गा बजारमा सिद्धिचरणको जन्म भएको थियो; कीर्तिशेषचाहिँ २०४९ जेठ २२ गते भयो ।
उसबखत ओखलढुङ्गाबाट पैदल काठमाडौँ आइपुग्न करिब १० दिन लाग्थ्यो । उनी पुख्र्यौली थलो काठमाडौँ फर्कंदा ९ वर्षका थिए । आफूलाई डोकोमा बोकाएर ल्याइएको प्रसङ्ग उनले स्मरण गरेका छन् ।
दर्जनौँ पुस्तकमात्रै होइनन्, उनका केही फुटकर कविता नै युगलाई हल्लाउने खालका छन् ।
समकालीन एवम् अनुजहरूले उनलाई बडप्पन नभएको, सबैसँग मिल्न सक्ने, हेर्दा साधारण तर असाधारण व्यक्तित्वको रूपमा चर्चा गर्ने गरेका छन् । कविको रूपमा मात्रै होइन, व्यक्तिको रूपमा पनि सिद्धिचरण विशेष व्यक्तित्व हुन् । उनले आफ्नै बारेमा यस्तो लेखेका छन्—
‘हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ ।’
अहिलेको साहित्यको मात्रै होइन, राजनीतिक चेतनाको जगमा पनि सिद्धिचरणहरूकै योगदानको इँट्टा छ । नेपालको पहिलो दैनिक पत्रिका ‘दैनिक आवाज’, ‘शारदा’, ‘कविता’ इत्यादिका सम्पादक उनी ‘राष्ट्रिय कविता महोत्सव’का संस्थापक पनि थिए । दर्जनौँ पुस्तकमात्रै होइनन्, उनका केही फुटकर कविता नै युगलाई हल्लाउने खालका छन् ।
यस्ता अनेकन साक्ष छन्, जसले सिद्धिचरण श्रेष्ठ युगद्रष्टा नै हुन्, युगकविमात्र होइनन्, युगीन कवि नै हुन् भनेर घोषणा गर्दिन्छन् । सिद्धिचरणलाई स्वच्छन्दवादी धाराका देवकोटापछिका र देवकोटाकै हाराहारीका कवि हुन् भन्नलाई सायदै धक मानिरहनुपर्ला । उनको यो कवितांश त मलाई हुरुक्कै मन पर्छ—
‘सङ्कट पर्छ मान्छेलाई; ढुङ्गालाई के पर्छ !
असिना आई फूलबारीमा फूलहरू पहिले झार्छ ।’
यो कविता त झन् यौटा हातको औँलामै गन्न सकिने लोकप्रिय नेपाली कवितामध्येको हो—
“ओखलढुङ्गा”
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो, खेल्यो, वन–कुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुङ्गा !
जब म चढेर भावको डुङ्गा
शयर गर्छु स्मृतिको प्रिय गङ्गा
स्वप्न गगनबाट सुशीतल जल
सुख–स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुङ्गा !
कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन् प्रकृति
मृग सावकहरू उफ्री–उफ्री
तरुलतिकाहरू हल्लीहल्ली
मेरो प्यारो ओखलढुङ्गा !
ती अविरल परिश्रमी पतकर
द्रूतगामी निर्झरतुल्य चपल
बहँदै वनवनमा चारैतिर
खोज्दा हुन् मेरो पथको पथ
मेरो प्यारो ओखलढुङ्गा !
पर्दावाल सुन्दर पल्लवित
वृक्ष खोपीमा, कालो कोकिल
उनको यो वियोग प्रिय कविको
कति मृदु विरह गीत रच्दो हो
मेरो प्यारो ओखलढुङ्गा !
त्यो ढुङ्गा, त्यो खोला, त्यो रूख
त्यो वन, त्यो लतिका, त्यो चिर सुख
यो हृदय केन्द्र स्नेह तडित
चम्काइरहेछ आज क्षणक्षण
मेरो प्यारो ओखलढुङ्गा !
तामाकोशी, त्यो सुनकोशी
त्यो गिरि फोरी बहने रोशी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हर्दम पवित्र
मेरो प्यारो ओखलढुङ्गा !
भाग्य–लहरामा लहरी–लहरी
पुगेँ म यस मरूस्थलमा कसरी
तर, खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि
मेरो प्यारो ओखलढुङ्गा !
तर, यो ओखलढुङ्गाको कविता भने बिल्कुलै होइन !
सिद्धिचरणले २३ वर्षको उमेरमा १९९२ सालमा यो कविता रचेको इतिहास छ । ०२५ सालतिर रामेशले सङ्गीत भरे, मञ्जुल–रामेशको स्वरमा ०३१ मा रेडियो नेपालमा रेकर्ड पनि भयो । पछि, नारायणगोपालले पनि सङ्गीत भरे; गाए । भनूँ, यो कविता; कविताको रूपमा मात्रै रहेन, गीतसमेत बनेर घन्किँदै रह्यो, चम्किरहेकै छ आजसम्म उसैगरी ।
ओखलढुङ्गा कवि सिद्धिचरणको जन्मभूमि हो; प्यारो ठाउँ हो; यसमा कुनै शङ्कै छैन । कवि नेपालका धेरै वटा गाउँमा गएका थिए । नेपाली गाउँको सूक्ष्म र गहन चित्रण उनले अन्य कवितामा पनि गरेका छन् । ९ वर्षको उमेरमा अर्थात् १९७८ तिर काठमाडौँ फर्किएपछि यो कविता लेख्दासम्म कवि फेरि ओखलढुङ्गा भने फर्केर पुगेका थिएनन् । अर्थात्, ९ वर्षसम्मको कलिलो मस्तिष्कले जति देखे, काठमाडौँ आएपछि सायद उनको स्मृतिबाट ओखलढुङ्गाको वास्तविक चित्र हराउँदै गयो ।
मान्छेहरू दुई वर्ष आसपासदेखिका कुरा सम्झन्छन् । सिद्धिचरणको सवालमा पनि त्यस्तै केही भयो कि
ठीक यस्तै अनुभूति मेरो पनि छ । म पनि ६ वर्षको उमेरमा सिन्धुलीबाट सर्लाहीतिर झरेको थिएँ । केही सालपछि पुनः सिन्धुली नै फर्किएँ । तर, नयाँ ठाउँमा बसाइँ आएअघिका सिन्धुलीका कुनै स्मरण मेरो दिमागमा बाँकी रहेनन् । पुरानो परिवेशमै हुँदो हुँ त स्मरणमा रहिरहँदा हुन् कतिपय कुरा । नयाँ ठाउँमा पुराना कुरा कसले सम्झाइदिने ! अन्यथा, मान्छेहरू दुई वर्ष आसपासदेखिका कुरा सम्झन्छन् । सिद्धिचरणको सवालमा पनि त्यस्तै केही भयो कि !
‘ओखलढुङ्गा’ कविता पूरै जिल्लाको कविता झन् हुँदै होइन । तत्कालीन पूर्व ३ नं. को सदरमुकाम थियो ओखलढुङ्गा । वि.सं. २०१८ सालको प्रशासनिक विभाजन–पूर्व हालको सोलुखुम्बू, खोटाङ र दिक्तेल जिल्ला समेत पूर्व ३ नं. ओखलढुङ्गामै पर्थे ।
‘तिम्रै सुन्दर हरियाली’ बाट यो कविता आरम्भ गरिएको छ । हरियाली (हरिया घाँसपात, बोटबिरुवा, लतावृक्ष आदिको आकर्षण), वनकुञ्ज (लहरा, रूखपातले ढाकिएको जङ्गल), कुसुमाकर (पूmलबारी; बगैँचा), मृग शावक (मृगको बच्चो), तरुलतिका (रूखको सानु लहरा), पतकर (सुकेर भुइँमा झरेका पात), निर्झरतुल्य चपल (झरनाजस्तै चञ्चल), वनवन (जङ्गलै जङ्गल), पल्लवित (बोटबिरुवामा पात, आँकुरा, पालुवा आउनु), वृक्ष खोपी (रूखको टोड्को), खोला, रूख, वन, लतिका इत्यादि शब्द कवितामा छन् । तर, उनले चित्रण गरेको जङ्गलै जङ्गल अनि घना जङ्गलसँगै जोडिएको गाउँ वास्तविक ओखलढुङ्गाको चित्रण हो त ? के थिए त यी सब त्यहाँ ?
पञ्चायतकालीन वनमन्त्री हेमबहादुर मल्लले तराईको जङ्गल सखाप पारेझैँ अचेल उजाड बनाइएको होइन ओखलढुङ्गालाई । ओखलढुङ्गा गाउँमा प्राकृतिक रूपमा नै वनजङ्गल न्यून छ । अहिले पनि त्यो अग्लो, ढुङ्गेनी पहाड प्रकृतिले ठगेका नेपालका थोरै गाउँमध्येको एक हो भने ८५–९० वर्षअघि कस्तो थियो होला ?
ऐतिहासिक एवम् विद्रोही साङ्गीतिक समूह ’राल्फा’ का एक नायक रामेशले एक अन्तर्वार्तामा भनेका छन्— ‘३० वर्षपछि ओखलढुङ्गा जाँदा ओखलढुङ्गामा त हरियाली पो भइसकेछ !’ अर्थात् रामेश–मञ्जुलले २० को दशकमा देखेको उजाड ओखलढुङ्गामा ५० को दशकमा बरु केही हरियाली पलाएको रहेछ । त्यो भन्दा झन् अगाडि ?
समग्र जिल्लाकै कुरा गर्ने हो भने पनि प्राकृतिक सम्पदाकै सेरोफेरोमा यौटा कालजयी कविता लेख्ने कविलाई आफ्नै गाउँ–आसपासको १३१ मिटर अग्लो पोकली, १११ मिटरको रातमाटे अनि सेप्ली, ढिकुरे, सेर्ना, सेलेले, न्याउले इत्यादि झरझर झरनाको पत्तै भएन त ?
हालको ओखलढुङ्गा जिल्लालाई छोएर बग्ने, तर त्यसको पानीसमेत नलाग्ने सुनकोशी उनले लेखे । गोरु बेचेको साइनोसमेत नलाग्ने दोलखा, रामेछापहुँदै सिन्धुलीमा टुङ्गिने ‘तामाकोशी’, काभ्रेबाट सुरु भएर सिन्धुली–रामेछापको सिमानामै विलय हुने रोशीसमेत लेखे तर ओखलढुङ्गा डाँडाबाटै देखिने दूधकोशी, कलकल लिखु, साल्पु, मोलुङ, ठोट्ने आदि–इत्यादि खोला, नदी उनले देख्दै देखेनछन् त ?
यसबाट के देखिन्छ भने कविता लेख्ने बेलासम्म सिद्धिचरणले नेपालका प्रशस्तै गाउँ देखिसकेका थिए, घुमिसकेका थिए । उनको तीक्ष्ण दृष्टिमा नेपालका आमगाउँको खाका भरिएको थियो । तर, उनले ओखलढुङ्गालाई फिटिक्कै सम्झन सकेनन् । सम्झेका भए कविता सच्याउँथे या ‘ओखलढुङ्गा’ को ठाउँमा अवश्य अर्थोकै केही राख्थे होलान् !
सिन्धुलीको म जन्मेको गैयाँटार गाउँ ठ्याक्कै यही कविताजस्तै छ । म हुर्केको तराईको बालगङ्गा गाउँ पनि उस्तै छ । दुवैतिर मैले मृगशावकहरू उफ्रिएको हेर्दै, तरुलतिकाहरूसँग लुकामारी खेल्दै शैशवकाल बिताएको थिएँ । झापाको धाइजन गाउँ, पाँचथरको मेमेङ, नुवाकोटको गोस्र्याङ, कास्कीको सिल्दुजुरे, दाङको सतबरिया, अछामको हिच्मा, जुम्लाको ताम्ती, कञ्चनपुरको रौतेलीबिचवा इत्यादि गाउँ हुबहु यिनले लेखेजस्तै छन् । तर, ओखलढुङ्गा गाउँ त्यस्तो थिएन; अहिले पनि छैन ।
नेपाली गाउँको सुन्दर चित्रण गरिएको एकदमै उत्कृष्ट कविता हो यो । कविले सुन्दर–सुन्दर गाउँहरू देखेका थिए; आफू जन्मिएको गाउँ ओखलढुङ्गा पनि पक्कै त्यस्तै हुनुपर्छ भन्ठाने होलान् । उनले ९ वर्षमै छाडेको ठाउँ ओखलढुङ्गामै आफ्नो पूरै शैशवकाल अर्थात् १६ वर्षसम्मको अवधि बितेको झूट पनि लेखिदिएका छन् । जहाँ उनको शैशवकालका बाँकी ७ वर्ष बिते, जिन्दगीका ७१ वर्ष (८०–९) बिते, त्यही स्थललाई ‘मरुस्थल’ भन्दै त्यहाँ आइपुग्नुप्रति नै खेद व्यक्त गरेका छन् । यस्तोमा यो ओखलढुङ्गाको कविता कसरी भयो ? र, काठमाडौँविरोधी कविता कसरी भएन ?
‘ओखलढुङ्गा’ शब्द पर्दैमा त्यो ओखलढुङ्गाको कविता कसरी हुन सक्छ ? कविताबाट सिर्फ ‘ओखलढुङ्गा’ शब्दमात्रै झिकेर हेर्ने हो भने यो प्रश्नको जवाफ तुरुन्तै भेटिनेछ ।
‘पहिचान’ शब्द राजनीतिमा झैँ नेपाली साहित्यमा पनि अचेल विशेष मुद्दा बन्दै गइरहेको छ । पहिचान बोक्ने खालको साहित्यिक सिर्जना आजको समयको माग पनि हो । तर, पहिचानको नाममा पहिचानको अंशसमेत नभएको साहित्यलाई ‘पहिचान’को व्यर्थको भारी बोकाइनुहुँदैन । आमाले भन्दा जति नै धेरै राम्रोगरी पालनपोषण गरे पनि बाउ बाउ नै हुन्छ, उसलाई आमा बनाउन खोज्नु निरर्थक छ । आमा बन्न अन्तर्यमा आमाकै गुण चाहिन्छ ।
‘ओखलढुङ्गा’ शब्द पर्दैमा त्यो ओखलढुङ्गाको कविता कसरी हुन सक्छ ? कविताबाट सिर्फ ‘ओखलढुङ्गा’ शब्दमात्रै झिकेर हेर्ने हो भने यो प्रश्नको जवाफ तुरुन्तै भेटिनेछ ।
ओखलढुङ्गाको भौगोलिक चित्र उतार गर्न नसके पनि अधिकांश नेपाली गाउँको हुबहु चित्रण हो ‘ओखलढुङ्गा’ कविता । नेपाली गाउँमाथि एउटा सुन्दर कविता कोरेर कविले आफ्नो जन्मभूमिप्रति त्यसलाई समर्पित गरिदिए । यो कवि सिद्धिचरणले आफ्नो जन्मभूमिप्रति गरेको अपार श्रद्धा हो, समर्पण हो, त्याग हो । ओखलढुङ्गाले कविको त्यो उदारताको कदर गर्नुपर्छ; सम्मान गर्नुपर्छ । कविले यसो नगरिदिएका भए यो कविता यसरी यौटा जिल्ला–विशेषमा सीमित हुने थिएन, सिङ्गो नेपालकै हुनेथियो ।
यथार्थमा, नेपाली साहित्यकै एक ओजस्वी कविता ‘ओखलढुङ्गा’ले ओखलढुङ्गाको पहिचान दिन्छ, त्यहाँको माटोको सुवास बोक्छ भन्नु र ‘सिन्धुलीगढी घुमेर हेर्दा…’ गीतले सिन्धुलीको चिनारी दिन्छ भन्नु यौटै कुरा हो । यी दुवै मीठा भ्रममात्रै हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।