कवि धूमिलको परिचय

सुदामा पाण्डे ‘धूमिल’ (सन् १९५२, खेवली, उत्तर प्रदेश) भारतीय कविताका क्षेत्रमा एङ्ग्री योङ्गम्यानका रूपमा चिनिन्छन् । सानै उमेरमा पिताको निधन भएपछि गृहस्थीमा फसेका उनले उच्चशिक्षा हाँसिल गर्न पाएनन् । फलाम बोक्ने लगायत उनले

धूमिल

समिलको सुपरभाइजर भएर उनले कलकत्ता, मोतीहारी आदि ठाउँहरूमा काम गरे । बिरामी भएका बेला साहूले मोतीहारीबाट गोहाटी पठाउन खोज्दा उनले स्वास्थ्यको कारण देखाई अस्वीकार गरे । घमण्डी मालिकले ‘आई एम पेइङ फर माई वर्क, नट फर योर हेल्थ !’ भन्दा उनको स्वाभिमानमा चोट लाग्यो र उनले पनि मालिकलाई ‘बट आई एम वर्किंग फर माई हेल्थ, नट फर योर वर्क ।’ भन्ने जवाफ दिएर जागिर छोडेका थिए ।

अनुवादः निमेष निखिल

पछि उनले वाराणसीबाट विद्युत्मा डिप्लोमा हाँसिल गरी सरकारी जागिर गरे । सन् १९७५ मा ब्रेन ट्युमरका कारण अल्पायुमै उनको दुःखद निधन भयो । उनी कति ठूला कवि थिए भन्ने कुरा रेडियोमा उनको मृत्युको खबर आएपछि उनका परिवारजनले थाहा पाएका थिए । उनी यस्तो सामान्य परिवारका व्यक्ति थिए । धूमिल विद्रोही चेतनाका कवि हुन् । उनका निम्न चार कविता सङ्ग्रहहरू प्रकाशित छन् ।

१. संसद से सड़क तक (प्रकाशक स्वयं)
२. कल सुनना मुझे (सम्पादन – राजशेखर)
३. धूमिल की कविताएं (सम्पादन – डा. शुकदेव)
४. सुदामा पाण्डे का प्रजातंत्र (संपादन– रत्नशङ्कर । रत्नशङ्कर ‘धूमिल’का छोरा हुन् ।)

जनतन्त्रको सूर्योदयमा

रक्तपात–
हुने छैन कहीँकतै
मात्र, एउटा पात खस्ने छ !
मात्र, एउटा काँध झुकेर जाने छ !
छटपटाइरहेका पाखुरा र
पीडाले रोइरहेका आँखालाई
बेरबार पारेर राता फित्ताहरूमा एकसाथ
राखिदिने छन्
काला दराजका निश्चल एकान्तमा
जहाँ रातारात
संविधानका धाराहरू
क्रोधित मान्छेका प्रतिबिम्बहरूलाई
फेरिदिन्छन्
देशको मानचित्रमा

पूरै आकाशलाई
विभाजन गरेर दुई भागमा
एउटा निःशब्द प्रतिबिम्ब बढ्ने छ अगाडि
पर्खालहरूमा बजिरहने छन्
हवाइ हमलाबाट सुरक्षित रहने विज्ञापनहरू
या
               ता
                                या
                                                  त
लाई
बा
टो
दिँदै बलिरहेका हुने छन्
चौबाटाका बत्तीहरू

लोकमार्गको पछिल्लो भागले
ओढिरहेको हुने छ
पहेँलो अन्धकार
सहरका समस्त
पशुवृत्तिहरूका विरुद्ध
गल्लीहरूमा नाङ्गै घुमिरहेकी
बौलाही महिलाको ‘गर्भिणी पेट’ जसरी
लोकमार्गको पछिल्लो भागले
ओढिरहेको हुने छ पहेँलो अन्धकार
र, तिमी
अनुभव गर्दै हुने छौ– अवश्यकताका
हरेक मोर्चामा
तिम्रो शङ्का
एउटाको निद्रा र
अर्काको तिरस्कारसँग
युद्ध गरिरहेछ
मिसिएर अपराधीहरूको झुन्डमा
आफ्नै आवाजको अनुहार छाम्नका लागि
कवितामा
अब कुनै शब्द तुच्छ भइरहेको छैनः
तर मौन रहने छौ तिमी,
तिमी मौन रहने छौ र त्यो लज्जालाई
अर्थहीन मौनताका साथ सहन गर्ने छौ–
यो जानेर कि तिम्रो मातृभाषा
त्यो भाँडा माझ्ने आइमाईको जस्तो छ, जो
महाजनसित रातभरि
सुत्नका लागि सहमत छे
केवल एउटा साडीका लागि
टाउको काटिएको कुखुराजस्तै तड्पिँदै ।
जनतन्त्रमा
बिहानी भन्नु–
मात्र, चम्किरहेका रङहरूको तिरिमिरी हो
र, यो जानेर पनि, मौन रहने छौ तिमी
वा कदाचित्, पुनरागमनका लागि पहल गर्ने मान्छेको खोजीमा
एकपल्ट फेरि
तिमी फर्किन चाहने छौ मृत इतिहासमा
तर ठीक त्यसैबेला–
स्मृतिहरूमा बिहानीको पर्दा हाल्दै
अयातित हावा चल्न थाल्ने छ

समाचारपत्रहरूको प्रखर ताप र
वनस्पतिहरूका हरिया उखानटुक्काले
सान्त्वना दिने छन् तिमीलाई
र, समावेश हुनका लागि
रापिँदै गरेको जनतन्त्रको सूर्योदयमा
चुपचाप खोलेर पछिल्लो ढोका–
आफ्ना दिनचर्याको
आउने छौ बाहिर तिमी
जहाँ घाँसको टुप्पामा
टल्पलाइरहेको शीतको एउटा थोपा
झरेर जानका लागि
प्रतीक्षा गरिरहेको छ
तिम्रो सहमतिको ।
‘संसद से सडक तक’ बाट