धर्तीमा पदार्पण भएदेखि नै प्रकृति प्रदत्त
सबै रङ अति नै प्यारा थिए
किनकि त्यहाँ समाजले बिछ्याइदिएको
काँडेतारको सिन्दुर घेरा थिएन
समाज नामको अदृश्य अनि कुनै
मानवता नभएको जमातको
आफू खुसी कैद बनाउने नियम नामको
जेल थिएन

त्यसैले सानोमा देखिएको थियो
मायाको रङ जुन
स्वतन्त्र रुपमा प्राप्त थियो
सान, वैभव र ममताको छायामा बस्दा
जुनसुकै रङ कति निर्भयपूर्वक प्यारो थियो

जब अलिक उमेर बढ्दै गयो
आफ्नै शरीरबाट सृजित
त्यो रातो रङले अत्यन्त डर पैदा गर्यो
एक्कासि समाजका
विषपात्रले आफ्नो सुरक्षाको
घेरा छुटाएर पर पुर्याउने
प्रपन्च रच्दै गरेको पाइयो
आफ्नै चुलो चौकोमा खेल्न रमाउन
आँगनीमा टेक्न नहुने अछुतको
नमिठो विषको प्याला दिइयो
र आफ्नै परीवेश अघिल्तिर
आफ्नै स्वतन्त्रताको नमिठो वध गरियो

जुनसुकै लिङ्गको प्राणी भए पनि
प्रकृतिले सृष्टिलाई जीवित राख्न
नारी नै चुनेकी छिन्
तर तिनैमध्ये पनि अरुको सन्तानलाई अत्यन्त उत्कर्षको
पीडा दिएर खुसी हुन सक्ने
अर्को नारी पात्र कस्ता
मनस्थितिका हुन् ??
फेरि आफ्नो सन्तानको हर रङ र स्वतन्त्रता
उस्लाई प्यारो भैदिन्छ

एउटा मानिस जसरी अपराध गरेपश्चात मात्र
जेलमा पुग्दछ
उसैगरी एउटा सरल किशोरी
यौवनकालमा आफ्नै आँगनी र
समाजले दिएको अग्निज्वालाभित्र
मानसिक प्रताडनाको कैदी भैदिन्छे

त्यो रातो रङको आगमनपश्चात
चाहे महिनाबारी बनेर आओस्
चाहे सिन्दुर बनेर आओस्
चाहे रातो चुरा, पोते र फरिया बनेर आओस्
निगरानी छ चारैतिरबाट
कलङ्कित छ रातो
कहिले शरीरबाट आउँदा, त कहिले
देखावटी संस्कार मापन गर्नेहरूको
नजरमा रातो नपहिरिदिँदा

खै, इन्द्रेणीले त कुनै रङमा विभेद गरेको छैन
जसरी समाजका
पहरेदार महिलाले अर्कोलाई खोट
लगाउन रातोको अनेक सहारा लिए
शक्तिशाली वर्गले, उमेरदार सिंहले
आफ्नो भोक शान्त पार्न आफ्नै
सन्तानको आहारा खोसेझैँ
कहिलेकाहीँ उसैलाई टोकेझैँ
कहिलेसम्म ईर्ष्याको आगो शान्त पार्न
अर्काको सन्तानको सरल, सौम्य र शालिन
तस्बिरमा हिलो छ्यापिरहन्छौ ??

कहिलेसम्म धावा बोलिरहन्छौ ?
कु-पात्रहरू हो
अब सरल नारी र किशोरीले
सहने छैनन् तिम्रा ढोंगी, विभेदी र
खोटपूर्ण आचरणलाई
किनकि अर्काको जूनजस्ती सन्तानको
जति गर्यौ आलोचना
अब तिम्रो दैलोसम्म छिटै आउँछिन्
तिम्रो खिल र वंश धान्ने बनेर
अर्की नारी,
कसरी फाल्छौ तब तिम्रा उन्मादका
पोकाहरू ??
जीवनभरि अर्काको छोरीको
पहरेदारी गर्ने विशाक्त नयन र चालले
आफ्नै घरमा विषको बटुका कसरी पोख्ने हो ??

दया करुणा नभएको
सुख्खा मरुभूमिमा समेत
आफूलाई जीवित राख्नु छ यदि भने
त्यो रातो रङ र गहनाका जंजीरभन्दा पर
स्वतन्त्र बर्सातको इन्द्रेणी किरण बनेर
जिउनु है सरल सुन्दर नारी तिमी
अनि मात्र तिम्रो पूजा हुनेछ
जीवन रहँदा पनि र सकिँदा पनि ।