अध्याय बाइस

मिर्दादले जमोरालाई उनको रहस्यको बोझबाट मुक्त गर्छन् पुरुष, महिला, विवाह, ब्रह्मचर्य र आत्म-विजेताको बारेमा कुरा गर्छन्

मिर्दाद: नरोन्दा ! मेरो विश्वासी ! यी कमलका फूलहरूले तिमीलाई के भन्छन् ?

नरोन्दा: मेरो गुरु ! यसबारे मैले केही सुनेको छैन ।

मिर्दाद: मैले उनीहरूले यसो भनेको सुनेको छु, “हामी नरोन्दालाई प्रेम गर्छौँ । हाम्रो प्रेमको प्रतीकको रूपमा उसलाई हाम्रो सुगन्धित आत्मा खुसीसाथ अर्पण गर्छौँ ।”

नरोन्दा ! मेरो स्थिर हृदय ! यो तालको पानीले के भन्छ ?

नरोन्दा: मेरो गुरु ! मैले केही सुनेको छैन ।

मिर्दाद: मैले यसो भनेको सुनेको छु, “म नरोन्दालाई प्रेम गर्छु । त्यसैले म उसको तिर्खा मेटाउँछु । उसको कोमल कमलहरूको पनि तिर्खा मेटाउँछु ।”

नरोन्दा ! सदैव सतर्क रहने मेरो आँखा ! घामको प्रकाशमा नुहाएर प्रकृतिको काखमा सुस्ताइरहेका यी ढुङ्गाहरूले तिमीलाई के भन्छन् ?

नरोन्दा: मैले केही सुनेको छैन गुरु !

मिर्दाद: मैले यो भनेको सुनेको छु, “म नरोन्दालाई प्रेम गर्छु । त्यसैले ऊ लगायत अन्य सदस्यहरूलाई सूर्यको प्रकाशले नुहाएको काखमा अति आरामसाथ बसाउछु ।”

जब प्रेम गर्नेहरू नै यति धेरै छन्, नरोन्दाको जीवनमा अर्थहिन सपना र विचारहरूले कुनै गुँड बनाई अण्डा पारी बसेका त छैनन् ?

साँच्चै ! मानिस ब्रह्माण्डको प्रिय हो । सबै चीज ईश्वरद्वारा प्रिय कहलिन पाउँदा खुसी छन् । तर यति धेरै लाड (पुल्पुल्याउने) गरेर पनि नबिग्रने मान्छे कमै होलान् । लाड गर्नेको हात नचुस्ने मान्छे पनि कमै होलान् ।

जो बिग्रिएका छैनन्, तिनीहरूका लागि सर्पको टोकाइ पनि प्रेमिल चुम्बन हो । तर बिग्रेका मानिसहरूको लागि प्रेमिल चुम्बन पनि सर्पको टोकाइ हो । हैन त जमोरा ?

नरोन्दा: त्यो दिन खुब सुनौलो थियो । जमोरा र म सुनौलो घामको आनन्द लिँदै थियौँ । डुङ्गामा सजिएको फूलको ओछ्यान मिलाउँदै गर्दा गुरुले यी कुराहरू भन्दै थिए । तर जमोरा अति अनिच्छुक र उदास देखिन्थे । गुरुको प्रश्न सुनेर अचानक उनी होसमा आएजस्ता देखिए ।

जमोरा: गुरुले जे भने पनि सत्य हुनुपर्छ ।

मिर्दाद: के यो तिम्रो लागि साँचो होइन र जमोरा ? के निकै प्रेमिल चुम्बनले तिमीलाई विषाक्त तुल्याएको छैन ? के तिम्रो विषाक्त प्रेमको सम्झनाले अहिले सताउँदैछ ?

जमोरा : (आँखाबाट आँसु बगाउँदै गुरुको पाउमा परेर) ओ गुरु ! मनको गहिरो कुनामा राखेर पनि तिमीबाट कुनै गोप्य कुरा लुकाउनु मेरो लागि होस् वा अरू कसैको लागि, यो कस्तो दुर्भाग्यको गर्व !

मिर्दाद: (जमोरालाई अँगालो हालेर हृदयमा राख्दै) कस्तो बाल कुशलता ! कस्तो व्यर्थको घमण्ड ! यी कमलहरूबाट पनि आफूलाई लुकाउने ?

जमोरा: मलाई थाहा छ । मेरो हृदय अझै शुद्ध भएको छैन । हिजो रातिका मेरा सपनाहरू अशुद्ध थिए ।

मेरो गुरु ! आज म मेरो हृदय शुद्ध गर्नेछु । तिमी र नरोन्दाको अगाडि । यी कमल र तिनीहरूका जरामा घस्रने गँड्यौलाहरूको अगाडि । आफूसामु जे जति छन्, ती सबैको अगाडि आफूलाई नाङ्गो पार्नेछु । मेरो आत्मालाई कुचल रहस्यको बोझबाट तुरुन्तै हटाउँछु । यो कोमल हावाले मेरो रहस्य संसारको हरेक प्राणी र हरेक चीजमा पुर्‍याउनेछ ।

युवावस्थामा मैले एउटी केटीलाई खुव प्रेम गर्थेँ । उनी बिहानको ताराभन्दा नीकै सुन्दर थिइन् । आँखाको नानी झैं प्रिय थिइन् । उनको नाम मेरो जिब्रोको लागि झनै मीठो थियो । जब तिमीले हामीलाई प्रार्थना र रगतको बहावको बारेमा सिकायौ, मलाई लाग्यो कि तिम्रो शान्त शब्दहरूको रस पिउने पहिलो व्यक्ति म नै हुँ । मेरो रगत होग्ला (त्यो केटीको नाम थियो) को प्रेमले नियन्त्रण गरेको थियो । मलाई थाहा थियो कि रगतको दक्ष सञ्चालकले के गर्न सक्छ !

होग्लाको प्रेम मेरो लागि अनन्तता थियो । उनको प्रेमलाई विवाहको औंठी मानेर हृदयमा लगाएको थिएँ । अनि मृत्युलाई प्रेमको ढाल ठानेको थिएँ । उमेरमा हर चीजलाई हिजोको हरेक विगतभन्दा बूढो र भविष्यमा जन्मिने भोलिभन्दा नीकै सानो महसुस गरेँ । मेरो हातले आकाश समात्यो । मेरो खुट्टाले पृथ्वीलाई अर्कै ठाउँमा सार्यो । जबकि मेरो हृदयमा धेरै प्रज्वलित सूर्यहरू थिए ।

तर पछि होग्लाको मृत्यु भयो । उनको सुन्दर शरीर आगोमा जलेर खरानीको थुप्रो भयो । त्यस घटनाले जमोरा जमिरहेको वरफको ढिक्का बन्यो । निभेको दियोको सलेदो बन्यो । निभेको त्यो निर्जीव सलेदोबाट कुनै नयाँ ज्योति निस्कन असम्भव थियो । जामोरा पहिले एक निडर सिंह थियो । पछि कमजोर खरायोमा सीमित भयो । जामोरा पहिले खुल्ला आकाश थियो । पछि फोहोरी पोखरी भएर एकै ठाउँ जमिरह्यो । दिनदिनै उसको अवस्था दयनीय र भग्नावशेषमा परिणत हुँदै गयो ।

डुङ्गाको विनाशकारी सम्झना र छायाबाट सकुशल राख्ने मनसायले मैले जमोरालाई सकेसम्म आफूसँगै राखेँ । डुङ्गातिर तानेँ । साथीले भर्खरै संसार छाडेको थियो । उसको सट्टा म स्विकारिएपछि, यहाँसम्म पुग्ने म नै पहिलो भाग्यमानी थिएँ ।

पन्ध्र वर्षसम्म यो डुङ्गाका साथीहरूले जमोरालाई देखे सुनेका थिए । तर उनीहरूले जमोराको रहस्य न देखेका थिए न त सुनेका नै थिए । शायद डुङ्गाको पुरातन पर्खाल र बाटोहरू यस रहस्यसँग अपरिचित छैनन् होला । यो बगैँचाका रुख, फूल र चराचुरुङ्गीहरूले केही बुझेका हुनसक्छन् । तर मेरो विणाको तारले पक्कै पनि मेरी होग्लाको बारेमा मैले भन्दा धेरै बताउन सक्छ गुरु ।

तिम्रा शब्दहरूले जमोराको अचेत शरीरलाई हलचल गरेर न्यानो पार्न थालेको थियो । मैले नयाँ जमोराको जन्ममा विश्वास गर्न थालेको थिएँ । जब होग्ला मेरो सपनामा देखा परिन्, मेरो रगत उम्लियो । मलाई आजको यस उदास चट्टानी चुचुराहरूमा फालिदियो । खरानीको एक निर्जीव थुप्रो र निभाएको मशाल वास्तवमा एउटा मृत आनन्द रहेछ ।

ए होग्ला ! होग्ला !!

मलाई माफ गर गुरु ! म आफ्नो आँसु थाम्न सक्दिनँ । शरीर बाहेक अरु केही हुन सक्छ ? मेरो शरीरलाई दया गर । जमोरालाई दया गर ।

मिर्दाद: दया आफैँमा दया चाहिन्छ । मिर्दासँग त्यस्तो कुनै अर्को दया छैन । तर मिर्दादलाई सबै चीज लगायत शरीरको लागि समेत अपार प्रेम छ । अझ त्यो आत्माको लागि, जसले शरीरको भौतिक रूप धारण गर्दछ । केवल त्यसलाई आफ्नो निराकारतासँग पगाल्छ । मिर्दादको प्रेमले जमोरालाई आफ्नो खरानीबाट उठाउनेछ । आत्मविजेता बनाउनेछ ।

म आत्मविजेता बन्न प्रचार गर्छु । एक मानिस बन्न जो एक भएको छ, त्यो आफ्नै मालिक हो ।

नारीको प्रेमले बन्दी बनाएको पुरुष र पुरुषको प्रेमले बन्दी बनाएको नारी, दुवै स्वतन्त्रताको बहुमूल्य मुकुट लगाउन अयोग्य छन् । तर ती पुरुष र नारी, जो प्रेमद्वारा एकताबद्ध हुन्छन् । जो एकअर्काबाट अलग हुन सक्दैनन् । जसको आफ्नै छुट्टै पहिचान छैन ।

त्यो प्रेम प्रेम होइन, जसले प्रेमीलाई वशमा पार्छ ।

त्यो प्रेम प्रेम होइन, जुन रगत र मासुमा लोभिने गर्छ ।

त्यो प्रेम प्रेम होइन, जसले नारीलाई पुरुषतर्फ मात्र प्रजननको लागि आकर्षित गर्छ । ताकि धेरै नारी र पुरुषहरू यसैलाई प्रेमको आधार मानेर आफ्नो शरीर बन्धकी राख्छन् ।

म आत्मविजेता बन्न प्रचार गर्छु । त्यो अमर चरा (फिनिक्स) जस्तै, जो पुरुष बन्नका लागि जति स्वतन्त्र छ, त्यति नै नारी नारी बन्नका लागि ।

जसरी जीवनको स्थूल क्षेत्रमा पुरुष र नारी एक हुन्छन्, त्यसैगरी जीवनको सूक्ष्म क्षेत्रमा पनि एक हुन्छन् । स्थूल र सूक्ष्म बीचको भिन्नता अनन्तताको एक खण्ड मात्र हो । जसमा द्वैतको भ्रम छ । जो न अगाडि देख्छन् न पछाडि । उनीहरूले यो अनन्तताको अंशलाई अनन्त मान्छन् । जीवनको नियम एकता हो भन्ने नजानेर जीवनको नियम सार हो भनी द्वैतको भ्रममा आफूलाई टाँस्छन् ।

द्वैत समयमा हुने अवस्था हो । जसरी एकताबाट द्वैत उत्पन्न हुन्छ, त्यसैगरी यसले एकतातर्फ लैजान्छ । जति चाँडो तिमीले यो चरण पार गर्छौ, त्यति नै चाँडो आफ्नो स्वतन्त्रतालाई अँगाल्नेछौ ।

यहाँ पुरुष र महिला छन् ? तर एकल पुरुष आफ्नो अविवाहिताको बारेमा अनभिज्ञ भएर द्वैतको विष पिउन बाध्य छ । एकता र अमृतको लालसा गर्ने मानव झैँ आफ्नो चाहनालाई दृढ संकल्पका साथ खोज । खोजी गर्दा उक्त चाहनाको पालना गर । यसलाई फेला पार । यसको मालिक बन । जसले यसको अन्तिम स्वतन्त्रता महसुस गर्दछ ।

घोडा घोडाकै छिमेक बनोस् । हरिणले हरिणलाई बोलाओस् । प्रकृतिले नै उनीहरूलाई यसैको लागि प्रेरित गरेको छ । प्रकृतिले उनीहरूलाई उक्त कार्यको आशीर्वाद दिन्छ । उनीहरूको कार्यको प्रशंसा गर्छ । उनीहरूलाई बच्चा जन्माउनु भन्दा उच्च भाग्य के हो भन्ने अझै थाहा छैन ।

घोडा, घोडी, मृग र कुखुराबाट अझै भिन्न हुन नसकेका पुरुष र नारीहरूलाई यौनको अँध्यारो एकान्तमा एक अर्कालाई भेट्टाउन देऊ ।

अनुमति पत्र दिएर मात्र उनीहरूलाई विवाह गर्न देऊ । त्यसपछि मात्र उनीहरूले कम्मर र गर्भको उर्वरतामा आनन्द लिउन् । उनीहरूलाई आफ्नो प्रजातिको प्रचार गर्न देऊ । प्रकृति नै उनीहरूको प्रायोजक र सुडेनी हुन पाउँदा खुसी छ । प्रकृतिले उनीहरूका लागि फूलै फूलको ओछ्यानहरू फैलाउँछ ।

तर आत्मविजयको चाहना राख्ने पुरुष र नारीहरूले शरीरमै रहँदा आफ्नो एकताको अनुभव गर्नुपर्छ । शारीरिक सम्पर्कबाट होइन, शारीरिक सम्पर्कको भोक र त्यस भोकद्वारा पूर्ण एकता, साथै दिव्य ज्ञानको मार्गमा रहेका अवरोधह र मुक्ति पाउने दृढ संकल्पबाट पनि ।

तिमीले प्रायः मानिसहरूलाई ‘मानव प्रकृति’ को बारेमा कुरा गरेको सुन्छौ । मानौँ यो ठोस पदार्थ हो । राम्रोसँग नापिएको । निश्चित विशेषताहरू सहित राम्ररी छानबिन गरिएको । जसलाई मानिसहरूले ‘काम’ भन्ने शब्दले सबै पक्षबाट प्रतिबन्धित गरेको छ ।

मानिसहरू भन्छन् कि यौन आवेग पूरा गर्नु मानवीय स्वभाव हो । तर यसको हिंश्रक प्रवाहलाई नियन्त्रण गर्नु, साथै यसको अभिलाषालाई विजयीको माध्यमको रूपमा प्रयोग गर्नु पक्कै पनि मानव स्वभाव विरुद्ध हो । दुःखलाई निमन्त्रणा दिनु हो । मानिसहरू भन्छन्, यी अर्थहीन कुराहरूमा ध्यान नदेऊ । मानिस निमै विशाल छ । उसको स्वभाव अति अगम्य छ । उनीहरूको प्रतिभा विविध हुनुको साथै शक्ति पनि अपरिहार्य छ । सीमा तोक्ने प्रयास गर्नेहरूबाट सधैँ सावधान रह ।

वासनाले पक्कै पनि मानिसमा ठूलो कर थोपर्छ । तर उसले यो काम केही समयको लागि मात्र गर्छ । तिमीहरू मध्ये को सदाको लागि दास रहन चाहन्छ ? कुन दासले आफ्नो राजाको श्रीपेच फुकालेर ऋणमुक्त हुने सपना देख्दैन र ?

मानिस दास बन्न जन्मेको होइन । आफ्नो पुरुषत्वको दास पनि होइन । मानिस सधैँ सबै प्रकारको दासत्वबाट मुक्त हुन चाहन्छ । यो मुक्ति उसले अवश्य प्राप्त गर्नेछ ।

आत्मविजय प्राप्त गर्ने तीव्र इच्छा भएका व्यक्तिको लागि रगतको सम्बन्ध के हो ? एक बन्धन, जुन दृढ संकल्पद्वारा तोड्न आवश्यक छ ।

आत्माविजेताले हरेक रगतसँग आफ्नो रगतको सम्बन्ध महसुस गर्छ । त्यसैले ऊ कसैसँग बाँधिएको छैन ।

गैर तिर्खालुहरूको दौड पुनः सुचारु गरौँ । चाहनेहरूले अर्को नस्ल बढाउनु पर्छ । आत्म-विजेताहरूको नस्ल ।

आत्म विजेताहरूको नस्ल कम्मर र गर्भबाट आउँदैन । बरु, यो संयमित हृदयबाट उत्पन्न हुन्छ । जसको रगतले निर्विवाद इच्छालाई परास्त गर्न आदेश दिएको छ ।

मलाई थाहा छ । तिमी र तिमीजस्ता धेरैले संसारमा ब्रह्मचर्यको व्रत लिएका छन् । तर तिमी ब्रह्मचर्यबाट अझै धेरै टाढा छौ । जस्तो कि जमोराको सपनाले हिजो राति प्रमाणित गरेको छ ।

ब्रह्मचारीहरू ती होइनन्, जसले भिक्षु पोशाक लगाएर आफूलाई बाक्लो पर्खाल र ठूला फलामका ढोका भित्र ताला लगाएर लुकाउछन् । धेरै भिक्षु र सन्यासीहरू प्रायजसो व्यभिचारी व्यक्ति भन्दा बढी व्यभिचारी हुन्छन् । उनीहरू कसम खाँदै भन्छन् कि हामीले कहिल्यै कसैसँग शारिरीक सम्बन्ध राखेका छैनौँ । तर मन र विचारले भने कैयौँसाँग शारिरीक सम्बन्ध राखिरहेका हुन्छन् । ब्रह्मचारी त्यो हो ? जसको हृदय र मष्तिष्क ब्रह्मचारी छ । चाहे त्यो मठमा बसोस् वा खुला बजारमा ।

मेरा साथीहरू हो ! नारीलाई सम्मान गर । उनीहरूलाई पवित्र मान । मानवजातिको आमाको रूपमा होइन । पत्नी वा प्रियको रूपमा होइन । द्वैत जीवनको लामो श्रम र पीडाको हरेक पाइलामा पुरुषको नमूना र समानित साझेदारिको रूपमा । उनी बिना पुरुषले द्वैतको बाधा पार गर्न सक्दैन । नारीमा मात्र पुरुषले आफ्नो एकता भेट्टाउन सक्छ । पुरुषमा मात्र नारीले द्वैतबाट मुक्ति पाउन सक्छिन् । कालान्तरमा यी दुई एक हुनेछन् र आत्माविजेता बन्नेछन् । जो न पुरुष हो न नारी । ऊ पूर्ण मानव हो ।

म आत्मविजेता बन्न उपदेश दिन्छु । एकता प्राप्त गर्ने मानिस बन्न अनुरोध गर्छु । जो आफ्नो मालिक आफैं हो । तिमीहरू प्रत्येक आत्मविजेता बनेपछि मात्रै मिर्दादले आफूलाई तिमीहरूका बीचबाट उठाउन सक्छ ।

जमोरा: तिम्रो मुखबाट हामीलाई छोडेर गइरहेको सुन्दा मन दुख्छ । यदि कुनै दिन हामी तिमीलाई खोज्छौँ । त्यस समय तिमी फेला परेनौ भने, जमोराले आफ्नो जीवन समाप्त गर्नेछ ।

मिर्दाद: आफ्नो इच्छाशक्तिले तिमी धेरै चीज गर्न सक्छौ । लगभग सबै गर्न सक्छौ । तर हामी एउटा कुरा गर्न सक्दैनौँ । त्यो हो, हाम्रो इच्छाशक्तिलाई समाप्त गर्न । जुन जीवनको इच्छा हो । जुन ईश्वरको इच्छा हो । जीवन यस्तो अस्तित्व हो, जुन आफ्नै इच्छाले अस्तित्वहीन बन्न सक्दैन । अस्तित्वहीनको कुनै इच्छा हुन सक्दैन । अहँ ! ईश्वरले पनि जमोरालाई अन्त्य गर्न सक्दैनन् ।

जहाँसम्म मैले तिमीलाई छोडेर जाने कुरा छ । त्यो दिन अवश्य आउनेछ । जब तिमीले मलाई भौतिक रूपमा खोज्छौ । तर म भेटिने छैन । किनकि, यो धर्ती बाहेक अन्यत्र पनि मेरो काम छ । म आफ्नो काम कतै अधुरो छोड्दिनँ । त्यसैले खुसी रह । मिर्दादले तिमीलाई आत्माविजेता नबनाएसम्म तिमीसँग अलग हुनेछैन । एकता प्राप्त गरेका मानवहरू । जो आफैँमा पूर्ण रूपमा मालिक बनेका छन् ।

जब तिमी आफ्नै मालिक बनेर एकता प्राप्त गर्छौ, मिर्दादलाई आफ्नो हृदयमा बसेको भेट्टाउनेछौ । उनको नाम तिम्रो यादबाट कहिल्यै हट्ने छैन ।

नोआलाई मैले यही सिकाएँ ।
यो तिमीलाई मेरो शिक्षा हो ।

अध्याय तेइस

मिर्दादले सिम-सिमलाई निको पार्छन् र बूढेसकालको बारेमा छलफल गर्छन्

नरोन्दा : डुङ्गाको गोठमा रहेको सबैभन्दा बूढो गाई सिम–सिम पाँच दिनदेखि बिरामी भएर घाँस र पानी खान सकेको छैन । यसैमा शमदामले कसाई बोलाए । गाई काटेर त्यसको मासु बेची नाफा कमाउने विचार गरे । तर अरूले गाई काट्न दिनुभन्दा लुकाउनु नै बुद्धिमानी हुने बताए ।

यो कुरा सुनेर गुरु गहिरो सोचमा परे । हतार-हतार सिधै गाईको गोठ पुगेर सिम-सिमको ठाउँमा पुगे । उनको पछिपछि उनका सातजना साथी पनि पुगे ।

सिम-सिम उदास थिई । बाहिर सार्न असमर्थ थियो । टाउको झुन्डिएको थियो । आँखा आधा बन्द थिए । कपाल खस्रो तर चम्किलो थियो । कहिलेकाहीँ जिद्दी झिंगालाई भगाउन कान अलिकति हल्लाउँछे । स्तन ग्रन्थी खुट्टाको बिचमा खुकुलो र खाली भएर झुण्डिएको थियो । आफ्नो लामो र फलदायी जीवनको अन्तिम क्षणमा मातृत्वको मीठो पीडाबाट वञ्चित थिई । कम्मरका हड्डीहरू चिहानको ढुङ्गाजस्तै उदास र असहाय थिए । करङ र मेरुदण्डको हड्डी सजिलै गणना गर्न सकिन्थ्यो । लामो र पातलो पुच्छर सिधा झुन्डिएको थियो । पुच्छरको अन्तमा रहेको कपाल अस्तव्यस्त थियो ।

गुरु बिरामी गाईको नजिक गएर आँखा, सिङ र चिउँडोको बीचमा बिस्तारै सुमसुम्याउन थाले । उनको पीठ र पेट पनि छोए । उसले बिस्तारै अगाडिको एउटा खुट्टा हल्लाइ । मानौँ कि ऊ मिर्दादसँग कुरा गरिरहेकी छे ।

मिर्दाद: मेरी प्यारी सिम सिम ! तिम्रो धन कहाँ छ ? सिम-सिमले यति धेरै दिएकी छे कि, आफ्नो लागि केही जोगाएर राख्न पनि बिर्सी । उनको हिउँझै सेतो दूध अझै पनि हाम्रो नसाहरूमा रगत भएर बगिरहेको छ । उनको बलियो बाछाहरूले हाम्रो खेतमा गह्रौँ हलो तानेर हामी र हाम्रा सन्तनलाई अन्न खुवाउन मद्दत गरिरहेका छन् । उनका सुन्दर बाछाहरूको चरनमा गोठालाहरूले खुसी हुँदै बाँसुरी बजाउन सिकेका छन् । उनीहरूको गोबर हाम्रो बगैँचाको रसिलो तरकारी र स्वादिष्ट फलहरूमा प्रयोग भैरहेका छन् । जसको मदत हामीलाई भोजनको लागि वरदान बनेको छ ।

हाम्रा उपत्यका तथा नदीहरूमा अझै पनि सिम-सिमको गलामा भएको घण्टीको सुमधुर प्रतिध्वनिले गुन्जिरहेको छ । हाम्रा झरनाहरूले अझै पनि उनको कोमल र सुन्दर अनुहारलाई प्रतिबिम्बित गरिरहेको छ । हाम्रो धर्तीको माटोले अझै पनि उनको खुरको पाइला बोकिरहेको छ । धर्तीले ध्यानपूर्वक यसको हेरचाह गरिरहेको छ ।

घाँस सिम-सिमको खाना बन्न पाउँदा धेरै खुसी छ । सूर्यले उनलाई स्याहार गर्न पाउँदा धेरै सन्तुष्ट भएको महसुस गरेको छ । कोमल वायुले उनको नरम र चम्किलो छिद्रहरूमा लुकामारी खेल्न पाउँदा धेरै खुसी भएको छ । वृद्धावस्थाको समयमा सिमसिमलाई मार्गनिर्देशन गर्न पाउँदा मिर्दाद नीकै आभारी छन् । उनलाई अन्य सूर्य र वायुको देशमा नयाँ चरनको बाटो देखाउँछन् । सिम-सिमले अरू पनि धेरै सिमसिम दिएकी छे । सिमसिमबाट अरूले पनि धेरै चीज लिएका छन् । सिम-सिमले अझै पनि धेरै लिनुदिनु छ ।

मिकास्टार: के सिम-सिमले तिम्रा शब्दहरू बुझ्न सक्छे र ? मानव झैँ ऊ पनि बुद्धिमानी छे जस्तो गरी तिमी ऊ सँग बोल्यौ त ?

मिर्दाद: शब्दले कुनै फरक पर्दैन । चाहे त्यो जस्तोसुकै महान शब्द किन नहोस् । शब्दभित्र प्रतिध्वनित हुने भावनाको कुरा धेरै महत्त्वपूर्ण छ । धेरै जनावरहरू यसैबाट प्रभावित हुन्छन् । दुःखी सिम-सिमको आँखाबाट एउटी महिलाले मलाई हेरिरहेको जस्तो लाग्छ ।

मिकास्टार: बूढी र दुःखी सिम-सिमसँग यसरी कुरा गरेर के फाइदा ? यसरी बूढ्यौलीको प्रकोपबाट बच्न सिम-सिमको आयु लम्बिनेछ भन्ने आशा छ ?

मिर्दादः बूढ्यौली मानिस र जनावरहरूका लागि नीकै पीडादायी बोझ हो । मानव जातिले आफ्नो बेवास्ताको क्रूरताले यसलाई अझ पीडादायी बनाएको छ । उनीहरूले नवजात शिशुलाई अधिकतम ध्यान र प्रेम दिन्छन् । तर बूढेसकालको बोझले दबिएका मानिसका लागि भने ध्यान र प्रेम भन्दा उदासीनता र घृणा दिने गर्छन् । जति बालकलाई जवान हुँदै गएको देख्न अधीर हुन्छन्, उति नै बूढो मानिसलाई चिहानमा परिणत भएको देख्न ।

बालक र वृद्ध दुवै उस्तै असहाय हुन् । बालकहरूको असहायतालाई सबैको प्रेम र त्यागबाट पूर्ण सहयोग मिल्छ । तर केही व्यक्तिले अनिच्छुकताका साथ दिएको सहयोग जुटाउनमा वृद्धवृद्धाको असहायता सफल हुन्छ । वास्तवमा बालकहरू भन्दा वृद्धहरू सहानुभूतिको बढी हकदार हुन्छन् ।

शब्दहरूले सचेत कानमा प्रवेश गर्न लामो र कठिन यात्रा गर्नुगर्छ । जसले कुनै समय संवेदनहीन र बेहोसीहरूको कानमा पसेर निकै दुःख पाएको थियो । जुन प्रायजसो तिनै बेहोसीहरूको कानमा प्रवेश गर्न आतुर थियो ।

जब दाग र छायाले छोपिएको आँखा सफा हुन्छ, ऊ अनौठो नृत्य मञ्च बन्छ ।

जब एकपटक पखेटा भएको खुट्टा सिसाको गाँठो बन्छ, जीवन भाँचिएको हात जस्तै गन्तव्यहिन हुन्छ ।

जब घुँडा जोर्नीबाट बाहिरिन्छ, शिर घाँटीमा राखिएको कठपुतली बन्छ ।

जब जाँतोबाट ढुङ्गा बाहिरिन्छ, जाँतो आफैँ सुनसान गुफा बन्छ ।

कहिले उठ्ने भन्नु, लड्ने डरले पसिना आउँनु हो । बस्नु भनेको कहिल्यै उठ्न नसक्ने पीडादायी शंकाले घेरिनु हो ।

कहिले खाने पिउने भन्नु, खाए पिएपछिको डरले त्रसित हुनु हो । खान पिउन छोड्नु भनेको घृणित मृत्युले पिट्नु हो ।

हो, जब मान्छेलाई बूढ्यौलीले छुन्छ, यस्तो समय आयो भन्ने बुझ कि, तिमीलाई कान, आँखा, हात र खुट्टा आदि दिएर लोप हुँदै गएको बाआमाको शक्तिलाई तिम्रो प्रेमले बलियो बनाउने जिम्मेवारी आएको छ । ताकि उनीहरूले प्रेमको शक्ति महसुस गर्न सकून् । बाल्यकाल र युवावस्थामा उनीहरूले जीवनलाई जति माया गर्थे, त्यति नै यो घट्दो उमेरको जीवनलाई गर्न सकून् ।

असी वर्ष अनन्तकालमा एक क्षणभन्दा बढी नहुन सक्छ । तर असी वर्षसम्म आफूलाई जीवित राखेको मानिस एक पलभन्दा बढी हुन्छ । ऊ आफ्नो जीवन कटनी गर्ने सबैका लागि अन्न हुन्छ । अनि कुन जीवन सबैले आनन्दसाथ बिताउन चाहदैन ?

के तिमी यस क्षणमा पनि यो पृथ्वीमा हिँड्ने हरेक पुरुष र नारीको जीवन कटनी गर्दै छौ ? उनीहरूको बोलीको दाना बाहेक तिम्रो बोली के हो ? उनीहरूका विचारका दाना बाहेक तिम्रा विचारमा नयाँ चीज के छन् ? तिम्रो लुगा र घर । भोजन । औजार । कानून । सँस्कृति र चालचलन । के यी सबै तिमीभन्दा अगाडि आएका मानिसहरूको लुगा, घर, खाना, औजार, कानुन, सँस्कृति र चालचलन होइनन् ?

तिमीले एक पटकमा एउटा चीज काट्दैनौ । बरू सबै चीज काट्छौ । तिमीले सबै समय कटनी गर्छौ । तिमी बाली छर्ने र बाली काट्ने खेतबारी तथा किसान हौ । यदि तिम्रो बाली खराब छ भने, तिमीले अरूबाट छरेको बीउ र तिमीले उनीहरूलाई छर्न अनुमति दिएको बीउ पनि हेर । काट्ने हँसियालाई हेर । खेत हेर ।

एक वृद्ध मानिस, जसको जीवन तिमीले बाली काटेर आफ्नो भण्डारमा राखेका छौ । निश्चित रूपमा तिम्रो जीवन उनको हेरचाहको लागि आवश्यक छ । अझै पनि तिमीले आफ्नो स्वार्थको लागि उनका ती वर्षहरू, जुन अझै कटनी हुन बाँकी छ । त्यसको लागि तिमीले उनलाई फेरि स्वार्थको भाँडो बनायौ भने, त्यस अघि तिमीले उनीबाट जति जम्मा गरेर जोगाएका थियौ, अब तिमीले जति जम्मा गर्न बाँकी छ, ती सबै चीज तिम्रो लागि पक्कै तीतो हुनेछ । यो नियम परजीविसँग मात्र लागु हुन्छ । बालीको फाइदा उठाएर पनि, बीउ छर्ने किसान र खेतलाई सराप्नु ठीक होइन ।

साथीहरू हो ! हरेक जात जाति र देशका मानिसहरुप्रति दयालु होऊ । तिनीहरू तिम्रो यात्रामा ईश्वरीय मार्ग हुन् । बूढेसकालका मानिसप्रति विशेष दयालु हुनू । यस्तो हुन सक्छ कि क्रूरताले तिम्रो बाटो बिगार्छ । तिमी आफ्नो गन्तव्यमा कहिल्यै पुग्न सक्दैनौ ।

सबै उमेर समूहका जनावरहरूप्रति दयालु हुनू । तिनीहरू तिम्रो कठिन र लामो यात्रामा मौन तर असल र विश्वासी सहयोगी हुन् । बूढेसकालका जनावरहरूप्रति विशेष दयालु हुनू । यस्तो नहोस् कि तिम्रो हृदयको कठोरताले उनीहरूको निष्ठा अवफादारीमा परिणत होस् । उनीहरूबाट प्राप्त सहयोग बाधक बनोस् ।

सिम-सिमको दूध फस्टाओस् भनी, उसलाई मन पर्ने दानापानी खुवाउन छोडेर, बरू उसको घाँटीमा कसाईको तरबार राख्नु नै परम अपराभको सुरुवात हो ।

नरोन्दा: गुरुले भर्खरै आफ्नो भनाइ सकेका थिए । शमदाम पनि कसाईलाई लिएर भित्र पस्यो । कसाई सिधै सिम–सिमको छेउमा गयो । उसले भर्खरै मात्र त्यो गाई देखेको थियो । एकछिनपछि ठूलो स्वरमा खुसी हुँदै उसले यसो भनेको सुन्यौँ, “कसरी भन्न सक्छौँ कि, यो गाई बिरामी भएर मर्छ ?” यो म भन्दा स्वस्थ छ । बरू यो भोको छ । भोकले दुःखी र बिरामी जस्तो छ । म भोको छैन । उसलाई खाना देऊ ।”

पछि हामी साँच्चै छक्क पर्यौँ । जब सिम-सिमलाई हेर्यौँ । उसले आरामसाथ घाँस चपाएको देख्यौँ । त्यति मात्र होइन, शमदामको पनि मन पग्लियो । उसले सिम-सिमका लागि सबैभन्दा मन पर्ने र स्वादिष्ट दाना ल्याउन आदेश दियो । अन्ततः सिम-सिमले खुसीसाथ स्वाद लिँदै दाना खाई ।