बिहारबाट बलिउड गएर धमाल मच्चाउने कलाकारमा मनोज बाजपेयी पनि एक हुन् । उनले ९९ वटा फिल्ममा अभिनय गरिसकेका छन् । १०० औँ फिल्म भने उनले आफैँ लगानी गरेका छन्, भैयाजी । यो एउटा एक्सन मुभी बन्दै छ ।

यसमा त तपाईंले लार्जर देन लाइफ शैलीको एक्सन हिरो पो खेल्नुभयो त ?
म हुर्कंदै गर्दा पर्दामा मैले अमिताभ बच्चनले एक्सन गरेको देखेँ । विनोद खन्नाको फाइटमा रमाएँ । शत्रुघन सिन्हाले कमाल गरेको देखेँ । उनीहरूकै अभिनय र पर्दामा विश्वसनीय कामका कारण म फिल्मी दुनियाँमा नजानिदो तरिकाले आकर्षित भएँ । त्यो बेलाका फिल्ममेकरहरू मनमोहन देसाई र प्रकाश मेहराले यति विश्वासिलो कथा, पटकथा र सिनेमा बुने कि दर्शकहरू हावा कथामा पनि बाँधिए । मलाई ती कथा र तिनको काम गराईलाई पुनः पर्दामा विश्वासिलो तरिकाले काम गरी देखाउनु छ भन्ने लागेर भैयाजी बनाएको हुँ ।

तपाईंले आफैँले किन लगानी गर्नुभएको ?
खासमा म एउटा स्वतन्त्र फिल्म लेख्न चाहन्थेँ । तर मेरा फिल्म निर्देशक अपूर्व सिंह कार्कीले त्यो स्वतन्त्र फिल्मलाई अपहरण गरेर अर्कै फिल्म बनाए । खासमा उनी दक्षिण भारतीय फिल्मका ठूलो प्रशंसक हुन् । उनले मेरो कथालाई त्यो शैलीमा ढालिदिए ।

अनि यसको कथा चाहिँ के छ ?
यसमा एउटा अँध्यारो विगत भएको मानिस सामान्य जीवन बाँच्छ तर यस्तो परिस्थितिमा पर्छ कि उसले आफ्नो अँध्यारो विगत खुलाउँदा दर्शक नै आश्चर्यमा पर्छन् । अपूर्वले एउटा देशी सुपरस्टारको कथा पर्दामा ल्याउन खोजेका छन् ।

तपाईं फिल्म उद्योगमा काम गर्न थाल्नु भएको ३० वर्ष पुगेको छ । र, यो फिल्म तपाईंको १०० औँ प्रोजेक्ट बन्न पुगेको छ । के तपाईंले आफैँलाई पुनः स्थापित गर्न खोज्नु भएको हो ?
खासमा म एउटा सहजपूर्ण जीवनशैलीबाट निस्कन खोजिरहेको छु । मलाई कम्फर्ट जोन पुग्यो । तर यो एक्सन फिल्म गर्दा मेरो गर्धन दुखेको छ । मेरो घुँडामा समस्या भएको छ । तर पनि मेरो एक्सन डाइरेक्टरले पर्दामा जे देखाउन खोजेका छन्, पर्दामा पहिलो पटक देख्न पाऊन् भन्ने चाहिरहेका छन् । त्यसका लागि मैले मिहिनेत गरिरहेको हुँ ।

धेरैको अभिनय समय छोटो हुन्छ तर तपाईं ३० वर्षभन्दा बढी बाँच्नुभयो नि ?
मैले यति फिल्म गरेँ भनेर गनेर बसिनँ । मलाई त काम चाहिएको थियो र एकमाथि अर्को काम खोज्न निस्केँ । म नयाँ पुस्ताका निर्देशकसँग काम गरिरहेको छु । उनीहरूले मलाई सम्मान गर्छन् तर सँगैमा उनीहरू मलाई बेग्लै लेन्सबाट हेरिरहेका छन् । उनीहरूको नजरमा म परिरहनु पनि छ । त्यसका लागि मैले नयाँ नयाँ कुरा सिक्ने, बुझ्ने प्रयास गरिरहेको छु । त्यसैले मलाई टिकाइरहेको छ भन्ने लाग्छ ।