यतिबेला संसारभर चित्रकार जोनाथन येओको चर्चा छ । चर्चित हुनुपर्ने कारण भने हालै उनले बेलायती राजा चार्ल्स तृतीयको आधिकारिक चित्र बनाएका कारण हो । जब दरबारमा कुनै नयाँ राजा वा रानी नियुक्त हुन्छ, उसको एउटा आधिकारिक तस्बिर खिचिन्छ । कसैले भने तस्बिरभन्दा चित्रकलामा आफूलाई जीवित राख्न मन पराउँछन् । यस्ता चित्रहरू विभिन्न कार्यालयहरूमा सजाएर राखिन्छ ।

नेपालमै पनि प्रधानमन्त्री वा राष्ट्रपतिका आधिकारिक तस्बिर खिचिन्छ र हरेक कार्यालयमा टाँगिन्छ । यो एउटा सामान्य प्रक्रिया हो ।

तर धनी देशको सानै कामको पनि ठूलै चर्चा हुने !

चार्ल्सको आधिकारिक चित्र बनाएपछि जोनाथन अझ चर्चित भए । अरू चाँडै स्कुल जान थाले पनि उनी भने ८ वर्षको उमेरमा मात्र स्कुल गए । उनलाई स्कुल जान डर लाग्थ्यो । कारण, उनमा त्यो बेला एडिएचडी नामक मस्तिष्कसम्बन्धी रोग थियो । प्रायः बालबालिकाहरूलाई यस्तो रोग सानो उमेरमा देखापर्छ तर समयक्रमसँगै त्यो हराउँदै जान्छ । यस्तो रोग भएका बालबालिकालाई सिकाइमा निकै कठिन हुन्छ । जोनाथनलाई पनि त्यो बेला समस्या थियो ।

पढाइभन्दा उनलाई चित्रकलामा रूचि थियो । चित्रकलामा धेरै तनाव हुन्थेन, मनमा लागेको कुरा कोरे पुग्थ्यो । तर अन्य विषयमा भने मन लागेको बोल्न वा जवाफ दिन पाइँदैनथ्यो । त्यसैले उनलाई अन्य विषय मन पर्दैनथ्यो ।

उनका बुवा टिम एउटा बैंकमा ठूलो अफिसर थिए । उनकी आमा डायन बिबिसी रेडियोमा कार्यक्रम उत्पादक थिइन् । पछि उनी च्यारिटीका काममा सक्रिय भइन् भने पछि त उनी ठूला विश्वविद्यालय सञ्चालक समितिमा सक्रिय भइन् ।

उनकी बहिनी दुई वर्षले सानी थिइन् । उनी बहिनीसँग निकै नजिक छन् । तर स्कुल पढ्दापढ्दै उनलाई ब्रेन ट्युमर देखियो । उनी अस्पतालमा महिनौँ बस्नु पर्यो । त्यो बेला चिकित्सकहरूले लामो समय नबाँच्ने भविष्यवाणी गरेका थिए तर उनी अझै जीवित छिन् ।

सन् १९८८ मा विद्यालय अध्ययनपछि के गर्ने भन्ने उनलाई समस्या भयो । उनकी हजुरआमाले ग्रिनविचमा एउटा ग्यालरी चलाउँथिन् । उनले त्यहाँ स्थानीय चित्रकारहरूसँग भेट गराइदिइन् । संगत गर्दै जाँदा उनलाई चित्रकार हुन रूचि जागेर गयो ।

यत्तिकै चित्र बनाउँदै गर्दा उनले एउटा चित्र बेच्न सफल भए । त्यसपछि त उनले सारा कमाई मसी र रङ किन्न खर्च गरे । उनले हजुरआमाको घरको एउटा कोठालाई स्टुडियो बनाए ।

तर त्यो बेला पनि उनले कलाकृतिमा केही गरिखान्छु भन्ने लागेको थिएन । त्यसैले उनका बुवाले कलेज पढ्न दबाब दिन थाले । उनी त्यसपछि केन्ट विश्वविद्यालयमा फिल्म स्टडिजमा भर्ती भए ।

कलेज पढ्दापढ्दै उनलाई गम्भीर किसिमको क्यान्सर देखापर्यो । चौथो स्टेजको हजकिन लिम्फोमा क्यान्सर उपचारका लागि सन् १९९३ बाट केमोथेरापी भयो । त्यही बेला उनले आफैँलाई भने, म बाँचेँ भने पेट्रेटिस्ट बन्छु । मानिसहरूको पेट्रोट बनाउँछु ।

अचानक छोरोलाई क्यान्सर भएको पाएपछि बाउआमाले पनि करियर छनोट गर्नेबारे दबाब दिन सकेनन् । छोरो बाँच्नु नै ठूलो उपलब्धि हुने भयो । त्यसपछि उनलाई पनि एक किसिमको स्वतन्त्रता भयो । उनी मनलाग्दो काम गर्थे, चित्र बनाउने ।

उनकै बुवाका कारण एक जना चर्चका बिसपको पोट्रेट बनाउने काम पाए । त्यसपछि उनले लगातार चित्र बनाउन थाले । तर उनका बुवाआमा खुसी भएको क्षण भने राजा चार्ल्स तृतीयको पोट्रेट बनाएकामा भए । बाउआमालाई केही देखाउन पाउँदा उनी पनि खुसी भए ।

अरू त अरू, रानी क्यामिलालाई पनि पोट्रेट निकै मन पर्यो । क्यामिलाले भनिछन्, ‘तिमीले राजाको मूड ठ्याक्कै पक्रेर चित्र कोर्न भ्याएछौ ।’

चित्रमा रातोको अत्यधिक प्रयोग छ र एउटा पुतली राजाको काँधमा बसेको छ । यसले राजाको प्रकृतिप्रतिको आशक्तता प्रकट गर्ने विज्ञहरूले बताउने गरेका छन् ।