अङ्ग्रेजीका कवि टेनिसन बेलायतको सोमर्सबी भन्ने ठाउँमा ६ अगस्त १८०९ मा एउटा उच्च वर्गका धर्माधिकारीको घरमा जन्मेका थिए । उनले क्याम्ब्रिज युनिभर्सिटी अन्तर्गतको ट्रिनिटी कलेजबाट शिक्षा प्राप्त गरे । दुई दाजु-भाइका कविताहरू (Poems by Two Brothers, 1827) उनको प्रथम प्रकाशित कृति हो। यसमा उनका प्रारम्भिक कालका र कम चर्चित कविताहरू सङ्ग्रहित छन् । सन् १८३० मा उनको कृति गीति कविताहरू (Poems, Chiefly Lyrical) प्रकाशित भयो । समीक्षकले यसको कडा आलोचना गरे। १८३३ मा उनका मित्र ए. एच. ह्यालमको मृत्यु भयो । त्यसैसाल आफ्ना मित्रको सम्झनामा उनले स्मृतिमा (In Memoriam) लेख्न सुरु गरे र अर्को एक कविता सङ्ग्रह पनि प्रकाशित गरे, जसमा दुई आवाज (Two Voices), पवित्र आइमाइको सपना (A Dream of Fair Woman), केनोन (Cenone) जस्ता कविता सङ्ग्रहित छन् ।
सन् १८४२ मा उनको अर्को कविता सङ्ग्रह (Poems) दुई ठेलीमा प्रकाशित भए । यस सङ्ग्रहमा प्रकाशित युलीसेज (Ulysses), मोर्ते द आर्थर (Morte d’Arthur), लक्सलेइ हल (Locksley Hall) र सेन्ट सिमेअन स्टाइलाइट्स (St. Simeon Stylites) जस्ता केही उत्कृष्ट कविताले उनको साहित्यिक ख्याति चम्काए । सन् १८४७ र १८५० मा क्रमशः उनका दुई कृति राजकुमारहरू (The Princes) र स्मृतिमा (In Memoriam) प्रकाशित भएपछि उनी राजकवि (Poet Laureate) नियुक्त भए । आफ्नो अन्तिम अवस्थासम्म पनि उनले कविता सङ्ग्रह प्रकाशित गर्दै रहे । टेनिसनले तीनवटा नाटक पनि लेखेका छन् । टेनिसन आफ्ना कवितामा भावनात्मक तिक्खरता ल्याउन पाण्डुलिपि पटक पटक सम्पादन गर्थे । सुन्दर भावनात्मक प्रस्तुति र कवितात्मक ध्वनिमा उनी आफ्नो समयका श्रेष्ठ कवि हुन् । उनी भिक्टोरियाली युगका एक महान कवि मानिन्छन् । ६ अक्टोबर १८९२ मा लुर्गाशल, संयुक्त अधिराज्यमा उनको मृत्यु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।