एडिनबर्ग अन्तर्राष्ट्रिय पुस्तक महोत्सव यतिबेला चर्चामा आएको छ । २० वर्षदेखि महोत्सवको प्रायोजक रहेको बेली गिफोर्डसँग महोत्सवले सम्बन्ध नतोडेको भन्दै प्रख्यात लेखकहरूले आलोचना गर्दै आइरहेको लामो समय भइरहेको थियो । कलाजस्तो पवित्र विधामा अपवित्र संगठनले लगानी गरिरहेको भन्दै लेखकले आलोचना गरिरहेका थिए ।

गत साता अर्को प्रख्यात साहित्य महोत्सव हे फेस्टिभलमा पनि २२५ बिलियन पाउन्डको एसेट म्यानेजरले गलत ठाउँमा लगानी गरेको भन्दै त्यसको प्रायोजन नलिन हे फेस्टिभलमाथि दबाब परिरहेको थियो । हे फेस्टिभलले पछि सो साझेदारी त्यागेको घोषणा गरेको थियो ।

यसको सातापछि एडिनबर्ग महोत्सवका अध्यक्ष एलन लिटलले सो साझेदारी दुःखका साथ तोड्नु परेको बताएका छन् ।

हरेक वर्षको अगस्त महिनामा यो एडिनबर्ग महोत्सव आयोजना हुने गरेको छ ।

यसका विरोधीहरूले भने फोसिल फ्युलमा ठूलो लगानी गरेको संस्था बेली गिफोर्ड महोत्सवबाट निकालिनु स्वागत योग्य कदम भएको बताएका छन् । गिफोर्डले इजरायलका लागि काम गर्ने भएको र इजरायलले पछिल्लो समय हत्याआतङ्क मच्चाएको भन्दै त्यसको पैसा महोत्सवमा उपयोग गरिनु नहुने बताउँदै आएका छन् ।

उता बिली गिफोर्डले भने आफ्नो थोरै लगानी मात्र फोसिल फ्युलमा रहेको सफाई दिँदै आएको छ । उसले आफ्नो ठूलो लगानी टेस्ला र स्विडिस ब्याट्री कम्पनी नर्थभोल्टमा रहेको बताएको छ । आफ्नो लगानीको जम्मा २ प्रतिशत मात्र फोसिल फ्युलमा रहेको उसको भनाइ छ ।

उता प्यालेस्टाइनमा इजरायलले गोली दाग्नुसँग आफ्नो कम्पनीको कुनै साइनो नरहेको प्रतिक्रिया दिएको छ । बिली गिफोर्डका साझेदार तथा कलासाहित्यमा ठूलो लगानी गरिरहेका निक थोमस भन्छन्, ‘अभियन्ताहरूको यस्तो अभियानले गलत सूचना प्रवाह गरिरहेका छन् । लेखकमाथि अनावश्यक दबाब दिइरहेका छन् । कलामाथि गरिएको निःस्वार्थ यो लगानी रोकिँदा भोलिका दिनमा कुप्रभाव बढ्ने देखिँदैछ ।’

सन् २००४ बाट बेली गिफोर्डले एडिनबर्ग इन्टरनेसनल बुक फेस्टिभलमा लाखौँ पाउन्ड लगानी गरिरहेको छ ।