चीनमा यतिबेला अनुवादको बाढी आएको छ । गएको ३० वर्षमा जति विदेशी कुरा चिनियाँ भाषामा अनुदित भएका छन्, यसअघि कहिल्यै त्यति भएको थिएन भनिन्छ । त्यसको ठीक उल्टो चिनियाँ भाषाबाट भने उति धेरै कुरा अनुवाद भएका छैनन् । यस्तो लाग्छ, चिनियाँहरू संसारका सबै कुरामा जिज्ञासु छन् ।

एउटा कुरा त पक्का हो, जुन सभ्यता समृद्ध हुँदै जान्छ, उसले अनुवादलाई महत्व दिन्छ । चीनको ताङ राजवंशको सातौँ शताब्दीको अवधिमा भारतबाट साराका सारा संस्कृतका बौद्ध ग्रन्थहरू चीन पुर्याइयो र त्यसलाई अनुवाद गरियो । बौद्ध मात्र किन, त्यो बेला ईशाई धर्मको आधारभूत कुरा बुद्ध बाइबललाई पनि अनुवाद गरियो ।

त्यसपछि समृद्धिको अवधि अरबहरूको थियो । बगदादमा त ग्रिसेली साहित्य, दर्शन, विज्ञान र औषधिविज्ञानको अनुवाद गर्ने हाउस अफ विज्डम नामक बेग्लै कार्यालय स्थापना गरिएको थियो ।

युरोपेली पुनर्जागरणको अवधिमामा ग्रिक र ल्याटिन भाषाका सिर्जनाहरूले धनीमानीका पुस्तकालय सजिएका थिए ।

भारतकै मुगल कालमा पनि इरानी दरबारमा पढाउन मुगल राजकुमार दारा सिकोहले भागवत् गीतालाई पर्सियाली भाषामा अनुवाद गराएका थिए । यसले दुई ठूला समुद्रलाई भेट गराउने माध्यमका रूपमा मानिएको थियो ।

अनुवाद नगर्दाका घाटा के हुन्छ भन्ने कुरा युरोपेलीहरूले एज्टेक सभ्यताका सिर्जनाहरूलाई महत्त्व नदिँदा अहिले त्यो सभ्यताका गुह्यबारे हामीलाई बिल्कुलै ज्ञान नहुनुबाट प्रस्टिन्छ ।

१६ औँ शताब्दीताका युरोपले नयाँ विश्व पत्ता लगाउँदा मेक्सिको क्षेत्रमा एज्टेक सभ्यता थियो । त्यहाँ बर्नार्डिनो डि सहगुनले नहुतल भाषाबाट पहिलो पटक त्यहाँको सभ्यता, विश्वास र परम्परालाई अनुवाद गरिएको थियो । त्यहाँको मूल मर्म त्यही एउटा बाँचेको छ, त्यो पनि अनुदित भएका कारणले । अब त्यो अनुदित हुँदा कत्तिको सही तरिकाले गरिएको थियो, त्यो आफ्नो ठाउँमा होला तर कम्तीमा एज्टेक सभ्यताको एउटै बिऊ भए पनि अनुवादका कारण बच्न पुग्यो ।

अनुवादले संसार बदलेको छ । अनुवादले नै संसारलाई ठूलो प्रभाव पारेको छ । अब अनुवाद कति गतिलो भयो, त्यो आफ्नो ठाउँमा होला तर यसले धेरै ठूलो ज्ञान परम्परालाई स्थानान्तरण गर्न भूमिका खेलेको कुरालाई नकार्न सकिन्न ।

अनुवाद गर्दा अरूभन्दा आफूलाई उच्च ठान्न गलत अनुवाद गरिदिने वा भएका राम्रा कुरालाई लुकाइदिने परम्परा नयाँ होइन । त्यो हरेक सभ्यतामा हरेकले गरेका छन् । चर्वाक सिद्धान्त एउटै कारणले जीवित रह्यो किनभने त्यसका विरोधीले चर्वाकका सिद्धान्तलाई तल्लोस्तरको प्रमाणित गर्न उनीहरूले केही कुरालाई गलत तरिकाले उल्लेख गरे ।

पश्चिमाहरूले पूर्वीयालाई वा अफ्रिकीहरूलाई असभ्य प्रमाणित गराउन अनेकन् काम गरेका छन्, त्यो काम पनि अनुवादमार्फत नै भएको छ ।

पश्चिमाहरूले आफ्नो सिद्धान्त र धारणाविरूद्ध देखिएका प्राचीन ग्रिसेली आलेखलाई सम्पादन गरेका छन् । त्यस्तै ताङ युगको कविता १९ औँ शताब्दीमा युरोपमा अनुदित हुँदा तिनको व्रह्माण्डीय भव्यता र वास्तविकतासँग जुझ्नुभन्दा चित्रात्मक र भावप्रधानतालाई जोड दिइएको थियो ।

यसका वाबजुद अनुवाद कर्म एउटा अभियान हो । इतिहासको चुनौतीपूर्ण काम हो । कुनै पनि युद्ध, क्रान्ति वा आक्रमणले संसारलाई परिवर्तन गरेका छैनन्, जति अनुवाद, आदानप्रदान, संवाद र एकअर्कालाई बुझ्ने प्रयासले गरेका छन् । यो पक्का छ, एकअर्कासँग कुराकानी गर्नु, एकअर्कालाई बु्झ्ने प्रयास गर्नुले हामीलाई बढी मानव बनाएको छ । जुन बेला हामीले अरूलाई बु्झ्ने प्रयास गरेका छैनौँ, हामी साँच्चिकै अप्ठेरोमा पर्ने छौँ । हामी त्यो बेला खुम्चिने छौँ । अनुवाद हुनु, अनुवाद गर्नु, अनुवाद पढ्नु आफूलाई फराकिलो बनाउनु हो ।