साहित्यकार भूपिनको ‘मैदारो’ उपन्यास कला र साहित्यको संगम हो । यसले अँधेरी गाउँको कथाका माध्यमबाट नेपाली समाजमा विद्यमान दलितबारे आफ्नो विचार प्रस्तुत गरेको छ । कलाकार भएर जीवन गुजारेको नदीन अरूभन्दा फरक चिन्तत बोक्ने पात्र हो । दलित भएर कारण कथित उपल्लो जातकी युवतीसँग अन्तर्जातीय विवाह गरेका कारण भोग्नुपरेका पीडाहरूको फेहरिस्त बनेको छ, यो उपन्यास ।

आमुख

साहित्यकार भूपिन (२०३०) नेपाली साहित्यमा नयाँ नाम होइन । कविता, निबन्ध र आख्यानमा उत्तिकै सशक्त कलम चलाउने भूपिनका हालसम्म पाँचवटा एकल र एउटा संयुक्त कृति प्रकाशित भइसकेका छन् । ‘मैदारो’ उपन्यास (२०७५) उनको पछिल्लो कृति हो भने उपन्यासका सन्दर्भमा यो उनको पहिलो कृति हो । कलाकार नदीनको जीवनकहानी प्रस्तुत गरेको यो उपन्यासमा कलाका अतिरिक्त जातिगत विभेदलाई पनि मार्मिक रूपमा उठाइएको छ । अरूभन्दा फरक चिन्तत बोक्ने नदीनले दलित भएर कारण कथित उपल्लो जातकी युवतीसँग अन्तर्जातीय विवाह गरेका कारण भोग्नुपरेका पीडाहरूको फेहरिस्त बनेको छ, यो उपन्यास ।

दलितबारे धारणा

खासगरी नेपाली समाजमा दलित भन्नाले जातीय आधारमा भेदभाव गरी होच्याउनु भन्ने बुझिन्छ । यस्तो अवस्था कहिलेदेखि सुरु भयो भन्ने बारेमा विविध अध्ययन भएका छन् । यहाँ तिनको फेहरिस्त प्रस्तुत गर्नुभन्दा पनि ‘मैदारो’ उपन्यासका दलित पात्रहरूको अध्ययन गर्न लागिएकाले दलितबारे सामान्य उठान मात्रै गरिएको छ । सर्वप्रथम मनुस्मृतिले जातीय वर्गीकरण गरी जातका उपल्लो जात र दलितको कुरा गरेको पाइन्छ । जातीय विभाजनको प्रयोगात्मक परीक्षण भने सबैभन्दा पहिला मल्ल वंशीय राजा जयस्थिति मल्लले कामका आधारमा जातको निर्धारण गरेर आरम्भ गरेका हुन् । यो विभाजन पछि गएर दलनमा परिणत भएको पाइन्छ । त्यही कुराको पुष्टि राजा पृथ्वीनारायण शाहले नेपाल चार जात र छत्तीस वर्णको साझा फूलबारी हो भन्नुबाट पनि भएको पाइन्छ । मुलुकी ऐन २००४ ले दलितबारे वैधानिक धारणा प्रस्तुत गरेको देखिन्छ भने नेपालको संविधान २०७२ ले मौलिक हक भन्दै भाग घ अन्तर्गतका धारा १८ को समानताको हक र धारा २४ को छुवाछुत तथा भेदभाव विरुद्धको हकमा दलितका बारेमा प्रष्ट पारेको छ । संविधानले दलित भनेर हेप्न र होच्याउन पाइने छैन भनेर किटान गरेको भए पनि अझै नेपाली समाजमा जातीय भेदभाव गर्दै दलितलाई हेप्ने गरेको कुराको पुष्टि भूपिनको ‘मैदारो’ उपन्यासमा गरिएको छ ।

‘मैदारो’ उपन्यासमा दलित पात्र

रमेश प्रभात

भूपिनको ‘मैदारो’ उपन्यासमा दलित बस्तीको कथा भन्दै सार्की जातको बस्ती रहेको बागलुङ जिल्लाको विकट ठाउँमा रहेको अँधेरी गाउँको चित्रण मूल रूपमा भएको छ । यो कथा मूलतः सार्की समुदायमा जन्मी हुर्केको नदीनको कथा भएकाले उसको परिवारका उसको बा आइते सार्की, उसकी आमा उजेली, उसको भाइ अमृत, उसकी सानी छोरी सञ्जीवनी, गैह्र दलित भएर पनि विवाहपछि दलित भएकी उसकी पत्नी कला यसमा दलित पात्र भएर आएका छन् । त्यस्तै उसँग सम्बन्धित मानवीर बाजे, ग्वाँफे कान्छा, ऋतु पनि पात्र भएर आएका छन् । यी पात्रहरू दलित देखिनुका कारणबारे निम्नानुसार प्रष्ट पार्न सकिन्छ:

प्रमुख दलित पात्र नदीन

‘मैदारो’ उपन्यासको प्रमुख पात्र अर्थात् नदीन दलित वर्गको प्रतिनिधित्व गर्ने पात्र हो । उसले दलित भएका कारण समाजबाट भोगेका प्रताडनाका असरहरूलाई उपन्यासमा यसरी देखाइएको छ:

साक्ष्य  १
ढोकाबाट छिर्नै लाग्दा अचानक मेरा खुट्टाहरू रोकिए । सम्झेँ, कुनै दिन ढोका छोएको अपराधमा मैले काकीको हप्काई खाएको थिएँ ।
“ह्याँ टेक् तो, म तेरा खुट्टा काट्दिन्चु ।”, काकीले भनेको वाक्य सम्झेँ । म झन् आत्तिएँ । (मैदारो, पृ. ६८)

पानी जमेको खाल्डोमा डुबेकी कलालाई ज्यानको बाजी लगाएर उद्धार गरेपछि घरको पिँढीमा राखेर बोलाउँदा कोही नबोलेपछि घरमा को छ ? भनेर भित्र पस्न खोज्दा नदीनले आफू दलित भएका कारण पहिल्यै खाएको गाली र चेतावनी सम्झने काम माथिको उद्धरणमा भएको छ । यसरी कथित उपल्लो जातको दैलो समेत दलितले छुन नहुने भनी यहाँ दलितलाई होच्याउन खोजिएको छ ।

साक्ष्य  २

कलाको घरबाट आफ्नो घर फर्किंदै गर्दा बाटोमा मैले बालाई सोधिरहेको थिएँ, “बा, काकीले त्यसरी जगको पानी किन छर्केकी नि कलाको जीउमा ? अनि कानाँ लर किन जगको पानी डुबाकी नि ?”

“तँ सार्कीको छोराले कला नानीलाई छोइस् कि छोएनस् खाल्टाँ ?”(मैदारो, पृ. ७०)

भूपिन खड्का

नदीनले छोएका कारण कलालाई सुन पानी छर्केर चोखो बनाउन खोजिएको हो भन्ने धारणा माथिको उद्धरणमा आएको छ । दलितले छोएमा अशुद्ध हुने र त्यसमा सुनपानी छर्केपछि शुद्ध हुन्छ भन्ने रुढिवादी सोचको चित्रण गर्दै विपत्मा उद्धार गर्ने नदीनका हात दलितका हात हुन् भनी होच्याउने काम माथिको उद्धरणले गरेको छ ।

साक्ष्य  ३

अझै छोरीलाई मबाट छुटाएर कुनै जात मिल्ने केटासँग कलाको बिहे गरिदिन चाहन्थे कलाका बाआमा । कलाका आफन्त । विष्ट काकाले कलालाई खबर पठाउँथे, “त्यो कुजातलाई छोडेर खुरुक्क घर आइज । नत्र तिमी दुइटैलाई चार गिँड पार्दिन्चु ।” (मैदारो, पृ. २३९)

विष्ट काजीकी छोरी कलाले दलितको छोरा नदीनसँग प्रेमविवाह गरेपछि नदीनबाट उसलाई छुटाउन कलाका आफन्तले नदीनलाई मार्ने धम्की दिने गरेको प्रसङ्ग माथि उद्धरणमा आएको छ । यसो हुनुको प्रमुख कारण ऊ दलित भएकोले हो भन्ने कुरा उसलाई कुजात भनी गाली गरिएकोबाट पुष्टि हुन्छ ।

साक्ष्य  ४

त्यसमा लेखिएको थियो–
“ए जिन्दगी ! मलाई माफ गर । मैले आत्महत्याको बाटो रोजेँ ।”
– नदीन (मैदारो, पृ. २९)

आफू दलित भएकै कारण समाजमा हुने गरेका प्रताडनासँग लड्दा–लड्दा थाकेर नदीनले आत्महत्याको बाटो रोजेको खुलासा माथिको उद्धरणले गरेको छ ।

अन्य दलित पात्र

नदीनको कथामा बुनिएको ‘मैदारो’ उपन्यासमा उसको परिवारका सदस्यहरू उसको बा, उसकी आमा, उसको भाइ अमृत, उसकी सानी छोरी सञ्जीवनी, गैह्र दलित भएर पनि विवाहपछि दलित भएकी उसकी पत्नी कला दलित पात्रका रूपमा आएका छन् । त्यस्तै उसँग सम्बन्धित अँधेरी गाउँका मानवीर बाजे, ग्वाँफे कान्छा, ऋतु पनि अन्य दलित पात्र भएर आएका छन् । तिनको चिनारी निम्नानुसार दिइएको छ:

नदीनका बा आइते सार्की

अर्काको घरमा काम गरेर परिवार पाल्ने सोझो सार्कीका रूपमा नदीनका बा आइते सार्कीको चित्रण गरिएको छ । उपन्यासमा छोटो भूमिकामा देखिएकी उनी सोझो गाउँले हुन् । तलका साक्ष्यले उनलाई दलित प्रमाणित गरेका छन् ः

साक्ष्य  १

“करङका नसानसा दुखिराच्चन् बूढी आज । रौसी नखाए त सुत्न सउतिनँ ।”, दिनभरि विष्ट काकाको खेतमा गोरुझैँ जोतिएर घर नामको झुपडीमा छिरेपछि बाले आमासँग रक्सी खाने अनुमति मागिरहेका थिए । (मैदारो, पृ. ५६)

अचेल पनि गाउँतिर दलितको पहिचान खुलेर मादक पदार्थ सेवन गर्नेका रूपमा लिइन्छ । माथिको उद्धरणमा नदीनका बाले आफ्नी श्रीमतीसँग जीउ दुखेको बाहनामा रक्सी खान पाऊँ भनी खुलेरै आग्रह गरेकाले उनको चरित्र दलित देखिएको छ ।

साक्ष्य  २

“हामी कसरी अशुद्ध भइम् बा ? मुन्छे शुद्ध र अशुद्ध कसरी हुन्च ?”, मैले बालाई उँचो आवाजमा सोधेँ । बाले असामान्य नजरले मेरो अनुहारमा हेरे र भने, “सानो मुन्छेले ठूलो कुरा नअर केटा, यो कुरा मलाई था छैन । यत्ति था छ, भगमान् बर्माको टाउकाट बाहुन्, छातीयाट छेत्री, साँप्राट वैश्य र खुट्टाट सुद्र जन्मेका हुन् अरे । हामी पैताला तलका परिम् । अछुत भइम् ।” (मैदारो, पृ. ७१)

माथिको उद्धरणमा नदीनको प्रश्नको उत्तरमा हामी कसरी दलित भयौँ भनेर रुढिादी मान्यतालाई अघि सार्ने काम उनका बा आइते सार्कीले गरेका छन् । कथित उपल्ला जातकाले जे भन्यो त्यही पत्याएर हिँड्ने चेतनाहीन दलित पात्रका रूपमा यहाँ उनलाई प्रस्तुत गरिएको छ ।

नदीनकी आमा उजेली

नदीनकी आमा उजेली एउटी सोझी अपठित गाउँले दलित महिला हुन् । उनमा कथित उपल्ला जातकाले भरिदिएका धर्म र पापसम्बन्धी कुरीति विद्यमान छन् । उनलाई तिनै कुरीतिले दलित बनिराख्न बाध्य पारेका छन् भन्ने कुराको पुष्टि तलका साक्ष्यले गरेका छन्ः

साक्ष्यः १

“बाबू कुन जातको पर्नु भओ कुन्नि ?” दाहिने गालामा अँगार खरानी लत्पतिएको अनुहार भएकी एक दुब्ली महिलाले पिँढीमा आएर सोधिन् ।

“मेरी आमा ।” अमृतले चिनायो ।

“म गुरुङ हुँ आमा ।”, मैले नमस्कार गर्दै उत्तर दिएँ ।

“हाम्ले छोको पानी कसरी दिनु बाबु ?” हामी तल्ला जातका परिम् । (मैदारो, पृ. १८–१९)

माथिको उद्धरणमा स्मरण गुरुङले तिर्खा लागेर पानी माग्दा उनले जात सोध्ने काम गरेकी छिन् । उपल्लो जातकाले दलितको हातको पानी नखाने कुरा उनले यसमा गर्दै आफू दलित भएको प्रष्ट पारेकी छिन् ।

साक्ष्य  २

“नदिए काकाकुल भैन्च, दिए नर्क गैन्च । छिः मरी, पापाँ परिनी भओ केरे बाबू !”, तिर्खाले डसिरहेको मेरो अनुहार हेर्दै आमाले थपिन् । (मैदारो, पृ. १९)

माथिको उद्धरणमा स्मरण गुरुङले आफूलाई असाध्यै तिर्खा लागेको कुरा गरेपछि उनी धर्मसङ्कटमा परेकी छिन् । तिर्खाएको मान्छेलाई पानी नदिए आफू काकाकुल हुने र दिएमा नर्कमा परिने रुढिवादी धारणा राख्दै उनले यसमा पनि आफूलाई दलित भएको प्रमाणित गरेकी छिन् ।

साक्ष्य  ३

उनले भनिन्, “हाम्लाई पाप लाउँच का कान्छा । अछुत भर’नि जानाजान कसरी ख्वाउनु गुरुङको छोरालाई ?” (मैदारो, पृ. १९)

माथिको उद्धरणमा स्मरण गुरुङले आफू भोकै आएको बताएर अमृतसँग खानाको लागि आग्रह गरेपछि बूढीआमै फेरि धर्मसङ्कटमा परेकी छिन् । अछुत भएर उपल्ला जातकालाई जानाजान खाना खुवाउँदा आफूलाई पाप लाग्ने रुढिवादी धारणा राख्दै उनले आफूलाई दलित प्रमाणित गरेकी छिन् ।

नदीनकी पत्नी कला

विष्टकी छोरी भएर पनि सार्कीको छोरो नदीनसँग आफूखुसी विवाह गरेका कारण कलालाई उसको माइतीले दलितलाई जस्तो व्यवहार गरेका छन् । यसको खुलासा तलको उद्धरणमा गरेको पाइन्छः

साक्ष्य  १

“एकपटक मेरो कोठामा छिर्न दिनु न आमा ।”, उनको अनुरोध थियो । “तँ कुजात्नी ! तेरो अब कुनै कोठा छैन, यो घराँ ।” (मैदारो, पृ. २४९)

माथिको उद्धरणमा बिहेपछि लुकीछिपी माइती गएकी कलाले आमासँग एक पटक आफ्नो कोठामा छिर्नका लागि अनुनय विनय गर्दा पनि तँ कुजात्नीको यो घरमा कुनै कोठा छैन भनेर होच्याएका कारण उसले दलितले जस्तै प्रताडना भोग्नु परेको देखाइएको छ ।

ग्वाँफे कान्छा

जातले कामी ग्वाँफे कान्छा आफ्नो पुख्र्यौली पेसा हतियार अर्जाप्ने काम गर्ने गरेको र उसलाई उपल्लो जातकी महिलाले दलित भएका कारण सम्बोधनका क्रममा हेप्ने गरेको कुरा तलको उद्धरणमा आएको छः

साक्ष्य  १

तिखुली सहयोग माग्न ग्वाँफे कान्छाको घरमा आइन् । उनी खलाँतीले आरन तताएर विष्टका आँसी अर्जापिरहेका थिए ।

“लौ न कान्छा, एक बोरा माटो ल्याइदिन अह्राइ दे न तेरी छोराीलाई । धर्म लाउँच तँलाई । मैले त घर छ्याप्नी माटो पाइनँ ।”, तिखुलीले कान्छासँग अनुनय गरिन् । (मैदारो, पृ. २४३)

माथिको उद्धरणमा एउटा पाको उमेरका ग्वाँफे कान्छालाई जातले कामी भएका कारण तिखुली नामकी महिलाले तिमीसम्म पनि नभनेर तँ भनेको पाइन्छ । यस्तो हुनुको कारण ऊ दलित भएकाले हो ।

कलाकी साथी ऋतु

कलाकी साथीको रूपमा उपन्यासमा चित्रित ऋतुलाई तिखुली बज्यैले तल्लो जातका भएका कारण दशैँमा खसीको पुछार दिन्छु भनेको कुरा तलको उद्धरणमा आएको छः

साक्ष्य  १

“जाऊ मेरी छोरी जाऊ । छम्कट्टै भर भनेकी हुम् । एकचोटी आउनी दश्याँ पनि घर लिपिनँ भने मेरा शत्तुर हाँस्चन् । म तिमोरलाई दश्याँ खानी चामल दिम्ला । खसीको पुछार पनि दिम्ला ।”, तिखुली बज्यैले सकेजति लेघ्रो तानेर भनिन् । (मैदारो, पृ. २४४)

माथिको उद्धरणमा ऋतुलाई फकाउनका लागि दशैँमा खसीको पुछार दिन्छु भन्नु जातका आधारमा हेप्नुको उदाहरण हो । यस्तो हेपाइ पुरातन समाजमा देख्ने गरिन्छ ।

नदीनको भाइ अमृत

नदीनको कथाले स्थान पाएको यो उपन्यासमा उसको भाइ अमृत पनि जातका आधारमा दलित हो । उसलाई ठूलो भएपछि मात्र देखाइएको र बौद्धिक खालको देखिने भएकाले प्रत्यक्ष रूपमा दलित प्रमाणित गरिएको पाइन्न ।

नदीनकी सानी छोरी सञ्जीवनी

तोते बोली बोल्ने दलित बालिकाका रूपमा नदीनकी सानी छोरी सञ्जीवनीको चित्रण गरिएको भए पनि उसको भूमिका ज्यादै न्यून छ । निकै कम भूमिकामा देखिएको र गाउँमा अरूसँग त्यति सम्पर्क गरेको नदेखाइएकाले उसलाई दलित प्रमाणित गर्ने उद्धरण भेटिन्न ।

मानवीर
भँडुवा सार्की भनेर चर्चा गरिएको मानवीर काका कतै बाजे पनि भनिएको मानवीर उपन्यासमा अरूभन्दा पृथक् खालको पात्र हो । ऊ बालीघरेका रूपमा नभई ज्यालाका रूपमा काम गर्न गाउँलेलाई उत्साहित गर्छ । तर अपठित गाउँले उसका कुरा पत्याउन्न । उसले नदीनसँग मैदारो पार्ने कुरा, दलित नेता भगत सर्वजीतको कुरा, दलित युवक र ब्राह्मण युवतीको प्रेमको कथा बताउने काम गरेको छ । यस अर्थ उसलाई उपन्यासकारको मुखपात्र भन्न सकिन्छ ।

त्यस्तै उपन्यासमा स–साना भूमिकामा देखिने बाटुली, बाटुलीका नन्द, बाटुलीको लोग्ने खन्ते काका, उपन्यासभित्र कथाका प्रसङ्गमा आउने बाहुनी केटीसँग प्रेम गर्ने सार्की युवक, दलित मुक्तिका प्रसङ्गको चर्चाका क्रममा आउने भगत सर्वजीत विश्वकर्मा आदिजस्ता अन्य दलित पात्रहरू पनि यो उपन्यासमा देखिन्छन् ।

उपसंहार

‘मैदारो’ उपन्यासमा उल्टो कलाका माध्यमबाट कलाको प्रसङ्ग उठाइएको भए पनि प्रतीकात्मक रूपमा उल्टो सामाजिक व्यवहारका रूपमा नेपाली समाजमा विद्यमान दलनको कथालाई प्रतिबिम्बित गरिएको छ । यो एक्काइसौँ शताब्दीमा आएर पनि समाजमा अझै उपल्लो जात र तल्लो जात भनी जातका आधारमा मानिसलाई दलित भनेर हेप्ने गरेको सामाजिक यथार्थको चित्रणमा उपन्यास सफल भएको छ ।

दलित भएर गैह्र दलित युवती कलासँग विवाह गरेका कारण नदीनले भोग्नु परेका शारीरिक तथा मानसिक पीडाको चित्रण ‘मैदारो’ उपन्यासमा गरिएको छ । यसको साथै सार्की बस्तीका रूपमा चित्रित अँधेरी गाउँका बासिन्दाले दलित भएका कारण भोग्नु परेका दलनका कथाहरूले यो उपन्यास भरिएको छ । यसमा कतै उपल्लो जातकाले सम्बोधनका क्रममा त कतै व्यवहारका क्रममा दलितलाई हेपेका छन् । उपन्यासमा दलितहरूका मष्तिष्कमा दलितले गर्न हुने र नहुने भनी भरिदिएका कुत्सित विचार बोकाएका कारण पनि उनीहरू दलनमा परेका प्रसङ्गहरू पनि प्रशस्त मात्रामा आएका छन् । यसर्थ ‘मैदारो’ उपन्यास दलनको कथा हो ।

अस्तु ।