नेपाल आमा हेक्का छ?
दुई छाक हात मुख जोड्न
परिवारको खुसी खोज्न
भविष्यको भविष्य खोज्न
पारिवारीक खुसीलाई
बन्धकी लाएर
बुवा आमालाई रुवाउँदै
भकारीका भकारी
अधुरा सपनाहरू बोकेर
दुःखको खेदाइमा
अभावको चपेटामा
भोकाएको भुडी भर्न
दुला परिरहेका पहिरन फेर्न
र परिवारको
आवस्यकताको डोको भर्न
सगरमाथाको देशबाट
विदाइ लिदै
आँखाले नदेखेको
विना अनुभवक
देश जान वाध्य बनाइएकाछन्
तिम्रा सन्तानहरु
दिन प्रतिदिन
सपनाहरूको साकारता खोज्न ।

खै सगरमाथाले नदेखेको भोक
पशुपतिनाथले नदेखेको तिर्खा
मनोकामनामाताले नदेखेको वाध्यता
पाथीभरा माताले नदेखेको आवस्यकता
जन्मभूमीले नदेखेको खाली पेट र नाङ्गो शरीर
बुढानिलकण्ठले नदेखेको बेरोजगारीको पीडा
देख्न वस्या छन् कोही त्यो विरानो देशमा?
देख्या छ विदेशीन वाध्य बनाउनेहरुले?

जब सम्म महाभारतकाल देखिका धृतराष्ट्रहरु
चाहुरीएका गालाहरु सुम्मसुम्याउँदै
कुर्सीको आलिङ्गन ओगट्न लडिरहन्छन्,
तबसम्म न भ्याउनछन् यिनीहरुले
युवा युवती निर्यात गर्न भ्याइ नभ्याई लागिपरेको?
स्वदेशमा शिक्षित बेरोजगार भएको
भोकाएको
तिर्खाएको
नाङ्गिएको
भोक भोकै मरेको?
पसिनाको कमाइमा
परिवारिक खुसी किन्न व्यस्त
धेरैहरू
रातो बाकसमा बन्दी भई स्वदेश फर्किएको?

तर विडम्बना
रेमिट्यान्समा बाचेकाहरु
युवायुवती निर्यात गर्न हतारमा हतारमा छन्
युवायुवतीहरूका
बुवा आमालाई सन्तान उत्पादक कारखाना
अनि युवायुवतीहरू कारखानाका उत्पादन मानी
किनकि उस्को नजरमा
सामान उत्पादन त चिनले गर्छ
भारतले गर्छ
बंगलादेशले गर्छ
या अन्य कुनै देशहरूले गर्छन्
तर
विदेश उड्न बाध्य युवा युवती
नेपाली आमाहरुले नै अधिक उत्पादन गर्छन्
अनि ऊ
उडाइ रहेछ युवा युवतीका
सपनाहरू
बाध्यताहरू
भोकहरू
भविष्यहरू
आवश्यकताहरू
रेमिट्यान्सको चाङ्ग लगाउँदै
भुँडी र औकात उच पार्दै
हतार हतारमा, चितुवा दौरेझै
देशका कर्णधारहरू विदेश निर्यात गर्नु छ
खाएर नअघाउने उस्को भुँडी भर्न
विलासीतामा उडाएर नसकिने अकुत धन कमाउँन
उस्का सबै सपनामा साकारता ल्याउन
अबिरल लागि रहेछ,
लागि रहेछ
यथार्थताको धरातलमा
रातारात रेमिट्यान्स भित्र्याउने काममा ।

हाल: क्यालगेरी, क्यानाडा