इम्तियाज महमूद (जन्म, सन् १९८०) वर्तमान समयमा बंगलादेशको लोकप्रिय कवि कहलिन्छन् । उनका आठवटा कवितासङ्ग्रह प्रकाशित छन् ।
जिन्दगीको मूल्य
मान्छे मार्न कति पैसा लाग्छ ?
• बर्मामा दस रुपैयाँ !
• बंगलादेशमा निशुल्क !
****
नुन
मलाई चामलमा नुन चाहिएन सरकार
मेरा आँसुमा पर्याप्त छन् !
****
पहिचान
रुखले सोध्यो मान्छेसँग –
तिम्रो पहिचान के हो ?
मान्छेले भन्यो –
मेरो पहिचान विषमा छ !
****
कार्यकर्ता
नेतासँग हात मिलाएपछि
जब कार्यकर्ताले आफ्नो हाततर्फ हेर्यो
तब देख्छ !
उसको एउटा औंला फिर्ता भएनछ !
*****
गणतन्त्र
यो दुनियाँमा
मृतकको सङ्ख्या नै
बहुसङ्ख्यक छ !
*****
इमानदारी
जब बाघलाई दशलाख घुस प्रस्तावित गरियो
बाघले भन्यो – म घुस लिन्नँ
तर हरिणलाई उपहारमा
स्वीकार गर्छु ।
****
मुक्त
घोडा तबसम्म अधीनमा हुन्छ
जबसम्म दौडिन सक्छ !
अचल भयो भने मुक्त हुन्छ !
****
गुलाब
एउटा बोटमा
पाँचवटा गुलाब फुले
त्यसमध्येको
एउटा जाँदैछ अस्पताल
विरामीको प्रार्थनाका लागि
अर्को जाँदैछ कारागार नेतालाई थुनामुक्त गराउन ।
एउटा जाँदैछ
सुहागरातको पलङमा
अर्को जाँदैछ मलामी
पाचौँ गुलाब
हाँगामा झुन्डिएको छ
जो बिकेन !
*****
चिठ्ठी
प्रिय,
म यहाँ एकदम सोचनीय अवस्थामा छु
उनीहरूले मेरा सारा हड्डी निकालेर लगे
र, भने – जिन्दगी यतिकै सुन्दर छ ।
म आफ्नै शरीर जमीनमा रगड्दै
ती हड्डीका बारेमा सोचिबस्छु
जो हिजो मसँगै थिए ।
प्रिय,
तिमीले मेरा हराएका हड्डीबारे पत्ता लगाउनु –
नदीमा, फूलको सामुन्ने
थाना वा मुर्दाघरमा ।
मलाई यहाँ केही पनि राम्रा लाग्दैनन्
यो स्वर्गमा ।
****
कवि पुत्र
आमालाई टोकियो सहर किन्दिन चाहन्छु
मूल्य कति पर्छ
के थाहा !
यत्रो महँगी बढेको छ
एक पाउ लसुनको मूल्य बीस रुपैयाँ
पत्याउँछौ ?
बुबा चिढिएर बजार जानुहुन्न
उनको उमेर बढ्दै छ
एकपटक बम्बै लगेर उपचार गराउन पाए हुन्थ्यो
बम्बैमा उपचार गराउन कति खर्च लाग्ला !
कसलाई थाहा ?
मसँग कागज किन्ने पैसा छैन
हावामा लेखिदिन्छु
बुवा सय वर्ष बाँच्नु ल !
****
कुकुर
छिमेकीको कालो कुकुरको नाम एब्रोस हो
उसलाई यो नामले बोलाउने हो भने
निकै उत्साहित हुन्छ
पुच्छर हल्लाउँछ
उफ्रिन्छ/दौडिन्छ ।
रोटी खाने बहाना बनाउँछ
रोटी खानु छ
नयाँ मान्छेलाई देखेर भुक्छ
नयाँ कुकुरलाई देखेर हमला गर्न तम्सिन्छ
रोटी खानु छ
दौडिन्छ
पूर्णिमाको रातमा ऊ एकदम दुःखी देखिन्छ-
चन्द्रमामा भएको कालो धब्बा देखेर
उसलाई लाग्छ –
चन्द्रमाभित्र एउटा कालो कुकुर फसेको छ ।
****
व्यर्थ
आज तिम्रो बिहे छ
म आमन्त्रित होइन
खोइ किन उपस्थित भएको छु, म
हिजो जुन मुसासँग तिम्रो बिहे पक्का भएको हो
मैले त्यो मुसालाई मुखमा धानको बाला लिएर
कच्ची बाटो हुँदै
दौडिँदै गएको देखेको थिएँ
तिम्रो बुवाको रोजाइ हो
खासमा तिम्री आमालाई
खरायो दुलाहा मनपर्छ
तर विडम्बना
आजभोलि असल खरायोको अकाल छ
यही अवसरमा मुसा मुखबाट धानको बाला निकालेर तिमी समक्ष उभिन्छ
उसले तिम्रा आँखा पछ्याउँदै आउँदा
एकपटक मतर्फ हेर्छ
आज तिम्रो बिहे छ
र आज मेरो मनुष्य जीवन व्यर्थ छ ।
****
एक दिन
एक दिन सबै लापरबाही दुईगुणा फर्काउनेछु-
सबै प्रतीक्षा
कुर्सी उपलब्ध हुनुको बाबजुद पनि बस् भनेर नभन्नु-
म फर्काउनेछु त्यसै दिन
पलाएका आँखीभौँबाट हेर्नेछु तिमीलाई
म आफूलाई यसरी अभिव्यक्त गर्नेछु कि
तिमीलाई सुनिरहेको छैन
यसरी व्यवहार गर्ने छु कि
मसँग तिम्रा लागि समय छैन
म तिमीलाई सबै व्यस्तता फर्काउने छु
सबै लापरबाहीलाई दुईगुणा गरेर
एकदिन म कतै जाने छैन
तिमी मेरो चिहानको सामुन्ने भएर जानेछौ
तर म पछाडि फर्केर हेर्ने छैन ।
****
आवर्तन
शून्यले समय खान्छ
सेकेन्डले शून्य खान्छ
मिनेटले सेकेन्ड खान्छ
घन्टाले मिनेट खान्छ
दिनले घन्टा खान्छ
महिनाले दिन खान्छ
वर्षले महिना खान्छ
युगले वर्ष खान्छ
कालले युग खान्छ
महाकालले काल खान्छ
समयले शून्य खान्छ ।
****
यदि
एकदिन मध्यान्ह प्रहरमा चोरीको आरोपमा तिम्रो जागिर खुस्कियो
तिम्री श्रीमतीले अर्को दिन हातमा सम्बन्ध विच्छेद पत्र थमाई दिइन्
पूरा पत्र पढ्न नपाउँदै तिमी सुचित हुन्छौ
छोराले लागुपदार्थ सेवन गर्दागर्दै प्रहरीले पक्रियो
तिम्री छोरीको न्युड भिडियो इन्टरनेटमा भाइरल भयो
तिमी आत्महत्या गर्न चाहन्छौ
रेलवे ट्र्याकमा शिर राखेर
तर रेलगाडीले शिरको ठाउँमा तिम्रा खुट्टा काटिदियो
केही मान्छेले तिमीलाई विकलाङ्ग अस्पतालमा भर्ना गराइदिए
आँखा उघार्दा-
श्रीमती र छोराछोरी भेट्न आएका छन्
उनीहरूले कोसेली अम्बा ल्याएका छन्
अम्बा टेबलमा राखिएको छ
त्यतिबेला तिमीले सोच्नेछौ –
अम्बा कति हरियो छ
कतिजनाले यस्तो हरियो जीवन प्राप्त गरेका हुन्छन् ?
यद्यपि यस्तो नहोस् कि
त्यो अम्बा तिमीले खानुपूर्व कुनै भोको मुसाले खाइदियोस् ।
भावानुवाद : जनक कार्की
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।