‘तिमी त किताब धेरै पढ्छौ, हाम्रो स्कुलको पुस्तकालयमा केही किताब सुझाइदिनु पर्‍यो,’ एकजना साथीले सहयोग माग्यो।

मलाई हल्का लाज लाग्यो। भनें, ‘किताब धेरै पढ्ने त होइन तर किताबहरूमा चासो चाहिँ छ।’

मैले भन्न खोजेको कुरो साथीले बुझ्यो बुझेन तर फेरि जिरह गर्‍यो, ‘तिमीलाई मन परेका किताबहरू छानिदेऊ। पैसो मैले तिर्ने भएँ।’

यसपछि मैले उसको विद्यालयका लागि चार लाख रूपैयाँ बराबरका किताब छानिदिएँ।

एउटा स्कुल सञ्चालकलाई एउटा विद्यालयको पुस्तकालयमा कस्ता किताब राख्ने, कुनै जानकारी नभएको देख्दा मन खिन्न भइरह्यो।

नेपालमा कस्ता पुस्तक पढ्ने, छान्ने स्कुलका सञ्चालकलाई थाहा छैन। उता अमेरिकामा भने स्कुल प्रशासनले कस्ता पुस्तक बालबालिकालाई पढाउने भन्ने कडा नीतिनियम छ। खासगरी पछिल्लो समय अमेरिकाका केही राज्यका स्कुलहरूमा खास खास किसिमका पुस्तकहरू राख्न नपाइने, राखिए १ लाख डलरसम्मको जरिबाना तिराइन्छ। यसमा अमेरिकाको टेनेसी, टेक्सस, ओक्लाहामाका विद्यालयमा प्रकाशकका केही खास पुस्तकहरूले प्रवेश पाउँदैनन्।

यसरी विद्यालय र सार्वजनिक पुस्तकालयले एकसाथ पुस्तकका विषयवस्तुमाथि चासो लिन थालेपछि बुद्धिजीवीहरूले कडा शब्दमा निन्दा पनि गरे । केहीले त यसविरुद्ध आन्दोलनसमेत गर्न थाले ।

यही मौकामा केही पुस्तक पसलेहरूले ‘प्रतिबन्धित पुस्तक’ भन्ने एउटा बेग्लै र्‍याक पनि बनाए र त्यसले लोकप्रियतासमेत पाएको छ । ‘खबरदार, यी किताब खतरनाक छन्,’ शीर्षकमा कयौं पुस्तक पसलेहरूले स्कुल प्रशासनले प्रतिबन्ध लगाएका किताबहरू राखिन्छन् । काठमाडौंको एडुकेसनल बुक हाउसमा छिर्नुभयो भने पनि प्रतिबन्धमा परेका ‘क्लासिक’ किताबहरूको र्‍याक फेला पार्नु हुनेछ।

किताबमा के राख्ने, के नराख्ने भन्नेबारे प्रकाशक कसरी हाबी हुँदै छन् भन्ने एउटा सानो उदाहरण म्यागी तोकुदा हल पनि हुन्। उनले लेखेको चित्रपुस्तक ‘लभ इन द लाइब्रेरी’लाई बालपुस्तक प्रकाशक स्कोलास्टिकले पुनः प्रकाशनका लागि माग्दा केही जापानविरोधी शब्दहरू हटाउन आग्रह गर्‍यो।

लेखिकाले आफ्नो भनाइमा जापानका बारेमा र जापानी-अमेरिकीहरूका बारेमा टिप्पणी गरेकी थिइन्। ती टिप्पणी ‘राजनीतिक रूपमा गम्भीर’ किसिमको भएको प्रकाशकको भनाइ थियो। तर लेखिकाले बरु आफ्नो किताब स्कोलास्टिकले नछापोस्, आफूले लेखेका शब्द शब्दमा गरिने त्यस्तो छँटनी मान्य नहुने बताइन्।

शब्दका छँटनी त सामान्य कुरा भए, यहाँ ठुलाठुला समस्या तेर्सिन थालेका छन् र केही लेखकहरूले स्कुले पुस्तकालयहरूमा ‘सेन्सरसिपको नयाँ युग’ सुरु भएको भन्दै कडा शब्दमा निन्दा गर्न थालेका छन्।

अमेरिकाका केही राज्य र स्थानीय कानुन बनाउनेहरूले स्कुल तथा पुस्तकालयमा के पढाउने, के नपढाउने भन्नेबारे सूची बनाउँदा बनाउँदै २ हजार ५ सय ७१ वटा शीर्षकका पुस्तकहरू प्रतिबन्धित सूचीमा परेका छन्। यो त सन् २०२२ को सूची हो र अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भइसकेको अवस्था छ। अमेरिकन लाइब्रेरी एसोसिएसनका अनुसार तीमध्ये धेरैजसो चाहिँ लैंगिक अल्पसंख्यक र केही चाहिँ काला जातिमाथि हुने विभेदका विषयमा लेखिएका पुस्तकहरू पर्ने गरेका छन्।

खासगरी ‘क्रिटिकल रेस थ्योरी’ शीर्षकका पुस्तकहरू स्कुलमा राख्न नपाइने नियम लगाइएपछि सो विधामा पर्ने जतिसुकै राम्रा किताबहरू पनि पुस्तकालयमा छिर्न नपाउने भएको छ । एक लाख डलरसम्मको जरिबाना थपिएपछि चाहिँ शिक्षक तथा पुस्तकालयकर्मीहरूले किताबहरू नराख्ने, राखे पनि ती विधालाई छल्ने गरी राख्ने गरेका छन्।

यसरी अमेरिकामा प्रतिबन्ध लगाउने राज्यहरू करिब आधा दर्जन पुगिसकेका छन्। यस किसिमको प्रतिबन्ध सिर्जना र पाठक दुवैका लागि खतरनाक हुने आवाज पेन अमेरिका फाउन्डेसनले उठाइरहेको छ।

अमेरिकाका टेक्सस, फ्लोरिडा, मिसोरी, युटाह र साउथ क्यारोलिना राज्यसम्म यस्तो प्रतिबन्ध फैलिइसकेको छ। यसलाई मलजल गर्ने एउटा संस्था ‘मम फर लिबर्टी’ले कानुन निर्माताहरूलाई यस्तो कानुन बनाउन पैरवी गरिरहेको छ।

यदि लैंगिक अल्पसंख्यकका विषयमा लेखिएको उपन्यास हो भने त प्रतिबन्ध लागिहाल्छ। खासगरी ‘एलजिबिटिक्यु प्लस’ शीर्षक वा विषय भएका किताबलाई सिधै ‘अश्लील’को श्रेणीमा राख्न थालिएको छ तर कुन सन्दर्भमा ती किताब लेखिए भन्ने कुरालाई ध्यानमा नराख्दा विद्यार्थीहरू एउटा पूरै विषयमा घनघोर अन्धकारमा पर्ने पेन अमेरिका फाउन्डेसनको धारणा छ। कतिसम्म भने कला इतिहासका किताबहरूमा जब ‘होलोकस्ट’ (यहुदी सफाया)को प्रसंगमा पनि किताब प्रतिबन्धित भएका छन्।

खासगरी अमेरिकाको फ्लोरिडा राज्यको प्यारेन्टल राइट्स इन एजुकेसन यति शक्तिशाली छ कि त्यसले सुझाएअनुसारका किताब हटाउन थालेपछि कयौं स्कुलका पुस्तकालयका र्‍याकहरू नै खाली र पुस्तक शून्य हुन पुगेका छन्।

यस्तो अवस्था आएपछि केही राज्यका शिक्षकहरू आतंकित हुन पुगेका छन्। कतिपय राजनीतिक नेताहरूले पनि यस्ता प्रतिबन्धलाई राजनीतिको फाइदाका लागि उठाइरहेका छन्। पुस्तक प्रतिबन्धित भयो भनेर आवाज उठाउनेहरूलाई वामपन्थी समेत भनिन थालेको छ। अमेरिकामा वामपन्थी हुनु अपराधसरह मानिन्छ। केही वामपन्थीका कारण बालबालिकाहरूलाई यौनका बारेमा प्रदूषण फैलाई तिनको जीवन नष्ट पार्न खोजिएको पुस्तकविरोधीहरूको जिकिर छ।

अब त कानुन नै बनिसक्यो। शिक्षकहरूले ठुलो आर्थिक जरिबानाबाट जोगिनका लागि ती विषयमा झोसपोल नपरोस् भनेर सजिलो र उम्कने बाटो खोज्न थालेका छन्। एरिजोना राज्यमा त यौनसम्बन्धी कुनै विषय पढाउनुपर्ने भए सुरुमा अभिभावकहरूको संगठनसँग स्वीकृति लिनुपर्छ। उनीहरूको स्वीकृतिबेगर पढाए शिक्षकलाई मुद्दा चल्ने अवस्था छ।

यस्तो भएपछि स्वास्थ्य विज्ञान पढाउने कतिपय शिक्षकहरू त पेसा नै परिवर्तन गर्ने मनस्थितिमा पुगेका समाचार बाहिरिएका छन्। ‘सेक्स’ शब्द नै प्रतिबन्धित भएपछि त जब जब त्यसको उच्चारण हुन थाल्छ, ती शिक्षक वा व्यक्तिमाथि विद्यार्थी वा अभिभावकले मुद्दा हालेर जेलै पुर्‍याउन सक्छन्।

यो अवस्था र ‘१९८४’ उपन्यासमा वर्णित अवस्थामा के फरक हुन थाल्यो त भनेर प्रश्न गर्नेहरू पनि बढ्न थालेका छन्।

यस्तो दुरावस्थाका बारेमा के सबै अभिभावकहरू यसमा सहमत छन् त? हालै अमेरिकाको फक्स न्युजले गरेको सर्भेमा ७७ प्रतिशत अभिभावकहरू यस्तो सेन्सरका कारण निकै चिन्ता लागेको बताएका छन्। पुस्तकलाई कहिल्यै पनि प्रतिबन्धित बनाउन नहुने उनीहरूको जिकिर छ। कतिसम्म भने किताबकै माध्यमबाट छलफल हुने र मानिसले कुरा बुझ्ने भएकाले यौन, जातीय विभेद, दासता, अमेरिकी इतिहासमाथि आलोचनात्मक चेतजस्ता कुरा बालबालिकालाई पढ्नबाट रोक्न नहुने अभिभावकहरूको मत छ।

पछिल्लो समय स्कुले पुस्तकालयमा छिरेको ‘किताब आतंक’को मूल जरो भने अर्कै छ। संसारभर नै केही वर्षयता लैंगिक अल्पसंख्यकमाथि आख्यान, गैरआख्यान र अश्लील आख्यानको बाढी उल्कैसँग बढेको छ।

यस किसिमको बाढीपछि केही अभिभावकहरू सशंकित हुन थालेका छन्। कलिला दिमागमा कतै अश्लील समलैंगिक आख्यानहरूको बाढीले उनीहरू बहकिने र अन्तै पुग्ने हुन् कि भन्ने चिन्ता चुलिएको छ। त्यसमाथि केहीले कलिलो मस्तिष्कमा आफ्नो यौनिकता के हो भनेर दुविधामा रहेकाहरूलाई समयमै यसको जानकारी हुनुपर्छ भन्ने तर्क राख्नेहरू पनि छन्। यसलाई यौनसर्जरीको उद्यम चलाउनेहरूको ठुलो षडयन्त्रका रूपमा मान्नेहरू पनि छन्।

अमेरिकामा सन् २०२२ मा आफूलाई लैंगिक अल्पसंख्यकका रूपमा चिनाउनेको प्रतिशत ७.१ थियो भने सन् २०२१ मा ५.६ प्रतिशत थियो। अझ ६ जनामध्ये एक जनाले त आफूलाई लैंगिक अल्पसंख्यक भनी चिनाउने गरेको हालै वासिङ्टन पोस्ट पत्रिकाले गरेको छ। यो आतंकका कारण पनि अनुदारवादीहरूले किताबमाथि आक्रमण गरिरहेका छन्।

जुन देश ‘फ्रिडम अफ एक्सप्रेसन’लाई मूल मर्म मान्छ, त्यही देशका पुस्तकालयभित्र पन्पिरहेको संकटले संसारका जुनसुकै कुनाका पुस्तकालयमा ढिलोचाँडो समस्या निम्त्याउँछ नै ! यसमा सचेत भएर विकसित भइरहेका यस्ता समस्यामाथि दृष्टि लगाउनै पर्छ।

(द वासिङ्टन पोस्ट, न्युयोर्क टाइम्स र इन्टरनेटका विविध सामग्रीमा आधारित)