बासो

जापानी साहित्यमा हाइ‌कुको पर‌म्परा निकै लामो छ। सुरुमा हाइ‌कु हाइ‌कु‌को रुपमा चिनिदैनथ्यो । होक्कु लेखिन्थ्यो- अहिलेको हाइकुको स्वरुपमा (पाँच सात पाँच अक्षर) । यो हाइकु नाइके कविले लेखिदिन्थ्यो अनि दोस्रो कविले हाइकाइ लेख्दथ्यो, सात सात अक्षरको । यसरी यो काव्य लेखन‌को क्रम जोडिदै ३६ देखि १०० सम्म पुग्द‌थ्यो । त्यसबेला ‘होक्कु’ लामो कविता शृङ्‌‌खलाको शुरुवातको तीन हरफ (पाँच, सात, पाँच अक्षर) मात्र हुन्थ्यो। यसको स्वतन्त्र रूप त पछि विकास भएको हो । पछि यही तीन हरफमै पूर्ण अभिव्यक्ति दिने प्रयास भयो । यसरी तीन हरफमै पूर्णता दिने यो प्रयास सफल भएर हाइकुको विकास भयो ।

माचु‌ओ बासो (१६४४-१९९४) जापानी हाइकु साहित्यका सम्राट मानिन्छन् । उनले आफ्नो वयस्क जीवनको शुरुवातका वर्षमा स्थानीय जमिन्दार तोदो योशिदाताकहाँ काम गरेका थिए । योशिदातालाई हाइकाई लेख्ने सोख थियो। यही समयमै बासोको काव्य प्रतिभाको विस्फोट भयो र उनले शोबो नाउँबाट लेख्न थाले । पछि योशिदाताको मृत्युपछि त्यो काम छाडेर उनी यायावरीमा लागे । उनको लेखनमा यात्राको ठूलो महत्त्व छ ।

करिब १९८६ तिर लेखिएको उनको एउटा हाइकु साह्रै प्रख्यात छ। यो लेख त्यही एउटा हाइकुमा केन्द्रित छ ।

फुरु इके या
खावाजु तोविकोमु
मीजु नो ओतो

यो मूल जापानी हाइकुलाई माकोतो उएदाद्वारा अङग्रेजीमा यसरी रुपान्तरण गरिएको छ –

The old pond
A frog jumps in
Sound of the water

अ हिस्ट्री अफ हाइकु (१९६४) का लेखकक आर एच ब्लिथले झण्डै उस्तै अनुवाद गरेका छन्-

An old pond
A frog jumps in
The sound of the water

त्यसैगरी लुसिएन स्ट्रिकले यसरी अनुवाद गरेका छन्-

Old pond
leap-splash
A frog

नेपाली साहित्यका विशिष्ट निबन्धकार एवं अध्ययनशील प्रतिभा शंकर लामिछानेले वि.सं. २०२७ साल असोजको रुपरेखा पूर्णाङ्‌क ११३ मा “जापानी हाइकु कविता” लेखमा यस हाइ‌क‌ुलाई यस रुप‌मा अनुवाद गरेका छन् –

पुरानो ताल
भ्यागुतो उफ्रिदिन्छ
पानीको शब्द

शंकर लामिछानेले उक्त लेखमा यस हाइक‌ुको व्याख्या यस प्रकार गरेका छन्- “पहिलो पङ्‌‌तिमा विश्वको कवितात्मक अभिव्यक्ति जताइन्छ – त्यो हो समयहीन, संचालनहीन पानी तालका । दोस्रो पङ्‌‌तिमा सामयिक हलचल जताइन्छ – जसमा भ्यागुतोको उफ्राइ जताइन्छ । तिनको संघर्षको परिणाम हो, तेस्रो पङ्‌ति पानीको शब्द । यसैलाई यदि औपचारिक रुपमा व्याख्या गर्ने हो भने, पहिलो पङ्‌‌तिले चिरन्तन सत्य अभिव्यक्त गर्दछ, जो जापानी साहित्यको एक आधार‌भूत गुण हो; बासोको देन यहाँ छ सञ्चालन निमित्त प्रयोग गरिएको भ्यागुतो, जो बेढङ्‌गको स्वरसहित परम्परालाई भत्काएर नयाँ परम्परा स्थापित गर्दछ ।”

कवि एवं नेपाली साहित्यका एक विद्वान अभि सुवेदीले “जापानी हाइकु हिजो र आज”(२०४४) पुस्तकमा बासोको यसै हाइकुलाई यस रुपमा अनुवाद गरेका छन्-

पुरानो पोखरी
फुत्त छ्याप्ल्याक्क
भ्यागुतो ।

यस हाइकु‌को विषयमा अभि लेख्छन्, “यो कवितामा पानीको निश्चलता एक्कासि भङ्‌ग भएको चित्रण छ। त्यो निश्चलता भङ्‌ग भएको कुरा हामी आफ्नो कल्पनामा अनुभव गर्छौं । यस हाइकुले विश्वको शान्त स्वरूपको चित्रण गरेको छ। प्रकृतिको अखण्ड शान्तिमा व्यक्तिले आफ्ना कुनै पूर्वभाव र भावना नराखी आत्मसमर्पण गरेको कुरा यस हाइकुमा व्यक्त छ ।”

त्यसैगरी कवि एवं जापानी साहित्यका प्रमुख अनुवादक क्षेत्रप्रताप अधिकारीले त्यही हाइकु “हिम, जून फूल” (२०५१) पुस्तकमा यस रुपमा अनुवाद गरेका छन्-

जीर्ण पोखरी
भागुताको छलाङ
पानीको स्वर !

क्षेत्र प्रताप यस हाइकुको विषयमा लेख्छन् – “बासोको जीर्ण पोखरी जापानी हाइकु जगतमा ज्यादै चर्चित हाइकु हो । यसमा प्रशान्त पोखरीको नीरवता अचानक खलबलिएको आभास हुन्छ । पोखरीमा भ्यागुतो उफ्रँदा पैदा हुने सम्भावित परि‌णाम “पानीको निश्चलता भङ्‌ग भएको चित्र” हो ।”

अब यो प्राख्यात जापानी हाइकुलाई तीन अनुवादकले तीन प्रकारले अनुवाद गरे। ‘फुरु ईके वा’ लाई अंग्रेजीमा ‘द वल्ड पण्ड’ भनिएको छ र त्यसको अनुवाद नेपालीमा यसरी भयो

पुरानो ताल (शंकर लामिछाने)
पुरानो पोखरी (अभि सुवेदी)
जीर्ण पोखरी (क्षेत्रप्रताप अधिकारी)

यो प्रथम हरफमा शंकर लामिछाने र अभि सुवेदीले ‘पुरानो’ शब्द प्रयोग गरेका छन् भने क्षेत्र प्रतापले ‘जीर्ण’ । त्यस्तै अभि सुवेदी र क्षेत्र प्रतापले ‘पोखरी’ शब्द प्रयोग गरेका छन् भने शंकर लामिछानेले ‘ताल’ । यी तीन अनुवादमा शंकर लामिछाने र क्षेत्र प्रतापले जापानी हाइकुको नियमअनुसार पहिलो हरफका अक्षरको अनुवाद पाँच अक्षरको अनुवाद पाँच अक्षरनै राखेका छन् भने अभि सुवेदीले त्यो नियम भङ्‌‌ग गरेर पाँच ६ अक्षरमा अनुवाद गरेका छन्।

दोस्रो हरफको सन्दर्भमा ‘खावाजु तोविकोमु’ लाई अङ्ग्रेजीमा ‘अ फ्रग जम्पस् इन’ अनुवाद गरिएको छ र यसलाई शंकर लामिछानेले ‘भ्यागुतो उफ्रिदिन्छ’ र क्षेत्र प्रतापले ‘भ्यागुताको छलाङ’ को रूपमा रुपान्तर गरेका छन् भने अभि सुवेदीले ‘फुत्त छ्याप्लाक्क’ । यसमा पनि शंकर लामिछाने र क्षेत्र प्रतापले सात अक्षरको नियम पालना गरेका छन् भने अभि सुवेदीले भङ्ग गरेका छन् ।

तेस्रो हरफ ‘मीजु नो ओतो’ अर्थात् ‘साउण्ड अफ वाटर’लाई शंकर लामिछानेले ‘पानीको शब्द’, क्षेत्र प्रतापले ‘पानीको स्वर’ र अभि सुवेदीले ‘भागुतो’ राखेका छन् । यसमा पनि शंकर लामिछाने र क्षेत्र प्रतापले पाँच अक्षरको पालना गरेका छन् र अभि सुवेदीले त्यो भङ्‌ग मात्र गरेका छैनन् अनुवाद पनि दोस्रो हरफको ठाउँमा तेस्रो हरफको र तेस्रो हरफको ठाउँमा दोस्रो हरफ राखेर अनुवादकको निर्बन्ध स्वतन्त्रता उपयोग गरेको पाइन्छ । यसको कारण उनले लुसियन स्ट्रिकको अनुवाद ‘leap-splash’ पछ्याएको देखिन्छ ।

यसरी यी तीन अनुवाद हेर्दा शंकर लामिछाने र क्षेत्र प्रतापले आफ्नो अनुवाद‌मा जापानी हाइकुको नियम‌लाई समेत रुपान्तरण गरेको देखिन्छ भने अभि सुवेदीले भङ्ग गरेको पाइन्छ । तर यी तीन हाइकु पढ्‌दा अभि सुवेदीको अनुवादलाई मौलिकझैं पढ्‌न सकिन्छ । यसमा काव्य ध्वनि प्रखर रुपमा आएको अनुभव गर्न सकिन्छ ।

जहाँसम्म अनुवादमा प्रयुक्त शब्द प्रयोगको प्रश्न छ, ‘ईके’ लाई ‘पोण्ड’ भनिन्छ । पोण्डलाई अङ्ग्रेजी नेपाली साझा संक्षिप्त शब्दकोष अनुसार ‘दह, रह, पोखरी, ताल, कुण्ड, तलाउ, जलाशय, ह्द, सरोबर, वाउली’ भनिएको छ । यसरी हेर्दा ‘पोखरी’ र ‘ताल’ दुवै शब्दको प्रयोगलाई गलत भन्न सकिन्न । तर यो पोखरी अथवा तालको सम्बन्ध भ्यागुतोसँग भएकाले भ्यागुतासँग निकटता राख्ने शब्दार्थलाई राख्नु उचित हुन्छ । सामान्यतः भ्यागुताहरू तालको तुलनामा पोखरीमा ज्यादा पाइन्छन् । पोखरी र भ्यागुताबीच बढी निकटता छ र यी दुईसँग मान्छेको निकटता । तालमा पनि भ्यागुता नहुने भन्ने त होइन तर ताल, भ्यागुता र मान्छे बीचको दूरी बढी छ ।

अब पहिलो हरफ‌कै अर्को शब्द ‘फुरु’ अर्थात ‘old’ लाई ‘पुरानो’ र ‘जीर्ण’का रुपमा रुपान्तरण गरिएको छ । यहाँनेर विचार पु-याउनुपर्ने कुरा के हो भने पोखरी या ताल पुरानो हुन्छ कि जीर्ण ? साझा प्रकाशनले प्रकाशित गरेको सं रामचन्द्र ढुङ्गानाको संक्षिप्त नेपाली शब्दकोषले ‘पुरानो’ को अर्थ ‘धेरै अघिदेखिको, प्राचीन, थोत्रो’ दिएको छ भने ‘जीर्ण’ को अर्थ ‘पुरानो’ पनि हुन्छ, ‘पुरानो’ को अर्थ ‘जीर्ण’ देखिंदैन । यहाँ पोखरीको सन्दर्भ भएकोले पोखरी वा ताललाई जीर्ण या पुरानो कुन शब्द उपयुक्त भन्ने हो त्यो महत्त्वपूर्ण छ ।

यस हाइकुमा पुरानो पोखरीमा भ्यागुतो उफ्रिंदा आएको पानीको स्वर या शब्दलाई ब्यक्ताउन खोजिएको हो । जसलाई शङ्कर लामिछाने र क्षेत्रप्रतापले शब्दमै भ्यागुतालाई पोखरीमा उफ्रेको या छलाङ हानेको देखाएका छन् भने अभिले ध्वनिका माध्यमले त्यस स्थितिको सम्प्रेषण गरेका छन् । ‘फुत्त, छ्याप्लाक्क’ कसरी भयो त भन्दा त्यहाँ भ्यागुतो छ र पोखरी छ भनेपछि, त्यो भ्यागुता पोखरीमा फाल हाल्दा नै फुत्त छ्याप्लाक्क हुन्छ । तर यसमा फरक अङ्ग्रेजी अनुवादको माध्यमले पनि भूमिका खेलेको छ ।

यस हाइकुले पोखरी वा कुण्डलाई पुरानो या प्राचीन जनाएर आदिमताको परिचय दिएको छ भने पोखरी र भ्यागुता प्रकृतिका उपहार हुन् भन्ने पनि साथै नै जताइएको छ । पोखरी स्वभावैले शान्त हुन्छ । त्यो शान्त प्रशान्त निरवतामा भ्यागुता हाम्फाल्दा हुने आवाज र पानीका तरङ्गहरूले एउटा निद्रा भङ्गको स्थिति, प्राचीनताबाट आधुनिकतातर्फ उन्मुख वातावरण र चेतनाको प्रवाहलाई समेत सङ्केत गर्दछ । भ्यागुता पोखरीमा हाम्फालिसकेपछि आउने स्वर पानीको हो कि पानीको तरङ्ग या छालको ? छाल पनि पानीबाटै बन्ने हो । यस आवाज, स्वर या ध्वनिलाई छालको पनि भन्न सकिन्छ ।

अतः यी सब संक्षिप्त विवरण र व्याख्यापछि म स्वयम्लाई यस हाइकुको चौथो अनुवाद गर्न मन लाग्यो, हाइकुको पाँच-सात-पाँच अक्षरको नियम पालना गरेर यसरी;

प्राचीन कुण्ड
भ्यागुतोको उफ्राई
छालको ध्वनि

०००