तपाईंले जोन बोयेनद्वारा लिखित प्रख्यात उपन्यास ‘द ब्वाई इन् द स्ट्रिप्ड पाइजामाज्’ उपन्यास पढ्नु भएको छ ?

छैन भने पक्कै पनि उक्त उपन्यासमा आधारित सोही नाउँको फिल्म त हेर्नु भएकै होला ?

त्यो पनि छैन ?

ठीकै छ, केही बिग्रेको छैन किनभने अब पढ्दा वा हेर्दा हुन्छ ।

बिबिसी रेडियोसँग कुरा गर्दै उपन्यासकार जोन बोयेनले आफ्नो लेखनशैलीबारे कुरा गरेका छन् । उनले भनेका छन्, ‘मलाई किताब लेख्न इगो (अहं) चढ्नु पर्छ ।’

त्यो अहं चढाउन उनले गज्जबको आइडिया लगाएका छन् ।

उनले आफ्नो लेख्ने कोठा अनौठो बनाएका छन् । आयरल्यान्डको राजधानी डब्लिनस्थित रहेको उनको घरको बगैँचामा एउटा अन्डरग्राउन्ड कोठा बनाउन लगाएका छन् । त्यो कोठामा उनले आफ्ना उपन्यासहरूको विदेशी संस्करणका पुस्तकहरू राखेका छन् ।

‘त्यो कोठामा अरू कसैका किताब छैनन्, मात्र मेरा किताब छन्,’ उनी भन्छन्, ‘ती किताब देख्दा तिनले मलाई चुनौती दिएको महसुस हुन्छ र जे लेखे पनि मलाई राम्रो लेख्ने प्रेरणा दिन्छन् ।’

‘जब जब म आफ्नो सिर्जना अनुदित भएका किताबको चाङ देख्छु र आफैँलाई भन्छु, जोन तैँले राम्रै किताब लेखिस्, स्याबास् !’ उनले रेडियोलाई भनेका छन्, ‘तैँले यति राम्रो काम गरेको छस् कि तेरो ढाड थप्थपाउन मन लागेको छ ।’

उनको सो उपन्यास ५० भाषामा अनुदित भएको छ ।

उनले सो उपन्यास लेख्ने प्रेरणा सन् १९६५ मा निर्मित द साउन्ड अफ म्युजिक नाम फिल्मले दिएको बताएका छन् । उनले भनेका छन्, ‘एक दिन म सो फिल्म हेर्दैथिएँ । शुरूमा फिल्मले यति हँसायो, यति हँसायो, यति रमाइलो दियो कि पछि उति नै रूवायो । बालबालिकाको संवेदनशीलतामाथि एउटा उपन्यास लेख्नु जरूरी छ भन्ने लागेपछि यो उपन्यास लेखियो ।’

सोही फिल्मले उनलाई दोस्रो विश्वयुद्धका बेला सामाजिक दुरावस्थाका बारेमा चासो जगाएको र सोही अवधिमा आधारित उपन्यास लेख्ने हुटहुटी सो फिल्मले दिएको उनले खुलासा गरेका हुन् ।

सन् २००६ मा प्रकाशित सो उपन्यास आयरल्यान्डमा प्रकाशित भएका कुनै पनि उपन्यासको तुलनामा यो बढी अनुदित भएको बताइन्छ । हालसम्म यो पुस्तक १ करोड १० लाखभन्दा बढी बिक्री भइसकेको छ भने फिल्म, नाटक, ब्याले र अपेरामा समेत अनुदित भइसकेको छ ।

यो उपन्यासको प्रख्यातिको अनुमान यसैबाट लगाउन सकिन्छ कि बेलायतभरिका विद्यालयमा हिटलरको शासनकालमा भएको यहुदी नरसंहार बुझाउन यो पुस्तक पढाउने गरिएको छ ।

त्यसो त यसको ऐतिहासिकतालाई लिएर असविज बिर्केनु स्टेट म्युजियम, मेलबर्न हलोकस्ट म्युजियम र हलोकस्ट सेन्टर नर्थले आपत्ति जनाएका छन् । उनीहरूले विद्यालयमा यो पुस्तक नपढाउन समेत आग्रह गरेका थिए ।

यसबारेमा लेखकले भनेका छन्, ‘मैले इतिहास लेखेको होइन । मैले त इतिहासको घटनालाई उठाएर एउटा कथा बुनेको हुँ । जसले उपन्यासमाथि औँला ठड्याएको छ, उनीहरूले पढेका छैनन् । किताब पढेर आलोचना गरिदिए राम्रो हुने थियो ।’

सन् २०२२ मा बोयेनले त्यसको दोस्रो भाग (सिक्वेल) ‘अल द ब्रोकेन प्लेसेस’ लेखेका छन् । ब्रुनो नामक केटाकी ठूल्दिदीले आफू ९१ वर्षकी छँदा सो घटनालाई फर्केर हेरेको कथा त्यसको मूल विषय छ ।

बोयेनको द ब्वाई एट द टप अफ द माउन्टेन, द हर्ट्स इन्भिजिबल फ्युरिज र इको च्याम्बरजस्ता उपन्यास बेस्ट सेलर छन् ।