बलवान विकासे मेसिनका दाह्रा‑नङ्ग्राहरूले
चिथोर्दै छन् मनमोहक हरित पहाडहरू
तिनका पैताला, तिघ्रा, कम्मर,
वक्षस्थल अनि ललाट
ताछ्यो, कोपर्‍यो, घोच्यो, गिजल्यो
थिच्यो, मिच्यो, शिरोच्छेदन गर्‍यो
सलक्क मिलेका प्राकृतिक स्वरुप
विरुप र कुरुप बनायो
शिकारू सिकर्मीले बनाएको लिस्नोजस्तै
खण्ड खण्ड पारेर पहाड काट्यो, भित्ता ताछ्यो
भत्कायो बिसौनीहरू
उखेल्यो, लडायो, धकेल्यो, गुल्ट्यायो भिरबाट
सबैका सेवक ती निर्दोष वर, पीपल, समी
र अरू बोटविरुवाहरू

डोजरचालक नै सर्वेसर्वा थियो
यता चिथोर्दा साह्रो भो उता गाड्यो दाह्रा
उता लुछ्दा गाह्रो भो यता फैलायो नङ्ग्रा
वन मासियोस् कि पैह्रो जाओस्
के मतलब उसलाई ?
घुम्ती र ग्रेडको के स्वाद उसलाई
उसले जान्नेबुझ्ने विषय पनि त होइन यो
उसले जानेर बुझेर पनि के गरोस आखिर
उसको काम पहाड भत्काउने हो

unic

खन्न त खन्यो जबरजस्ती जसोतसो
गाउँसम्म पुग्यो बाटो
विकासको तिर्खाले अत्तालिएका
गाउँमा बाटो र गाडीको लामो पर्खाइमा रहेका
व्यग्र प्रतीक्षित गाउँले जनता
क्षणिक खुसीमा रमाए
भोज गरे, खाए, पिए, नाचे, गाए
स्वागत गरे, टिका र माला लगाइदिए डोजर चालकलाई
बाटोले ल्याएको खुसी र चमक हेर्न लायक थियो
केटाकेटीहरू धुलोको होली खेलिरहेका
डोजरको वरिपरि उफ्रिरहेका
महिलाहरू स्वर मिलाएर गाइरहेका
र छमछम नाचिरहेका थिए
लेकबेसी गर्दा टाउकोको बोझ कम हुँदैछ
भन्ने भाव होला कि उनीहरूको ?
ढिलै भए पनि गाउँमा विकास पसेको देखेर
दिनभर लाग्ने सदरमुकामको आवतजावत् छोटिएको देखेर
एक बिहान लाग्ने नजिकको बजार
एकदुई घण्टामा पुग्ने सम्झेर
दङ्ग थिए गाउँलेहरू
धेरै सपनाहरू बुनेका थिए

धरै योजनाहरू कोरेका थिए
मनमा जोसजाँगर र उमङ्ग
बढेको थियो केही गर्ने

तर विडम्बना !
सदियौंदेखि दुःख झेलेका गाउँलेको यो खुसी
बुनेका सपना
कोरेका योजना
टिकेनन् धेरै दिन
धुले प्रदूषणको कुहिरोले छोप्थ्यो गाउँबस्ती
घरगोठका छाना
पिँढी, आँगन
बार्दली कोठा, चोटा
सुकाएका बिस्कुन, लुगा
धुलाम्मे हुन्थे हरदिन, हरक्षण
तर पनि कुनै पीडाबोध
र स्वास्थ्य-चिन्ता गरेनन् कसैले
आशाको पोको बाँधेर राखेका थिए मनमा
कुनै दिन यो बाटो ग्राभेल हुनेछ, पिच हुनेछ
र, सहज हुनेछ आवतजावत्
आखिर जिन्दगी आशामै बाँचेको न हुन्छ

तर अकस्मात्
अनपेक्षित बिस्मातको घडी आयो
भारी वर्षातको पहिलो प्रहरमै
हिलाम्मे बाटोले
रोपाईँ गर्न ठिक्क पारेको खेत सम्झायो
पैह्रोले बाटो छेक्यो
घरगोठ तान्यो
कुलो थुनियो
खोलो पुरियो र पानीको बहाव रोकियो
खेतबारी बगरसरी भए
पानीका मूल पुरिए
कुवा, पोखरी, सिमसार
पानीको सट्टा माटोले भरिंदै गए
लयमा झर्ने झरना दुब्लाउँदै गए
बाढीपहिरोले मानिसहरू पीडित भए
बेचैन र बेसहारा भए
कति बेघरबार भए
कति विस्थापित भए
गाउँलेको विकासको मीठो सपना
उडायो बाढी पहिरोले

बाटोले धुलो र हिलो मात्र होइन
बाढी र पहिरो मात्र होइन
समृद्धिको अवसर पनि
सँगसँगै ल्याउला भनेको
कोदो, फापर, काउनो,
स्याउ, सुन्तला ,खुर्पानी
अकबरे, अदुवा, अलैंची
टिमुर, ओखर, पखानबेद
खसी, बोका, बँगुर, कुखुरा आदि आदि
बारी र वनपाखाका उपज
बजार पठाउँला भनेको
बिनिमय गरौंला भनेको
आफ्ना र सन्तानका रहर मेटाउँला भनेको

गाउँले संस्कृति चिनाउन
नवआगन्तुक बोलाउँला भनेको
यहाँका थरिथरि गुराँस र वनफूलहरू
शिरमा उनिदिउँला भनेको
झरनाको मनमोहक दृष्य र अनवरत झङ्कारमा
तरङ्गित बनाउँला भनेको
ऊ, त्यो डाँडामाथिको पठारबाट
सूर्योदय र हिमाच्छादित श्रृङ्खला
दृश्यपान गराउँला भनेको
वनफूलमा नाचिरहेका मौरी र भमराहरूको
भुनभुन सुनाउँला भनेको
रङ्गीविरङ्गी फूलहरू र मधुरध्वनिमा
चिरबिर गर्ने पक्षीहरूसँग
साक्षात्कार गराइदिउँला भनेको
यस्तै यस्तै अनगिन्ती
प्राकृतिक सुन्दरता रसास्वादन गराएर
लट्ठ्याउँला भनेको

के हुन्थ्यो र सोचेजस्तो !
ती कर्मशील गाउँलेका
यावत् योजनाहरू
उमङ्ग र उत्साहहरू
ननिदाईकन देखेका सपनाहरू
सबै भताभुङ्ग भए, लथालिङ्ग भए
आशाका किरणहरूमा ग्रहण लाग्यो

तसर्थ,
धर्तीलाई धुजाधुजा बनाउने सोच
पहाडलाई छियाछिया बनाउने कुकृत्य
जबरजस्ती पहाड उधिन्ने डोजरे क्रियाकलाप
गाउँलेको सपना उजाड्ने
प्राकृतिक स्रोत र सम्पदाको दोहोलो काढ्ने
कसैको निहित स्वार्थको खातिर
निर्दोष गाउँलेहरूलाई
विकासको कोरा सपना देखाएर
क्षणिक भ्रम छर्न गरिएका कुकर्महरू
दिगोपना बेवास्ता गरिएका
र प्राविधिक दृष्टि नपरेका
स्वघोषित डोजरे योजनाहरू
किमार्थ विकास हुन सक्दैनन्

अब विकासको परिभाषा
व्यवहारमै बदल्नुपर्छ
पृथ्वी सजीव जगतको साझा घर हो
अस्तित्व अन्तरनिर्भर छ
सन्तुलित प्राकृतिक सम्बन्ध
हाम्रो जिउने आधार हो
धर्तीमाताले सन्तानको थिचोमिचो,अत्याचार
र तमाम अपराध सहन गर्न सक्छिन्
उनको सहनशीलतालाई उपेक्षा गर्दैमा
अपराधमुक्त हुन सक्दैनौँ हामी
हामीले गरेको कुकर्म र पापको भारी
हामीले नबोके कसले बोक्ने ?

त्यसैले, अब प्रायश्चित गरौँ
अब अरु ढिलो नगरौँ
रुपान्तरण आफैबाट सुरु गरौँ
आजैदेखि पृथ्वी जोगाउने प्रण गरौँ
वातावरण जोगाउने प्रण गरौँ
सुख र समृद्धिको यात्रामा अघि बढ्न
प्रकृतिलाई प्रेम गरौँ
आऊ, सबैले हातेमालो गरौँ
वातावरणमैत्री योजनाबद्ध विकासको
अभियान शुरु गरौँ ।

*****

भैरहवा