जेठ २५ देखि प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई बाल कलाकार प्रसन राईको प्रमुख अभिनय देख्न सकिन्छ । उभौली पर्वको अवसरमा सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दयाहाङ अन्य फिल्ममाभन्दा फरक अवतारमा देखिएका छन् ।
निर्देशक सुब्बा दयाले यो फिल्ममा दयाको परिपक्व अभिनय देखिने दाबी गर्छन् । ‘यो फिल्म दयाले अत्यन्त अब्बल काम गरेको फिल्म हो । अन्य काममा पनि राम्रै काम गर्नुभएको छ तर यो फिल्ममा दयाको अभिनयमा आएको बदलाव देखिन्छ, परिक्व अभिनय छ,’ निर्देशक सुब्बाले भने ।
दयाहाङले सन् २००९ तिरै यो फिल्म बन्ने चर्चा सुनेका थिए । तर, त्यतिबेला यो फिल्मको अभिनेताको भूमिकामा आफू देखिन पाउँछु भन्ने उनले सोचेका थिएनन् । ‘बुवा छोराको सम्बन्धमा फिल्म बन्दैछ भन्ने सुनेको थिएँ । तर, त्यतिबेला उमेरकै हिसाबले पनि मैले काम पाउँछु भनेर सोचेको थिएन,’ अभिनेता राई बताउँछन्, ’संयोग बस यतिबेला यो फिल्म बन्यो, र मैले यसमा काम गर्न पाएँ ।‘
यो फिल्मका लागि अभिनेता दयाहाङले १२ केजी वजन घटाएका थिए । दया विश्व बजार पुगेको यस किसिमको फिल्मलाई नेपाली दर्शकले हेरिदिनुपर्ने बताउँछन् । ‘विश्व बजार पुगेको यो फिल्म धेरै दर्शकले हेरिदिनुभयो भने यस किसिमको फिल्म बनाउने फिल्मर्मीलाई उर्जा मिल्छ,’दयाले भने,’ दयाले भने ।
फिल्ममा दयासँगै जोडी बाँधेकी अभिनेत्री पशुपति राईले पनि अभिनयको फरक पक्षलाई आफूले सिक्न पाएको बताइन् । ’१९ वर्षको अभिनयको यो यात्रामा अभिनयका पक्षमा म कहाँ छु त भन्ने खालको धरातल नै बदलिदिनुभयो, निर्देशक सुब्बाले । उहाँसँग अभिनयमा लिएर निकै गहिरो बहस गर्थ्यौं, त्यो गजब्बको सिकाइ रह्यो,’ उनले भनिन् । बाल-कलाकारको अभिनयमा देखिएका प्रसनले भने ‘गाउँ आएको बाटो’मा काम गर्दा निकै रमाइलो भएको बताए । अभिनेता दयाहाङ छायांकन ताका प्रसनले आफूलाई चुनौति दिने किसिमको अभिनय गरेको पनि बताए ।
अमोद राई निर्माता रहेको यो फिल्मलाई निर्देशक सुब्बा र महेश राईले लेखेका हुन् । सामुदायिक लगानीमा बनेको यो फिल्मलाई विश्वका दर्शकले झैं नेपाली दर्शकले पनि मन पराइदिनेमा आशावादी छन्, निर्माता राई । ‘यो फिल्म विश्वका प्रमुख फेस्टिभल घुमेर आफ्नै गाउँ फर्किएको छ । जसरी विश्वका दर्शकले यो फिल्मलाई राम्रो छ भनेर विश्वास गरिदिनुभयो, मनपराइदिनुभयो, त्यसरी नै घरेलु दर्शकले पनि मनपराइदिनुहुनेछ भन्ने आशावादी छौं,’ निर्माता राईले बताए ।
सामुदायिक लगानीमा बनेको यो फिल्मलाई अमेरिकन छायाँकार जोश हेरमले खिचेका हुन् । फिल्ममा हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरण, क्वान पुन लुङको सम्पादन छ ।